Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कविता – वासुदेव पाण्डेय ‘प्रभाकर’

प्रणय निवेदन

झिकी मेरो आफ्नो मुटु पनि पठाएँ तर पनि
तिमी बस्छ्यौ साँच्चै हृदय नहुने पत्थर बनी ।
छु कैदी ती तिम्रा नयनद्वयमा रात र दिन
म उस्तै ठान्थेॅ है मन वचन थाल्यो बदलिन ।।

सधैॅ एक्लो बस्दा विगत दिनमा हर्षित थिएँ
तिमी मेरी भन्ने महसुस भई झन् नजिकिएँ ।
झुकेॅ,आज्ञा मानेॅ,सब चिज दिएँ,लोभ नगरी
बनाएथेॅ मैले हृदय बिचमा प्रेम नगरी ।।

सधैॅ बस्छन् मान्छे नजिक तनले, दूर छ मन
कतै मान्छे टाढा, मन नजिक यस्तो छ चलन ।
तिमी आफैॅ भन्नू सकल जग यो गाँस्छ पिरती
बढी उम्ले आफ्नै पतन अथवा हुन्छ नि खति ।।

न आगो नै गर्थ्यो भरभर सधैॅ याद नभए
न छाती दुख्थ्यो यो चसचस सधैॅ प्रेम नभए ।
कहाँ चल्थे होलान् रगत,मटु यी सास नभए
कहाँ कोर्थेॅ तिम्रो विमल प्रतिमा आश नभए ।।

सिरानीका चिट्ठी हरदिन पढे हुन्छ सहज
र खल्तीमा फोटो प्रतिपल हुने गर्दछ अझ ।
छ चासो चिन्ताको विषय अहिले जीवन भयौॅ
म आफू बिर्सेॅ झैॅ सबतिर तिमी देखिन गयौ ।।

सुरक्षा काँडाको कुसुम सबमा त्रास र छल
हिलो बिर्सी फुल्ने कमल जगमा हुन्छ सफल ।
ढिलो गर्दा ढल्ला महल सपनाको धुरुधुरु
तिमी रोए होलान् सबतिर कि हाॅस्ने दिन सुरु ?

भए चोखो माया विमल मनमा हुन्छ र छल
र भैॅचालोजस्तै हृदय घरमा के हलचल ?
नदीको डुङ्गाझैॅ नगर प्रियसी झन् ढलपल
बनाऊँ के अर्को प्रणय जगमा ‘ताज महल’?

→ शिखरिणी