Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

अनुसन्धान बिधि सम्बन्धी दुई दिने कार्यशाला शुरू

सुर्खेत

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, अनुसन्धान केन्द्रको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा अनुसन्धान बिधि र सोध पत्र लेखन सम्बन्धी दुई दिने कार्याशाला गोष्ठी वीरेन्द्रनगर सुर्खेतमा सुरुवात भएको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए । अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक  डा. दिप बहादुर रावलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले भारतको विश्वविद्यालय अनुदान आयोगको छात्रवृतिमा विद्यावारिधि प्राध्यापन पेसाको सुरुवाती अवस्थामा नै प्राप्त गर्दाको क्षण स्मरण गर्दै अनुसन्धानबाट नयाँ ज्ञानको प्राप्ति र उपलब्ध ज्ञानलाई फराकिलो हुने भएकोले आजको ज्ञानमा आधारित अर्थतन्त्रको युगमा विश्वविद्यालयमा प्राध्यापनरत शिक्षणका अलावा  अनुसन्धानमा केन्द्रित हुन कार्याशाला उपयोगी हुने विश्वास व्यक्त गरे ।

विशेष अतिथि तथा कार्यशालाका सहजकर्ता ब्रहमपुर विश्वविद्यालय, उडिसा, भारतका अर्थशास्त्र विषयका प्राध्यापक डा. सुधाकर प्रात्राले शिक्षण र अनुसन्धान के अर्काका परिपुरक भएको दाबि गर्दै शिक्षणले ज्ञानको वितरण गर्ने र अनुसन्धानले भइरहेको ज्ञानलाई वितरण र नयाँ ज्ञानको खोजि गर्ने भएकोले विश्वविद्यालयमा प्राध्यापन गर्ने प्राध्यापकहरू अनिवार्य रूपमा राम्रो शिक्षकका अतिरिक्त राम्रो अनुसन्धानकर्ता हुनु पर्नेमा जोड दिए । दुई दिन सम्मको सहजीकरणमा अनुसन्धानका आधारभूत पक्ष र तथ्यांक विश्लेषणको महत्त्वपूर्ण साधन एसपीएसएसको प्रयोग सम्बन्धि व्यवहारिक ज्ञानबाट अनुसन्धानकर्ता लाभान्वित हुने विश्वास व्यक्त गरे । त्यसैगरी कार्यक्रममा व्यवस्थापन सङ्कायका डीन डा. मस्त बहादुर गरंजाले प्रस्ताव पत्र लेखन र सोधपत्र लेखनका लागि कार्यशाला अत्यन्त उपयोगी हुने र विश्वविद्यालय सारमा अध्ययन, अध्यापन र अनुसन्धान नै भएको बताए ।

स्वागत मन्तव्य राख्दै रिसर्च मेनेज्मनेट सेलका संयोजक पूर्णमान श्रेष्ठले विश्वविद्यालयमा अनुसन्धान गतिबिधिहरू भइरहनुपर्नेमा जोड दिदै प्राध्यापक पात्राको सहजीकरणमा अनुसन्धान बिधिमा सहभागीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे । कार्यकममा विज्ञान तथा प्रबिधि सङ्कायका डीन प्रा.डा. देब बहादुर खड्का, मनाविकी तथा सामाजिकशाश्त्र सङ्कायका डीन खोपिराम लम्साल, शिक्षाशास्त्र सङ्कायका डीन यम बहादुर कार्की, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. हिरण्यप्रसाद गौतम, पाठ्यक्रम विकास केन्द्रका निर्देशक लिलाधर तिवारी, विज्ञान तथा प्रविधि सङ्कायका सहायक डीन पदम बहादुर जोशी, परिक्षा व्यवस्थापन नि. प्रमुख खेमराज रावत, मुसुमका निर्देशक डा. नारायण पौडेल लगायत ४० भन्दा बढी विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहेको सूचना अधिकारी  बिष्णु कुमार खड्काले जानकारी दिए ।