Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

साहित्यकारहरु अपनत्वमा रमाउँछन् : सन्देश


दैलेख जिल्लाको साविक तिलेपाटा गाविस वडा नं. ३ हाल आठबिस नगरपालिका वडा नं. ७ मा माता नमुना कठायत र पिता खम्मराज कठायतको जेठो छोराको रुपमा आज भन्दा २२ वर्ष जन्मेका सन्देश कठायत नेपाली साहित्यको क्षेत्रमा कलिलै उमेरदेखि लाग्नु भएको हो । संस्थागत रुपमा मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतको उपाध्यक्ष समेत रहनु भएका कठायत पछिल्लो चरणमा नेपाली गजलको क्षेत्रमा आफूलाई स्थापित गर्न सफल दमदार गजलको सिर्जना गर्न सक्ने गजलकार सन्देश कठायतसँग खगेन्द्र अधिकारीले गरेको भलाकुसारीः

तपाइँ साहित्यिक क्षेत्रमा कसरी लाग्नु भयो ?
म विद्यालयमा प्राथमिक स्तरमा पढ्ने बेलामा पुस्तकमा भएका कविताहरु लय मिलाएर गुरुहरुले पढ्ने गरेको ज्यादै रमाइलो लाग्ने गर्दथ्यो । अनि म पनि गुरुहरुको नक्कल गर्न खोज्थे । तर मलाई त्यति राम्रो लय मिलाउन आउँदैनथ्यो । त्यसपछि विस्तारै निम्न माध्यमिक र माध्यमिक विद्यालयमा पढ्दा विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरुमा समेत भाग लगेर मैले कविताको क्षेत्रमा पुरस्कारहरु समेत थाप्ने मौका पाएँ । त्यसले गर्दा मलाई साहित्यमा लाग्ने प्रेरणा मिल्यो । मान्छे जीवनमा एक पटक कवि हुन्छ भने झैँ म पनि जीवनको एक पटक कवि बनेँ । जीवनमा एक पटक मात्र होइन निरन्तर साहित्य क्षेत्रमा लाग्ने जुन मेरो इच्छा र चाहना जाग्यो जसले गर्दा आज म यो स्थानमा छु ।

कविताको क्षेत्रबाट आउनु भएको मान्छे कसरी गजलको क्षेत्रमा आफ्नो स्थान बनाउन सफल हुनुभयो ?
गजल पनि कविताकै उपविधाको रुपमा चिनिन्छ । कविता र गजलमा फरक त छ तर जरा एउटै हो र यी दुईको जात पनि मिल्दो जुल्दो भएकोले पनि पछिल्लो चरणमा कविहरु गजलमा आफ्नो स्थान बनाउन थालेका हुन कि जस्तो लाग्छ । तर म भने उच्च शिक्षा हासिल गर्ने क्रममा जब दैलेखबाट सुर्खेत पसे । सुर्खेतमा कविता भन्दा पनि गजले आफ्नो स्थान बनाएको पाएँ । गजलले बनाएको स्थानमा मलाई पनि सुर्खेतका साथीहरुले अतिकति ठाउँ दिनुभयो । जहाँ म गजलको क्षेत्रमा अटाउन सके । छोटो तर निकै रसिलो र मिठासमय गाम्य विधा भएकोले पनि गजलले मेरो मन छोयो । जसको कारण म गजल लेख्न थाले । सुर्खेतमा हुने अधिकांश साहित्यिक कार्यक्रम पनि गजलकै हुनु र संस्थागत रुपमा पनि गजलसँग जोडिनुले गर्दा म गजलको क्षेत्रमा तपाइँले भने झैँ स्थापित नभएपनि आफ्नो स्थान बनाउनका लागि लागि परेको छु ।

त्यसो भए भनिदिनु होस् न त के फरक छ कविता र गजलमा ?
कविता कुनै निश्चित शीर्षकमा लेखिएको हुन्छ भने गजल शीर्षक बिना नै लेखिने छुट्टै विधा हो । कविताहरु पनि गाएइका छन् । तर गजल विशेष गरी गाउनकै लागि लेखिने विधा हो । वाचनको क्षेत्रमा पनि गजल दमदार तरिकाले प्रस्तुत हुने गरेको पाइन्छ । अघि नै मैले भने जीवनमा एक पटक जो पनि कवि बन्छ रे । चाहे त्यो कवित्व बाहिर आओस् चाहे नआओस् । तर जीवनमा सबै मान्छे एकपटक गजलकार बन्दैनन् । कविता गद्य र पद्यमा लेखिन्छ । गजललाई पनि गैर बहर र बहरमा लेखिने गरिन्छ । हेर्दा छोटो भएपनि गजल जत्तिको सरल देखिन्छ भित्री रुपमा त्यत्तिको सरल भने छैन । त्यसैले पनि यी दुई काव्यमा फरक छ । पछिल्लो समयमा छन्द कविता लेख्ने कविहरु कम छन् । गद्यमा लेखिने कविताहरु धेरै भएपनि पद्यको जत्तिको स्वादिलो नहुने भएकोले पनि पाठकहरु गजलमा रमाउन थालेका छन् । कवितालाई पनि कम आक्न मिल्दैन । गजल र कविता एउटा रुखका दुईवटा हांगा हुन । त्यसो त गजल धेरै लेखिए पनि हामीले कवितालाई विर्सनु हुँदैन ।

तपाइँ त संस्थागत रुपमै पनि गजलको विकासमा लाग्नु भएको छ । यहाँको संस्थाले गजलको लागि गरेका कार्यहरुको बारेमा केही बताइदिनुहोस् न ।
सुर्खेत यसै पनि प्रदेश नं. ६ को सम्भावित राजधानीको रुपमा रहेको छ । यहाँ हरेक मान्छेले आफूले जानेको जुन क्षेत्र हो त्यही क्षेत्रको पेरीफेरीमा रहेर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । म मध्यपश्चिमाञ्चल गजल मञ्चमा आवद्ध भएको हैसियतले अलि बढि गजलको उन्नती र प्रगतिको लागि लाग्नु स्वभाविक ठान्छु । तर गजल मञ्चले गजलको लागि मात्र नभएर साहित्यका हरेक विधाको श्रीबृद्धिका लागि काम गर्दै आइरहेको छ । गजल मञ्च जसरी स्थापना भएपनि आफ्ना आरोह र अवरोह खेपे पनि यो आधिकारिक रुपमा भने २०७० सालमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भएको साहित्यिक संस्था हो । स्थापना भएको बर्षमै यसले यामलाल गौतमको उपन्यास प्रकाशन गरिसकेको छ । विभिन्न समयमा साहित्यिक कार्यक्रम गर्दै आइरहेको छ भने आफ्नो प्रकाशन गजलवाटिकालाई पनि जीवित राखेको उदाहरण छ । यसै बर्ष मोति जयन्तिको अवसर पारेर निरन्तर रुपमा नेपाली गजलमा विशेष योगदान पु¥याउने व्यक्तिलाई प्रदान गर्ने गरी मोति साधन सम्मान र मध्यपश्चिम गजल सम्मान नामक दुई सम्मानको व्यवस्था गरेको छ । प्रदेश नं. ६ मै पहिलो पटक यही वैशाख ९ गते टिकटमा साहित्य गजल र कविता वाचनका साथै गायनको कार्यक्रमको आयोजना गरेर ६ नं. प्रदेशमै यसले नयाँ कार्यको थालनी गरिसकेको छ । पछिल्लो समयमा सुर्खेतमै सक्रिय साहित्यिक संस्थाको रुपमा काम गर्दै आएको संस्था हो मध्यपश्चिमाञ्चल गजल मञ्च ।

गजल क्षेत्रमा लाग्ने नव सर्जकहरुलाई के सल्लाह छ तपाइँको ।

साधन सबै भन्दा ठूलो कुरा हो । अध्ययन महत्वपूर्ण छ । लेख्दै गर्नुहोस् अभ्यास गर्दै गर्नुहोस् । एक दिन अवस्य पनि तपाइँ नेपाली गजलको शिखरमा पुग्नु हुनेछ । अहिले सामाजिक सञ्जालहरुमा विभिन्न खालका विभिन्न समयमा गजल सम्बन्धि हरेक विवादहरु आउने पनि गरेका छन् । सकिन्छ भने ती विवादहरुबाट टाढै बसौँ । विवाद गर्ने त काव्यरस नभएकोले मान्छेले हो । हामीले साधना गरेर राम्रो रचना पस्किन सक्यौ भने त्यही रचनाले हामीलाई स्थापित गराउँछ । केवल दर्जन गजल लेख्दैमा आफूलाई गजलकारको रुपमा प्रस्तुत गर्ने चलन छ भने अर्कोतिर त्यसलाई आकार दिएर संग्रहको रुपमा प्रकाशित गर्ने चलन छ । तर हामी यस विधामा राम्रोसँग नखारिएसम्म त्यो हतार गर्नुहुँदैन । आफ्ना रचना अग्रजहरुलाई सुनाउँनु पर्छ र अग्रजहरुका रचना पनि आफूले पढ्नु पर्छ । अग्रजको सम्मान गर्दै अनुजलाई साथ लिएर जाने योजनाका साथ लागेको मान्छे गजलमा सफल हुन्छ ।

साहित्यमा लागेर के पाए जस्तो र के गुमाए जस्तो लाग्छ ?
मैले साहित्यमा लागेर धेरै कमाएको छु । नेपाली गजलको क्षेत्रमा एउटा गजलको विद्यार्थीको उपमा हात पार्नु नै मेरो ठूलो कमाई हो । मान्छेले केवल आर्थिक सम्पन्नतालाई हेर्छन । साहित्यकारहरु आर्थिक सम्पन्नता भन्दा सबैसँगको अपनत्वमा रमाउँछन् । कुनै नयाँ ठाउँमा गएको बेलामा साथीहरुले गजलको विद्यार्थीको रुपमा चिन्नुहुन्छ । त्यही हो मेरो कमाई भनेको । लेखनको कारण मैले धेरै मित्र कमाएको छु, आफन्त कमाएको छु । गुमाउने कुरा हुन्छ भने साहित्यमा लागेर कसैले केही गुमाउँछ जस्तो मलाई लाग्दैन ।

तपाइँको विचारमा साहित्य के हो जस्तो लाग्छ ?
थोरै थोरै कविता लेख्छु । अलि धेरै गजल लेख्छु । वास्तवमा साहित्य यही नै हो भनेर म परिभाषा गर्न सक्ने क्षमतामा पुगिसकेको छु जस्तो मलाइ लाग्दैन । तरपनि भनिन्छ खुला समाज र त्यसको अध्ययनकर्ता समाजको ऐना हो । कुनै व्यक्ति परिवर्तन हुनसक्छ भने त्यो पुस्तक पढेर मात्र हुन सक्छ । कुनै समाजलाई परिवर्तन गर्नुछ भने साहित्यको धरातलमा टेक्नै पर्छ । विश्वका ठूला दार्शनिकहरु साहित्यबाट आएका छन् । वैज्ञानिकहरु साहित्यलाई धरातल बनाएर आएका छन् अनि सिद्धान्तका प्रतिपादकहरु साहित्यको धरातलबाट आएका छन् । यसलाई परिभाषित गर्ने आ–आफ्नै शब्द होलान् मेरो विचारमा साहित्य परिवर्तनको सुत्र पनि हो ।

सूक्ष्मदृष्टि साप्ताहिकबाट