राष्ट्रिय संकटको कारणः राजनीतिमा दर्शन, ब्यवहार र सचेत जनताको अभाव

नेपालमा राणा शासनको समूल अन्त्य भएको धेरै वर्ष वितिसकेको छ । सामान्ती राजतन्त्रको पनि अर्ध–अन्त्य र दुई तिहाई अन्त्य भएको पनि दसकौं वितिसकेको छ । यी सबै परिर्वतनका वाहक नेपाली जनता हुन भन्ने कुरा सबैले ओकल्दै आएका कुरा हुन । यसको धेरै गरिराईमा पुगेर चर्चा गर्न जरुरी छैन । हामीलाई सबैलाई आवरणमा लाग्ने विषय के हो भने नेपालमा गणतन्त्र स्थापना भईसकेको छ । करिब ६० वर्षदेखी नेपाली जनताले माग्दै आएको संविधानसभाको पनि दुई दुई पटक चुनाव सम्पन्न भई संविधान निर्माण हुने चरणमा पुगेको छ । सामान्ती राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना नेपाली जनताको सारभूत चाहाना भएकाले यो नै नेपाली जनताका लागि ठूलो उपलब्धि हो । भजनमण्डलीहरुले आँखा चिम्लेर भजन गाईसके पछि आफुहरुले जसरी ईश्वर प्राप्त गरेको अनुभूती गर्ने गर्दछन,ठीक त्यही प्रकारले नेपाली जनताले अहिले गणतन्त्त प्राप्त गरेको र यहि गणतन्त्र नै रोगmभोग,अभाव,थिचोमिचो निवारण गर्ने माध्यम हो भनिरहेकाछन । एक अर्थमा त्यो कुरा सत्य हो पनि । किनभने गाईबाख्रा चराउने ग्वालाको छोराले पनि शासनसत्ताको प्रमूख पदमा चुन्न र चुनिन पाउँदछ ।
गणतन्त्र नामक ब्यवस्था त नेपालमा आएकै हो । यसमा कसैको दुई मत छैन । तर गणतन्त्रको मूल मर्म र भावना अनुसार राज्य सत्ताले काम गरेको छ वा छैन ?,गणतन्त्रका शासक वर्गहरु को दृष्टिकोण,विचार र दर्शन के हो ? उनीहरुले जनता र देशलाई केन्द्रमा राखेर सत्ता संचालन गरिरहेकाछन वा कसैको गाटी बनेर सत्ता संचालन गरिरहेकाछन ? मूख्य प्रश्न यहि हो । हामीहरुले जान्नु पर्ने र सारमा बुझ्नु पर्ने कुरा यहि हो । के हामीहरु यस विषयमा जानकारी लिने गरेका छौं ? गणतन्त्र,राष्ट्र र राष्ट्रियताका बारेमा सोच्ने गरेका छौं त ? मूलभूत प्रश्न हाम्रा सामु तेर्सिएको छ ।
अहिले मूलुक इतिहासको कालखण्डमा सबैभन्दा चरम संकटमा छ । यसो भनिरहँदा कसै–कसैलाई लाग्न सक्छ यतिबेला राणा,राजतन्तात्मक शासन छैन । यो त गणतन्त्रात्मक शासन हो । जनताको शासन भएकाले देश चरम संकटमा छ भन्नु उपयुक्त होइन । तर वास्तविकतालाई केलाएर हेर्ने हो भने यिनै गणतन्त्रवादी भन्ने शासकहरुले मूलुकलाई चरम संकटमा पारिरहेकाछन । यक वा अर्को प्रकारले देशलाई विखण्डनको दिशातर्फ धकेल्ने, अनेकता बीचको नेपाली एकता खल्बलाउने, देशमा जातिय,क्षेत्रीय र धार्मिक द्वन्द्व निम्त्याउने प्रयास गरिरहेकाछन । यति मात्र होइन, तराईलाई भारतीय महासंघमा मिसाउने,विदेशीहरुलाई नेपाली नागरिकता सहजै लिन पाउने र अन्ततः नेपालमा नेपालीभन्दा विदेशीहरु खास गरेर भारतीयहरु बढि हुने खतरा उत्पन्न गराउने जस्ता कामहरु भईरहेकाछन् । यसरी देश नै चरम संकटमा पर्ने गरी नेपाली शासकहरुले किन यस्तो दुश्प्रयासहरु गरिरहेकाछन् ? यसका पनि केही ठोस र यथार्त कारणहरुछन । मोटामोटी रुपमा त्यस विषयमा हामी सबैले सचेततापूर्वक जान्न र चर्चा गर्नु पर्दछ । ती कारणहरु मध्येका मूख्य कारणहरु हुनः
पहिलो कारण नेपालको राजनीतिमा दर्शन र ब्यवहारको अभाव रहेको छ । हुन त नेपालमा सायद दक्षिण यसियामै सबैभन्दा बढि पार्टी भएको देशमा चिनिन्छ होला । यति धेरै पार्टीहरु भए पनि यी पार्टीहरु मूलभूत रुपमा तीनचारवटा विचार र दर्शनबाट अघि बढेकाछन । तिनीहरुको बारेमा हामी सबैले जानकारी हाँसिल गर्न जरुरी छ ।
ती हुनः पहिलो राजनीतिक शक्तिः सामान्त,दलाल तथा नोकरशाही पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिहरुः– नेपालमा गणतन्त्र आए पश्चात अहिले यो शक्ति कमजोर अवस्थामा छ । यस्तो प्रकारको विचारधारा बोकेर अघि बढ्ने राजनीतिक दलहरुमा राप्रपा,राप्रपा नेपाल,सदभावना पार्टी र केही हदसम्म नेपाली काँग्रेस हो । नेपालको राजनीतिक इतिहासमा परिर्वतनको अवरोध गर्ने शक्ति यिनै हुन । यिनीहरु देशमा जसरी भए पनि सामान्ती सँस्कार र सँस्कृति लागु गर्ने प्रयत्न गर्दछन । सामान्ती राज्यब्यवस्था,सँस्कार र सँस्कृति भनेको राजामहाराजा मान्ने, राजालाई विष्णुको अवतार मान्ने, महिला वर्गलाई दोस्रो दर्जाको नागरिक ठान्ने, जातमा उँचो र निचोमा विभाजन गरी सर्वहारा वर्गलाई उत्पीडनमा पार्ने, धर्म,कर्म,पूजापाठ र पंडित्याँईको कुप्रथा चलाएर आलौकिक शक्तिमा जनतलाई भ्रम पारेर सत्ता टिकाउन प्रयास गर्ने, हलो नजोत्नेले अर्थात ठालुहरुले जग्गाको मालिक बन्ने र सर्वहारावर्गलाई त्यो जग्गामा कमारा कमारीको रुपमा काम गर्न बाध्य तुल्याउने, विदेशी शक्तिको इसारामा राज्य ब्यवस्था संचालन गर्ने, कार्यालयहरुमा आफ्ना विचार समूहकालाई भर्ति गराएर कर्मचारी तन्त्रका माध्यमबाट समेत राज्यको ढुकुटी रित्याउने गरिन्छ । यो दर्शन र विचारधारा भएको शक्तिको अन्तिम लक्ष्य र उद्देश्य भनेको अधिकतम् रुपमा देशमा हुँनेखानेहरुको पक्षमा नीति निर्माण गर्नु,ब्यक्तिगत स्वामित्वलाई प्रथामिकता र टेवा दिनु, यसकै सेवा गर्नु आदि नीति अंगिकार गरेको हुन्छ । तर जनताहरु राजनीतिक रुपमा सचेत नभएका कारण यस्तो प्रकारको दर्शन बोकेको पार्टीका पछाडि लामवद्ध भएर लागेकाछन । धतुराको विरुवाबाट सुन्तला फलाउने दिवा सपना देख्दछन,जो कुरा संभव नै छैन ।
दोस्रो शक्तिः राष्ट्रिय पूँजीपति र निम्नपूँजीपति वर्गको प्रतिनिधित्व गर्ने राजीति शक्ति रहेको छ । यो विचारधाराको प्रतिनिधित्व गर्ने राजनीति शक्ति अहिले आएर नेकपा एमाले र एनेकपा(माओवादी)हरु लगायत रहेकाछन् । यो शक्ति भनेको विशेष गरेर सुधारवादी नीति चाहान्छ । सुधारवादी नीति भनेको पुरानो संरचना पनि समाप्त गर्न नचाहाने र नयाँ संरचना पनि पूर्ण रुपमा निर्माण गर्न नचाहाने शक्ति हो । भन्नुको तात्पर्य अर्काको नीति र विचारमा चल्ने,आफ्ना नीति र विचारहरु नभएको शक्ति हो । जनतालाई भ्रम श्रृजना गर्नका लागि माक्र्सवादी विचारधाराको प्रतिनिधित्व गरेको देखाउने तर सारमा त्यो नीतिलाई ट्रेडमार्ग बनाएर सत्तारोहण गर्ने पार्टी भित्र यी राजनीतिक दलहरु पर्दछन । अन्तिम लक्ष्य साम्ववाद भए पनि यिनीहरु त्यसलाई ब्यवहारमा स्वीकार गर्न सक्दैनन । नेपालमा दोस्रो जनआन्दोलन चलिरहेको बेला राजाले प्रधानमन्त्रीको दर्खास्त माग गर्दा नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रतिगमन आधा सच्चियो भनेर दर्खास्त दिनु, मनमोहन अधिकारी अमेरिका भ्रमणमा गएको बेला‘हामीहरु दक्षिणपंथी हौं’ भन्नु यसका ज्वलन्त उदाहरण हुन । निम्नपूँजीपति चिन्तन प्रणाली जर्मनमा १६ औं शताब्दिमा देखा परेको विद्यमान अवस्थाको वास्तविक सामाजिक आधार हो । यो वर्ग १६ औं शताब्दिको एक अवशेष र त्यस बखत देखिने बारम्बार विभिन्न रुप धारण गर्दै प्रकट हुँदै आएको छ । निम्नपूँजीपति समाजवादले उत्पादन र विनिमयका प्राचीन साधन र स्वामित्वका पुराना सम्बन्धहरु तथा पुरानो समाजलाई फेरी कायम गर्न चाहान्छ । त्यसको रुप अन्तः प्रतिक्रियावादी र कल्पनावादी हुन्छ । त्यस्तै पहिला उग्र‘वामपंथी’का रुपमा देखा परेको तत्कालीन माओवादी शान्तिपूर्ण संघर्षमा आए पछि अहिले उ पनि निम्नपुँजीवादीधारमा उन्मूख भएको छ । उग्र‘वामपंथी’भटकावको पतनको अन्तिम गन्तब्य निम्नपूँजीवादीधार अर्थात सुधारवादी धारमा गएर पतन हुने गर्दछ । त्यसकारण अहिले पहिला देखि नै सुधारवादीधारको प्रतिनिधित्व गर्ने शक्ति एमालेमा पार्टी सामेल गर्ने अर्थात विलय गराउने चर्चा बाहिर आएको छ । ढिलो वा चाँडो निश्चित रुपमा हुने पनि त्यही नै हो ।
कम्युनिष्ट घोषणा पत्रमा कम्युनिष्टहरुको तत्कालीन उद्देश्य भनेको सर्वहाराहरुलाई वर्गको रुपमा संगठित गर्नु, वुर्जुवा वर्गको जरा काट्नु, सर्वहारावर्गको राजनीतिक सत्ता कायम गर्नु रहेको छ । तर नेपालका निम्नपूँजीवादी चरित्र वा दर्शन बोकका यी धारहरु अहिले आएर वर्ग संघर्षको मूल दर्शनलाई विस्तापित गर्दै जातिय,क्षेत्रीय र धार्मिक नारालाई जोडतोडका साथ उठान गरिरहेकाछन । यस कारण नै देश गम्भीर संकटमा पर्न गएको तथ्य हामी बसैलाई घाम जतिकै छर्लङ्ग छ ।
विचार,सिद्धान्त र राजनीतिक रुपमा माथि उल्लेख गरिएका दुई धारका राजनीतिक शक्तिहरु ठीक हुन वा होइन ? त्यसको लेखाजाखा वा दाँज्ने कसी भनेको उनीहरुको ब्यवहार हो । कुनै पनि कुराको मापन उसको ब्यवहारले गर्दछ । दलाल,नोकरशाही,पूँजीपति दर्शन बोकेका राजनीतिक शक्तिहरुको अन्तिम लक्ष्य भनेको पूँजीवादी गणतन्त्र नै हो । उनीहरुको त्यो अन्तिम लक्ष्य पुरा भईसकेको छ । यसैमा उनीहरु रमाएकाछन । तर कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलहरुको अन्तिम लक्ष्य सामान्यवादी हो । त्यस प्रकारको रणनीति प्राप्त गर्नका लागि वर्ग संघर्ष नै एक प्रमूख कार्यनीतिक आधार हो । नौलो जनवादी क्रान्ति मार्फत समाजवाद हुँदै साम्यवादमा पुग्नु पर्दछ । तर एमाले र माओवादीहरु यो कुरालाई अस्विकार गरिरहेकाछन । यहि संसदिय ब्यवस्था मार्फत बहुमत हाँसिल गरेर नौलो जनवादी क्रान्ति विना नै साम्यवादमा पुग्ने काल्पनिक विचार ब्यक्त गर्दछन । बन्दुकको नालमा टिकेको प्रतिक्रियावादी राज्यब्यवस्था कब्जा गर्नका लागि नौलोजनवादी क्रान्ति विना असंभव छ । उनीहरुले अंगिकार गरेको नीति भनेको सुधारवादी नीति र तत्कालका लागि जनतालाई झुक्काएर शासन गर्ने शैली हो । यसको ज्लन्त उदाहरण हो एमाले र माओवादीले सत्ता संचालन गरिसकेकाछन । उनीहरुको सत्ता संचालन शैली त्यही प्रतिक्रियावादी शक्तिहरुले सत्ता संचालन गरेको शैलीभन्दा कुनै पनि कार्यक्रम भिन्न भएनन । जनताले कम्युनिष्ट शासनको अनूभूती नै गर्न पाएनन । यदि कम्युनष्टि पार्टीको सत्ता भएको भए त नौलो जनवादी ब्यवस्थामा गर्नु पर्ने आधारभूत क्रियाकलापहरु हुने थिए । तर भएनन । यसबाट के प्रष्ट हुन्छ भने तिनीहरु निम्नपूँजीपति वर्गका लागि खोलिएका ट्रेडमार्ग बेचेर जनता झुक्काउन सक्ने र जनत झुक्किने बेलासम्मका लागि महासंघीय पार्टी बनेर हालिमूहाली कायम गर्ने शक्तिका रुपमा रहिरहनेछन ।
अर्कोधार भनेको सर्वहारावर्गको प्रतिनिधित्व गर्ने क्रापिार्टी रहेको छ । जसको प्रतिनिधित्व तत्कालीन रुपमा नेकपा(मसाल)ले गरिहेको छ । उसले माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको सिद्धान्त बोकेको छ भने लेनिनवादी र्सगठनात्मक पद्धती अनुरुप सांगठनिक संरचना तय गरेर अघि बढेको छ । तथापी नेकपा(मसाल) कम्युनिष्ट पार्टी र कार्यकर्ता निम्नपूँजीवादी चिन्तनबाट ग्रस्त भएका कारण उसको गतिविधि सोचे अनुरुप अघि बढाउन सकेको छैन । तथापी नीति बचाउन सकिएको खण्डमा नेताको अभाव हुनेछैन । मूख्य कुरा नीति नै हो ।
यसरी नेपालमा च्याउन उम्रिए झै जति धेरै पार्टीहरु भए पनि मूलभूत रुपमा यिनै विचार बोकेका पार्टीहरु नेपालमा विद्यमानछन । पछिल्लो चरणमा जब चोरबाटोबाट संघीयता नेपाल भित्राउने काम भयो तत्पश्चात भने जातिवादी,क्षेत्रीयतावादी पार्टीहरुको समूह जन्मन थालेकाछन । तिनीहरुलाई हामीहरुले पार्टी भनेता पनि त्यस्ता प्रकारका संगठनहरुको विचार,उद्देश्य,नीति सिद्धान्त खासै नभएको र सिमित प्रकारका उद्देश्य प्राप्त गर्नका लागि स्थापना भएकाले ती समूह हुन पार्टी होइनन ।
यसरी नेपालका जनमतको अधारमा मूलधारका भनिने पार्टीहरु दार्शनिक रुपमा पनि सही छैनन । उनीहरुले पूँजीवादी समाजवाद,समाजवाद हुँदै साम्यवादमा कसरी पुग्ने ?, एउटा ब्यक्ति पार्टीमा आवद्ध भए पछि त्यो कार्यकर्ताले कस्ता प्रकारका नैतिक आचरणहरु अवलम्बन गर्ने, नेतृत्व भनेको के हो ?, कार्यकर्ता र नेतृत्वबीचको अन्तर्रसम्बन्ध तथा उनीहरुले गर्नु पर्ने काम र कर्तब्य के हो ? आदि विषयमा राजनीतिक तथा सांगठनिक प्रशिक्षणहरु दिने चलनको पूर्ण अन्त्य भएको छ । नेपालमा नेकपा(मसाल)ले देखी बाहेक अरु कुनै पनि राजनीतिक पार्टीहरुले प्रशिक्षण शिविर स्थायी रुपमा स्थापना गरि संचालन गरेका छैनन ।तसर्थ नेपालको राजनीति साम,दाम,दण्ड,भेदका आधारमा जसरी भए पनि चुनाव जित्नु पर्दछ र सत्ता हातमा पार्नु पर्दछ भन्नेतर्फ उन्मूख भएको छ । यसका लागि सर्वसाधारण नेपाली जनतालाई उनीहरुले सँधै गुम्राहमा राखेर जनतालाई खरिद विक्री गर्ने प्रचलन हावी भएको छ । यति मात्र होइन, कुनै पनि राजनीतिक दलको नीति,सिद्धान्त र राजनीति कस्तो छ ? भनेर दाँज्ने कडी भनेको उसको ब्यवहार हो । ब्यवहार दाँच्नका लागि पहिलो कुरा ती नेताहरुको आचारण कस्तो छ ? भन्ने कुरा पत्ता लगाउनु पर्दछ । ती नेतृत्व समालेका नेताहरुको रचनात्मक क्षमता छ कि छैन ?, अध्ययनशील, लगनशील,मेहनती, दैनिक आहार विहार कस्तो प्रकारको छ ? त्यस कुराले ब्यवहारको पुष्टयाँई गर्दछ ।
यसका साथै नेपालको राजनीतिक क्षेत्र वदनाम हुनु, नेताहरुले जनताको अपेक्षा र राष्ट्रिय हितमा काम नगर्नु, दर्शनलाई ब्यवहारमा ढाल्ने प्रयत्न नगर्नु र दुरदर्शिता,त्याग नहुनुका केही कारणहरु छन । ती कारणहरु मध्ये सबैभन्दा प्रमूख कारण राजनीतिक रुपमा सचेत जनताको अभाव हो । यो कुरा उल्लेख गर्दा जनताहरुलाई अपमान गर्न खोजिएको अर्थ लाग्न सक्दछ तर वास्तविक रुपमा केलाएर हेर्ने हो भने नेपाली जनता राजनीतिक रुपमा सचेत छैनन । दलमा आवद्ध त छन तर उनीहरुलाई राजनीतिक दर्शन,चरित्र र ब्यवहारका बारेमा प्रशिक्षित गर्ने काम दलहरुले गरेका छैनन । एकतातिर दलहरुले जनतालाई केवल भोट वैंकका रुपमा मात्र प्रयोग गर्ने र अर्को तर्फ जनताहरु राजनीतिक मूलधारबाट पन्छने प्रयत्न गर्ने गरेको पाईन्छ । जनता राजनीतिक रुपमा सचेत नहुनुका केही कारणहरुछन । ती मध्ये संचारमाध्यमको उपयोग पनि प्रमूख कारण हो । अहिले पनि नेपाली जनताहरुले सही सूचना प्राप्त गर्न सकेकाछैनन । गाउँघरमा विद्युत छैन । विद्युत नभएका कारण प्रविधिसँग समब्ध छैन । अहिलेको युग प्रविधिको युग हो । यो प्रविधिको युगमा प्रविधिबाट अलग भए पछि वर्तमान अवस्थाको जानकारी लिन सकिदैन । जसका कारणले राजनीति लगाएतका नविन विषयवस्तको बारेमा ज्ञान प्राप्त हुन सक्दैन । सबै कुराको फैसला राजनीतिले गर्ने भएकाले जनता राजनीतिको अर्थबाट अलग भएका कारण नेताले जे गर्दछन,त्यही कुराको सही थाप्नु र उनीहरुकै पछाडि लाग्नु देखी बाहेक अरु विकल्प हुन्न ।
जनता कुनै न कुनै पार्टीमा अवद्ध त छन तर तिनीहरु यस अर्थमा आवद्ध छन की वल्लो वा पल्लो घरको बाठोटाँठो नातावाला त्यहाँ छ त्यसकारण । छोराछोरीले पढेको छ, नेताले जागिर खुवाई दिन्छ की भनेर । दैनिक जीवनयापन गर्नका लागि आई लागेका समस्याहरु सामाधान गर्दिन्छ की भन्नका लागि आधारभूत जनता कुनै न कुनै राजनीतिक धारमा अवद्धछन । अर्कोतर्फ एउटा वुद्धिजीवि जमात छ । नेपालको वुद्धिजीवि जमात निकै अवसरवादी छ । ठूलो सँख्यामा रहेको वुद्धिजीवि जमातले आफ्ना ब्यक्तिगत मात्र स्वार्थ पुरा गर्नका लागि कुनै न कुनै दलमा आवद्ध भएकाछन । उनीहरुले प्रायः देश,समाज र आम नागरिकलाई सही दर्शन र निकास दिनका लागि आफ्ना विचारहरु प्रभाव गर्दैनन । राजनीतिमा आवद्ध हुँदैनन केवल ब्यक्तिगत स्वार्थ कसरी पुरा गर्न सकिन्छ भन्ने ध्येयका साथ कपडा बदले जस्तै जुन पार्टी सरकारमा जान्छ,त्यही पार्टीको सदस्या बदल्ने काम गर्दछन । नेपालमा यस्तो चरित्र बोकका वौद्धिक जमानतको सँख्या अत्याधिक धेरै भएकाले पनि नेपालको राजनीति सही नभएको हो । सामान्ती राजतन्त्रको जाँतोमा पिल्सिएका नेपाली जनताहरुको जबसम्म मानसिकतामा परिर्वतन हुन सक्दैन, जबसम्म देशमा विद्युतीकरण हुन सक्दैन, जवसम्म कृषि पेशा ब्यवशायिकरण हुन सक्दैन र जबसम्म नेपालमा ठूला उद्योगधन्दाहरु स्थापित हुन सक्दैनन तवसम्म नेपालको राजनीतिकले सही दिशा लिन सक्दैन । किनभने उत्पादन संघर्षमा आम नागरिक नहोमिएसम्म वर्ग संघर्ष, सामाजिक संघर्ष भनेको के हो ?,कसरी गर्नु पर्दछ ?,हामी अन्याय,उत्पीडनमा पर्नुको कारण के हो ?, कुन राजनीतिक दलको चरित्र के हो ? आदि बुझन सकिदैन । तसर्थ समग्रमा यस्ता प्रकारका विकासको अवश्यकता खड्केको छ । यसरी हेर्दा नेपालमा वारम्बार राष्ट्रिय संकट देखा पर्नुका मूलभूत कारणहरु यिनै हुन ।
नेपाल एउटा अर्ध–सामान्ति र अर्ध–औपनेवेशिक मूलक हो । त्यस कारण आज देशको राष्ट्रियताका अगाडि गम्भीर खतरा उत्पन्न भएको छ । विश्व साम्राज्यवाद र भूमण्डलीकरणबाट संसारका सबै विकासोन्मुख देशहरूका साथै नेपालको पनि स्वतन्त्रता र स्वतन्त्र अर्थतन्त्रमा गम्भीर खतरा उत्पन्न भएको छ । तर नेपालको भू–राजनीतिक अवस्थामा नेपालको राष्ट्रियतामा भारतीय विस्तारवादका कारणले नै सबैभन्दा गम्भीर खतरा उत्पन्न भएको छ । वास्तमा भारतीय विस्तारवादले दशकौँदेखि योजनाबद्ध प्रकारले नेपालमा आफ्नो प्रभुत्व कायम गर्न षडयन्त्र गर्दै आएको छ । त्यस्तै नेपालको सुरक्षा, परराष्ट्र नीति, अर्थतन्त्र, प्रशासन आदि विभिन्न क्षेत्रहरूमा हस्तक्षेप र घुसपैठ गर्दै आइरहेको छ । नेपालको जलसम्पदामाथि कब्जा जमाउन कैयौँ असमान सन्धिहरू गरिएका छन् । नेपालमा ठूलो सङ्ख्यामा भारतीयहरूलाई नेपालको नागरिक वा मतदाता बनाउँदै लगेर नेपाललाई फिजी बनाउनका लागि योजनाबद्ध प्रकारले षडयन्त्र भैरहेको छ । नेपालका विभिन्न राजनीतिक शक्तिहरूले भारतीय विस्तारवादका त्यस प्रकारका नीतिहरूलाई मद्दत पु¥याउने नीति अपनाएकाले स्थिति अरू गम्भीर भएको छ ।
यसै गरि देशका सामु पछिल्लो चरणमा आयातित संघीयताले राष्ट्रिय खतरा वा संकटको अवस्था श्रृजना गरेको छ । शासकीय दलहरुले सत्ता प्राप्त गर्न वा सत्ता टिकाउनका लागि विदेशीको इसरामा संघीयता लागु गर्ने प्रयत्न गरिरहेकाछन भने जनताले नबुझेर समर्थन गरिरहेकाछन । यस्ता संकटहरु समाधान गर्नका लागि जनता राजनीतिक रुपमा सचेत हुन गरुरी छ । अनि मात्र देशको विकास संभव छ ।









