Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

जन्मकुण्डली र इच्छा पत्र टेबुलमा राखि शंकर मल्लले प्राण त्यागे

जन्मपछि मानिसको मृत्यु हुन्छ भन्ने जानकारी सबैलाई हुन्छ । तर यो कहिले हुन्छ भन्ने कुराको आभाष भनें ज्यादै कमलाई मात्र हुन्छ ।

केही समय पत्रकारितामा समेत संलग्न शंकर मल्लले आफुले लेखेको इच्छा पत्र र जन्मकुण्डली आफैले दराजबाट झिकी टेबलमा राखेपछि प्राण त्यागेका छन् ।

८४ बर्षिय मल्लको यही असोज १६ गते सोमबार आफ्नै निवासमा निधन भएको थियो । शरीरमा कुनै रोग नभएका उनले दशैंभरी मठ मन्दीरको दर्शन गरेका थिए । परिवारका सदस्यहरुका अनुसार, टीकाको दिन परिवार र आफन्तलाई टीका लगाएर सबैसंग रमाइलो गरी उनी सुतेका थिए ।

भोली पल्ट बिहान नुहाउन बाथरुम गएका उनी फर्किएनन । धेरै बेर सम्म नआएपछि ढोका फोडेर हेर्दा बाथ रुममै उनको निधन भइ सकेको थियो ।

शारीरिक तन्दुरुस्तीका साथ आफ्नो काम आफै गर्दै आइ रहेका उनको अकस्मात निधन पछि आत्तिएका पारिवारका सदस्यहरुले टेबुलमा फिजाएर राखेको कागज देखेर हेर्दा चिना र इच्छा पत्र भेटिएको थियो । यसबाट उनलाई आफ्नो मृत्युको आभाष थियो भन्न सकिन्छ ।

‘अन्तिम इच्छा’ शिर्षक दिइएको उक्त इच्छा पत्र २०७३ साल बैशाख २१ गते लेखिएको रहेछ । इच्छा पत्रमा लेखिएको छ, “मृत्युनै जीवनको सत्य हो ।

आनन्दी जीवनका लागि मृत्यु अनिवार्य छ । भगवानबाट सापट लिएको शरीर मृत्युपछि भौतिक शरीर बिलिन हुनेछ । तर आत्मा अमर रहन्छ । मेरो मृत्युपछि शरीर क्रिष्ट मेडिकल कलेज, इमाडोललाई दिनु । १३ दिने काजक्रिया ५ दिन मात्रै गर्नु ।

कुल पुरोहित हरी शंकर राजोपाध्यायज्युबाट इच्छा बमोजिम क्रियापुत्रीको कर्म काण्ड गराउनु । भोज भतेर नगर्नु । दीन दुखी बृद्ध बृद्धा, असहायहरुलार्य मृतकको नाममा भोजन गराउनु ।

मल्ल परिवारका १३ दिनेले पनि ५ दिन मात्र बार्नु । चोखो नितो गर्नु । दाजुभाई मिलेर बस्नु । जीवन साथीले रातो पहिरन र चुरामैं बस्नु । क्रिया बस्दा छोराहरुले सेतो पहिरन नलाउनु । अस्तु, शंकर मल्ल ।”

आफ्नो शरीर पहिलेनै क्रिष्ट मेडिकल कलेजलाई दान गरेका उनले १८ बर्ष अघि आफ्नो किड्नी निकालेर आफ्नै सालालाई दिएका थिए ।

मृत शरीर दान सम्बन्धी नेपालमा कानून नभएकाले उनले श्रीमती र सबै छोरा छोरीलाई मन्जुरी नामामा हस्ताक्षर गराई वडा कार्यालयको समेत शिफारिस ल्याएर मरेपछि आफ्नो शरीर दान गर्ने ब्यवस्था गरेका थिए ।

उनका श्रीमती पार्वती, सैयप मल्ल अशोक, दिपक र आशिक मल्ल गरी तिन छोरा र एक छोरी अलका छन । उनी सर्बोच्च अदालतकी न्यायधिश सपना प्रधान मल्लका ससुरा हुन ।

बाबुको इच्छा अनुरुप सन्तानले मृत शरीर अस्पताललाई दिएर कुशको लाश बनाई आर्यघाटमा दाहसंस्कार गरे । शंकर मल्ल पुराना पत्रकार पनि हुन । तर पत्रकारको रुपमा उनको खासै चर्चा गरिएन ।

सरकारी जागिरे उनले समिक्षा साप्ताहिकमा काम गरेका थिए । उनको सम्पादनमा २०३४ साल देखि केही बर्ष तरुण मासिक प्रकाशित भएको थियो ।

घटना र विचारबाट