Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

सकियो दशैं : तीन वर्ष यताकै शान्तिपूर्ण

नेपालीहरुको महान पर्व विजया दशमी (दशैं) भरखरै सकिएको छ । हिजो (विहीबार) कोजाग्रत पूर्णिमासँगै दशैं बिर्जसन भएको छ । दशैंको बेलामा देशमा विभिन्न घटनाहरु घट्ने गर्दथे । तर तीन वर्ष यताकै शान्त र सौहाद्रपूर्ण दशैं (२०७४) भएको छ ।


दशैंको बेलामा घर जाने यात्रुहरुले बस खचाखच भरिने गर्दछन् । क्षमता भन्दा अत्याधिक यात्रुहरु सवार गाडि दुर्घटनाको खबरले दशैंमा कतिपय गाउँहरु शोकमग्न हुने गर्दथे । तर यसपटकको दशैंमा यात्रुहरुको खचाखच पुराना दशैंहरु झैँ भएपनि खासै गाडिहरु दुर्घटना भएको नराम्रो खबर नेपालीहरुले सुन्नु र भोग्नु परेन । यो ज्यादै सुखद पक्ष हो ।

यस पटकको दशैंमा पनि विगतका दशैंहरु झैँ बजारमा सामान किन्नेहरुको निकै घुइँचो लाग्यो । दशैंको बेलामा कतिपय स्थानहरुमा कालोबजारी हुने र बेच्ने मूल्य भन्दा अत्याधिक नाफा लिएर सामान बेच्ने व्यापारीहरु र दशैंको बेलामा कृतिम अभाव सिर्जना गरेर उपभोक्ताहरुलाई दुःख दिनेहरुको संख्यामा पनि कमी नै देखियो ।

दशैंको बेलामा घर फर्कनेहरुको लर्कोले बसपार्कमा निकै भीडभाड थियो । बसपार्कमा भएको त्यस्तो भीडभाडमा कतिपय मान्छेहरुको सामान हराउने देखि गरगहनामा समेत चोरी हुने गरेका घटनाहरु निकै सुन्नु पर्दथ्यो । तर यस पटकको दशैंको बेलामा भने खासै त्यस्तो नराम्रो काम पनि नभए ।

एकातिर यात्रुहरु आफै सचेत हुनु र अर्कोतिर प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गर्नुले पनि गलत कार्य गर्नेहरुले हिम्मत नगरेका होलान् । विगतका दशैंहरु भन्दा यसपटकको दशैं शान्त र सौहाद्ररुपमा सम्पन्न हुनुमा सुरक्षा व्यवस्थालाई कडाईका साथ परिचालन गरिनु पनि हो भन्छन् जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी मोहन आचार्य । दशैंलाई मध्य नजर गरेर ट्राफिक प्रहरी सहितको हाइवे चेकिङ्गको व्यवस्था गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सबै जिल्लाका सबै क्षेत्रहरुमा जसको नेतृत्वमा प्रहरी परिचालन गरेको छ त्यहाँ कुनै पनि समस्या आएमा त्यसले जवाफदेही हुनुपर्ने र सुरक्षा क्षेत्रमा कमी भएको प्रमाणित भएमा त्यस्तो सुरक्षा नेतृत्वले नै सजायको भागीदार हुनु पर्ने व्यवस्था समेत गरेको जिल्ला प्रहरी प्रमुख एसपी आचार्यले सूक्ष्मदृष्टिसँग भने । दशैंको बेलामा हुन सक्ने सम्भावित घटनाहरुको अध्ययन गरेर सादा पोषाकमा समेत प्रहरी परिचालन गरिएको र प्रहरीले पनि सर्वसाधारणबाट साथ पाएकोले दशैंमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सफल भयो भने सर्वसाधारणहरुले शान्तिपूर्वक दशैं मनाउन पाएको भनाई छ एसपी  आचार्यको ।

त्यसैगरी सुर्खेतमा मात्र नभएर समग्र ६ नं. प्रदेशमा नै दशैंमा कुनै पनि दुःखद घटना नभएको र सम्पूर्ण सर्वसाधारणहरुले समेत ढुक्क भएर दशैं मनाउन पाएको बताउँछन् क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत प्रदेश नं. ६ का प्रहरी प्रमुख एआइजी रणबहादुर चन्द । सुर्खेत मात्र नभई दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा लगायतका जिल्लाहरुमा दशैंको बेलामा लाग्ने जात्राहरुलाई समेत मध्यनजर गरी प्रहरी परिचालन गरिएको र स्वयम् जनस्तरबाट पनि सजगता एवम् सहजता भएकोले पनि दशैं सोचे जस्तै शान्त हुन सकेको हो भन्छन् – एआइजी चन्द ।

दशैंको बेलामा भन्दा तिहारको बेलामा द्यौसी र भैली खेल्ने कार्यक्रम हुने भएकोले पनि तिहारमा हो–हल्ला हुने बढि सम्भावना रहन्छ । हो–हल्लाको प्रमुख स्रोत भनेकै अत्याधिक मदिरा सेवन हो । दशैं भन्दा पनि तिहार सुर्खेतमा अझ बढि जोखिम पूर्ण रहन्छ । उक्त जोखिमलाई न्यूनिकरण गर्नका लागि अपनाउनु पर्ने सबै उपायहरु अपनाउने प्रहरीको भनाई छ ।

दशैं शान्तिपूर्ण रुपमा सम्पन्न हुनु सबैका लागि खुसीको कुरा भएको र प्रहरी प्रशासनदेखि आम सर्वसाधारण, पेशा व्यावसायी लगायतको सहयोगले जसरी दशैं शान्तिपूर्ण भयो त्यसरी नै तिहार पनि शान्तिपूर्ण रुपमा मनाउन सबै नगरवासीलाई आग्रह गर्दछन् – वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुबेदीले ।

सुर्खेतमा हुने ठूला घटनाहरु तथा जुवातास लगायतका अपराधहरु समेत हुँदै आएकोमा अहिलेको दशैंमा त्यस्तो कुनै कार्य कोही कसैबाट नभएकोले, नागरिकहरु स्वयम् सचेत भएको, स्थानीय प्रशासन पनि सक्रियताका साथ लागि परेको साथै उद्योगी व्यापारीहरुले पनि आ–आफ्नो स्थानबाट निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गरेकोले पनि दशैं शान्त वातावरणमा सम्पन्न भएको बताउँछन् – ६ नं. प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष पदम बहादुर शाही ।

अत्याधिक मदिरा सेवनका कारण घरपरिवार तथा साथीहरुसँग पनि झैँ झगडा हुने र त्यसले नराम्रो रुप धारण गर्ने भएकोले मदिरा सेवनलाई दशैं तिहार जस्ता पर्वहरुको बेलामा यसको प्रयोगलाई घटाउन सकेको खण्डमा वातावरणमा खासै असर पर्दैन भन्छन् – साहित्यकार तथा समालोचक नारायण प्रसाद तिमिल्सेना ।

पहिलेका दशैंहरु भन्दा शान्त वातावरणमा दशैं मनाउन पाएकोमा निकै खुसी लागेको छ भन्छन् चार वर्ष पछि मात्र दशैंमा घर आइपुगेका वीरेन्द्रनगर ८ का पूर्ण बहादुर रावत । साउदीमा काम गर्दै विताएका आज भन्दा तीन वटा अघिका दशैं भन्दा यस पटकको दशैं रावतका लागि पनि निकै रमाइलो भयो भने गाउँघरमा कहिँ कतै हो–हल्ला नभएकोले झनै खुसी लाग्यो रावतलाई । उनी थप्छन् – अब तिहार पनि दशैं जस्तै शान्त भइदेओस् ।

दशैंको बेलामा जस्तै तिहारको बेलामा समेत सुरक्षा व्यवस्था निकै कडा हुने प्रहरीले जनाएको छ भने सर्वसाधारणहरुले प्रहरीलाई गर्नु पर्ने सहयोग गरिदिन समेत आग्रह गरेको छ ।

सूक्ष्मदृस्टीबाट