Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

काम नपाएका बेकामेहरु

यो वर्ष नेपाल निर्वाचनमय वर्षको रुपमा रहयो । २०७३ सालको अन्तिम तिरबाटै नेपालमा निर्वाचनको हल्लाखल्ला चल्यो । वैशाखमा शुरु भएको स्थानीय तहको निर्वाचन असोजमा सकियो । वैशाखदेखि असोजसम्म स्थानीय तहको निर्वाचनको हल्लाले नेपालीहरुको मानसपटल हल्लायो ।

स्थानीय तहको निर्वाचन सकिना साथ पुनः प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि नेपालीहरुको मानसपटल हल्लिएको छ । पद र सत्ता पुग्ने नेताहरुको लागि यो पर्वको रुपमा रहेको होला तर सर्वसाधारणहरुलाई समेत यसले अछुतो राख्न सकेन । स्थानीय तहको निर्वाचनको समयमा काँग्रेस र माओवादीको केही स्थानमा भएको गठबन्धनले वर्तमान समयमा वाम गठबन्धनको जन्म गराउन भूमिका खेलेको हो भन्दा धेरै नपच्ला । तर जसरी नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवा समेत चितवनमा माओवादीको पक्षमा भोट हाल्नका लागि उर्दी जारी गर्न आए त्यति बेला प्रचण्डले दिलाएको विश्वास बालुवामा पानी हाले झैँ भयो ।

चितवनका काँग्रेसीहरुले आफ्नो चुनाव चन्ह रुखलाई बिर्सेर माओवादीको चुनाव चिन्ह हँसिया हथौडामा भोट हालिरहँदा उनीहरुले विपी कोइरालाले शुरुवात गरेको समाजवादलाई हत्याए । त्यसको सम्पूर्ण दोषको जिम्मेवारी लिन शेर बहादुर देउवा तयार हुने कि नहुने ? आज वाम गठबन्धनका कारण माओवादीका नेता तथा कार्यकर्ताहरुले चितवनमा रुखमा भोट नहाल्ने अवस्थाको सिर्जना भयो एकातिर भयो भने अर्कोतिर रेणुले उनीहरुलाई हेर्ने नजरमा फरक आयो कि आएन ? प्रचण्डले देबी ज्ञावलीलाई हराउन र रेणुलाई जिताउनका लागि जुन खेल खेलेका थिए त्यसलाई राम्रोसँग बुझ्न नसकेका देउवा अहिले नराम्रोसँग पछुताएका छन् ।

देशमा स्थायी राजनीतिक वातावरणको सिर्जना गरि विकास तर्फ अगाडि बढाउनु पर्ने र संविधानको अक्षरस पालना गर्ने समयमा फेरि पनि सत्ताका लागि एक अर्का बिचमा गठबन्धन गरेर भागबण्डामा अल्झेकाहरुले सर्वसाधारण जनताको लागि केही गर्लान भन्नु र स्यालले घोडाको ओठ झर्ला र खाउँला भन्नु जस्तै भएको छ । यो अस्थिरताको राजनीतिक कहिले सम्म ? आज भएको वाम गठबन्धनले देशमा स्थिर राजनीतिको स्थापना गर्न सक्छ भन्नेमा ढुक्क हुने आधारहरु छैनन् । किनकी हिजो छोरीको लागि काँग्रेससँग मितेरी गाँसेका प्रचण्ड आज आफ्नो लागि एमालेसँग सम्धेलो जोड्न गइरहेका छन् । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा माओवादीले पाउने स्थान भनेको राष्ट्रिय पार्टी हुनका लागि उनीहरुले नै बनाएको थ्रेसहोल्डमा पुग्न धौ–धौ हुने अवस्था हो । त्यसैले प्रचण्ड आफैले पनि नराम्रोसँग हार व्यहोर्नु पर्ने अवस्थाको राम्रो अनुमान गरेर नै उनले गठबन्धनको कुरा ल्याएर । देशमा वामहरुको बहुमत मात्र होइन दुईतिहाइको सपनामा एमालेले पनि राम्रै अनुमान ग¥यो । त्यसकै आधारमा यो गठबन्धन भएको देखिन्छ । तर प्रचण्डले निर्वाचन पश्चात एमालेसँग अहिलेको झैँ गरेर अगाडि बढ्ने हुन वा हिजोको काँग्रेससँगको गठबन्धन झैँ एमालेलाई वागमतिमा बगाउने हुन त्यो त हेर्न बाँकी नै छ ।

राजनीतिमा दीर्घ सत्रु र मित्रु हुँदैन भने झैँ नेताहरु एकआपसमा सत्ता र शक्तिका लागि मिलिजुली गरिहाल्छन् । तर गाउँमा यो वा त्यो पार्टीको नाममा हुने पानी बाराबार देखि बोलि बाराबारसम्मको अवस्था कहिले अन्त्य होला । एउटा पार्टीको समर्थक भएको कारण अर्को पार्टीको समर्थकले गरेको राम्रो कामलाई पनि नराम्रो देख्ने हामी सर्वसाधारणहरुको आँखामा लागेको राजनीतिक पार्टीको पट्टी कहिले खुल्ने होला । नेपाली काँग्रेसका गगन थापाले गरेका राम्रा कामलाई एमाले वा माओवादी वा राप्रपाका समर्थकहरुले राम्रो हो भनेर भन्ने बानीको विकास नभएसम्म देशमा स्थायी शान्तिको कुरा गर्नु हिजोका दिनमा प्रचण्डले स्वीजरल्याण्ड र सिंगापुरको सपना देखाउनु जस्तै हो । एमालेका गोकर्ण विष्टले गरेका राम्रा कामहरुलाई अरुहरुले किन स्वीकार गर्न सक्दैनन् । यति सम्मका माओवादीका जनार्दन शर्माले गरेका कार्यहरुको प्रसंशा गर्न किन एमाले र काँग्रेस समर्थकहरु हिच्किचाउँछन् । नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भइसकेपछि आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा आइपुग्ने बेलासम्म पनि एउटै व्यक्तिले जनप्रतिनिधिको रुपमा खडा भइरहनु पनि निरंकुशताको एउटा पाटो हो भन्ने किन बुझ्न सकेका छैनन् । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधि सभा र त्यसपछि हुने राािष्ट्रय सभामा समेत तिनीहरुले नै पालो पाएकोले युवा देशका कर्णधार हुन् भनेर लगाउने तिम्रा नारा फलामलाई खियाले खाए झैँ उही ज्यू हजुरिया शैलीले खाएको ठहरिएको छ । के युवाहरु विदेश पलायन हुने र रिमेट्यान्स भित्र्याएर देश चलाउने अभिभारामा मात्र छन् त ? यो प्रश्न सम्पूर्ण नेपाली युवाहरुको हो । हिजोका दिनमा राजप्रसाद समितिको भत्ता खाएपनि आजका दिनमा आफ्नो नीजि लगानीमा जाजरकोटमा अस्पतालको निर्माण गर्ने जाजरकोटी नेता राजीव शाहले गरेको कार्यलाई मुक्तकण्ठले स्वागत गर्न नसक्नु पनि राजनीतिक दाग नै हो । उनले बनाएको अस्पतालमा केवल काँग्रेसीहरुलाई मात्र उपचार गरिने त होइन होला ? हिजो के गरेको थिएँ, आज के गर्दैछु र भोली के गर्नेछु भनेर आफूले गरेका र गर्ने कार्यहरुको योजना लिएर जनता समक्ष गएर भोट माग्नु उनीहरुको कर्तव्य हो । तर त्यो कर्तव्यबाट बिमुख बनेर झुट्टा आश्वासन र लोभ लालच देखाएर जनतालाई भ्रममा हाल्नु ठूलो बेइमानी हो । त्यो बेइमानी गर्नेहरुलाई अब जनताले चिन्ने बेला आएको छ ।

पार्टी र संगठनको नाममा अझ भनौ गठबन्धनको नाममा राम्रोलाई पाखा लगाएर हाम्रालाई शासन सत्तामा पु¥याउने अनि जनताले तिरेको करमा हालीमुहाली गरेर करोडौ रकम आफ्नो उपचारमा खर्च गर्नेहरुले देशको विकास गर्लान भनेर सोच्नु व्यर्थ छ । निवर्तमान संसदहरुले हेक्का राखेर जनता समक्ष भोट माग्न गए हुन्छ । तिमीहरुलाई जनताले सोध्नेछन् – संसदलाई पनि आजीवन सेवा सुविधाको माग गर्नेहरुले जनताको लागि आजीवन के व्यवस्था ग¥यौ ? त्यतिबेला हामीले संविधान निर्माण ग¥यौ भन्ने जवाफ दिने योजना छ भने त्यो भन्दा ठूलो तिम्रो लज्जा, बेइमानी अरु केही ठहर्ने छैन किनकी नेपालमा धेरै पटक संविधान बनेका छन् र फेरबदल भएका छन् ताकि तिमीहरुले बनाएको संविधान पनि संशोधन हुँदै र संशोधनको लागि विद्येयक दर्ता हुँदै आएको छ ।

आफ्नो पार्टीमा लागेकाहरुले गरेको गल्तीलाई अनेक बहानामा ढाकछोप गर्नेहरु जनताले यतिबेला पाखा लगाउन सकेनन्् भने फेरि ५ वर्षसम्म जनताले यस्तै दैनिकी व्यहोर्नु पर्नेछ । आफूले राम्रो गर्न नसकेपछि अरुले गरेको राम्रोलाई नराम्रो देख्नु भनेको त काम नपाएको बेकामे हुनु हो । त्यसरी बेकामेहरुको पछि लाग्नु सर्वसाधारणको पनि ठूलो भूल हुनेछ । त्यो भूललाई सुधार गर्नका लागि धेरै लामो समय खर्चिनु पर्नेछ । राजतन्त्रका कारण देशले काँचुली फेर्न सकेन भन्नेहरुले नर्वे, बेलायत, साउदी अरेविया जस्ता देशका विकासका गतिलाई नियालेका छन् कि छैनन् । कम्यूनिष्ट भएको देशको अवस्थालाई नियाल्नका लागि चीन भन्दा धेरै टाढा हेर्नु नै पर्दैन । अनि प्रजातान्त्रिक शैलीबाट शासन सत्ता संचालन भएका देशको उदाहरण हेर्ने हो भने विश्वको चर्चित अमेरिकालाई हेरे हुन्छ । इच्छाशक्ति भएमा शासन प्रणालीले केही फरक फार्दैन । तर निरंकुशी, स्वार्थी र भ्रष्टाचारी शैली अनि गुण्डागर्दीको पारामा अगाडि बढ्ने हो जुनसुकै तन्त्र आएपनि देश दिनप्रतिदिन अझैँ भडखालोमा जाकिँदै जान्छ । यत्तिसम्मको हेक्का राख्न नसक्नेहरुलाई यतिबेला जनताले स्वस्तिक चिन्ह मार्फत गतिलो झापड दिन सक्नु पर्छ । जुन अधिकार जनतामा छ । नेपाली जनताले आफ्नो नैसर्गिक अधिकारको प्रयोग गर्ने समयमा कुनै पनि लोभलालच, डरधम्की वा त्रासमा नपरेर गर्नु नै ठूलो बुद्धिमत्ता ठहर्नेछ । राजनीतिक दलका नेता तथा कार्यकर्ता भनाउँदाहरुले देखाएको ललिपपका आधारमा स्वाभिमानी नेपालीहरु झुक्किने समय डाँडापारी गइसकेको छ । त्यसैले अब हामीले के गर्नु पर्छ र कसरी अगाडि बढ्नु पर्छ भन्ने बारेमा सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले बेलैमा सोच्नु पर्ने बेला आएको छ । नत्र भोली पछुतोमा पर्नु बाहेक तिमीहरुका हातमा केही लाग्ने छैन ।

(सूक्ष्मदृष्टि साप्ताहिकमा २०७४ कात्तिक २४ गते शुक्रबार प्रकाशित लेख)