Loading... आजः २ बैशाख २०८१, आईतवार । Sunday 14th April 2024

उनीहरु रारा घुमे : म सारा घुमें

विहानको घामको किरण पृथ्वीसम्म आइ पुगेको थिएन । त्यसैले पाँच मिटर नजिकैको मान्छे पनि को हो भनेर चिन्न सकिने अवस्था थिएन । मोवाइलको उज्यालो बालेर मेरा पाइलाहरु अघि बढिरहेका थिए । साथीहरुसँगको अघिल्लो दिनको सल्लाह बमोजिम जति सक्यो छिटो हाम्रो यात्राको शुरुवात गर्नु थियो हामीलाई ।


मसँगै रारा घुम्न जाने निधो गरेका नेपालगञ्जका साथीहरु हिजै सुर्खेतको वीरेन्द्रनगर आइपुगिसकेका थिए । उनीहरुको आगमनले राराको यात्रा निकै रमाइलो हुनेमा म पनि खुसी थिएँ । एकातिर पहिलो पटक राराको यात्रा गर्नु छ अर्कोतिर साहित्यका प्रखर व्यक्तित्वहरुसँगको संगत गर्नु छ ।

बाटो भरी साहित्य गुञ्जनका बारेमा कुरा गर्दै आफ्ना सुनाउँदै र अर्काका सुन्दै सुर्खेतदेखि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै कर्णालीको तिरतिरै अगाडि बढ्ने बेलाको यात्रा अनुमान गरिरहेको थिएँ म ।

कर्णाली । कर्णाली सम्झने बित्तिकै धेरै मान्छेको सात्तो जान्छ । किनकी कर्णाली राजमार्गलाई मान्छेहरुले मृत्युमार्गको संज्ञा दिइसकेका छन् । कर्णालीले धेरै मान्छेको ज्यान आफैसँग राखेको छ । एकातिर बाटो निकै अप्ठ्यारो अर्कोतिर ट्राफिक प्रहरीले गर्नु पर्ने निगरानीमा कमी । ट्राफिक नियमको उल्लङ्घन । नेपाल सरकारले आन्तरिक तथा बाह्य पर्यटकहरुको अवधारणा ल्याएपनि बाटोको स्तरोन्नती गर्नु पर्छ भन्ने अवधारणा कहिल्यै ल्याउन सकेन ।

जुम्ला कालीकोटको बाटो हुँदै मुगु पुग्नु पर्ने । धर्तीको स्वर्ग हेर्नका लागि सबैको मन आतुर हुने नै गर्दछ । तर त्यही धर्तीको स्वर्गको स्वर्णीम आनन्द लिन जाने बाटोको दुर्दशा सम्झने हो भने कालीकोट, जुम्ला हुँदै मुगुसम्मको यात्रा कसैले नगरोस् भन्ने कामना गर्नु बाहेक अरु केही उपाय छैन म र म जस्ताहरुको ।

कुनै जमानामा ‘बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको’ बोलको गीत निकै चर्चित थियो । अझ विशेष गरी कर्णाली राजमार्गमा गाडि चलाउनेहरुले निकै बजाए यो गीत । त्यो बाटो खुलेका बेलामा जति खुसी छाएको थियो यस भेकका जनताहरुमा त्यसले त्यत्तिकै पीडा पनि दिएको छ यस भेकका जनताहरुलाई ।

प्रायः जसो दशैं तिहारका बेलामा हाम्र्रो देशमा गाडि दुर्घटनाका दुःखद खबरहरु सुन्न बाध्य हुनु पर्दछ । अत्याधिक गति र क्षमता भन्दा बढी यात्रुहरुले खचाखच भएका गाडिहरु गुड्ने गर्दछन् । हाम्रो देशका प्रायः सबै सडकहरु । एक हजारदेखि एक हजार पाँच सयसम्मको जरिवानाको रसिद काटेर ट्राफिकले क्षमता भन्दा बढि यात्र राखेका गाडिहरुलाई गन्तव्यमा जान आदेश गर्छन । त्यो जरिवानाको रसिदले गाडि दुर्घटना हुनबाट जोगाउने क्षमता राख्छ कि राख्दैन भन्ने कुरा सरोकारवालाहरु किन बुझ्दैनन् होला ।

यस्तै भावहरुलाई उराल्दै अगाडि बढिरहेको छु म । जब साथीहरुलाई तोकिएको स्थानमा भेट्दिन तब म निराश हुन्छु ।
देशले संचारको क्षेत्रमा निकै विकास गरिसकेको छ । प्रविधिको विकास भइसकेको छ भनेर फलाक्नु मात्र हो । भनेको बेलामा र आवश्यक परेको बेलामा नेटवर्कले काम नगरेपछि मोवाइल नै फुटाइदिउँ भन्ने झोक पनि नचलेको होइन मलाई । उनीहरुले पनि फोन गर्नु नि । कस्ता होलान् ? मनमा अलि अलि रिस पनि उठेको छ । तर कहाँ छन् कता छन् कुनै पत्तो नलागे पछि म अन्यौलमा परे । न एक्लै राराको यात्राको शुरुवात गर्ने हिम्मत आयो न उनीहरुलाई नै भेट्न सके ।

मेरो मन दैलेखको गुराँसे, तालपोखरी, तल्लो डुङ्गेश्वर, पादुका, अलि परको टुनिबगर, साँईखोला, राकम कर्णाली, जिते हुँदै कालीकोट एकै छिनमा जुम्लाको सिंजासम्म पुगिसकेको थियो । आहा ! जुम्ला । चन्दननाथको पुण्यभूमि । नेपाली भाषाको उद्गमस्थल । सिंजा उपत्यका । मेरो आँखाले मनमनै यी सबै क्षेत्रहरुको अवलोकन गरिसकेको थियो । साथीहरु गाडि चढिसके वा होटलको कोठामै घ्वाँर घ्वाँर गर्दैछन् ।

बसपार्कमा पर्खदा पर्खदा तीन कप चिया खल्र्याप्प पारिसकेछु । तर पनि साथीहरुको पत्तो नलागेपछि अब म झनै सकसमा परे । जाउँ भने एक्लै कसरी जानु नजाउ भने मन मष्तिस्क रारा तालको छेउमा भएका बुकि फूलहरुसँग रमाउन पुगिसकेको छ ।

जे होस् । ‘हुल मुलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनु’ भने झैँ हुल मुलमा साथीहरुले बिर्से छन् मलाई । कुनै दिन ‘आफैलाई बिर्सदा’ भने कथा पढेको थिएँ । त्यसलाई पनि सम्झेको छु । नेपाल टेलिकमको नेटवर्कले ८ः३५ बजे मात्र काम ग¥यो । धन्य मेरो देशको संचार सेवा ।

मोवाइलमा टिङ टिङ आवज आएसँगै मनमा निकै कौतुहलताका साथ फोन उठाएँ । कहाँ पुग्नु भयो ? म त सुर्खेत बसपार्कमै छु हजुर । हामी त दुल्लु नगरपालिकाको सियाँला भन्ने स्थानमा पुगिसक्यौ हजुर लौ छिटो आउनु प¥यो । आदेशात्मक उत्तर पाएँ मैले ।

त्यसपछि मलाई रारा जानै मन लागेन यतिबेला । साथीहरुले सुर्खैतबाट त सँगै लिनसकेनन् भने म कसरी उनीहरुको साथमा हो मा हो मिलाउन सक्छु होला र । त्यसैले अब म यतिबेला रारा जान्न यही निधो गरेर फर्किएँ आफ्नो बासस्थान तिर ।

रारा यति नजिकै रहेछ ? घरमा आफ्नै गृहमन्त्रीको यो कटाक्ष सुनेर के जवाफ दिने । म अकमकिएँ । त्यस पछि प्याच्च भनिदिएँ – उनीहरु रारा घुमे म सारा घुमे ।