Loading... आजः ६ असार २०८३, शनिबार । Saturday 20th June 2026
ताजा खबर
  

महोत्सवको तयारी पूरा : भव्य कार्यक्रमका वीच उद्द्घाटन हुने

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय औद्योगिक, व्यापार पर्यटन तथा कृषि महोत्सव २०७४ को सम्पूर्ण तयारी पूरा भएको छ । माघ २६ गतेदेखि फागुन ८ गतेसम्म नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ६ को आयोजना हुने महोत्सवको उद्घाटन प्रदेश नं. ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले एक विशेष समारोहका वीच उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यस प्रादेशिक महोत्सवबाट हुने नाफाले प्रदेश नं. ६ को उद्योग वाणिज्य महासंघको भवन निर्माण कार्यमा खर्च गरिने आयोजकले जनाएको छ । महासंघले विभिन्न उपसमितिहरु गठन गरि महोत्सवको तयारी गरेकोले सबै समितिहरुले आ–आफ्नो काम जिम्मेवारी पूर्वक निर्वाह गरेका कारण तयारी पूर्ण भएको आयोजकले जनाएको छ । साथै महोत्सवलाई सफल पार्नका लागि विभिन्न तह र तप्काबाट सहयोग भइरहेको आयोजक समितिले बताएको छ । महोत्सवसँग असन्तुष्ट रहेका केही व्यापारीहरु समेतले महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको आयोजक समितिका मूल संयोजक पदमबहादुर शाहीले क्वीकखबरलाई बताए । यस प्रदेशको उन्नती र समृद्धि चाहनेहरु महोत्सव सफल पार्न लागिरहेकाले पनि महोत्सव सभ्य र भव्य रुपमा सफल हुने शाहीको भनाई छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय स्टलहरुदेखि विभिन्न राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रमहरु समेत रहने छन् भने यस क्षेत्रको पर्यटन तथा कृषि र लघु उद्यम समेतको विकास र विस्तार गर्नका लागि कृषिसँग सम्बन्धित स्टलहरु समेत रहनेछन् । यसै गरी सूचना र प्रविधिले विकासको गतिमा फड्को मारिरहेको बेलामा आइ टि सँग सम्बन्धित स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

२५० वटा स्टलहरु बुकिङ्ग भइसकेका छन् । २ लाख भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने अनुभान गरिएको छ भने १५ करोड बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । यस प्रदेशको बलियो आधारको रुपमा रहेको जलस्रोत, उच्च मूल्यको कृषि, पर्यटन, खानीखनिज तथा जडिबुटी, स्थानीय कलासंस्कृति, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धनका लागि पहिलो पटक प्रदेशस्तरीय महोत्सव गर्न लागिएको आयोजकको भनाई छ । महोत्सवले ६ नं. प्रदेशको राजधानी सुर्खेतलाई स्थापित गराउने र अपार सम्भावना र अवसर बोकेको सिंगो कर्णालीको प्राकृतिक सौन्दर्य तथा सम्पदाको पनि प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताए । प्रदेश नं. ६ का १० वटै जिल्लाका उद्योग बाणिज्य संघहरु सहआयोजक भएकोले यसपटकको प्रदेशस्तरीय महोत्सव ६ नं. को महोत्सव भएको अध्यक्ष शाहीको भनाइ छ ।

सुर्खेत जिल्लाका विभिन्न गाउँ–गाउँबाट विभिन्न झाँकीहरु समेत महोत्सवमा प्रदर्शन गरिनेछ । अहिले चारै तिर व्यापक प्रचार प्रसार भइरहेकोले पनि सुर्खेत लगायत छिमेकी जिल्लाहरुका बासिन्दाहरुले समेत महोत्सव अवलोकनको लागि तयारी थालिसकेका छन् ।

विगतको महोत्सवभन्दा यसपटकको महोत्सव प्रदेशस्तरीय भएकोले भिन्न प्रकारको हुने दावीसमेत उनले गरेका छन् । मुख्य आयोजक महासंघको प्रदेश नं. ६ रहेको छ भने सहआयोजकमा जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिका रहेका छन् । महोत्सव यही माघ २६ देखि फागुन ८ सम्म १२ दिन संचालन हुनेछ । महोत्सवमा राष्ट्रिय तथा चर्तित स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रम समेत रहने भएकोले यसले महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउने छ ।