भव्यताका साथ प्रदेश महोत्सवको उद्घाटन (फोटो फिचरसहित)
सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा आज (माघ २६ देखि) फागुन ८ सम्म संचालन हुने प्रदेश महोत्सवको उद्घाटन भव्यताका साथ भएको छ । १० वटा प्यारागलाइडिङ्गबाट पुष्पबृष्टि हुँदै गर्दा ६ नं. प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले भव्य औपचारिक कार्यक्रमका वीच महोत्सवको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै उद्योग वाणिज्य महासंघ प्रदेश नंं ६ का अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक पदमबहादुर शाहीले देशकै कान्छो प्रदेश भौगोलिक विकटता, रोग, भोक र अशिक्षाबाट ग्रसित मात्र होइन खानी, जल, जमिन, कृषि, पर्यटकले भरिपूर्ण समेत भएको बताउनु भयो । उहाँले सुर्खेतलाई संघीय राजधानीसँग हवाई सेवा मार्फत जोड्ने कुरालाई मध्यनजर गर्न अब बन्ने प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं. ६ का प्रदेश सभा सदस्यहरु, प्रतिनिधि सभा सदस्य ध्रुबकुमार शाही, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । महोत्सवमा ४ सय ९ स्टलहरु रहेका छन् भने फागुन ८ गतेसम्म विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुनेछन् ।

उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाहरुले झाँकी तथा वीरेन्द्रनगर बजारमा ¥याली प्रदर्शन गरेका थिए ।














