Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

असक्षम चालकले गराउँछन् दुर्घटना

सुर्खेत ।
पछिल्लो समयमा सरकारी विद्यालय भन्दा नीजि विद्यालय (बोर्डिङ्ग स्कुल) मा अध्ययन गर्ने गराउनेहरुको भीड निकै ठूलो छ । आर्थिक आर्जन गर्ने हेतुले संचालन भएका बोर्डिङ्ग स्कुलले विद्यार्थीहरुलाई सुविधा दिने बहानामा विद्यार्थीहरु बटुल्न गाडिको प्रयोग गर्ने गर्दछन् । तर आर्थिक लोभका कारण उनीहरुले सक्षम सवारी चालक नराख्ने गरेकोले पनि स्कुल बसहरु दुर्घटना हुने र दुर्घटना गराउने मुख्य कारक बन्ने गरेका छन् ।

school busको लागि तस्बिर परिणाम
फोटो गोगलबाट

यही श्रावण २० गते आइतबार बिहान वीरेन्द्रनगरको सेडा विद्यालयको गाडिले सदा झैँ घर–घरबाट विद्यार्थीहरु उठाएर लग्यो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का प्रदिप अधिकारी पनि सबै साथीहरुसँगै पढ्न गए गाडि चढेर । चार बजे विद्यालय बिदा भएपछि सबै साथीहरुसँगै प्रदिप पनि आफ्नै विद्यालयको गाडिमा फर्के विद्यालयबाट । तर उनी घर पुग्न पाएनन् । आफ्नै घर अगाडि आएर जब गाडि रोकियो उनी झरे गाडिबाट दिदीसँगै । तर बाटो पार गर्ने क्रममा सवारी चालक अनुमति पत्र नभएका सुप्रिम बोर्डिङ्ग स्कुलको बस चालक तेज बहादुर रानाले चलाएको बसले जब उनलाई ठक्कर दियो र त्यही ढले उनी कहिल्यै नउठ्ने गरी । चालकको असक्षमता र लापरवाहीको कारणले निम्तिने दुर्घटनाले देशमा धेरै बालबालिकाहरुको ज्यान गइसकेको छ । तर पनि सम्बन्धित निकाय र विद्यालय व्यवस्थापन पक्ष घटना घटेको बेलामा बाहेक अरु समयमा मौन रहने गर्दछ । नीजि क्षेत्रबाट विद्यालय संचालन गर्नु र शिक्षाको ज्योति फैलाउनु सकारात्मक पक्ष भएपनि विद्यार्थीको जीवन सुरक्षाको ग्यारेन्टी गर्न नसक्नु दुर्भाग्य हो भन्नुहुन्छ अभिभावक भावना केसी । विद्यालयको लापरवाहीको कारणले बिहान पढ्न गएको बच्चा साँझ घर फर्कदैन भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन सक्दैन, अब नीजि विद्यालयका गाडिहरुमा कसरी बच्चा पढ्न पठाउने भन्नुहुन्छ वीरेन्द्रनगर ११ निवासी अभिभावक हरिप्रसाद शर्मा । यातायातको सुविधाको नाममा एकातिर अभिभावकसाग मनपरी पैसा असुल्ने र अर्कोतिर गैर जिम्मेवार काम गर्नेहरुलाई हदैसम्मको कारवाही हुनुपर्ने धारणा राख्नुहुन्छ समाजसेवी भगवती बि. सी. ।

सेडा विद्यालयको बस चालक वा हेल्परले उनलाई बाटो पार नगराउनु नै प्रदिप कहिल्यै घर नपुग्ने गरि बसको ठक्करमा पर्नु एउटा कारण थियो भने अर्को ठूलो दोष भनेको सवारी चालक अनुमति पत्र बिना नै तेजबहादुर रानाले सुप्रिम बोर्डिङ्ग स्कुलको गाडि चलाउनु थियो । अझ ठूलो दोष त विद्यालयको व्यवस्थापन पक्षको थियो । थोरै तलब दिने र पैसा बचाउने निहुँमा सवारी चालक अनुमति पत्र नै नभएको मान्छेलाई गाडि चलाउन दिनु । आर्थिक लाभ उठाउने बहानामा यसरी असक्षम चालकलाई गाडि चलाउने जिम्मा दिने विद्यालयहरुलाई हदैसम्मको कारवाही हुनु पर्ने हो तर पनि सम्बन्धित निकायले त्यस तर्फ खासै चासो देखाएको पाइँदैन । यही श्रावण २० गते भएको उक्त घटना पश्चात नगर शिक्षा शाखा वीरेन्द्रनगर सुर्खेतले एउटा सूचना जारी गरेको छ । उक्त सूचनामा विद्यालयले प्रयोग गर्ने यातायातका साधनहरुको विवरण उपलब्ध गराउन मात्र भनेको छ । तर उक्त यातायातका साधनहरु प्रयोग गर्दा अपनाउनु पर्ने नीति नियमका बारेमा कुनै जानकारी गराइएको छैन ।

विद्यार्थीहरु घरबाट लगिसकेपछि साँझ घरमा पु¥याएर अभिभावकको जिम्मा नलगाउने बेलासम्म विद्यालय जिम्मेवार हुनु पर्दछ । तर सिमित यातायातका साधनका कारण हतार गरेर बिहान विद्यार्थी उठाउने र साँझ हतारमै छोड्ने प्रबृत्ति पनि दुर्घटनाको कारण हो । विद्यार्थी बसबाट ओर्लिसकेपछि अनिवार्य रुपमा अभिभावकको जिम्मा लगाउनु पर्ने, सिमित गति भन्दा तिब्र गतिमा सवारी चलाउन नपाइने तथा सक्षम सवारी चालकले मात्र सवारी चलाउनु पर्ने लगायतका नियमहरु स्कुल बस संचालन निर्देशिकामा छन् । तर सुर्खेतको हकमा यी नियमहरु लागु भएको पाइँदैन । जसका कारण कलिलो उमेरमै विद्यार्थीले ज्यान गुमाउनु परेका नमीठा समाचारहरु प्रकाशन प्रशारण हुने गर्दछन् । दुर्घटना भइसकेपछि क्षणिक रुपमा सान्त्वना दिनका लागि क्षतिपूर्तिको प्रसंग उठाए पनि भविष्यको होनहार एउटा विद्यार्थीले गुमाएको ज्यान कुनै हालतमा फिर्ता भने हुँदैन । अनि ज्यान गुमाउने विद्यार्थीका अभिभावकको पीडामा जीवनभर मल्हम लाग्न सक्दैन ।

के व्यवस्था छ, स्कुल बस सञ्चालन निर्देशिकामा

सरकारले स्कुल बस सञ्चालनका लागि छुट्टै निर्देशिका समेत जारी गरेको छ । स्कुल बसमा अनिवार्य रुपमा पहेँलो रंग पोत्नुपर्ने यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिकामा उल्लेख छ । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई यस्ता बस अधिकतम् प्रतिघण्टा ४० किमिसम्म मात्रै गतिमा गुड्न सक्ने बताउँछन् । उक्त निर्देशिका अनुसार विद्यार्थी बोक्ने प्रयोजनमा प्रयोग भएका बसको अघिल्लो र पछिल्लो भागमा कालो रंगले स्कुल बस लेख्नुपर्ने प्रावधान छ । भाडामा लिएको बसमा भने ‘अन स्कुल ड्युटी’ भनेर लेखिनुपर्ने प्रावधान छ ।

सार्वजनिक सवारीको जाँचपास मापदण्ड अनुसार नै स्कुल बसको पनि मापदण्ड निर्देशिकामा उल्लेख छ । बसमा स्कुलको नाम, ठेगाना र फोन नम्बर लेख्न अनिवार्य गरिएको छ । १२ वर्षभन्दा माथिको उमेरका विद्यार्थी बोक्ने बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्न नपाउने नियम छ । निर्देशिकामा आपतकालीन ढोकाको व्यवस्था गर्नुपर्ने, बसको झ्यालमा ग्रील अनिवार्य गर्नुपर्ने, अग्नि नियन्त्रक सिस्टम तथा प्राथमिक उपचार बाकस राख्नुपर्ने, डस्टबिन राख्नुपर्ने, ढोकामा भरपर्दो चुकल प्रणाली जोड्नु पर्ने नियम छ ।

त्यसैगरी अब झ्यालको सिसा परादर्शी हुनुपर्ने, प्रवेशद्वारको उचाइ ३ सय मिलिमिटरभन्दा बढी हुन नहुने र झोला राख्न तखेता पनि हुनुपर्ने नियम भएपनि त्यस्तो मापदण्ड कुनै पनि विद्यालयले पूरा गरेको देखिदैन । नयाँ नियममा बसको सिटहरु सीधा रेखांकन अर्थात अगाडि एकैतर्फ फर्किएको हुनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ । बसमा अनिवार्य परिचालकको व्यवस्था गर्नुपर्ने र धुमपान तथा मध्यपान गर्न नपाइने विषय पनि उल्लेख छ । निर्देशिका अनुसार चालक तथा परिचालकले तोकिएको पोशाक लगाएर परिचयपत्र पनि बोक्नुपर्ने हुन्छ । तर यहाँ चालक अनुमति पत्र नै नभएका व्यक्तिलाई विद्यालयले चालकको रुपमा राखेका छन् । स्कुल बसले अन्य यात्रु र मालसामन पनि स्कुल बसमा बोक्न पाइदैँन तर सुर्खेतमा भने यस्ता नियमहरुको पालना गरेको देखिदैँन । जसका कारण विद्यार्थीहरु दुर्घटनामा पर्ने गरेका छन् ।