Loading... आजः १३ बैशाख २०८१, बिहीबार । Thursday 25th April 2024

केन्यामाथि नेपालको शानदार जित

३० फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले माथ दियो ।

newsabhiyan

 

एकदिवसीय क्रिकेटमा केन्यामाथि नेपालको यो पहिलो विजय हो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेले । उनले ९३ बलमा १ छक्का र चौकासहित ६४ रन बनाए । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । आफ्नो दोस्रो म्याचमै महत्वपूर्ण अर्धशतक हानेका दिपेन्द्रले ६६ बलमा ८ चौका र १ छक्कासहित ६२ रन बनाएका थिए ।

सुरुवाती दुई विकेट सस्तैमा खसेपछि नेपाल दवावमा आएको थियो । ओपनर सुनील धमला र तेस्रो नम्बरमा आएका सागर पुन क्रमशः १ र ५ रनमा आउट भए । तर त्यसपछि ज्ञानेन्द्र र दिपेन्द्रले नेपालको इनिङ सम्हाले । दिपेन्द्र आउट हुँदा नेपाललाई जितका लागि केवल ३१ रनको आवश्यकता थियो ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावकरले केवल ११ बलमा २४ रन बनाए । उनले ३०.२ ओभरमा छक्का हान्दै नेपाललाई जिताएका थिए । अन्तिम ओभरहरुमा नेपालले चौका र छक्काको वषर्ा गरेको थियो ।

केन्याका बलहरुमा ओटिनोले दुई विकेट लिए भने ओबुवाले एक विकेट लिए । अन्य बलरहरु विकेटविहिन रहे ।

यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्टटाइम स्पिनर शरद भेषावकरले चार विकेट लिएर केन्याको इनिङ धराशयी बनाए । उनले ७.१ ओभरमा २८ रन दिएका थिए ।

मेहेबुब आलमले सनसनीपूर्ण बलिङ गर्दै सात ओभरमा पाँच मेडन राखेर दुई विकेट लिए । उनको बलिङमा केन्याका ब्याट्सम्यानले केवल ११ रन बटुल्न सफल भएका थिए । यसैगरी स्पिनर बसन्त रेग्मीले पनि दुई विकेट लिन सफल भए भने सागर पुन र सन्दिप लामिछानेको खातामा एक-एक विकेट रह्यो ।

मेहेबुबले सुरुमै दुई विकेट लिएपछि केन्या दवावमा आएको थियो । तर करिम र ओबुयाले चौंथो विकेटका लागि ७९ रनको पार्टनरसिप गर्दै केन्यालाई खेलमा फर्काएका थिए । सन्दिप लामिछानेले सो पार्टनरसिप तोडेपछि केन्याले म्याचमा आफ्नो पकड गुमाउँदै गयो । म्याचमा नेपालका स्पिनरहरु पूर्णरुपमा केन्याका ब्याट्सम्यानहरुमाथि हावी भएका थिए ।

यो जितसँगै नेपालले च्याम्पियनसीपको शिर्ष चार स्थानमा पुग्ने सम्भावनालाई गणितीयरुपमा जिवित राखेको छ । अब नेपालले हङकङ र यूएइसँग खेल्न बाँकी छ । नेपालले घरेलु मैदानमा खेल्ने यो अन्तिम म्याच थियो ।