आज रक्षा बन्धन : जनै पुर्णिमा
येन बद्धो बली राजा दानवेन्द्रो महाबल:
तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल
जनेन विधिना यस्तु रक्षाबंधनमाचरेत
स सर्वदोष रहित, सुखी संवतसरे भवेत्

राजसुय यज्ञको बेलामा भगवान श्रीकृष्णलाई द्रौपदीले रक्षा सुत्रको रुपमा भगवान श्रीकृष्णको हातमा आफ्नो आँचलको टुक्रा बाँधेकी थिईन । तत्पश्चात बहिनीहरुले भाईलाई राखी बाँधेर लामो उमेरको कामना गर्ने र भाईले बहिनीलाई दक्षिणा दिएर खुशी पार्ने चलनको शुरुवात भएको किंवदन्तीमा उल्लेख छ।
प्राचीनकालमा विशिष्ट दानशाली दैत्य राजा महाबलि थिए। उनको दानशिलता देखेर बिष्णु भगवान समेत डराएका थिए। श्वर्गका राजा बिष्णुले बामन अवतार धारण गरेर आजकै दिनमा बलिराजको राज्य हडपेर बाचाबन्धन खुवाएर पाता फर्काएर पातालमा पठाएपछि ऋषिमुनि,ब्राह्मण र क्षेत्रीयहरुले ३/३ सरोको जनै पवित्र गायत्री मन्त्र जपेर लगाएकाले जनै पुर्णिामाको शुरुवात भयो । र जजसका गलामा जनै थिएनन् तिनीहरूलाई ब्राह्मणले महिलाको बायाँ र पुरुषको दायाँ हातमा डोरी बाँधेर आशिर्वाद दिएका थिए।तत्पश्चात हातमा डोरी बाँध्ने चलन चलेको हो।

आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।
विगतमा रक्षा बन्धन अर्थात जनैपूर्णिमाको दिन देशभर सार्वजनिक विदा दिने गरिए पनि यस वर्ष भने विदा कटौती गरिएको छ । कतिपय प्रदेश सरकारले भने आफ्नो प्रदेशमा विदा दिएका छन् ।
रक्षा बन्धन बाँध्ने प्रचलन सत्ययुगदेखि नै चलिआएको मानिन्छ । पौराणिक कथनअनुसार सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए ।
यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने प्रचलन छ ।
आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । जर्ने फेर्ने र डोरो बाँध्नेहरुको काठमाडौंका मन्दिर परिसरमा बिहानैदेखि घुइँचो छ ।
जनै फेर्नेहरुले हिजैदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ ।
कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीन वटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।
यस किसिमको महत्व भएकाले नै आज बिहानै यजमान आफ्ना गुरु पुरोहित कहाँ गई यज्ञोपवीत मन्त्रने गर्दछन् । आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवीत फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ ।
आजकै दिन शरीर शुद्ध गरी देवता, ऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणी समेत भन्ने गरिएको हो । आज ११ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।






