Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

ठेकी भर्ने योजनामा छु : गेहेन्द्र

सुर्खेतको साविक रतु गा.वि.स. वडा नं. ६ मा २०२६ सालमा पिता कृष्णप्रसाद दहाल र माता बिष्णुकुमारी दहालको सुपुत्रको रुपमा जन्मेर २०४६ सालमा पारेगाउँ विद्यालयमा प्रा.वि. तहको शिक्षकमा नियुक्त भएर शिक्षाको क्षेत्रमा प्रवेश गरेका गेहेन्द्र प्रसाद दहाल एउटा सफल शिक्षकको रुपमा सुर्खेतमा चिनिन्छन् । सुर्खेत जनसेवा मा.वि. धुस्रामा गेहेन्द्र प्रसाद दहाल सरुवा भएर आउँदा विद्यालयको भौतिक अवस्था निकै दया लाग्दो अवस्थाबाट गुज्रिरहेको थियो । विद्यालयमा हुने शैक्षिक क्रियाकलापहरु हुनु पर्ने जत्ति नभएका कारण परीक्षामा आउने परिणाम न्यून रहने गरेको थियो ।


गेहेन्द्र दहालले विद्यालयको प्रशासनिक कार्य सम्हालिसके पछि त्यहाँका अभिभावक, शिक्षक, विद्यार्थी लगायत सिंगो समाजले नै गेहेन्द्रको नेतृत्वलाई निकै प्रशंसा गरेको इतिहास त्यत्ति धेरै पुरानो भइसकेको छैन । उनको प्रशासनिक कार्यशैली र अन्यको सहयोगको कारण सुर्खेतमा एक मात्र ‘क’ श्रेणीमा पर्न सफल भएको विद्यालयलाई भौतिक रुपमा समेत सम्पन्न बनाउने कार्यले गर्दा उनको क्षमता र दक्षतालाई मध्य नजर गर्दै भौतिक एवम् शैक्षिक रुपमा निकै पछाडि परिरहेको विद्यालय श्रीकृष्ण संस्कृत साधारण माविमा गेहेन्द्रको सरुवा गरिएको थियो । गेहेन्द्रको सरुवाको कारणले केही समय घुस्रा तनावग्रस्त भएको र जिल्ला शिक्षा कार्यालयले समेत घेराउ गरि मागेको इतिहासलाई पनि सुर्खेती शिक्षाक्षेत्रमा लागेकाहरुले बिर्सन सक्दैनन् ।

द्वन्द्वकालिन अवस्थामा सुर्खेतमा नेपाल शिक्षक संघको नेतृत्व गरेका बेलामा सबैसँगको समन्वयमा कार्य संचालन गर्दै नेपाल शिक्षक संघको तर्फबाट सुर्खेत जिल्लाले उत्कृष्ट कार्य सम्पादन गरेकोले सुर्खेत जिल्लालाई प्रथम पुरस्कार दिलाउन सफल भएकोले पनि गेहेन्द्र दहाल एउटा असल शिक्षक हुन भन्नेमा कसैको बिमति छैन ।

जनसेवा माध्यमिक विद्यालयमा कार्यरत हुँदा बर्ष २००५ को जेसिसको राष्ट्रिय अध्यक्ष भएपछि नेपालमा चलिरहेको द्वन्द्वको समयमा समेत उत्कृष्ट कार्य गरेकोले उनले विश्वमै जेसिसमा उत्कृष्ट अधयक्षको रुपमा सम्मानित भएकोले पनि उनले गर्ने नेतृत्व र प्रशासनिक एवम् नेतृत्व क्षमतालाई सबैले आंकलन गरिरहेका छन् ।

तपाइँ गयो यही सफल हुने जादुगर झैँ देखिने गेहेन्द्र यो माटोको उर्जा र सुर्खेती युवा एवम् सुर्खेती नागरिकहरुको अभूतपूर्व स्नेह र नेपालीहरुको सद्भाव नै हो भन्ने सम्झन्छन् । जसको कारण २००६ मा जेसिसको अन्तर्राष्ट्रिय सदस्यको हैसियतले एशिया प्यासिफिक संयोजक भई जेसिजका २२ वटा राष्ट्रिय संगठनको नेतृत्व गरेका र त्यसलाई जिम्मेवारी पूर्ण तरिकाले सफलता पूर्वक अगाडि बढाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म सुर्खेतलाई चिनाउने कार्यमा कतै कञ्जुस्याँई गरेनन् गेहेन्द्रले । त्यसकै प्रतिफल स्वरुप आज गेहेन्द्र एउटा असल शिक्षक भएर गर्वका साथ उभिन सकेका छन् ।

२०७० सालमा उनले एउटा अभियान चलाए । शिक्षक हुँदा राजनीति गर्दिन भन्ने । साथमा उनको अर्को नारा पनि थियो – म शिक्षक हुनुमा गर्व गर्छु । नेपालमा जताततै ट्रेड युनियनहरु बनेका छन् । चाहे त्यो शिक्षकमा होस् चाहे कर्मचारीमा होस् या मजदुरमा होस् या व्यापारी, विद्यार्थी, धनि, गरिब । जसको कारणले गर्र्दा एउटासँग काम गराउँदा अर्कोले खेप्नु पर्ने पीडा अत्यन्तै दर्दनाक अवस्थामा छ । नेपाली जनताले तिरेको करबाट नेपाल सरकारको ढुकुटीमा जम्मा भएको पैसाबाट तलब भत्ता खाएर बसेका कर्मचारीले सेवाग्राहीलाई राजनीतिक आग्रह र पूर्वाग्रह गरे भने त्यो भन्दा ठूलो अन्याय केही हुन सक्दैन । त्यस्तै गरी शिक्षा जस्तो गरिमामय पेशामा लागेकाहरुले विद्यार्थीलाई आग्रह र पूर्वाग्रह राखेर शिक्षा दिने हो भने त्यो शिक्षा कस्तो होला । त्यसैले गेहेन्द्र दहालले शुरुवात गरेको अभियान शिक्षक हुँदा राजनीति छोड र राजनीति गर्दा शिक्षक छोड । यही अभियानलाई पूर्णता दिनका लागि गेहेन्द्रले २०७३ सालको मंसिरमा शिक्षक छोडे र २०७४ को वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा नगर प्रमुख (मेयर) पदको स्वतन्त्र रुपमा उम्मेदवार भएर खडा भएका छन् । यसले पनि के प्रमाणित हुन्छ भने गेहेन्द्र आफ्नो अभियानमा अडिग हुन सक्ने मान्छे हुन । अडिकता र ध्येय र लक्ष्यलाई आत्म साथ गर्ने भएकोले गर्दा उनी सफल हुन सफल भएका हुन ।
समृद्ध वीरेन्द्रनगरको संकल्प ः साकार पार्ने एक मात्र विकल्प को नारा लिएर उनी यति बेला स्वतन्त्र उम्मेदवारको रुपमा मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह समेत प्रदान गरेको छ । यस क्रममा गेहेन्द्रलाई ठेकी चिन्ह भाग परेको छ । त्यसैले अहिले उनले आफ्नो प्रचार अभियानलाई तिब्र पारेका छन् भने जनताका घरदैलोमा पुगेर ठेकीमा अमृतरुपी मतदान गर्न अनुरोध गर्दैछन् ।

उनको विचारमा नेपाली जनताको राजनीतिक चेतनाको धेरै विकास भइसकेकोले अब राजनीतिक पार्टीको रुपमा वीरेन्द्रनगरबासी अन्धभक्त भएर होइन समाजलाई परिवर्तन गर्न सक्ने उम्मेदवारको खोजीमा भएकोले आफूले उम्मेदवारी दिएको बताउने गेहेन्द्रले आफूले विगतमा गरेका कार्यहरुको मूल्याङ्कन वीरेनद्रनगर बासीले गरेकै कारण यतिबेला ठेकी भरिनेमा गेहेन्द्र विश्वस्त रहेको बताउँछन् ।

क्वीकखबर डटकमका लागि गणेश अमृतले गरेको कुराकानीमा आधारित ।