Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

प्रचण्डबाट के सिक्ने ?


पुष्पकमल दाहाल (प्रचण्ड) ले दोस्रो पटक प्रधानमन्त्री पद सम्हालेर नौ म्यादी सरकार संचालन गरिसकेका छन् । प्रधानमन्त्री हुनका लागि सबै थोक त्याग्न तयार हुने हाम्रा नेताहरु सबै एकै खालको राजनीतिक संस्कारबाट आएका हुन । कसैले युद्ध गरेर आएका होलान कसैले पारिवारिक राजनीतिबाट स्थापित भएका होलान् । जुनसुकै राजनीतिक संस्कारबाट आएका भएपनि शक्ति र सत्ता भनेपनि जस्तो सुकै सम्झौता पनि गर्न तयार हुन्छन् यिनीहरु ।

एमालेसँगको गठबन्धनमा केपी शर्मा ओली प्रधानमन्त्री थिए । उनले पनि शक्ति र सत्ताको लोभ गरेर प्रधानमन्त्रीको पद प्रचण्डलाई दिनका लागि कञ्जुस्याँइ गरे । त्यसैको फलस्वरुप आफैले प्रस्ताव गरेर प्रधानमन्त्री बनाइका केपी ओलीलाई प्रचण्ड आफैले अविश्वासको प्रस्ताव दर्ता गराए र नेपाली काँग्रेससँगको गठबन्धनमा आफू प्रधानमन्त्री भए । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्ने मौका पाए । पहिलो पटक प्रधानमन्त्री हुँदा कुनै पनि अनुभव नभएका कोरा प्रचण्डले तीन वटा पतिमा हात हाले जसले गर्दा उनी त्यति सफल हुन सकेनन् ।

पशुपतिमा उनले हात हाले । पशुपतिको पुजारी नेपाली हुन पाउनु पर्छ किन भारतीय नागरिकलाई पशुपतिको पुजारी बनाउने भन्ने प्रचण्डको योजना केही आन्तरिक र केही बाह्य कारणले असफल भयो । त्यसपछि उनले सेनापतिमा हात हाले । सेनापति कटुवाललाई हटाउने र आफ्नो इच्छा अनुसार चल्ने सेनापति ल्याउने योजनामा प्रचण्ड फेल भए । उनले नियुक्त गरेर कुर्सीमा बस्न पठाएका सेनापति कुर्सीमा बस्न सकेनन् । त्यसैसँग जोडिएर उनले राष्ट्रपति माथि समेत हात हाले । राष्ट्रपतिले पनि उनको योजनालाई विफल पारेपछि एउटा प्रचण्डले सरकार छोड्न बाध्य हुनुप¥यो । एमालेसँगको गठबन्धनमा गठन भएको सरकार एमालेसँगको सहकार्यमा संचालन गर्न छोडेर एमालेको काँधमा टेकेर सत्ता नै कब्जा गर्ने योजनामा लागेका प्रचण्ड मात्र होइन सिंगो माओवादी नै असफल भयो । जसको कारण आज माओवादी धेरै धार र टुक्रामा विभाजन भएको छ ।

नेपाली जनताले पहिलो संविधान सभाको निर्वाचनमा माओवादी पार्टीलाई त्यत्तिकै भोट हालेका होइनन् । उनीहरुका नारादेखि सिद्धान्तको आधारलाई एकातिर राखेर अर्कोतिर शान्ति सम्झौताका आधारमा माओवादीलाई पनि कानुनको पालना गर्ने बनाउनका लागि पनि हो । विविध कारणले जनताले भोट दिए र माओवादी देशको पहिलो पार्टीको रुपमा स्थापित भयो । तर उसले न जनताको जनमतको कदर गर्न सक्यो न त्यसको उपयोग नै । जसको कारण संविधान सभा नै विघटन भयो ।

संविधान सभाको दोस्रो निर्वाचनको लागि देशले फेरी ठूलो धनराशीको खर्च व्यहोर्नु प¥यो । त्यतिबेला माओवादीलाई तेस्रो स्थानमा राखेर काँग्रेसलाई पहिलो स्थानमा लैजाने पनि जनता नै हुन । काँग्रेसले आफूले पाएको जनमतको कत्तिको कदर गर्न सक्यो भन्नु भन्दा पनि अनुभवले खारिएका नेताहरुको एउटा बुद्धिको बिर्को खोलियो र अन्य राजनीतिक दलहरुसँगको समन्वय र सहकार्यलाई अगाडि बढाए । एक आपसमा खिचातानी गरिरहेका बेला २०७२ को वैशाख १२ बारपाकमा गएको भू–कम्पले पनि नेताहरुको बुद्धि राम्रैसँग हल्लाएको थियो ।
जसले गर्दा राजनीतिक दलहरु एकै स्थानमा बसेर सहकार्य र सहमति गर्न बाध्य भएका थिए । त्यसैको प्रतिफलको रुपमा नेपालले नयाँ संविधान प्राप्त गर्न सकेको भन्दा कसैलाई आपत्ति नपर्ला ।

संविधानको निर्माण पश्चात त्यसको कार्यान्वयन गर्ने पक्ष अझ जटिल रुपमा राजनीतिक दलहरुका अगाडि देखा प¥यो र परेकै छ । संविधानको कार्यान्वयनको शुरुवात स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ भने दोस्रो चरणको निर्वाचनको मिति समेत तय भएर प्रक्रिया अगाडि बढिरहेको छ । स्थानीय तहको निर्वाचन यत्ति छिट्टै होला भनेर स्यवम् राजनीतिक दलहरुले समेत पत्याएका थिएनन् । तर प्रधानमन्त्री प्ष्पकमल दाहालले स्थानीय निर्वाचनको मिति घोषणा गरेपनि निर्वाचन हुन्छ भन्ने विश्वास नगरेका राजनीतिक दलहरु मनोनयन दर्ता गर्ने बेलासम्ममा अन्यौलमा भएको देखियो ।

पहिलो चरणको निर्वाचन पश्चात नेपाली काँग्रेससँग भएको सहमतिका आधारमा प्रधानमन्त्रीले राजीनामा गर्ने योजना बनाइरहेको प्रमुख प्रतिपक्षको रुपमा रहेको एमालेले जानकारी पायो । अरुको बुइँ चढेर हिड्ने र श्रेय आफ्नो पोल्टामा पार्ने योजना भएकोले प्रधानमन्त्रीलाई राजीनामा गर्नबाट बन्देज गर्ने योजनाका साथ संसद अवरुद्ध भयो । तर पनि नेपाली काँग्रेससँग भएको सम्झौता बमोजिम प्रचण्डले राजीनामा दिए ।

प्रधानन्याधिस माथिको महाअभियोगदेखि प्रहरी प्रमुखको नियुक्तीसम्मका कार्यहरुले प्रचण्डलाई प्रभावित बनाउन खोजेकै हुन । पहिलो पटक प्रधानमन्त्री भएको बेला धेरथोर अनुभव बटुलेका प्रचण्ड यस पटक निकै सचेत देखिए । संसद अवरुद्ध भएपनि, बजेट अधिवेशन चलिरहेकै भएपनि, स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचन भएर दोस्रो चरणको निर्वाचन प्रक्रियामा अघि बढिरहेको भएपनि उनले राजनीतिक इमान्दारिता देखाए र सत्ता मोह त्यागे ।

वास्तवमा काम गर्ने क्रममा कमीकमजोरी सबैका हुन सक्छन् । सत्तामोहका कारण प्रधानमन्त्रीको कुर्सी छोड्नु पर्दा गोहीको झँै आँसु बगाएर हिड्ने प्रधानमन्त्रीहरु भन्दा फरक प्रधानमन्त्रीको रुपमा देखा परे प्रचण्ड । जसले गर्दा सामाजिक सञ्जालमा समेत प्रचण्डको पक्षमा एक खालको अभियान चल्यो । वास्तवमा इमान्दारिता भनेको के हो भन्ने कुरा देखाउन सफल भए प्रचण्ड । जसले गर्दा प्रचण्डलाई फेरि लोकप्रिय बन्न सहयोग गरेको धेरैले आंकलन गरिरहेका छन् । राजनीतिमा शक्ति र सत्ता प्राप्तिका लागि धेरै बेइमानी नै गर्नु पर्छ भन्नेहरुका लागि गतिलो झापड पनि हो प्रचण्डको यो राजीनामा ।