पाठककोस्तर नबन्दा साहित्यकार स्तरीय बन्न सक्दैनन् : डा. गौतम
वि.सं. २०१९ साल श्रावण ३ गतेका दिन आज भन्दा ५५ वर्ष अगाडि रुकुमकोटमा जन्मेर नेपाली साहित्यको क्षेत्रमा २०४८ सालदेखि निरन्तर कृति आकार दिइरहनु भएका एउटा सबल र सक्षम समालोचकको नाम हो – डा. दीपक गौतम । वर्तमान अवस्थामा सुर्खेतलाई आफ्नो कर्मभुमी बनाई सुर्खेत क्याम्पस शिक्षामा सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालिरहनु भएका गौतमले राष्ट्रिय प्रतिभा पुरस्कारलगायत विभिन्न पुरस्कार तथा सम्मानहरु समेत प्राप्त गरिसक्नु भएको छ । विभिन्न साहित्यिक संघसंस्थाहरुमा समेत आवद्ध गौतमले विभिन्न विधाका एक दर्जनको हाराहारीमा कृति समेत प्रकाशित गर्नुभएको छ । विशेष गरी समालोचनाको क्षेत्रमा निक्कै दख्खल राख्नुहुने उपप्राध्यापक दीपक गौतमसँग नेपाली साहित्यको विकास र विस्तारको पेरिफेरिमा रहेर खगेन्द्र अधिकारीले गरेको भलाकुसारीः

वर्तमान नेपाली साहित्यको अवस्था कस्तो छ ?
नेपाल प्रगतिशील लेखक संघ (२००९), नेपाल प्रज्ञा प्रतिष्ठान (२०१४) लगायत वर्तमान समयसम्म स्वदेश तथा विदेश गरी २ सयभन्दा बढी साहित्यिक संघसंस्थाहरु क्रियाशील छन् । १० करोड मानिसले नेपाली भाषा बोल्दैछन् । लगभग १ हजार जति नेपाली भाषाका पत्रपत्रिकाहरु प्रकाशित हुँदैछन् । लगभग ३ सय जत्ति स्थानीय, राष्ट्रिय टेलिभिजनहरु दर्ता छन् । २५ हजार भन्दा बढी कविहरु छन् । फेसबुझ, युट्यूव र म्यासेन्जरले साहित्यलाई सहज र नजिक बनाएका छन् । अहिले कविको संख्या बढी छ तर कविताको संख्या कम छ । गजलकारको संख्या सबभन्दा बढी छ । अनलाइन साहित्यिक कार्यक्रमहरु संचालित छन् । एफ एम को संख्या नेपालमा ४ सयभन्दा बढी छ । मुगुमा बाहेक सबै जिल्लाहरुबाट पत्रिका प्रकाशित छन । मदन पुरस्कारलगायत थुप्रै स्थानीय, राष्ट्रिय पुरस्कारहरु वितरण भइरहेका छन् । यी सम्बद्ध साधनहरुले नेपाली साहित्यलाई प्रयोग क्षेत्र दिइरहेका छन् । समालोचना, समीक्षा, गोष्ठी, कार्यशाला भइरहेका छन् । सुर्खेतकै एफ. एम. हरुले मुक्तक गजल विशेष कार्यक्रमहरु संचालन गर्न लागेको एक दशक भन्दा बढी भइसक्यो र संचालक विशेषज्ञ भइसकेका छन् । तपाइँकै पत्रिका काँक्रेविहारले सुर्खेतलाई कर्मथलो बनाउँदै आएका प्रतिभाहरुले साहित्यिक साप्ताहिक अन्तरवार्ता लिइरहेकाले साहित्यको भविष्य सुनिश्चितता छ । व्यक्ति प्रकासनले उज्याला किरणहरु निकाल्दै छन् ।
नेपाली साहित्यको आधुनिक कालमा साहित्य जगत्लाई नै हलचल पार्ने साहित्य रचना हुन सकेनन् किन होला ?
युग, जाति र क्षणले प्रत्येक साहित्यकार प्रभावित हुन्छ भन्ने मान्यता हिप्पोलाइट टेनले राखेका छन् । प्रस्तुत मान्यता टेनका लागि उपयुक्त भए पनि विशिष्ट साहित्य, साहित्यकार र समालोचकमा लागु हुँदैन । विशिष्ट साहित्यकारहरुले आफू बाँचेको समय, परिवेश र प्रभाव जान्न सक्नु पर्छ र त्यसले आफू बाँचेको समाज, समय र साहित्यलाई परिवर्तन गर्न सक्ने, सही दिशा दिन सक्ने हुनुपर्छ । यसै कारण नेपाली साहित्य लेखन पनि नेपाली साहित्यको आधुनिक काललाई हलचल ल्याउन सक्ने भएका छैनन् । दोवकोटा, सम, लेखनाथलाई माथ गर्ने ल्याकत देखाउन सकेका छैनन् । माधव प्रसाद घिमिरेले हिजोकै पृष्ठभूमिमा आफ्नो साहित्यिक उचाइ कायम राख्न सकेका छन् भने अरुहरुमा त्यो आज सामथ्र्य र शक्तिका रचनाहरु आउन सकेका छैनन् । अर्को कारण हो, साहित्यप्रतिको निष्ठा, समर्पण र त्यागको अभाव । साहित्यकारहरु प्रचारमुखी, सुविधामुखी र बडप्पनका कारण पनि हलचल ल्याउने साहित्य आउन सकेका देखिएका छैनन् ।
सिर्जना गर्नु पुस्तक प्रकाशन गर्नु मात्रै साहित्य क्षेत्रको विकास हो र ? साँच्चिकै साहित्यको विकास गर्नका लागि के गर्नु पर्ला ?
मैले अगाडि भनिसकेको छु । पुस्तक प्रकाशन गर्नु मात्र साहित्य क्षेत्रको विकास हैन । कविता लेख्नु मात्र कविता होइन । त्यसैले त नेपालमा कविको संख्या बढी छ । कविताको संख्या कम छ । नेपाली पुस्तकको संख्या बढी छ तर साहित्यको संख्या कम छ । साहित्यको विकासका लागि साहित्यकार, पाठक र समालोचकहरुको विकास आवश्यक हुन्छ । साहित्यकारहरुले सबै अनुभवबाट आफूलाई समृद्ध नपर्दा उत्कृष्ट साहित्यहरु दिन सक्दैनन् । पाठकको स्तर नबन्दा साहित्यकार स्तरीय बन्न सक्दैनन् । स्तरीय समालोचक विना समृद्ध साहित्यको भाव सरलीकरण गर्न सक्दैनन् । यति मात्र होइन, ठूला ठूला मिडियाले केही साहित्यकारहरुलाई काखी च्यापेका छन् । काठमाडाँैमा बस्ने मात्र साहित्यकार बनाउने काम ठूला ठूला मिडियाले गरेका छन् । मोफसलका साहित्य, साहित्यकार तथा साहित्यिक गतिविधिको मूल्याङ्कन हुनु पनि साहित्यको खास विकास नहुनु हो । मूल्याङ्कन जिम्मा पाएका संघसंस्थाहरुको निर्णय क्षमताको अभावका कारण पनि गुणस्तरीय साहित्य, साहित्यकार र पाठकको पहिचान हुन सकेको देखिएन । यस प्रसंगमा सम्वद्ध सबै पक्षहरुले आ–आफ्नो धर्म ग्रहण आवश्यक छ । सबै क्षेत्रमा भागवण्डाका कारण पनि साँच्चिकैमा नेपाली साहित्यको विकास हुन सकेको देखिएन । तर पनि स्रष्टाले पहिले सिर्जना गर्ने, परिशोधन गर्ने र प्रकाशन गर्ने मूल कर्तव्य हो । लेख्दैमा प्रकाशन नगर्दा राम्रो ÷कृति संख्याले साहित्यकार ठूलो भइन्छ भन्ने मान्यता राम्रो होइन ।
तपाइँ त समालोचक पनि हुनुहुन्छ । पश्चिम नेपालमा साहित्यको अवस्थालाई कसरी समालोचना गर्नुहुन्छ ?
हो, कवि, निबन्धकार र समालोचक पनि हो । सिर्जना धार्मिकताका कोणबाट । म पनि त्यही भंगालोमा हुन सक्छु । तर समालोचकमा म सबै सबैलाई रचना भन्ने पक्षमा छैन । मैले गरेका समालोचनामा अप्रत्यक्षलाई पनि देखाउने गरेको छु । चिनजानकै भरमा मैले सबै कृतिलाई उत्कृष्ट मानेको छैन । तर पश्चिम नेपाल साहित्यकै क्षेत्रमा सुर्खेतलाई गजलको राजधानी मैले भनेको हैन ज्ञानुवाकर पौडेल, खगेन्द्र गिरि ‘कोपिला’ लगायत थुप्रैले भनेका छन् । पश्चिम चितवन पछिको पहिलो साहित्यिक गतिविधि हुने ठाउँ सुर्खेत र दाङ हो । दाङको शास्त्रीय कविता लेखन नेपालकै प्रतिनिधिमूलक परम्परा हो । बर्दिया, कञ्चनपुर, कैलालीमा त्यस्तै राम्रो छ । अछामको गजल लेखन त तुफानै हो । महाकाली साहित्य प्रतिष्ठान र सुदूरपश्चिम साहित्य प्रतिष्ठान क्रियाशील संस्थाहरु हुन् । बुद्धिसागर चपाईका ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’ नेपालका चर्चित उपन्यासहरु हुन् । महेन्द्र गिरीका अनुसार दुबै नोस्टालजिया (अतिप्रति वा बाल्यावस्था प्रतिको मोह) का उपन्यासहरु हुन् । खगेन्द्र अधिकारी ‘अमृत’, यामलाल गौतम, महेन्द्र चन्द ‘महासागर’ सुदामा, पहल थापा, हरिलाल महतारा, विद्या निर्दोष पहाडि जस्ता व्यक्तिहरुले सुर्खेतमा बसेर नेपाली साहित्यलाई तेल थप्ने काम गरिरहेका छन् । बलभद्र भारती, महेन्द्रप्रसाद गिरी, लिलाधर गौतम, गणेशभक्त गौतम, ऋषि थानी सुर्खेतमै बसेर स्तरीय साहित्य लेखन गर्दैछन् । मधुसुदन गिरी, जगत उपाध्याय, श्यामल नेपालकै चर्चित लेखकहरु हुन् । जिवेन्द्रदेव गिरी प्रज्ञा प्रतिष्ठानको नेतृत्व सम्हाल्दैछन् । नेपालगञ्जमा बेला बेलामा साहित्यिक गतिविधि भइरहेका छन् । सनत रेग्मी, खगे्रन्द्र गिरी कोपीला, हरि तिमिल्सिना, मोहनविक्रम राप्ती साहित्य परिषद् नेपालमै गतिशील साहित्यिक संस्था बन्दैछन् । प्रलेस सुर्खेत, मध्यपश्चिमाञ्चल गजल मञ्च, बागिना, आरङ्ग नेपाल लगायतका संस्थाहरु पश्चिमै क्रियाशील छन् । मैले पश्चिमको साहित्य गतिविधिलाई साहित्य इतिहास लेखन तथा साहित्यिक कृति कृति भित्रकै तत्वको आधारमा समालोचना गर्ने गरेको छु । साहित्य लेखन इतिहास लेखनले इतिहास बनाउने छ । इतिहास समाजको साझा र महत्वपूर्ण प्राप्ति हो । साधना र सम्पत्ति हो । साहित्यिक कृति समालोचनाले कृतिलाई सहजीकरण गर्छ, सचेतना बढाउँछ र साहित्यकारलाई मुक्त बनाउँछ । आँखा खोल्छ, भ्रम, मिथ्या र अनर्गल प्रचार नगर्न रखवारी गर्दछ । मैले गर्दै आएको समालोचना यसै प्रकारको हुनु पर्छ । भन्न त मलाई रुखो भन्दछन् । पश्चिमबाट उदाएका समालोचक कमजोर छैनन् ।
अहिलेको युवा पिंढी पनि निकै तरखरका साथ साहित्यमा लागिरहेको छ । यो पिंढी कत्तिको आशा लाग्दो छ ? एउटा समालोचकको आँखामा ।
उमेरका कारण अनुभव, अनुभूति र जीवन भोगाई भिन्नै हुन्छन् । हिजोका साहित्यकारले पञ्चायती निरंकुशता भोगेको थियो तर आजकोले भोगेको छैन । माओवादी राज्य बीचको द्वन्द्व देख्यो तर भोगेन । समय अविरल छ । नेपालका युवाहरु सकारात्मक संकेतहरु लिएर देखिएका छन् । प्रतिभा भरभराउदा छ तर साहित्यमा गम खानु पर्छ । प्रतिभालाई समाधि, साधना तथा अभ्यासले सजाउनु पर्छ । नसजाउँदा प्रतिभा खहरे बन्न सक्छ । खहरेको लामो प्रभाव र जीवन हुन्न । यस कारण युवा पिंठीहरुले आधुनिक सञ्चार माध्यमलाई साधनाका रुपमा लिनु पर्दछ । साधनाका रुपमा होइन संसार समृद्ध छ । सञ्चारका माध्यम अपूर्ण छन् । अपूर्णताबाट पूर्णता जान्न सकिन्न । पूर्णताबाट मात्र अगाडि बढे युवा पिंठी भोलिका सवल देवकोटा बन्न सक्छन् ।
जागिर नपाउँदासम्म राम्रो कविता लेख्ने पाइसकेपछि लेख्न छाड्ने प्रवृत्ति राम्रो हैन । साहित्यकारको कृतिले सफलता पाउनका लागि सामाजिक सम्परीक्षणमा जान र नतिजा पाउँन लामो समय लिन्छ । त्यसकारण युवा पिंढीहरुले यस बाटोलाई यात्रामा तान्नु पर्छ । आशा लाग्दा पिंढीले गम, धैर्य, साधना तथा कष्टसाध्य अथक बाटो नसमात्दासम्म नेपाली साहित्यले समृद्ध दुनियाँ प्राप्त गर्न सक्दैन ।
वर्तमान नेपाली साहित्यको बजार हेर्ने हो भने पुस्तक किन्ने मान्छे नै छैनन् अनि कसरी साहित्यकारहरु निरन्तर लागिरहन सक्छन् ? त्यसका लागि नेपाल सरकारले के भूमिका खेल्नु पर्छ ?
एक, वर्तमान सरकारको चरित्र निरुपण गर्दा पछौटेपनको समाजबाट आएकोले सरकारको नेतृत्वमा रहेका चरित्र साहित्य र समाजको सम्बन्ध विकास अन्तरसम्बन्ध प्रभाव र अन्तत्वगत्वा देशको समृद्ध बढ्ने कुरा थाह छैन । दुई, सरकारको अवसर पाएका चरित्रहरुद्वारा साहित्यलाई हेयको दृष्टिले हेरिन्छ । आफूले लेख्दै लेख्दैनन् साहित्य लेख्नेलाई हेयको विषय पात्र र पक्ष बनाउँदै आएका छन् । तीन, नेपाल एकीकरणका नेपाली साहित्य प्रवाहमा एकदम कमजोर थियो । गति, दिशा र लय थाह थिएन । जब यसले गति, यति, लय समात्न लाग्यो तब सुगौली सन्धि भई चाकडा, चाप्लुसी बन्न पुग्यो । राणाकालीन मुख्तियारहरुको नजरमा जनताको साहित्य लेख्नु भनेको चेतनाको आँखा खोल्नु हो । चार, सात साल यताको सरकार सारमा संक्रमणकालीन सरकार छ । पाँच, पञ्चायती व्यवस्था जनताको साहित्यलाई जेलमा कोच्यो । छ, नेपालको मूल राजनीतिले साहित्यलाई पनि त्यसै भित्र समाहित गरी योजना कार्यक्रम कार्यनीति ल्याउन सकेन । जसरी तेह्र साल यता योजनावद्ध विकास आयो । यद्यपि यो योजना पनि जनमुखी नभई ठेकेदार, कर्मचारी तथा पहुँचवालामुखी भयो र असारे गतिमा स¥यो । यी बाध्यकारी मूल चरित्रका कारण नेपाली साहित्यकारका पुस्तक किन्ने, पढ्ने, छलफल गर्ने, क्रिया प्रतिक्रिया बुझ्ने, सकारात्मक कार्यहरु हुन सकेका देखिन्नन् । सात, राज्यको उच्च स्थानमा पुगेका एआइजी, रथी, सचिव, प्राध्यापकहरुको साहित्यिक परिसंवादमा एउटा स्वदेशी साहित्यको नाम लिन्नन् । आठ, व्यवसायिक ठूला मिडियाहरुले गोविन्द भट्ट, खगेन्द्र संग्रौला, अभि सुवेदी, तारानाथ शर्मा, वासुदेव त्रिपाठी लगायत केही काठमाडौँ बासीलाई मात्र नेपाली साहित्यका मूल्याङ्कनकर्ता ठान्दै आउनुले र तिनैले मानार्थ विद्यावारिधि, कृति मूल्याङ्कन, समीक्षा, समालोचना गर्नुले वर्तमान नेपाली साहित्यका बजार रुवाएका छन् । नेपाली कृषि उपजबाट जसरी बिचौलिया मुनाफा लिइरहेका छन् । नेपाली साहित्य उत्पादनको बेजोड मुनाफा तिनै बिचौलिया लिएका कारण बिचौलिया, दृष्टिविहिन सरकार, कम सिरियस साहित्यिक पत्रकार, पत्रकारिता र पत्रिका यी देखि दलाल रथी र कर्मचारीतन्त्र किनारा नलाग्दासम्म नेपाली पुस्तक किन्ने नेपाली पाइने छैनन् । त्यतिबेलासम्म आम नेपाली साहित्यकारहरु आफ्नो मूल लय पकड्न सक्ने छैनन् । अर्थात् आम जनता बीच नेपाली साहित्य पुग्न सक्ने छैन । नेपाली साहित्य आर्थिक उत्पादन, उत्पादकत्वसँग जोडिने छैन । जब नेपाली साहित्यकारहरुले पनि आफ्नो देशको आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्छन, कूल ग्राहस्थ उत्पादन बढाउँछ,स्वरोगारी सिर्जना गर्छन, लगानी गर्छन भन्ने भावनाको विकास हुन्न नेपाली साहित्यिक उत्पादकत्व बजारीकरण हुने छैन । माग र आपूर्ति हुने छैन । नेपाली साहित्य जाम हुनेछ, भयो र भएको थियो । विरलाकोटी, तप्कानेबाट उठेका नेपाली साहित्यकारको मात्र आर्थिक जीवन मनमोहक होला । यसका लागि सरकारी बिमा, पेन्सन, औषधी, रोजगारी, अस्पताल, यातायात, जग्गा किनबेचमा सरकारी सहुलियत र प्रत्याभूति चाहिन्छ साहित्यकारको जीवन क्षेत्रमा ।
कथा, कविता र नाटकदेखि गजलसम्मको अध्ययन गर्दा नेपाली साहित्य उही पुरानै ढर्राबाट माथि उठ्न नसक्नुको कारण के हो ?
एक विधागत असचेतता, दुई शास्त्रीय ज्ञानको अभाव, तीन सस्तो नाराबाजी, चार सस्तो लोकप्रियता, पाँच मूल साहित्यको प्रयोजन, उद्देश्य, आवश्यकता नबुझ्नु, छ नविता प्राप्ति मात्र होइन सँगै बढेका जटिलतम् चुनौतिहरु साहित्यकारहरुले अवबोधन गर्न नसक्नु नै नेपाली साहित्यकारको मूल भंगालो उही पुरानै ढर्राबाट बग्नु हो । कित्ताकाँट, झिनाझप्टी, व्यङ्य निर्माण, निगाह, आग्रह, पूर्वाग्रह आसिरवाद, प्रमाद जस्ता मनोविज्ञान पनि नेपाली साहित्य जगत् पुरानै पछ्यौरीबाट बेरिएको छ । महाकाव्यलेखन, नाटकलेखन र निबन्ध लेखन आजको समयसीमा सबभन्दा कमजोर बनेका छन् । वास्तविक साहित्य नै कमजोर बन्न पुग्दा सानातिना उपविधाहरु लोकप्रिय बन्न पुगेका छन् । मैले पूर्वाग्रह साँचेको होइन साहित्यिक धार्मिकता एकपटक हराएपछि फेरि आउँदैन । जसरी कुनै प्रजातिको धान वा काँक्रो एकपटक हराएपछि अर्को पटक बनाउन सकिदैन । आजको मूल समस्या यही हो । हजारौ परीक्षणबाट परीक्षित साहित्यको मूलमै प्लाष्टिक परेपछि साहित्य साहित्यको वास्तविक दुनियाँबाट सदाका लागि हराउनेछ । चाहे अमेरिकी साहित्यबाट हुन्, फ्रान्सेली या भारतीय । आज विश्वको चिन्ता भाषाप्रति छ । साहित्य प्रति छैन । भाषाले साहित्यको सेवा गर्न सक्छ तर भाषा नजन्मिदै विराट मानवीय संवेदना बोकेका साहित्य थिए । विराट मानवीय संवेदनाले साक्षात साहित्य ग्रहण गर्ने क्षमता स्खलित हुँदैन । कारण पनि विश्व साहित्य पुरानो थिङथिङ अल्लाउरे विल्लाउरे गतिमा बढिरहेको छ । यो दुःखद पक्ष हो । यो कुरा नोकचस्कीले किन नबुझेका होलान् ? नबुझ्ने दुनियाँ तिर किन प्रवुद्ध समूह लागेको होला ?
स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म नेपाली साहित्यमा एक रुपता ल्याउन के गर्नुपर्ला ?
मैले यहाँ उल्लेख गरेका विषय चरित्र र नीति मौलिक नवीन र व्यावहारिक बनाएपछि सोलोडोलो एक रुपमा आए पनि साहित्य लेखन नितान्त भिन्न विषय हो । मौलिकता साहित्यको विशिष्टता हो । साहित्य लेखन इँटा फ्याक्ट्री जस्तो होइन । एकै रुपमा उत्पादनहरु धेरै हुने साहित्यकारले आफ्नो विषयको गहन अनुसन्धान गरेकै हुँदैन भने अनुसन्धान विनाका रचनाहरु यान्त्रिक जटिल, दुरुह हुन जान्छन् । यसकारण साहित्यकार पहिले वैज्ञानिक अनुसन्धानकर्ता हुनुपर्छ । एकरुपता नीतिमा हो योजना र कार्यक्रम हो लेखनमा होइन ।
अन्तमा मैले सोध्न बिर्सेको तर यहाँले भन्ने पर्ने केही छ कि ?
यति छोटो र सानो संवादमा सबै कुरा आउन सक्दैन र भन्न पनि सकिँदैन । हामी नेपालकै नयाँ प्रयोग र परीक्षणमा छौ । देश दिन प्रतिदिन परनिर्भर बन्दै आएको छ । देशको मूल उद्योग कृषि विदेशी विधिमा आधारित बन्दैछ । यति लामो सुन्दर र स्वाभिमानी इतिहास बनाएको देश नेपाल जटिल मोडबाट गुज्रिदै छ । यसकारण सबै देशभक्त, देशप्रेमी र स्वाभिमानी जनता चनाखो बनेर आफ्ना दैनिक जीवनहरु चलाउनु पर्ने आजको टडकारो आवश्यकता हो । सिंहदरबारको काम स्थानीय स्तरमा आएको परिप्रेक्षमा नेपालको पहिचान साहित्य, संस्कृति, कला तथा आफ्नै खालका ज्ञान, प्रविधि, विज्ञान, कलाहरु स्थानीय रुपमै संरक्षण र सम्बद्र्धन गर्नु पर्दा स्थानीय निकायले प्रतिनिधिमूलक रुपमा भए पनि त्यस खालका चरित्र, नायक र विशेषज्ञलाई स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने देखिएको छ । स्थानीय सरकार नेतृत्वदायी चरित्र अहिलेसम्म भोट माग्दा भन्ने जितिसकेपछि बिर्सने राम्रो असल र फलदायी सम्पादन हैन । स्थानीयरुपमा क्रियाशील साहित्यिक संस्था, साहित्यकार र प्रतिभा तथा तत्जन्य विशेषज्ञको तथ्याँङ्क लिई जानकारी राख्नु पनि आजको अपरिहार्य आवश्यकता हो ।
काँक्रेविहार






