Loading... आजः २ असार २०७८, बुधबार । Wednesday 16th June 2021

लकडाउन भित्र ‘लकडाउन’ को अध्ययन गर्दा

सञ्चार माध्यमहरुमा कता–कता सुनिन थाल्यो चीनमा एउटा सूक्ष्म भाइरसको उत्पती भयो भनेर । चीनले उक्त भाइरसलाई नियन्त्रण गरेर सिध्याउनेछ भन्ने विश्वास गर्दा गर्दै चीनबाटै फैलिन सुरु ग¥यो उक्त भाइरसले । कोभिड–१९ नाम दिइएको त्यो भाइरस यसरी फैलियो कि त्यसलाई रोक्नका लागि विश्व हायल–कायल भएको छ । विश्वमा ३२ लाख ६९ हजार भन्दा बढी मानिसहरुको मृत्युको कारण कोरोना बनिरहेको बेलामा नेपालमा पनि कोरोनाको संक्रमण दरलाई नियन्त्रण गर्नका लागि हम्मेहम्मे परिरहेको छ । २०७६ सालको चैत्रको दोस्रो हप्तामा कोरोनाको संक्रमण दर फैलिन नदिनका लागि सरकारले बन्दाबन्दी अर्थात् लकडाउन ग¥यो । सुरुका दिनमा निकै त्रसित बनाएको यो भाइरस आज एक वर्षपछि प्रायः सबै नेपालीहरुका छरछिमेकमै पुगिसकेको छ । त्यही लकडाउनलाई आफ्नो कृतिको नामाकरण गरेर कोहलपुरका साहित्यकार सागर गैरेले प्रकाशित गरेको कृति ‘लकडाउन’ मैले अहिले भईरहेको लकडाउनमा अध्ययन गर्ने अवसर प्राप्त गरे ।

खगेन्द्र अधिकारी ‘अमृत’

मैले भन्ने गरेको छु, लेख्ने गरेको छु कुनैपनि कृति पढेपछि त्यसको बारेमा तब खेल्न मन लाग्छ जब मलाई त्यो कृतिले छुनसक्छ । मेरो मनलाई पगाल्न सक्छ र म पग्लिन सक्नुपर्छ । विधा जुनसुकै भएपनि त्यसमा संग्रहित शब्दहरु, त्यसको भाव, सिर्जनशैली, संरचना र पाठकलाई दिन खोजेको सन्देशबाट पग्लिन सकिएन भने केवल लेख्नका लागि मात्र किन समय र मसीको बर्बादी गर्नु जस्तै लाग्छ । त्यसैले आज फेरी एकपटक म सागर गैरेको कृति ‘लकडाउन’ सँग पग्लिएको छु र मलाई त्यसले पलागेको छ । त्यसैले यी शब्दहरु मेरा पाठकहरु समक्ष पु¥याउने कोसिस गरेको छु ।

म कसैको कृतिको बारेमा आलोचना वा समालोचन गर्दिन । अझ भन्ने हो भने आलोचना र समालोचना गर्न सक्दिन वा गर्नै जान्दिन । किनकी लेखकले कुन प्रसंगमा कुन उद्देश्यका साथ आफ्ना रचनाको प्रष्फुटन गर्छन् पाठकले त्यही ढंगले बुझिदिनु पर्छ भन्ने छैन । लेखकले एउटा कल्पना गरेर, यथार्थलाई भोगेर लेखेको कुरालाई पाठकले पनि त्यही कल्पना गर्नु वा भोग्नु सम्भव छैन । त्यसैले पाठक स्वतन्त्र हुनुपर्छ । कुनैपनि विधाको कुनैपनि लेखकको कुनैपनि कृतिलाई पाठकले आफ्नो ढंगले अध्ययन गर्नुपर्छ र त्यसको अर्थ संरचनागत रुपमा नबिग्रने गरी लगाउने अधिकार पाठक नै हुन्छ । सागरजीको ‘लकडाउन’ पनि मैले आफ्नै ढंगले अध्ययन गरे । त्यसकारण यहाँ लेखकले कस्ता शब्दको प्रयोग गर्नुभयो ? यसको बोक्रो कस्तो निर्माण भयो ? यसमा छापिएका अक्षरहरु साना छन् या ठूला छन् ? किताबको आकार मोटो छ या पातलो छ ? त्यतातिर म जानै चाहान्न । लेखकलाई आफ्नो कृति कस्तो रुप रंगको बनाउने स्वतन्त्र अधिकार हुने भएकाले नै उहाँलाई जस्तो उचित लाग्यो त्यस्तै बनाउनु भयो । त्यो कुरामा म धेरै जान्ने हुन आवश्यक नै ठान्दिन । वर्तमान समयमा व्यापारलाई मूल पेशा बनाएको भएपनि पत्रकारिता क्षेत्रमा आफ्नो दख्खलता दर्ज गराउन सफल सागरजीको लेखनशैली र शब्द संरचनाले पाठकको मन जित्ने कुरामा शंकै छैन मलाई ।


यति भनिरहँदा अब म के का बारेमा लेख्न खोज्दैछु त ? मेरा पाठकहरुको मनमा लाग्ने प्रश्न यही होला । अघिल्लो वर्षको लकडाउन समाप्त भएपछि केही तङ्रिन थालेको अर्थतन्त्र, केही सुस्ताउन थालेको साहित्य क्षेत्र र अलिकति आनन्दले सास फेर्न थालेको आम जनमानसलाई दोस्रो लहरको रुपमा आएको कोरोनाले फेरी सास फेर्न अप्ठ्यारो पारिदिएको छ । त्यही अप्ठ्यारो स्थितिको सामना गर्दै घर भित्र बसेर आफूपनि बाँच्नु पर्ने र आफ्नालाई पनि बचाउनु पर्ने स्थितिमा मैले ‘लकडाउन’ को फाइदा उठाउने योजना बनाए । त्यसकारण आफूले भोगेको लकडाउन भित्र सागरजीले लेखिदिएको ‘लकडाउन’ लाई अध्ययन गरें । मैले भोगेको लकडाउन भित्र सागरजीले लेखेको ‘लकडाउन’को गुदी केलाउने कोसिस भने अवश्य गरेको छु ।

‘लकडाउन’ भित्र लघु निबन्धहरु छन् । म यी निबन्धहरुलाई किन लघु भनिरहेको छु भने यी निबन्धहरु पढ्दा पाठकको प्यास मेटिदैन । मलाई लाग्यो लेखकले किन यति छोटा निबन्धहरु लेख्नुभएको होला । अलि लामा बनाएको भए । अझै त्यो कथा लम्बिएको भए । अझै तन्किएको भए । पढ्दा पढ्दै मन तृप्त हुने भएको भए । अब के हुन्छ होला कहाँ गएर यस कथाले अन्तिम रुप धारणा गर्ला भन्ने लाग्दालाग्दै निबन्धको अन्त्य हुन्छ र अन्तमा गएर शीर्षकलाई पूर्ण बनाईदिन्छ । शीर्षकलाई पूर्ण बनाउन नसकेको भए यी निबन्धहरु कमजोर हुने थिए होला । शीर्षकको पूर्णतासँगै उठान भएको विषयवस्तुको अन्त्य गर्ने कलात्मक शैलीले पनि भोग्नु परेको लकडाउन जतिसुकै कष्टकर भएपनि पढ्न पाइएको ‘लकडाउन’ सुन्दर लागेको छ ।

पाल्पामा जन्मेर बर्दियामा हुर्केर बाँकेमा बसेर सागरजीले ‘लकडाउन’ लेख्नुभयो । म पनि दैलेखमा जन्मेर आधा बाल्यकाल आधा दैलेख र आधा सुर्खेतमा बिताएर पुनः सुर्खेतमै बसेर ‘लकडाउन’ पढ्ने अवसर प्राप्त गरे । उहाँले कोहलपुर चौराहाको बारेमा लेख्नुभएको छ । उक्त निबन्धमा उहाँले जुन कुरा भोग्नु भएको छ मैले पनि भोगेको छु । दैलेखको देवकोटा चोक र सुर्खेतको वीरेन्द्रचोक देखेको म । कोहलपुर चौराहामा पुग्दा त्यहाँ कसको शालिक होला भनेर खुल्दुली लागेकै हो मलाईपनि । जब मेरा आँखाले त्यहाँ कसैको शालिक देखेनन् त्यसपछि मलाई पनि त्यो चोक जस्तै लाग्दै लागेन । सायद त्यसैले होला कोहलपुर चोक भन्दा पनि चौराहाको रुपमा बढि परिचित भएको ।

एस.एल.सी. परीक्षाको नतिजा सागरजीले ५ रुपैयाँ तिरेर हेर्नुभएको रहेछ । तर मैले १० रुपैयाँ तिरेर दैलेखको देवकोटा चोकमा हेरेको थिएँ । परीक्षामा पास भएको खुसीयाली बाँड्न उहाँ दिदीको घरतिर जानुभएछ म आफ्नै घरतिर गएको थिएँ । स्थानीयस्तरको प्रकृतिको वर्णनलाई खुलेर गर्न सक्नुले पनि कोहलपुरको पिपल चौतारीको खोजी हुनसक्छ । दैलेखको भगवती प्रा.वि. तुर्सुमा अध्ययन गरेको मान्छे म । त्यहाँ एउटा ठूलो तिजुको रुख थियो । विद्यालयको भवन भत्केको कारण त्यही रुखले हामी विद्यार्थी र हाम्रा गुरुहरुलाई घामबाट बचाउन सहयोग गरेको थियो भने एक तर्को पानी पनि छेकिदिन्थ्यो । ठूलै पानी पर्ने सम्भावना भएमा हाम्रो विदा हुन्थ्यो घर जान पाइन्थ्यो । पढ्नै नपर्ने क्या मज्जा लाग्थ्यो । विद्यालयको घर बनाउने नाममा काटियो तिजुको रुख । त्यो तिजुको रुखको शितलतामा बसेर प्राथामिक तहको शिक्षा आर्जन गरेकाहरु एकपटक इतिहासको मलाम गएका थियौ । सकिएको थियो तुर्सुको इतिहास । त्यस्तै भएछ कोहलपुरको पिपल चौतारापनि ।

सागरजी त्यता मात्र होइन यताको अवस्थामा पनि त्यस्तै छ । त्यहाँ विकास गर्ने नाममा विभिन्न पूराना संरचना अनि इतिहासहरु मेटाउने कार्य भइरहेको छ भने यहाँ पनि आधुनिकताका नाममा संस्कृति र सभ्यतालाई समाप्त पार्ने खेल चलिरहेको छ । पछिल्लो समयमा विकासको गतिलाई तिब्र बनाउने नाममा इतिहास मेट्ने कार्यमा सक्रिय छौ हामी नेपालीहरु । सुर्खेतको कुरा गर्ने हो भने हिजो पूर्खाहरुले आवश्यकताका आधारमा राखिदिएका जग्गाहरु आज व्यक्ति – व्यक्तिका नाममा गर्न थालिएको छ । बाटोको चौडाइँ बढाउने नाममा यहाँका पनि धेरै पिपल चौतारीहरु मासिएका छन् ।

तर तपाईंले भने झँै पूर्वजको नाममा चौतारी बनाउनेहरु छैनन् यहाँ । वर–पिपल र स्वामीका रुख रोप्नेहरु भन्दा भएकाहरु पनि उखेल्नेहरु छन् यहाँ । आमा बाबु मर्दा १३ दिने काजक्रिया गर्न अप्ठ्यारो मान्नेहरुले ‘लकडाउन’ मा उल्लेख भएजस्तै ‘बुढ्यौलीमा ती चौतारी हामी आफैँलाई काम आउनेछन्’ भनेर सोच्नै सकेका छैनन् ।

‘बाटो’ शीर्षकको निबन्धमा लेखकले उल्लेख गर्नुभएको छ, ‘जहाँ बाटो छ त्यहाँ जीवन छ ।’ खै हजुर, हजुरको जस्तै यस्तै कुरा सोचेर होला अहिले ठाउँ–ठाउँमा, गाउँ–गाउँमा, वडा–वडामा डोजरले बाटो निर्माण गर्ने क्रम तिब्र छ । अनि डोजरले मच्चाएको आतंकको कारण त्यहाँका मान्छेले जीवन पाउन होइन बरु जीवन गुमाउनु पर्ने अवस्थाको श्रृजना भएको छ । पहिरोले जीवन खोसिदिने गरेको छ । खुसी लुटिदिने गरेको छ । मलाई लाग्छ तिनीहरुले जिन्दगीको सही बाटो चिन्नै सकेनन् सही बाटो चिन्न सकेको भए त जिन्दगी पनि चिन्दा हुन् । मान्छेको जीवनमा अनेकथरी बाटाहरु आउँछन् । ती बाटाहरु केवल यात्राका सहयात्री मात्र बन्छन् अनि छोडिन्छन् जहाँको त्यही । तिनै दोबाटाहरुमा हिड्ने क्रममा आज लकडाउन भोग्दै गर्दा ‘लकडाउन’ पढ्ने मौका मिलेको हो मलाई पनि ।

बाल्यावस्था होस् कि युवा अवस्था होस् । प्रायः सबैको एउटै खालको हुँदोरहेछ भन्ने कुरा मैले ‘लकडाउन’ अध्ययन गरेपछि पो बुझे । पाल्पामा जन्मेको होस् कि दैलेखमा । पोखरामा जन्मिएको होस् कि दार्चुलामा । हामी नेपालीहरुको बाल्यावस्था उस्तै उस्तै हुँदोरहेछ । सागर र सागरहरुले सुगाको खोजी गरे झैँ हामीपनि जुरेलीको खोजी गथ्र्यो । सागरजीले गोठालो जाँदा गुच्चा खेलेको सम्झनु भएको छ मैले गोठालो जाँदा कमेजका टाँक काटेर खोपी खेलेको सम्झन्छु । सागरसँग कृष्ण, शिव, गणेश साथी रहेछन् मसँग कर्ण, भीम, मायाराम, निर्मल, नवराज साथी थिए ।

भनिन्छ, भाइ भनेको भाइ हो । सागरजीले भाइको हाँत भाँचिएको कुरालाई अहिलेसम्म पीर गरिरहनु भएकोरहेछ । तर यहाँ अलिकति फरक छ मेरो हात भाँचिदा मेरो भाइ अञ्जान थियो तर भरखरै भरखरै सुर्खेत झरेको बेलामा मलाई भएको टाइफाइट अनि मेरो भाइ पूर्ण साइकल चलाउन नजान्ने तर डो¥याउन सक्ने । म रोगले फतक्क गलेको हिड्नै नसक्ने । उसले साइकलको पछाडि राखेर डो¥याउँदै थापा मेडिकलमा लगेर सुइँ लगाइ घरमा पु¥याएको कुरालाई म पनि कहाँ बिर्सन सक्छु र ?

नामाकरण शीर्षकको अध्ययन गरिरहँदा म सागर गैरेद्वारा लिखित ‘लकडाउन’ पढिरहेको छु वा हिमलालद्वारा लिखित । म द्विविधामा परे एकपटक । अनि लाग्यो आफ्नो नामाकरण आफै गर्ने महान कार्यपनि त सागरजी ले आफै गर्नुभएछ । हो, म पनि आफ्नो नामको पछाडि ‘अमृत’ लेख्ने गर्छु । म प्राथामिक विद्यालयमा पढ्दै गर्दा हाम्रो एक जना गुरु हुनुहुन्थ्यो गंगा सिंह ठकुरी । उहाँले प्रायः विद्यार्थीहरुको आचरण अनुसार नामाकरण गनुर््भएको थियो । ठूलो गाला भएको भयो भने ग्वाम्चो, लामो नाक भएको भयो भने नाक्चे, धेरै ट्याउँ ट्याउँ गर्ने भयो भने टुर्रो । बोल्दा पनि खल्लो तरिकाले बोल्नेलाई गल्लो । सधैँ पखाला लागेको छ विरामी छु भनेर गृहकार्य नगर्नेलाई छेरुवा जस्ता टेकनामहरु थिए । साथी साथीमा जिस्किदा अहिले पनि हामी ती नामहरु उच्चारण गर्छौ र बाल्यकाललाई सम्झन्छौ । म शिक्षकको छोरा भएकोले विद्यालयमा मैले गरेको गतिविधिहरु मेरो बुबाले मूल्याङ्कन गरिराख्ने भएकोले बेलुका घरमा समेत हप्कीदप्की खानुपर्ने भएकोले पनि म सोझो थिएँ । जसको कारण पनि मैले गंगा सिंह गुरुबाट ‘अमृत’ नाम पाउन सफल भएँ । त्यसैले त्यो नामलाई साहित्यिक रुपमा जोडिदिएको हुँ । तर सागरजी जस्तो पूरै नाम फेर्ने हिम्मत भने गरिन मैले ।

‘लकडाउन’ भित्र भएका निबन्धहरु एक पढ्यो अर्को पढौं पढौं लाग्ने खालका छन् । या त ती निबन्धहरुले मेरो जीवनसँग सत्प्रतिशत मेल खाएकोले मलाई त्यसो लागेको हो या सबैलाई यस्तै लागेको छ । म दंग छु । ‘असारे झरी’ पर्दै गर्दा असारमा झिजेको अनि खेतमा रोपाईं गरेको अनि हिलो छ्यापाछ्याप गरेको मात्र होइन ठूलो सन्देश त के भने ‘कृषक बलिया भए देश बलियो हुन्छ’ भन्ने जुन वाक्य छ त्यसको अनुशरण वर्तमानमा पनि गर्न जरुरी छ । कृषि प्रधान देश भनेर नारा लगाएर मात्र हुँदैन । त्यसका लागि आधुनिक कृषि प्रणालीको विकास गरेर खाद्यन्नको आयातदेखि स्वरोजगारी समेतमा बढावा दिन सकिन्छ भन्ने कुराको सिकाइ गर्न जरुरी छ । पढ्दै जाने क्रममा ‘बाकस’ पढें । एउटा बालक त्यो पनि आफ्ना खत्रयाङ् खुत्रुङ् जम्मा गर्ने अवस्थामा पुगिसकेको । अनि उसलाई आफ्नो सम्पत्तिको रुपमा रहेको तिनै खत्रयाङ् खुत्रुङ्लाई सुरक्षित राख्ने कत्रो हुटहुटी हुन्छ भन्ने कुराको यथार्थ चित्रण ‘बाकस’ मा छ । सागरजीले उहिल्यै बाकस पाइसक्नु भएछ तर मैले अहिलेसम्म बाकसको जोहो गर्न सकेको छैन । त्यसैले त मेरा आफ्ना कमाई प्रमाण पत्रहरु प्लाष्टिक भित्र पोको पारेर राखेको छु भने लुगा लत्ताहरु छरपष्ट हुन्छन् कोठाभरी ।

‘लकडाउन’ भित्र केवल देखाइ र भोगाई मात्र समेटिएको छैन । देशभक्ति, मातृभूमि प्रतिको माया र मोहलाई पनि एउटा सुन्दर युवतीले आँखामा गाजल लगाए जसरी व्याख्या गरिएको छ । विशेष गरी दक्षिणी सीमामा अवस्थित भारतले नेपाली भूमी माथि गरेको आक्रमणका विरुद्धमा तिखो ढंगबाट प्रहार गरिएको छ । अनि राष्ट्रियताका नाममा शासन र भाषण गर्ने हाम्रा नेताहरुलाई हानिएको छ गतिलो झापड पनि । सत्ताशीन हुँदा केवल आफन्त र आफ्नो दल तथा आफूमा केन्द्रित रहनेहरु प्रतिपक्षमा हुँदा राष्ट्रवादको चर्को नारा लगाएर जनता झुक्याउने कोसिस गर्छन् । ‘लकडाउन’ ले बोलेको छ इतिहासलाई पनि । हिजोका दिनमा भारतले व्यहोर्नु परेको दासत्व र उहिलेदेखि अहिलेसम्म नेपालले सानका साथ जोगाइराखेको स्वतन्त्रताको कुरा । ‘लकडाउन’ ले उठाएको छ लिपुलेकका कुरा, लिम्पियाधुराका कुरा अनि चुच्चे नक्साका कुरा । अर्काले जोडिदिएको, अर्काले बनाईदिएको भारत जस्तो होइन नेपाल । नेपाल त हाम्रा पूर्खाले आज्र्याको हो ।

प्रकृतिले कहिले काँही लेखकहरुलाई झुटो सावित गर्ने कोसिस गर्दोरहेछ । लकडाउनमा लेखिएको छ, ‘वसन्त लिएर कुहुकुहु गर्दै कोइली आउँथ्यो । कोइलीसँगै आउँथ्यो काफल पाक्यो चरो पनि ।’ तर यसपालि लालीगुराँसले फूल्न कञ्जुस्याँई गरे । काफल पाक्न कञ्जुस्याँई गरिरहेका छन् । भित्री मधेशमा पाइने थाकल (खजुरी) त आगलागीसँगै कता हराए हराए । लेखकले पन्छी प्रेमलाई पाठकको मनमा भिज्ने गरी उल्लेख गर्नुले पनि एकपटक सबैले आफ्नो बाल्यकाल सम्झन बाध्य हुनुपर्छ ‘लकडाउन’ पढ्दै गर्दा । ‘कति–कति बेला लकडाउन निकै बोझिलो लाग्दछ । महिनौंदेखि घरभित्र बन्द भएर बस्नु पर्दा उकुसमुकुस हुन्छु । यो क्रम अझै कति समय लम्बिने होला ?’ त्यो त कोरोनाको खोप निर्माणकर्ताहरुलाई पनि थाह छैन । म पनि त्यसै गरी अत्यासमा परेको छु । फेर्छु लामो सास र भन्छु, ‘यो क्रम अझै कति समय लम्बिने होला ?’ लकडाउनको समयमा कालोबजारी, भ्रष्टाचारीहरुको बाहुल्यता बढिरहेको छ । दिनभर काम गर्ने र साँझ विहान छाकको जोहो गर्नेहरु समस्यामा परेका छन् ।

पुराना तरिका र प्रवृत्ति तथा प्रविधिको बारेमा समेत लेखकले नयाँ पुस्तालाई इतिहास दिन खोज्नु यस कृतिको अर्को सार्थकता हो । आज हामी जति नै अर्गानिकताको कुरा गरेपनि हिजोका दिनमा बारीका काल्नामा खाल्डोमा परालले बेरेर पकाएको केरा र आजको केमिकलले एकरातमै पाकेका केरामा फरक छ । लकडाउनले मान्छे आफ्नै सिमानाभित्र बन्द भएर बस्दै गर्दा एकातिर प्रकृति भने शान्त भएको छ । वातावरण स्वच्छ भएको छ । चरादेखि मृगसम्म जंगलमा रमाउनेहरु निर्वाध रुपमा ओहोरदोहोर गर्न पाएका छन् । यो हामीले सिक्नुपर्ने पाठ हो । हामी शान्त बनिदिँदा प्रकृति रमाउँछ वातारण हाम्रै अनुकूल बनिदिने रहेछ ।

पृथ्वीको एउटा कुनामा उत्पन्न भएको कोरोना भाइरसको प्रकोपबाट मान्छे अत्तालिएको छ । दोस्रो लहरसँगै कोरोना झन कठिन भएर आइरहेको छ । कोरोनाका बारेमा जति बुझ्ने कोसिस भइरहेको छ मानिस उति नै निरीह र दुःखी बनिरहेको छ । लेखकले भन्नुभएको छ, ‘कोरोना प्राकृतिक विपत्तिको एउटा सङ्केत मात्रै हो । यो भन्दा पनि भयानक विपत्तिहरु नआउलान् भन्न सकिँदैन ।’ त्यसकारण मानवजातीले प्राकृतिक रुपमा बरदान स्वरुप प्राप्त गरेका वन, जंगल, नदीनाला, हिमाल, समुद्र वायूमण्डलको बारेमा गम्भीर भएर सोच्न आवश्यक छ । कोरोनाका कारण लकडाउन र लकडाउनका कारण प्रभावित भएको शिक्षा क्षेत्रमा बारेमा समेत ‘लकडाउन’ भित्र स्पष्ट पारिएको छ भने सामाजिक सञ्जालले दिएको सहजता र असहजताका बारेमा मात्र होइन यसको सही प्रयोगको बारेमा सन्देश प्रवाह भएको छ । सामाजिक सञ्जालबाटै गाली गर्नेलाई आफूले पनि केही गालीहरु सुरक्षित राखेको उल्लेख गरेर लेखकले आफूभित्र पनि मानवीय स्वभाव अलिकति रिस भएको कुरालाई दर्शाउनु भएको छ ।

हो, वास्तवमा यो कोरोनाले विश्वलाई अत्यास पारिसकेको छ । यो अत्यासको घडी कहिले सकिन्छ त्यो त थाह छैन । कहिले खुल्ला लकडाउन ? लकडाउन खुलेपछि कस्तो होला ? खोरमा थुनिएका कुखुराहरु एकैपटक बाहिर आउन पाउँदा कसरी खुसी हुँदै उफ्रिन्छन् मान्छेपनि त्यस्तै खुसी हँुदै उफ्रिन्छन् होला । एउटा सहज अनुमान गरेर लेखकले निबन्धका माध्यमबाट आफ्नो मात्र होइन दुनियाँकै भोगाई प्रस्तुतिकरणले पाठकको मन छुन सफल भएको छ । कहिले असारमा पनि पानी पर्दैन । कहिले वैशाखमै पानी दर्किन्छ । समय बलवान छ । प्रकृति महान छ । त्यो भन्दा पनि महान छ लेखकको लेखनशैली । लकडाउनअघि र लकडाउनपछि शीर्षकमा हिजोको अवस्था र भोलीको अवस्थालाई चित्रण गरिएको छ ।

हाम्रो समाजमा भएका विकृति र विसंगतिका विरुद्धमा लेखकले रुकुममा भएको घटनाको उजागर गर्नुभएको छ । २१ औं शताब्दीमा समेत जातीयताका कुरा गरेर गरिने विभेद र एकले अर्कालाई गर्ने हेपाहा प्रवृत्तिले समाजको अपनत्व र भातृत्वको रक्षा गर्न सक्दैन ।

एकचालिस वटा निबन्धहरु संग्रहित यस कृतिमा लेखकले आफ्नो विगत वर्तमानदेखि इतिहास, प्रकृति, वातावरण, समाज, शहर र गाउँ, अनि आफ्नो भोगाईको समेत उल्लेख गर्नुले यो बहुमुखी विषयवस्तु समेट्न सक्नुले पनि यसले सफलता प्राप्त गर्छ भन्ने विश्वास गर्न सकिन्छ । आख्यानकार नयनराज पाण्डेले सटिक भूमिका बाध्नुभएको यो कृति हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले प्रकाशित गरेको छ । प्रकाशक संस्थाका तत्कालिन अध्यक्ष महानन्द ढकालले आफ्नो प्रकाशकीयमा भन्नुभएको छ, ‘लकडाउन भुइँमान्छेहरुको कथा हो । आवाज विहीनहरुको आवाज हो । कतै न कतै कुनै न कुनै माध्यमबाट सबैले प्राप्त गरेको अनुभव र अनुभूति हो ।’

पाठकले पढिरहँदा त्यो आफ्नै कथा अझ भनौ आफ्नै भोगाई हो भन्ने लाग्न थालेपछि एकातिर पाठक पनि सफल अर्कोतिर लेखक पनि सफल । त्यसैले म सागरजीको सफल पाठक बन्न सकेको जस्तो लागिरहेको छ भने उहाँ मेरा लागि सफल लेखक हो । यस्ता अन्य कृतिहरुको बारेमा लेख्न सक्ने अवस्था रहला नरहला तर पढ्न पाइयोस् । सागरजीले फुल्टिन निबन्धमा लेख्नुभएको छ, ‘मेरो कलम कहिल्यै नहारोस्’ म पनि भन्छु सागरजी तपाईंको कलम कहिल्यै नहारोस् । लेखन यात्रा सफलताको शुभकामना ।