Loading... आजः २ बैशाख २०८१, आईतवार । Sunday 14th April 2024

पाँच पाण्डवको एउटै रणभूमी

नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै स्थानीयस्तरका देखि राष्ट्रियस्तरका नेताहरुसम्मको नजर स्थानीय तहको निर्वाचन तर्फ मोडिनु स्वभाविकै हो । स्थानीय तहको निर्वाचनको परिणामले प्रादेशीक र संघीय तहमा हुने निर्वाचन समेतलाई आंकलन गर्न सक्ने बस्तुस्थितिमा पु¥याउने भएकोले पनि सबैको केनद्र बिन्दु निर्वाचन भएकोमा कसैको बिमति छैन होला । सरकारले राजनीतिक खिचातानीका कारण एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न नसक्ने भएकोले गर्दा दुई चरणमा बाँडियो । सहज तरिकाले निर्वाचन गर्न सकिन्छ भने त्यसलाई दुई चरणमा बाँड्दैमा केही फरक पर्नेवाला छैन । तर निर्वाचन धाँदली रहित, निष्पक्ष र भयरहित वातावरणमा हुनु पर्दछ ।

कपिल आचार्य

प्रदेश नं. ६ र त्यसको सम्भावित राजधानी सुर्खेतको वीरेन्द्रनगर । तत्कालिन राजा वीरेन्द्रले समेत मनपराएको वीरेन्द्रनगर नेपालका सुन्दर भौगोलिक स्थलहरु मध्ये एक हो । भौगोलिक बनावटदेखि हावापानीको सन्तुलनसम्मले सम्पन्न हुनु यहाँको विशेषता हो । नेपालको मात्र नभएर देशकै सुन्दर शहरहरुको दाँजोमा पुग्नु पर्ने वीरेन्द्रनगर अहिले पनि उही गति र स्थितिमा छ जुन गति र स्थितमा राजा वीेरेन्द्रको प्रत्यक्ष शासनकालमा थियो । त्यहाँ भन्दा बढि यस नगरमा खासै हेर्न र देख्न लायकका कार्यहरु भएका छैनन् भन्दा पनि फरक नपर्ला । वीरेन्द्रनगरलाई कर्णालीको प्रवेशद्वारको रुपमा हेर्नेहरुले कर्णालीको प्रवेशद्वार मात्र माने तर यसको समृद्धि र विकासका लागि गर्नु पर्ने कार्यहरु भन्दा पनि आफ्नो र राजनीतिक स्वार्थको लागि जके गरे त्यो न प्रत्यक्ष रुपमा जनताले हेर्न पाए न अनुभव नै गर्न पाए ।

राजनीतिक रुपमा यस जिल्लाका नेताहरु पटक पटक मन्त्रीसम्म बनेका छन् । आफ्नो पार्टीमा राम्रै दख्खल राख्ने पूर्वगृहमन्त्री एवम् देशकै ठूलो पार्टी नेपाली काँग्रेसको पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का, पर्यटन मन्त्री देखि एमाले भित्र राम्रै प्रभाव जमाएका यामलाल कंडेल, पार्टी भित्र राम्रो छवि निर्माण गर्दै सुर्खेती जनताका बिचमा निष्पक्ष, निष्कलंक र स्वच्छ छविको नेताको रुपमा चिनिएका मुकुन्दश्याम गिरी आदि । राष्ट्रिय राजनीतिमै उथलपुथल ल्याउन सक्ने काँग्रेस र एमालेका नेताहरुले यस नगरको लागि बुँदामा गन्न सक्ने यो यो कार्य हामीले ग¥यौ भनेर देखाउने कार्य के छ ? भनेर यस नगरका जनताले प्रश्न गरेमा उनीहरुले जनतालाई दिने उत्तर के होला ?

आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर विभिन्न एजेण्डाहरुका साथ वीरेन्द्रनगर नगरपालिकाको प्रमुख लगायतका विभिन्न वडाहरुमा आफ्नो विजय ताज सुरक्षित गर्नका लागि नेताहरु जनता समक्ष आएका छन् । विशेष गरी नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा राजनीतिक दलगत रुपमा लागिरहेका छन् भने तिनीहरुको भन्दा पृथक शैलीमा सुर्खेतका सामाजिक अभियान्ताको रुपमा परिचित एउटा शिक्षाप्रेमी गेहेन्द्रप्रसाद दहाल लागिरहेका छन् । काँग्रेसका देबकुमार सुबेदी, एमालेका बालाराम शर्मा, माओवादी केन्द्रका रत्नबहादुर गाहा, राप्रपा इश्वरकुमार श्रेष्ठ र स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दाहाल । यी पाँच जनाका बिचमा वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि अदृष्य तर भनायक लडाई चलिरहेको छ । यो लडाईको रणभूमीमा जनता भीष्मपितामहको रुपमा प्रस्तुत हुँदैछन् । महाभारतको युद्धमा सत्य र असत्यको राम्रो ज्ञान भएर पनि भीष्मपितामहले किन कौरवहरुलाई साथ दिए । असत्यको पक्षमा साथ दिएका कारणले उनले समेत मृत्यूवरण गर्नु प¥यो । पाण्डवहरु सत्यको पक्षमा थिए त्यसैले उनीहरुको जित भएको यस युगमा समेत धेरैलाई जगजाहेर नै छ । नेपाली जनता २१ औं शताब्दीका चेतनशील जनता हुन । त्यसैले जानीजानी भीष्मपितामह जस्तो असत्यको पक्षमा जनता लाग्ने पक्षमा छैनन् भन्ने कुरालाई राम्ररी नेताहरुले बुझ्न जरुरी छ । किनकी राम्रो भन्दा पनि हाम्रो र पार्टीको अन्धभक्त भएर लाग्नेहरुको कारणले गर्दा देशले जसरी सक्षम नेताहरु पाउन सकिरहेको छैन त्यस्तो अवस्थाको सिर्जना वीरेन्द्रनगर नगरपालिकामा नहोस् भन्ने चाहना वीरेन्द्रनगर बासीको छ ।

मेयर पदको लागि युद्धमा उत्रिएका पाँचै जना उम्मेदवारहरुलाई कम आँक्न मिल्दैन । महाभारतको युद्धमा उत्रिएका पाँच माण्डव जस्ता देखिने यी पाँच उम्मेदवारहरु मध्ये साँच्चिकै युधिष्टिरको भूमिका खेल्न सक्ने को होला ? भीम, अर्जुन, नहकूल र सहदेवको भूमिका पनि कम छैन तर युधिष्टिरले खेलेको भूमिकाको कारण महाभारतको युद्धमा पाण्डवहरुले जितेका हुन । हुन त पाण्डवहरुको साथमा कृष्ण पनि थिए । द्रौपदीको चिरहरण हुने बेलामा कृष्णले आफ्नो अदृष्य शक्तिले उनको इज्जत जोगाएका थिए । त्यसरी नै वीरेन्द्रनगर नगरलाई साँच्चिकैको वीरेन्द्रनगर बनाएर यसको इज्जत जोगाउने नेतालाई आफ्नो मतदान गर्ने बेला आएको छ । यो वा त्यो बहानामा वा लोभ लालच, डर धम्की वा त्रासका कारणले निर्वाचनलाई आफ्नो पोल्टामा पार्न सकिन्छ भन्ने ठान्नु आकाशको फल आँखा तरी मर बाहेक अरु केही हुने छैन ।

पाँच पाण्डवरुपी उम्मेदवारहरु एउटै मैदान युद्धमा होमिएका बेलामा कसले सत्य, कर्तव्य र निष्ठाको राजनीतिक गरेको छ भन्ने प्रमाणित हुने बेला पनि हो यो । शक्ति र भक्तिका आडमा चल्नेहरुले के पाउन सक्छन् र के गुमाउन सक्छन् भन्ने बेला पनि हो यो । सेवाहि परमो धर्म कसले सम्झेको छ भन्ने बेला पनि हो यो । त्यसैले ए पाण्डवरुपी उम्मेदवारहरु हो पूरा गर्न सक्ने एजेण्डाहरु लिएर जनताको मन जित्ने कोशिस गर्नुहोस् महाभारतको जस्तो धनुषबाणले तपाइँलाई युद्ध जिताउने छैन भन्ने कुराको राम्रो हेक्का पनि रहोस् । अब नेताको धनुषबाण भनेको शक्ति र सत्ताका लागि होइन जनताका लागि हुनुपर्छ । आर्थिक क्रान्तिदेखि प्रविधि र भौगोलिक विकासका लागि हुनुपर्छ । एउटा कोठामा बसेर एनजिओमा जागिर लगाएको भरमा यदि कसैले निर्वाचन आफ्नो पक्षमा छ भन्ने सोचेको भए त्यसको यथार्थ परिणाम के हुन्छ भन्ने थाहा पाउन त्यत्ति धेरै पर्खनु पर्ने पनि छैन । अन्तमा, भन्ने पर्छ तपाइँहरुको सल्लाहकारले नै तपाइँलाई युद्ध जिताउने हो । राजनीति मात्र होइन रणनीति पनि अपनाउन सक्नु बुद्धिमानी ठहर्छ ।