Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

पाँच पाण्डवको एउटै धनुष : आजको आकाश –२०६३

खगेन्द्र अधिकारी ‘अमृत’

पञ्चधातु, पञ्चकन्या, पञ्चतत्व, पञ्चदेवल र पञ्चपाण्डव निकै चर्चामा छन् । यी लगायत पञ्च रुपमा आएका अन्यहरु पनि चर्चामा नहरेका भने होइनन् । समय र परिस्थिति अनुसार सबैको चर्चा हुनु स्वभाविक हो । तर पनि हरेक क्षेत्रमा पञ्चपाण्डवको चर्चा भने भइ नै रहन्छ । दाजुभाइका वीचमा उदाहरण दिनु पर्दा राम र लक्ष्मणको नाम आए जस्तै आपसमा दुष्मनको व्यवहार गर्नेहरुलाई देखेको बेलामा रावण र विभिषणको नाम पनि आउने गर्दछ । सत्य र असत्यको उदाहरण दिँदा होस् वा छलि र सज्जनको उदाहरण दिँदा होस् कौरव र पाण्डवको नाम आउने गर्दछ । महाभारतको युद्धमा जति नै सत्यता र निष्ठाको राजनीति गर्न खोजेपनि पाण्डवहरुलाई दुष्मनको रुपमा हेर्ने कौरवहरुले कहिल्यै सत्यतालाई बुझ्न सकेनन् । सत्यलाई बुझ्न नसकेका कारण नै कौरवहरुको विनाश भएको थियो । उनकै पक्षमा लड्ने गुरु पनि स्वयम् मृत्युवरण गर्न तयार हुनु तर कौरवहरुको विजय गराउन नचाहनुले सत्यले कहिल्यै पनि हार्दैन भन्ने कुराको सत्यतालाई अझै स्पष्ट पारेको छ ।
देशमा जनयुद्धले चरम रुप लिइरहेका बेला शान्तिको कामना गर्नेहरुको संख्या युद्धरत पक्षहरुमा समेत नगन्य मात्रामा थियो । नेपालमा हुने गरेका हरेक राजनीतिक आन्दोलनहरुलाई प्रभाव पार्ने एउटा महत्वपूर्ण तत्व भनेको साहित्य पनि हो । कमलकारिताको माध्यमबाट पारिने यस प्रभावले निकै ठूला परिवर्तनहरुमा समेत साथ दिएको पाइन्छ । २०६३ सालमा कता कता शान्तिको विहानी उदाउन थालिरहेको बेला नेपाली साहित्यको क्षेत्रमा फेरि पाँच पाण्डवहरु एक भएर आजको आकाश २०६३ नामक कविता संग्रह प्रकाशन गरेका थिए । यस कविता संग्रहमा आफ्ना कविताहरु प्रस्तुत गर्ने यी पाँच कविहरुलाई मैले व्यक्तिगत रुपमा नेपाली साहित्यका पाँच पाण्डवको उपमा दिइदिएँ । किनकी यस कविता संग्रहको गुदी केलाएर यसका शब्द शब्दको चीरफार गर्ने नेपाली साहित्यका अप्ठ्यारा समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुईटेलले पनि पाँचको बारेमा गतिलो चीरफार गरेका छन् । समालोचना लेख्न सहजै नस्वीकार्ने लेखिहाले पनि कविले आशा गरेको भन्दा फरक तरिकाले समालोचना गरिदिने भएकाले पनि धेरैले प्रा.डा. लुइटेलसँग समालोचना लेखाउन हिच्किचाउने कुरा एक पटक उनसँगको अन्तरवार्ताबाट मैले राम्ररी बुझेको छु । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिने र कसैको अनुहार हेरेर समालोचना नगर्ने भएकाले पनि उनीसँग समालोचना गराउनु अप्ठ्यारो मान्नेहरु पनि छन् । तर जसले सत्यताको गुदीसम्म पसेर आफ्ना रचना कुन स्तरको भयो र आउँदा दिनहरुमा मैले गर्नु पर्ने सुधारहरु के के हुन भन्ने बारेमा सही अनुसन्धानको खोजिमा हुन्छ वा समालोचनालाई सहर्ष स्वीकारेर स्तरीयता तिर अगाडि बढ्ने योजना बनाएको हुन्छ त्यस्तो लेखकको लागि डा. लुइटेल सबै भन्दा सजिला समालोचक पनि हुन । उनैले समालोचना गरेको आजको आकाश अध्ययन गर्ने मौका मिल्दा मैले यसको बोक्रोलाई कोट्याउने आँट मात्र गरेको छु । गुदी त प्रा.डा. लुइटेलले छिया छिया पारिसकेका छन् । आर. के धर्मस्थली, आशीष शैली, जविराज घिमिरे, प्रल्लाद पोख्रेल र राजेन्द्रप्रसाद अधिकारी नै आजको आकाशका पाँच पाण्डवको रुपमा रहेका छन् ।

आर. के धर्मस्थली

काठमाडौंको धर्मस्थलीमा २०१२ साल वैशाखमा जन्मिएका कवि आर. के धर्मस्थली त्यति धेरै चर्चामा रहेका कवि नभए पनि चोटिला र पोटिला कविताको जन्मदाता भने हुन । प्रायः जसो कविताहरु एउटै एउटै ढाँचा र शैलीबाट प्रस्तुत गरेपनि यिनका कवितामा पंक्तिपुञ्ज र प्रसंग परिवर्तनको स्वाद पाइन्छ । आजको आकाश कविता संग्रहमा संग्रहित यिनका कविताहरुमा समानता र एकरुपताको सरलता पाइन्छ । विषयवस्तुका हिसावले भाव, शब्द छनोट र समापनको क्रममा दिइने संदेशमुलक तत्व बलियो रुपमा प्रस्तुत गर्न सक्षम छन् यिनी । आजको आकाश, गाउँघरको खबर, मुसाहरुको बैठक, एकादेशको कथा, संसार जित्नेहरुको हो, मानव अधिकार र मेरी आमा शीर्षकमा सिर्जना गरिएका कविताहरु यस संग्रह भित्र संग्रहित छन् । आकाशको विशालतालाई कविले कविता मार्फत व्याख्या गरेका छन् । प्रकृतिको वर्णन गरेर उनले आकाश र रारालाई प्रतिकका रुपमा प्रस्तुत गरेका छन् । नेपालको तत्कालिन अवस्थाको चित्रणलाई कविता मार्फत पोख्न सफल कवि आर. के. ले नेपालमा भइरहेको अशान्ति, काटमार, लुटपाट अनि नेतृत्वको असक्षमतालाई कविताका पंक्तिहरुमा बान्की पारेका छन् । सशस्त्र युद्धका बेलामा गाउँघरको यथार्थतालाई कविले उजागर गरेका छन् । सरकारी पक्ष र विद्रोही पक्ष दुबै तर्फका सेनाहरुले दिएको दुःख अनि नेपाली भू बनावट, जनताले भोग्नु परेको सास्ती, एक अर्कामा गरिने आरोप प्रत्यारोपलाई कविताका हरफहरुमा व्याख्या गर्न कवि सफल भएका छन् । उनको मुसाहरुको बैठक शीर्षकको कवितामा व्यङ्ग्यात्मक शैली प्रयोग गरिएको पाइन्छ । एकातिर तानाशाहहरु भनेर उफ्रिने र अर्कोतिर तिनै तानाशाहहरुको चाकडि गर्न पछि नपर्ने नेताहरुको नालायकीपनलाई चित्रण गरिएको पाइन्छ । एकादेशको कथा शीर्षकको कवितामा कविले प्राकृतिक सुनदरतालाई जोड दिएका छन् । कुनैबेला शान्तिको प्रतिकको रुपमा चिनिने हाम्रो देशलाई उनले कवितात्मक पंक्तिमा एकादेश भएको कुरालाई व्याख्या गरेका छन् । किनकी यी कविताका हरफहरु तयार पार्दाको समयमा सायद शान्ति भन्ने चीज एकादेशको कथा जस्तै भएको थियो । अरुलाई शान्तिको पाठ सिकाउने हामी बुद्धका अनुयायीहरु आपसमै काटमारमा रुमलिरहेका बेला दाउपेच, जालझेल र षडयन्त्रले जरा गाडेको बेला आएका उनका यी कविताहरु शसक्त रुपमा आएको मान्नु पर्छ । संसार जित्नेहरुको हो । यो संसारमा भएका हरेक आन्दोलनहरुमा जसले जितेको छ त्यसको मात्र इतिहास लेखिने गरेको यथार्थ हो । हार्नेहरु विलय भएर जाने र जित्नेहरुले राज गर्ने भएकाले पनि इतिहास लेख्ने र लेखाउने कार्यमा जित्नेहरुकै हालिमुहाली हुने भएकोले पनि इतिहास जित्नेहरुकै लेखिन्छ । धर्मस्थलीको मानव अधिकार शीर्षकको कवितामा युद्धको समयमा दुबै पक्षबाट भएका मानवअधिकार उलंङ्घनका विषयलाई उठान गरिएको छ । उनको कविता मेरी आमा कवितामा एउटी आमाले युद्धमा होमिएको छोरालाई कहिल्यै पनि नहार्नु भन्ने आशिष दिएको यथार्थता प्रस्तुत गरिएको छ । आमाले छोरालाई दिएको सन्देशमुलक उक्त कविताको अध्ययन गर्दा कवि भूपिको झल्को झझल्को आउँछ ।

आशीष शैली
आजको आकाश भित्र अटाएका अर्का कवि हुन आशीष शैली । २०१६ सालमा काभ्रेमा जन्मिएका कवि आशीषको वास्तविक नाम रविन्द्र कर्माचार्य हो । संग्रह भन्दा पनि फुटकर रुपमै कविता लेखेर कविहरुको लाइनमा आफूलाई उभ्याउन सफल कवि मान्छेका गुण अवगुण, देशमा भएको विसंगति र विकृति अनि महँगी, अभाव, रोग, भोकका साथै सम्भावनाहरुलाई समेत चित्रण गर्दछन् । उनका कविताहरुमा आजको आकाशमा कुनै मान्छेलाई दुःख परेको देखेमा सघाउनुको साटो अब ऊ खत्तमै भएको ठान्छ र सुख भएको बेलामा कसैलाई नहेर्ने प्रबृत्तिको हुन्छ भन्ने कुरालाई चित्रण गरिएको छ । कठपुतलिमा पौराणिक सन्दर्भमालाई जोडिएको छ भने नेपाल बनाउन जुटमा संकटग्रस्त देशलाई इमान्दारीका साथ निर्माण गर्न आव्हान गरिएको छ । क्रान्ति चाहियोमा अब युद्ध गरेर होइन सबै एकजुट भएर देशमा शान्ति स्थापना गर्न, आजका मान्छेको मूल्यमा दिनदिनै हराउँदै र मासिदै नासिदै गएका मौलिक संस्कति र सभ्यताको चित्रण गरिएको छ । सत्य खोइ कता हरायोमा सत्य र न्यायलाई असत्य र अन्यायमा परिणत गरेकोले सत्य हराएको चिन्ता, चौबाटामा उभिएको जीवनमा सकारात्मक र नकारात्मक परिस्थितिमा दोधारे नबनेर सत्यताको पक्षमा तालमेल गर्नुपर्ने कुरालाई जोड दिइएको छ । अचेल जागिर शीर्षकको कवितामा महंगीको कारण बेरोजगारहरुले मात्र होइन जागिरेहरुले समेत खेप्नु परेको आर्थिक भारको उल्लेख गरिएको छ भने वर्तमान रिसाएको छ मा बेइमानहरुको विगविगीको कारण इमान्दारीहरु माथि कुठाराधात भएको कुरालाई उठाइएको छ । यसैगरी नयाँ वर्षमा विगतमा भएका नराम्रा विचारहरुको पर्खाललाई भत्काएर अब नयाँ नेपाल निर्माणका लागि जुट्न आग्रह गरिएका पंक्तिहरुलाई बान्की पारेर राखिएको छ । उनको लोकतन्त्र अब हराउनु हुँदैन भन्ने शीर्षकको कवितामा निकै दुःख कष्टका साथ प्राप्त गर्न सकेको लोकतन्त्रको जगेर्ना गर्न आग्रह गरिएको छ ।

जीवराज घिमिरे
नेपाली कविहरुको पंक्तिवद्धमा फरक तरिकाले उभिन सफल भएका कवि हुन् जीवराज घिमिरे । २०१६ सालमा खोटाङमा जन्मिएका कवि घिमिरे पनि त्यति धेरै चर्चामा आएका कवि भने होइनन् । आजको आकाश कविता संग्रहमा संग्रहिन उनका कविताहरुलाई सरसर्ती हेर्ने हो भने आजको आकाशमा आकाशको निश्चित आकार नभएपनि आकाशलाई सफा राख्नु पर्ने प्राकृतिक वर्णन, समयचक्रमा समय वलवान भएको कुरा, जागिरमा इमान्दार जागिरेहरुले गरेको हतार र कामचोर जागिरेहरुले देखाएको नाटक, भित्तो बोल्दैन भित्तो चुपचाप छ मा विकास निर्माणका लागि विनाश भई निर्माणमा जुट्नु पर्ने सन्देश, कुवाको भ्यागुतो र महासागरको कथामा शिक्षा आर्जन गर्नेहरु र नगर्नेहरु वीचको परोक्षत र आक्रोश, केटाकेटीहरुको खेलमा बाल्यकाल फर्केर नआउने भन्द समयलाई चिन्न सक्नु पर्ने सन्देश, कफ्र्यु नलागेको विहानमा युद्धग्रस्त, भयग्रस्त र असुरक्षित अवस्थाको चित्रण गरिएको छ । यसैगरी स्वप्न सन्त्रासमा मान्टेले आफ्नो जीवनमा बनाउने योजना र परिकल्पना, मन अनन्त तिर्खा काकाकुलको मा जीवनका आशा र निराशाहरुको वर्णन, कविजी के गर्दै हुनुुहुन्छ अचेल ? मा निश्चित कविहरु छानेर आफ्नो बारेमा लेख्न लगाउने र अरुहरुको विरुद्धमा बोल्न सहज वातावणको सिर्जना गर्नेहरु प्रति प्रहार, मान्छे उच्चताको सगरमाथा हो धरतीमा मा जीवन रुपान्तरणका लागि थकाई, भोक, प्यास नभनि अघि बढ्नु पर्ने कुरालाई सन्देश मुलक रुपमा प्रस्तुत गरिएको छ । यसैगरी तिहार ः केही अनुभूतिहरु मा चार्ड पर्वको बेलामा घरदेखि टाढा रहेका आफन्तहरुको याद र करुणलाई कल्पना गरेर पोखिएका माया र ममता र बग्रेल्ती सपनाका चिसा रातहरुमा गरिबीका कारण भोग्नु परेका विवशता अनि गरिबले भोग्नु परेका तीता यथार्थहरुलाई चित्रण गरिएको पाइन्छ ।

प्रह्लाद पोख्रेल
२०१४ सालमा खोटाङमै जन्मिएका कवि प्रह्लादका आधा दर्जन भन्दा बढि कृतिहरु प्रकाशित छन् । छन्दयुक्त र छन्दमुक्त दुबै तरिकाले कविताको सिर्जना गर्ने कवि प्रह्लादले आजको आकाश संयुक्त कविता संग्रहमा आजको आकाश शीर्षकमा एउटा मात्र कविता छ । तर यो कवितामा उनले कुनै दुई हरफ र कुनै चार हरफका गरी १ सय २७ वटा अंशहरु प्रस्तुत गरेका छन् । छन्दोवद्ध रुपमा त्यसरी प्रस्तुत गरिएका अंशहरुमा कतै क्रान्तिको वर्णन, कतै संकटकालको संकट, कतै तानाशाहको दासत्व, कतै जनसागर उर्लिए पछि भएको राजनीति परिवर्तन, कतै राजनीतिक दलका वीचमा पद, सत्ता र शक्तिका लागि भएको खिचातानी, कतै हत्या हिंसाबाट भएको विनाश त कतै स्वार्थी नेताहरुको दुराचरित्रको वर्णन छ ।

राजेन्द्रप्रसाद अधिकारी
संयुक्त कविता संग्रह आजको आकाशभित्र अटाएका सबै भन्दा कान्छा कवि हुन् राजेन्द्रप्रसाद अधिकारी । उनी यस अर्थमा कान्छा छन् उनी २०१८ साल मंसिरमा जन्मिएका हुन् । उमेरका हिसावले अन्य ४ जना भन्दा कान्छा कवि अधिकारी २०३२ साल तिरबाट कविता लेखनमा अग्रसर भएको कुरा प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले यस कृतिको भूमिकामा उल्लेख गरेका छन् । विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध रहेका कवि अधिकारी त्यत्ति धेरै कृतिहरु प्रकाशित नभएपनि हजारौ ताराहरुको वीचमा एउटै चन्द्रमाले जसरी झलमल्ल पारेको हुन्छ त्यसरी आफ्ना थोरै तर कविताको क्षेत्रलाई झलमल्ल पार्ने कविताहरुको सिर्जना गर्न सक्ने गुण छ अधिकारीमा । नयाँ नेपाल, सात राजनीतिक दलको गठबन्धनका बारेमा टिप्पणी गरेर उनले आजको आकाश शीर्षकमा कविताको रचना गरेका छन् । हाम्रो समाज अनि त्यो समाज भित्रको यथार्थतालाई उनले ऊ हरदम तस्त्र छे शीर्षकको कवितामा नारी र पुरुष वीच हुने व्यवहार र नारी खेप्नु परेका पीडाहरुको बारेमा उल्लेख गरेका छन् । ऊ शीर्षकको कवितामा मान्छेका भनाई र गराइको वीचमा तालमेल भन्दा पनि पृथकतालाई ओल्याइएको छ भने मौसम र मानिसहरु शीर्षकको कवितामा देशले भोग्नु परेको लोडसेडिङदेखि जलस्रोतको धनी देशका बासिन्दाहरु पानी पिउन समेत खेप्नु परेको समस्या अनि अस्तव्यस्त परिस्थितिको बारेमा उल्लेख गरिएको छ । विदेशीले विकासको स्थितिलाई कहाँ पुर्याइ सके तर हामी अझै पनि व्यक्तिगत जीवनलाई कसरी जिउने भन्ने बारेमा सिक्दै गरेकोमा खिन्नता समेत प्रस्तुत गरेका छन् कवि अधिकारीले । म्यूनिख शीर्षकको कवितामा कवि अधिकारीले चोरी, कडैति, हत्या, अपहरणले ग्रस्त देशको दुर्दशा र विदेश राष्ट्रहरुले हासिल गरेको सभ्यताको बारेमा तुलनात्मक चित्रण गरेका छन् । जीवन मृत्युको अन्तिम विन्दु शीर्षकको कवितामा युद्धका कारण देशका विभिन्न स्थानमा भएका घटना र त्यसबाट भएको क्षति प्रति चिन्ता व्यक्त गरेका छन् । यसैगरी अधिकारीको यस संग्रहमा संग्रहित अलविदा सिवानी शीर्षकको कवितामा नारी हुनुको पीडा र जीवनमा संघर्ष गर्न नसकेर आत्महत्या नै गर्न पुगेकी भारतीय मुलकी नारी सिवानीले जस्तो अन्य कुनै नारीहरुले पीडा भोग्नु नपरोस् भन्ने आव्हान गरिएको छ । अधिकारीको नारी समानता र मन्त्रीको भाषण शीर्षकको कवितामा २१ औं शताब्दीमा नारी स्वतन्त्रताको विषयलाई दमदार रुपमा उठाइएको छ । जीवन र माइलस्टोन शीर्षकको कवितामा समय फेरिएपनि मान्छेको मन नफेरिने, देशको राजनीतिक परिवर्तन भएपनि सामाजिक, भौतिक र आर्थिक परिवर्तन हुन नसकेको कुरालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा उजागर गरिएको छ । अन्याय र अत्याचारलाई निरिहता पूर्वक सहनु पर्ने बाध्यात्मक परिस्थिति र चेतनाको कमीका कारण कविता घाम नलागेको बस्ती शीर्षकको कवितामा उल्लेख गरिएको छ । मान्छे शान्तिको खोजि गर्दछ तर शान्तिको स्थापनालाई उसले आफै निर्माण गर्न किन सक्दैन भन्ने कुरालाई बाज र परेवाहरु शीर्षकमा कविले बान्की मिलाएर पस्किएका छन् । शिक्षक भनेको शिक्षाले भरिपूर्ण हुनु पर्दछ । तर सही शिक्षा प्रदान गर्नुको साटो अर्काको इशारामा चलेर आफ्नो स्वविवेक प्रयोग गर्न नसक्ने शिक्षकहरुको दुर्दशालाई व्याख्या गरिएको छ ।

समग्रमा, पाँच जना कविहरुले आजको आकाश–२०६३ नामक कविता संग्रह त्यो पनि पुरानो सम्बन्धलाई अझ प्रगाढ पार्दै एउटै कृतिका रुपमा प्रकाशित गरेर नेपाली साहित्यको आकाशमा कालजयी बन्ने अपेक्षा गरेका छन् । फरक – फरक स्थानका कविहरु, फरक –फरक पाटोमा जीवनचर्याहरु विताइरहेका भएपनि प्रायः एउटै – एउटै प्रकृतिका कविताहरु सिर्जना गरेर पाँच पाण्डवहरुले जसरी एकताको प्रतिकको उपमा पाएका थिए यी कविहरुलाई त्यसरी नै एकताको प्रतिकका रुपमा उपमा दिँदा सायदै अरुहरुलाई अन्याय गरेको मानिने छैन । पाण्डवहरुले छुट्टाछुट्टै बाणहरु बोकेपनि लक्ष्य एउटै लिएर एकले अर्काको प्राण रक्षा गर्दै युद्धमा विजय हासिल गर्ने योजना बनाए झैँ यी कविहरुले पनि फरक तर एउटै भाव र प्रकृतिका कविताहरु संग्रहित गरेर नेपाली साहित्य आकाशमा एउटा तारा थपिदिने कार्य गरेका छन् । जसका लागि पाँचै जना कविहरुलाई मेरो पनि पाँच औलाको स्यालुट, झ्याप्प ।