Loading... आजः १७ बैशाख २०८१, सोमबार । Monday 29th April 2024

गफ जत्ति गरेपनि ‘देश आक्रान्त छ’

देशमा प्रजातन्त्र आएपछि नागरिकहरु रैतीबाट प्रजा भएका थिए । प्रजा भएपछि वाक स्वतन्त्रता पाइन्छ भन्ने ठूलो आशामा रहेका नेपालीहरुले राजनीतिक दलका मीठा भाषणहरुको भरोशा गर्दै पटक पटक आन्दोलनमा सामेल भए । कति अपाङ्ग भए भने कतिले ज्यान नै गुमाए । अपाङ्ग भएकाहरु भन्दा ज्यान गुमाउनेहरु नै भाग्यमानी रहेछन् क्या रे । किनकी ज्यान गुमाउनेहरुले एकै पटक ठूलो पीडा भोगे र संसारबाट विदा भए । तर अपाङ्ग भएकाहरु पटक पटक जिउँदै मरणासन्न अवस्थामा छन् भने पटक पटक पीडा भोगिरहेका छन् । हिजो युद्ध लड्नका लागि मीठा भाषण गर्नेहरुले घाइते अपाङ्गलाई हेर्ने होइन उनीहरुको उपचारदेखि गास, वास र कपासको कुरा गर्ने होइन । राज्यसत्ताको स्वाद चाख्ने कार्यमै मस्ती गरिरहेका छन् ।

खगेन्द्र अधिकारी ‘अमृत’

चाहे त्यो २००७ सालमा राणाहरुका विरुद्धमा भएको क्रान्तिले ल्याएको परिवर्तन होस् चाहे त्यो २०१७ सालमा राजा महेन्द्रले स्थापना गरेको पञ्चायतका विरुद्धमा २०३६ साल हुँदै २०४६ सालमा ल्याइएको प्रजातन्त्र होस् । चाहे त्यो १७ हजारको ज्यान जाने गरी माओवादीले गरेको युद्धको कहाली लाग्दो अवस्थाबाट आएको गणतन्त्र होस् या लोकतन्त्र । नेपाली जनता कागजी रुपमा प्रजा भए तर व्यवहारमा रैति मै सिमित रहिरहेका छन् ।

जनताका प्रतिनिधिहरुले संविधान बनाएपछि भने जनताका दैनिक दुःखका दिन जालान् भन्ने सोच्नु र नेताहरुले सिंहदरबार गाउँ–गाउँमा आयो भन्नु एउटै भएको छ । यति बेला देशले संघीयताको अभ्यास गरिरहेको छ । अभ्यासमा रहेको संघीयताले गरिब, दुःखी, निमुखा, दलित, जनजाती, पिछडावर्गहरुलाई मात्र होइन सत्तामा बस्नेहरुलाई समेत चैनले खान र निदाउन दिएको छैन । प्रदेश संरचनामा गएको पनि ६ वर्ष भइसक्यो । ६ वर्षको उमेरमा एउटा बालक विद्यालय जान थाल्छ । तर प्रदेशको न्वारन समेत गर्न नसक्नु नेताहरुको निकम्मापना बाहेक अरु के हुन सक्छ ? जनताले प्रश्न गरिरहेका छन् । तर उत्तर दिनेहरु मौन छन् । यो दुःखद मात्र होइन संघीयता प्रतिको वितृष्णाको खुट्किला पनि हो । वर्तमान संविधानले प्रदत्त गरेका अधिकारहरु दिन नसक्ने अवस्था थियो भने संविधानमा दर्ज गराएर भातृत्व र भागिनीत्वका बीचमा किन खलल पु¥याउन खोजेको भन्ने प्रश्नको उत्तर जनताले मागिरहेका छन् तर उत्तर दिनेहरु कसरी भ्रष्टहरुलाई संरक्षित गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिइरहेका छन् ।


जनप्रतिनिधिहरुको काम, कर्तव्य, अधिकार र जिम्मेवारी के हो भन्ने कुरालाई गौणावस्थामा राखेर जनताका आँखामा छारो हाल्दै सत्तामोहमा रुमल्लिनुले देशमा समृद्धि ल्याउन सकिदैन भन्ने हेक्का समेत नराख्नेहरुबाट नेपाली जनताले अझ पनि आशा गरिरहने हो भने पुस्ताले सराप्ने निश्चित छ । विद्यमान असमान कानूनहरुलाई संशोधन गरेर भएपनि जनताका लागि गरिने कार्यहरु तर्फ ध्यान दिनुको साटो लावालस्कर लिएर विदेश भ्रमण गर्ने र पराईका सामु भिक्षाका लागि हात फैलाउनेहरुले देश कंगाल पारिसके । सोझा नेपाली जनता भने अझै केही होला नी भन्ने आश गर्दैछन् ।

कुनै समय सत्ता जोगाउनका लागि सांसदकै अपहरण हुने यो गणतन्त्र र लोकतन्त्रमा सर्वसाधारणहरु कत्तिको सुरक्षित छन् भन्ने कुराको आंकलन सजिलै गर्न सकिन्छ । कसैको पार्टी फुटाउनका लागि सदन बन्द गरेर अध्यादेश ल्याउने र स्वार्थ पूरा भइसकेपछि अध्यादेशलाई निश्क्रिय बनाउनेहरु कत्तिको स्वार्थमा लुटपुटिएका छन् भन्ने आंकलन गर्न सकिन्छ । निर्वाचनको समयमा टिकट नपाएको झोकमा अर्को पार्टीमा प्रवेश गर्ने निर्वाचनको परिणाम पश्चात ब्रह्मलुटका लागि फेरी गठबन्धन गर्नेहरुबाट सुखी जनता र सुखारी नेपालीको कल्पना गर्नु सर्वसाधारणहरुकै मुर्खता शिवाय अरु केही हुनै सक्दैन । ऐन, नियम र कानूनको निर्माण गर्नेहरुले आफूलाई सहज हुने ढंगबाट अघि बढ्नुले देशमा लोकतन्त्र छ गणतन्त्र छ भनेर अप्रत्यक्ष निरंकुशता लादिएको कुरा बुझ्न नसक्ने नेपाली जनतामा राजनीतिक चेतनाको विकास भयो भन्नु अन्धभक्तता भन्दा अरु केही हुनै सक्दैन । एउटा प्रतिनिधिको टिकटका लागि दाइले भाउजू मार्फत, बा ले आमा मार्फत, कमरेडले कमरेड्नी मार्फत आर्थिक चलखेल हुन्छ भने जनताको जनमतबाट प्रतिनिधिहरु निर्वाचित भएका छन् भन्नु सर्वसाधारणहरुको आँखामा छारो हाल्नु भन्दा अरु केही होइन ।

आज हामीले सोचेको यस्तै शासन हो त ? हामीले चाहेको गणतन्त्र यस्तै हो त ? हामीले अनुभव गर्ने लोकतन्त्र यस्तै हो त ? कुनै दिन राजा समक्ष बिन्तिपत्र हाल्नका लागि महिनौसम्म पर्खिनु पर्ने र राजाका आसेपासेहरुलाई खुसी पार्न सक्नु पर्ने अवस्था भन्दा आजको अवस्थामा के फरक भएको छ ? आज कसैले राजाको कुरा ग¥यो भने गणतन्त्रवादीहरु राजा होइन पूर्वराजाको कुरा गर्छन् । ज्ञानेन्द्र पूर्वराजा हुनका लागि वर्तमान राजा को त ? प्रश्न गम्भीर छ । हिजो जनताले आफ्नो प्राणको आहुती दिएर भएपनि राजतन्त्रलाई पाखा लगाए । के एउटा राजा पाखा लगाएर अनगिन्ती राजाहरु स्थापित गर्नका लागि भएका थिए ती आन्दोलनहरु ?

हामी कृषिप्रधान देश भनेर कुर्लिदै गर्दा कृषिका लागि इन्टर्नसीप गर्नका लागि इजरायल पुगेका नेपाली विद्यार्थीहरुले अनाहकमा ज्यान गुमाउनु परेको छ । यस कार्यले सिंगो अन्तराष्ट्रिय जगतमा सरकारलाई गिज्याइरहेको छ । कृषिप्रधान देश भनेर सम्बोधन गर्न यिनीहरुले लाज मान्नु पर्दैन ? पार्टीको घोषणा पत्रदेखि भाषणमा बोलिने शब्द र जुलुसमा लगाइने नाराहरुमा कृषि क्रान्तिका कुरा गर्नेहरुले दुर्गा प्रसाईलाई होइन आफ्नै अनुहारमा कालो पोतिएको देख्नका लागि ऐना हेर्नु पर्दछ कि पर्दैन ?

देशमा राष्ट्रसेवक कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् । सरकारले प्रहरी लगाएर उनीहरु माथि दमन गरिरहेको छ । लाठी र भाटा बर्साइरहेको छ । अनि ती कर्मचारीहरुको मनोवल कस्तो हुन्छ र उनीहरुले सही ढंगबाट सेवा प्रवाह गर्दछन् ? सरकारले कहिले बुझ्ने ? सेना र प्रहरीको हालत पनि उस्तै छ । एउटा विद्वानले सेनाको संख्या घटाउने प्रस्ताव गरे । भ्रष्टाचार घटाउने प्रस्ताव गर्नेहरु संसदमा पुग्नै पाएका छैनन् । प्रहरीहरु तलब थाप्न पाइने हो वा होइन भन्ने चिन्नित छन् । शिक्षकहरुले गरेको आन्दोलनले देशको मेरुदण्ड नै हल्लियो । धन्न बेलैमा वार्तामा बसाल्न सकेर हो नत्र हल्लिएको मेरुदण्ड नै भाँचिन सक्थ्यो । शिक्षा ऐनका विषयमा यो पंक्तिकारले धेरै बोलिरहनु नपर्ला ।

त्यति मात्र होइन स्थानीय कर्मचारी पनि सडकमा आन्दोलन गरिरहेको छन् । युवावर्ग विदेश जानका लागि घरखेत बेच्न तयार छन् । दैनिक हजारौको संख्यामा विमानस्थलमा भएको लाइन त नेताहरुले देखेकै होलान् । दैनिक आवश्यकता परिपूर्तिका लागि गएको छोरो सकुशल आउँछ वा आउँदैन । गाउँमा बुढाबुढीहरु शोकमा डुब्नु पर्ने अवस्थाको सिर्जना भएको छ । उद्योग कारखाना भन्ने चीज त भएका बेचेर खाइसके । खानी र पानी त भाषणमा मात्र सिमित छन् । कृषि अनुदानका नाममा अकूत सम्पत्ति कुम्ल्याउने नेता र तिनीहरुका आसेपासे मात्रै हुन् । किसानका खेतबारी र पाखा टारीहरु त बाँझै छन् ।

पहाडमा तितेपातीले भरिएका छन् भने तराईमा वनमाराले सखाप पारिरहेको छ । व्यापार व्यावसाय गरेर आफ्नो मात्र होइन देशको अर्थतन्त्रलाई समेत टेवा पु¥याउनेहरु बैंकको ऋण तिर्न नसकेका कारण कोही आत्महत्याको अवस्थामा पुगेका छन् भने कोही रातारात भाग्न बाध्य भएका छन् । विश्वविद्यालयहरु केवल कार्यकर्ताहरु भर्ति केन्द्रको रुपमा विकसित भएका छन् । यस्ता यावत कार्यहरुले गर्दा सर्वसाधारणहरुमा नैराश्यता आउनु स्वभाविक हो । अझ भन्ने हो भने न्याय प्रणालीलाई समेत यिनीहरुले राजनीतिको एउटा अंग जस्तै बनाइसकेका छन् । न्यायलय प्रति ठाडो हस्तक्षेप गर्न समेत नेताहरु पछि परेका छैनन् ।

यति हुँदाहुँदै पनि हामी देशलाई सिंगापुर र स्वीजरल्याण्ड बनाउँछौ भनेर गफ दिनेहरुबाट अब नेपाली जनताले आशा नगरे पनि हुन्छ । यिनीहरुको विकल्पमा नयाँ शासन प्रणाली र नयाँ पुस्ताका युवाहरुले देशको बागडोर सम्हाल्न अब ढिला गर्नु हुँदैन । किनकी यिनीहरु सके एक्लै नसके गठबन्धन गरेर पनि देशको ढुकुटीमा हालिमुहाली गर्न छोड्नेवाला छैनन् । अतः अब एक पटक फेरी आन्दोलनको ज्वारभाटा उठाएर कुकर्मी र अधर्मीहरुलाई मरेको सिनो झै बाग्मतीमा सेलाउन आवश्यक भइसकेको छ । अब पनि नेपाली जनता भारतका कालापहाड र खाडीका मुलुकहरुमा गएर आफ्नो जिविका धान्ने अनि यिनीहरुलाई छाडा पशु झै छोडिदिने हो भने हामीले खोजेको जस्तो समृद्धि नेपालमा कहिल्यै आउने छैन । देश आक्रान्त भइसकेको छ । अब अन्तिम लडाइ लड्न ढिला गर्नु हुँदैन ।