Loading... आजः १३ बैशाख २०८१, बिहीबार । Thursday 25th April 2024

वाम गठवन्धनबाट बाहिरियो नयाँ शक्ति, बाबुराम गोरखा २ बाटै लड्ने

२७ असोज, काठमाडौं ।

नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ । उसले आफ्नै चुनाव चिहृन आँखा लिएर निर्वाचन लड्ने निर्णय गरेको छ ।

एमाले र माओवादीबीच भएको चुनावी तालमेलसँगै एकतामा नयाँ शक्ति पनि समाहित भएको थियो । साथै नयाँ शक्तिले एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति जनाएको थियो । तर, सिट बाँडफाँटमा सहमति हुन सकेन ।

नयाँ शक्तिले १५ प्रतिशत मागेको थियो । तर, माओवादी केन्द्रले नयाँ शक्तिका संयोजक डा. भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ नै छोड्न तयार भएन ।

त्यहाँबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनाव लड्ने तयारीमा छन् । यससँगै रुष्ट बनेका भट्टराईले आफूविरुद्ध षड्यन्त्र भएको टिप्पणी गरेका थिए ।

नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले आँखा चिहृन लिएर चुनाव लड्ने निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आˆनै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।’

वाम गठवन्धनबाट बाहिरिँदै नयाँ शक्तिले उम्मेदवारहरू समेत घोषणा गरेको छ । बैठकले संयोजक डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्ने निर्णय गरेको छ ।

यस्तै कैलाली ३ मा कृष्णकुमार चौधरी र कपिलबस्तु १ मा दानबहादुर चौधरी, रसुवामा प्रेम तामाङ र खोटाङमा मदन राईलाई उम्मेदार घोषणा गरेको छ ।

नयाँ शक्तिले संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता)लाई अस्वीकार गर्ने राजनीतिक पार्टी र व्यक्तिबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय समेत गरेको छ ।

नयाँ पार्टीका संसदीय मामिला विभाग प्रमुख केशव दाहालले आँखा चुनाव चिन्ह लिएर लडेपनि आफ्नो पार्टीले उम्मेदवारी दिएका ठाउँमा एमाले र माओवादीले उम्मेदवार नदिए तालमेल हुन सक्ने बताए ।

स्रोत ः अनलाइन खबर