Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

सुर्खेतमा विताएको पहिलो रात – संस्मरण

हिउँदको समय बाहिर निकै जाडो थियो । सूर्य भगवानले पाँचै बजे विदा मागिसकेका थिए । चिसो बतासले कानमा नराम्रोसँग हानिरहेको थियो । वीरेन्द्रनगर बजारमा त्यति धेरै बाक्लो हलचल थिएन । चराचुङ्गीदेखि मनुवासम्म आफ्नो गुँडमा फर्किने क्रम जारी थियो । आकाशमा अलि अलि बादलका धर्साहरु पनि देखिएका थिए । लेकमा साउद हिउँले आफ्नो साम्राज्य जमाएको थियो । भरखरै सुर्खेत बजार झरेकोले कहाँ बस्ने भन्ने ठेगान थिएन मलाई । म सकेसम्म राम्रो होटेलको खोजिमा भौतारिरहेको थिएँ ।

सुर्खेतको बजार बाहिरबाट हेर्नेहरुले जति सुकै ठूलो देखेपनि आखिर त्यति धेरै ठूलो बजार होइन क्यारे । पिपलचौतारीदेखि तल्लो बजारसम्ममा एक चक्कर लगाएँ । त्यतिबेलासम्म सुर्खेतको चिसो सिरेठोले मेरो मुटुसँग पिरती लगाईसकेको थियो । त्यतिकैमा मेरो नजर एउटा होटेलमा प¥यो । म होटेलवालासँग वार्तालाप गर्न थाले ।

साहुजी, कोठा होला ।

छ ।

हेरम् न ।
होटेलको स्टाफले मलाई सरासर दोस्रो तलामा भएको कोठा नं. २०३ मा लगेर देखाउँछ । मैले कोठाको अरु व्यवस्थापन भन्दा पनि त्यहाँ भएको विस्तरा कस्तो खालको छ त्यसमै पहिलो नजर लगाएँ । किनकी त्यो चिसो रातमा साथ दिने एउटा सिरक बाहेक अरु केही हुने थिएन । होटेल मैले सोचे जस्तो स्तरीय परेनछ । त्यसैले एसीको व्यवस्था थिएन न त हिटर नै थियो ।
बस्नुहुन्छ कि नाई ? यसले मलाई प्रश्न गरेपछि मेरो ध्यान भंग भयो ।

कति हो चार्ज ? मैले पनि प्रतिप्रश्न गरे । सात सय मात्र । उसले छोटो जवाफ दियो ।
अलि डिस्काउण्ट गर्न मिल्दैन मैले मेरो अधिकार तेर्साएँ । उसले भन्यो बस्नुहुन्छ भने म साहुजीलाई अनुरोध गरेर केही मिलाउन लगाइदिउँला । हामी दुबै जना होटेलको काउण्टरमा आयो । ऊ अघि अघि र म पछि पछि भएर ।
होटेलमा साहुजीसँग कुरा गर्ने क्रममा उसले थोरै भएपनि डिस्काउण्ट गरिदिन अनुरोध ग¥यो । उसको व्यवहारबाट म प्रभावित भएँ । ठीकै छ जहाँ बसेपनि मलाई फ्रि मा बस्न दिने कोहीले होइन भन्ने ठानी म कोठाको साँचो बोकेर होटेलको डे बुकमा आफ्नो नाम ठेगाना दर्ता गरी कोठातिर लागे ।

कोठामा पुगेपछि आफ्नो सामान मिलाउन थाले । एक रातको लागि भएपनि मान्छेको जातलाई सबै चीज चाहिने । कोठा मिलाइसकेपछि एक छिन आराम गरे । रेडियोमा गीत सुनिरहेको थिएँ । त्यतिकैमा कसैले ढोकामा ढ्याक ढ्याक हानेको आवाजले मेरो ध्यान फेरि ढोकातिर तानिन्छ । मैले ढोका खोले । ढोकामा एउटा करिब १७÷१८ वर्ष उमेरकी एउटी युवतीलाई देखे ।
कसलाई खोज्नु भएको ? मेरो छोटो प्रश्न थियो । म पहिलो पटक धनगढीबाट सुर्खेत आएको थिएँ । त्यसैले मैले नचिनेको मान्छेसँग धेरै बोल्नु उचित ठानिन ।

तपाइँलाई । उनको उत्तर झन छोटो थियो । किन ?
उनले जवाफ फर्काइन – म होटेलमै काम गर्ने मान्छे हो सर । खाना कतिबेला खानु हुन्छ भनेर सोध्न आएकी । उनले सर भनेर सम्बोधन र उनले आफ्नो कामको परिचय दिएपछि म अलि ढुक्क भएँ ।
एक छिन पछि खाउँला । फर्लक्क फर्केर जान्छिन् उनी । मेरो मनमा अनेक कुराहरु खेल्न थाल्छन् । सुर्खेतको बारेमा केही कुराहरु त सुनेको छु मैले । तर व्यवहारमा त्यस्तो मलाई थाह छैन । किनकी म पहिलो पटक सुर्खेतमा आएको छु । एक छिन पछि खान खाने योजनाका साथ म होटेलको खाना खाने कोठामा पुग्छु । मलाई एउटा वेटरले मलाई सोध्छन् –

के राखौ सर ?
खाना ।
मेरो छोटो उत्तर थियो । तर उसले खानाको अगाडि केही खाने कि ? भन्ने प्रतिप्रश्न गरेपछि मलाई पनि जाडोको समयमा थोरै पिउँ कि भन्ने लाग्यो । त्यसपछि एक क्वाटर मगाएँ र शुरु गरे । त्यसपछि खाना खाएर आफ्नो कोठामा लागे । जाडोको साथी सिरकसँग अलि अलि रमको रम रममा एक्लै मस्तिएको बेला फेरि कसैको आवाज आयो – सर । मैले पुनः ढोका खोल्छु । अनि पानी पिउनुहुन्छ कि भने पानी ल्याएदिएकी । पानीको बोतल हातमा लिँदै गर्दा एकातिर तातो पानीको बोतलको ताप र अर्कोतिर त्यो चिसोको बेलामा ती युवतीको हातको तापले मेरो शरिरमा समेत तापको राप आएको महसुस भयो ।

मैले पानीको बोतल लिइसकेपछि पनि उनी फर्किइनन् । त्यसपछि मैले उनको व्यक्तिगत परिचय नै माग्ने योजना बनाएँ । अनि हजुरको नाम के होला ? गंगा । मेरो नाम गंगा हो । अनि घर नि ? घर त मेरो बाँके । बाँके कता ? बाँके नेपालगञ्जमै । त्यसपछि मैले धेरै कुरा गर्ने चासो गरिन तर उनी अझैँ पनि त्यहाँबाट नफर्केपछि मैले चासो व्यक्त गर्नु स्वभाविकै हो क्यारे । काम होटेल बाहेक अरु के के गर्नुहुन्छ । सबै गर्छ । सबै भन्नाले ? खाना पकाउने देखि भाँडा माझ्ने सम्म । अनि केही बोले जस्तो गर्दै उनको बोलि अड्किन्छ । किन अड्केको ? त्यतिकै । एउटा कुरा भनौँ ? उनले सोधिन् । भन्नुहोस् न । सर हजुर खास के काम गर्नुहुन्छ ? म एउटा संस्थामा काम गर्ने मान्छे हो । मैले जवाफ फर्काएँ । संस्थामा काम गर्ने मान्छेहरु त धेरै पैसा कमाउँछन् रे है ? केही जानकारी भएको भावमा उनले सोधेको प्रश्नको जवाफ कसरी दिने म अक्कमक्कमा परे ।

त्यसपछि उनी मेरो कोठमै पस्न खोजिन् तर म ढोकामा उभिएकोले उनलाई कोठामा पस्न सहज भने थिएन । केही उत्सुकताका भावहरुमा उनले भनिन् – हामीलाई त्यस्तै संस्थामा कतै जागिर पाइँदैन सर ? पाइन्छ । कति पढन् भएको छ ? म मास्टर पढिरहेकी छु तर पढ्नका लागि आमा बाबुलाई कति दुःख दिनु भन्ने उद्देश्यले होटेलमा काम गर्दैछु । मान्छेले होटेलमा काम गर्न देखेपछि नराम्रो सोचले हेर्ने गर्दछन् । तर म त्यस्तो नराम्रो काम गर्नका लागि होटेलमा काम गरिरहेकी छैन सर । उनले आफ्नो यथार्थ र केही आशाका त्यान्द्राहरु मिसिएका प्रसंगले मेरो पनि मन पग्लिएर आयो । त्यस पछि मैले उनको सम्पर्क नं. मागे ।

त्यसपछि उनले साँझको नमस्कार सहित मेरो कोठाबाट बिदा भइन् । उनको नमस्कारमा केही आशा मिसिएको थियो । त्यो आशालाई पूरा गर्न सक्छु सक्दिन । तर पनि उनले गरेको आशा र उनले पोखेको सत्यताले मलाई सोच्न बाध्य बनायो । जाडोको समयमा सिरकको न्यानो भित्र म आफ्नो बारेमा भन्दा पनि गंगाको बारेमा सोचिरहेको थिएँ । मैले पनि पढ्ने बेलामा धनगढीको चिसोमा होस् या गर्मीमा बिहान ४ बजे पत्रिका बोकेर कुदेको यादले सताउँछ मलाई । सकेसम्म गंगालाई होटेलको भन्दा कुनै राम्रो काममा लगाइदिनु पर्छ भन्ने सोच्दा सोच्दै कति बेला म निदाउन पुगे म आफैलाई थाह छैन । विहान पुनः गंगाले चिया ल्याएर मेरो ढोका आवाज दिएपछि मेरो निन्द्रा खुल्छ । चियाको चुस्किसँगै फेरि म एकोहोरिन्छु गंगाको जागिरको लागि ।