सेल्फि खिच्ने रहर
बिहानीको झिसमिसे उज्यालो नहुँदै मेरा आँखा खुलिसकेका थिए । रातभर त्यत्ति मीठो निन्द्रा परेन मलाई । किनकी जीवनमा पहिलो पल्ट अपरिचित स्थानको यात्रा गर्दैछु म । आमाले अघिल्लो दिन नै भोलि छोरी घरदेखी टाढा बिरानो ठाउँको यात्रा गर्दैछे, भनेर मिठा–मिठा खानेकुराहरु तयार गरिदिनु भएको थियो । म बाहिर जाने भएकैले होला आज सबै परिवार एकै ठाउँमा थियौ हामी ।
आफ्ना आवश्यक सामानसहितको एउटा झोला तयार थियो हिजैदेखि । म बिहानै उठेर तयार भएँ । आमाले पकाएको चिया पिएसँगै वीरेन्द्रनगरसम्मको यात्राको लागि निस्किएँ घरबाट । ‘बाटोमा राम्रोसँग जानु है’ आमाको मुखबाट निस्किएको शब्द अहिले पनि मेरो कानमा गुञ्जिरहेको छ । म केही समयको लागि बाहिर जान थालेकोमा निराश देखिन्थि मीना पनि । बाबाको अनुहारमा अलिकति दुःख अनि अलिकति आशा र भरोसाका रेखाहरु दौडिरहेको मैले राम्रोसँग बुझेकी थिएँ ।
रकेटमा उड्न सक्ने, जहाज उडाउन सक्ने, देशको शासन सत्ता संचालन गर्न सक्ने नारीहरु कमजोर छैनन् भनेर नै मैले धेरै पटक घरमा उदाहरणहरु दिने गरेकी थिएँ । त्यसैले पनि म आफ्नो सक्षमतालाई प्रस्तुत गर्नका लागि निस्किदैछु घरबाट । बेलैमा आइपुगें वीरेन्द्रनगर । मलाई कुनै असहज छैन वीरेन्द्रनगरसम्मको यात्रा गर्नमा । किनकी बारम्बार आइसकेकी छु वीरेन्द्रनगरमा । अझ भनु भने वीरेन्द्रनगरका धेरै बाटाहरुलाई छिचोलेकी छु मैले । वीरेन्द्रनगरका धेरै घरहरुसँग चिनजान छ मेरो । त्यो दिनको बसाई सुखद नै रह्यो । रविना आण्टीकोमा ।
आज फेरि कतिबेला घडिचराले संकेत गर्ला र यात्राको शुरुवात गरौंला भन्ने लागिरहेको छ । रातभरी म छटपटिइरहेकी थिएँ तर त्यो कुरा रविना आण्टीलाई सुँइकोसम्म थिएन । जिन्दगीको पहिलो पटक मैले एक्लै कर्णाली राजमार्गको यात्रा गर्नु परेको थियो । पहिलो पटक एक्लै यात्रा गर्दा घरमा पनि सबैलाई चिन्ता थियो । बिहानको मिरमिरे उज्यालोसँगै हातमुख धोएर कोठाबाट निस्किएँ । वीरेनद्रनगरको बसपार्क पुग्दा घडीले विहानको ६ः३० बजाईसकेको रहेछ ।
जुम्लाको लागि तयार भएको बसमा चढेसँगै मेरो सुर्खेतदेखि जुम्लासम्मको यात्राको शुरुवात भयो । म चढेको बस आफ्नो गन्तब्यमा पुग्नका लागि वीरेन्द्रनगर उपत्यकाको बाङ्गेसिमललाई बाई–बाई गर्दै लाग्यो बड्डिचौर तर्फ । बड्डिचौरको गौतम नास्ता पसलमा मसँगैका साथीहरु मज्जाले नास्ता खाइरहेको बेला म भन्ने गाडिमा भएको बान्ताको कारण हैरानी खेपिरहेकी थिएँ । खचाखच भरिएको थियो बस । कुनै पनि सिट खाली थिएनन् । तर पनि आफ्नो पूर्व परिचित नभएकैले होला नितान्त एक्लो महसुस गरिरहेकी थिएँ मैले बस भित्र पनि । सायद त्यसैले होला बस रोकिना साथ म घरमा मीनालाई फोन गर्न तम्सिहाल्थे ।
दिदी, कहाँ पुग्नुभयो ? ‘खै बड्डिचौर भन्ने ठाउाँबाट हिडेको २० मिनेट जति भयो यो कुन ठाउँ हो मलाई त नामै थाह छैन । दिदी राम्रोसँग जाँदैछ भनिदे हे आमालाई …’ बोली पूरा हुन नपाउँदै नेटवर्कले धोका दियो र कट्यो फोन, आयो आवाज टुँ टुँ टुँ…..। बस आफ्नै गतिमा हिडिरहेको थियो । म बीच बीचमा वाक् वाक् गर्दै पनि थिएँ । एक्कासी आएको ठूलो आवाजले सबै यात्रीलाई त्रसित पा¥यो । बसको टायर पड्केछ । केही समयपछि टायरको मर्मत भयो अनि फेरि शुरु भयो बस गुड्न । हर्न बजाउँदै टि टि टि… ।
बेला–बेला साथीले फोन गरेर ‘कहाँ आईपुगिस् हँ’ भनेर सोधिरहेकी थिइन् । म गर्मी हुने ठाउँबाट आएकी । यात्रा गर्दै गर्दा कर्णाली नदीलाई चुम्मन गरेर आएको हावाले हामीलाई छुन थालिसकेको थियो । माथि बाटोमा गड्याङ्ग–गुडुङ्ग बस गुडिरहेको तलतिर बगिरहेको कलकल कर्णाली नदि । जसले पठाएको शीतलताले दुखीरहेको टाउकोमा अलिकति भएपनि राहत भएको थियो मलाई । त्यहि शितलताले दिएको राहतमा रमाएकी थिएँ म । आफ्नै गतिमा गुडिरहेको बस पुग्यो दैलेखको पाल्तडामा । यात्रुहरुले खाना खाइसकेपछि गाडि स्टाफको आदेशसँगै फेरि चढेका थियौं हामी बसमा ।
अनि फेरी यात्रा सुरु भयो । बाटो धेरै लामो रहेछ । त्यताको बाटो एकदमै कठिन, अप्ठेरो, डर लाग्दो थियो । गाडिबाट तल हे¥यो भने कर्णालीको निलाम्य अनि माथि कतै पहाडमा ठोकिन्छ कि झैँ लाग्ने । ठूला ठूला भिरपाखाहरु देखिन्थे मेरो मन डराइरहेको थियो । ती डाँडापाखा डरलाग्दा भएपनि हरियाली थिए । ठाउँ ठाउँमा गाडि रोकिथ्यो पानी पिउनको लागि । सूर्यले आफ्ना पहेला खुट्टाहरु पृथ्वीबाट उठाउन शुरु गर्ने बेला भइसकेको थियो । बस गुड्दै थियो । साँझको झ्याउकिरीको आवाजसँगै पुगेका थियौं हामी कालिकोटको मान्म बजार ।
आजको बास यही बस्नु पर्ने रहेछ । अप्ठ्यारो बाटो, असुरक्षित यात्रा भएकोले रातीमा यात्रा गर्न प्रतिबन्ध लगाइएको रहेछ सरकारी निकायबाट । रातिको करिब ८ बजेको हुँदो हो । अनि बास बस्नको लागि सबैजना होटलमा गयौं । नेपालको सबैभन्दा कान्छो जिल्ला भनेर चिनिने कालिकोट जिल्ला धेरै भिरालो रहेछ । त्यहि भिरालो ठाउँमा बस्ती बसेका रहेछन । हेर्दा पनि निस्सासिने ठाउँमा कसरी घर बनाएर बसेका होलान् ।
रातीमा खासै राम्रो देखिएको थिएन त्यहाँको ठाउँ । मलाई त अचम्म लागिरहेको थियो । त्यहाँका स्थानीयहरुले प्रयोग गरेको भाषा सुनदापनि । म आफ्नै देशमा छु वा अन्य कुनै । अलि अलि बुझ्छु तर धेरै शब्दहरु बुझिदैनन् । नयाँ ठाउँ नयाँ रहन सहन हुनु स्वभाविक थियो । तर हाम्रो उमेरका अझ भनौ युवा पुस्ताले त धेरै सुधार गरेका रहेछन् भाषामा पनि । रातभरि त्यति राम्रो निन्द्रा लागेन । घरमा फोनमा भने निरन्तर कुरा भइसकेको थियो आमासँग अनि मीनासँग पनि । त्यो दिनको रात धौ–धौ गरी बित्यो ।
बिहानीको उज्यालोसँगै राम्रोसँग नियाल्ने अवसर मिल्यो कालिकोटलाई । कुनै सामान तलतिर खस्यो भने भेटाउने आशा थिएन् । भीरबाट खसेर धेरै मानिसले ज्यान गुमाउनु परेको रहेछ । त्यहाँको यात्रा गर्ने क्रममा गाडिहरु पनि दुर्घटनामा परेका छन् । कुनै समय समाचारमा सुने पढेको बाटोमा आज आफै यात्रा गर्नु पर्दा धेरै कुरालाई नजिकबाट नियाल्ने मोका मिलिरहेको छ मलाई । त्यताको यात्रा गर्न निकै कठीन छ । डरलाग्दो छ । तर पनि तलको कर्णाली अनि माथिका हिमालहरु र ती हिमालसँगै खेलिरहेको रारालाई सम्झने हो भने जीवनमा एक पटक भएपनि भ्रमण गर्नै पर्छ कर्णालीमा । बिहानको नित्यकर्म पछि पुनः हाम्रो यात्रा सुरु हुन्छ ।
कति बेला जुम्ला पुग्ने हो भनेर आत्तिएको थियो मन । खाना खाने समयसम्म त पुगिएला नि यस्तै कुरा गरिरहेका थिए बसमा भएकाहरु । कालिकोट पुग्ने बेलासम्म मसँगैको सिटमा बसेकी जगमति नामकी अधबैशे महिलासँग मैले दिदी नाता लगाइसकेकी थिएँ । उनले मलाई त्यहाँका स्थानीय स्थानहरुको बारेमा खुबै व्याख्या गर्दै लगेकी थिइन । तर गाडि चढ्दाको मेरो समस्याले उनलाई बोर पनि लागेको थियो होला । किनकी अलिकति घुम्ति आयो भने वाक्क् वाक्क् शुरु भइहाल्यो मलाई । पहिलो पटक जुम्ला पुग्दै थिएँ म । नेपाली भाषाको उद्गमस्थल । कालिकोटदेखि उता झन खतरानाक, डरलाग्दो बाटो रहेछ । बसको गति सामान्य थियो । म चाहान्थे बस अझ विस्तारै गुडोस् । त्यस्तो बाटोमा गाडि चलाउने चालक भने निकै हिम्मतवाला मानेकी थिएँ मैले । बिचमा गाडि भेटियो भने अर्को गाडिलाई साइड दिने ठाउँ थिएन । धेरै साँघुरो थियो त्यहाँको बाटो । कालिकोटदेखि करिब–करिब ६ घण्टाको बाटो रहेछ जुम्लाको खलङ्गा पुग्नलाई । पहिलो पटक अपरिचित ठाउँमा एक्लै यात्रा गर्दा धेरै कठिन भयो । केहि समय पछि नाग्म भन्ने ठाउँमा पु¥यायो बसले । जहाँ मुगु र जुम्ला जाने सडक छुट्टिएको थियो । हामी नाग्म पुग्दा बिहानको १० बज्नै लागेको थियो ।
यात्रा निरन्तर अगाडि नै बढिरह्यो । यात्रा गर्दै गर्दा जति जति अगाडि जान्छौ त्यति नै चिसो बढिरहेको थियो । केही घण्टापछि जुम्लाको आसपासमा पुगिसकेका थियौ । वरिपरि हरियाली डाँडाहरु । आहा ! अनि बिचमा जुम्लाको बजार कति सुन्दर रहेछ । बाटोमा यात्रा गर्दा जति डर त्रास लागिरहेको थियो । जुम्ला पुग्दा त ति सबै हराएर गए । करिब दिउँसको १ः०० बजेतिर जुम्लाको खलङ्गामा पुग्यौ हामी । त्यहाँ पुगिसकेपछि बर्सपाकमा मेरो साथी पर्खेर बसिरहेकी थिइन् । अनि दुबै जना साथि त्यो ठाउँको प्रशंसा गर्दै हिडिरहयौ । साथीसँग गफिदै मेरो आँखाले वारीपारीका डाँडाहरुलाई नियालीरहेका थिए ।
हेर्दा रमाईलो, स्वर्ग जस्तो ठाउँ देख्दा मनमा धेरै नै हर्ष छाएको थियो । जान कठिन रहेछ त्यहाँ गएपछि मनै लोभ्याउने ठाउँ रहेछ जुम्ला । समथर ठाउँमा घरहरु रहेछन् । जुम्लाको हेर्न लायक मन्दिर चन्दनाथ बिचबजारमा व्यवस्थित छ । जुम्ला बजारदेखि अलि अगाडि दानेसाङु । क्या मिलेको तिलाको त्रिवेणी । नामै काफि छ, मैले पहिलो पटक अपरिचित ठाउँमा एक्लै यात्रा गरे जुन अपरिचित ठाउँ सोचे भन्दा नि सुन्दर रहेछ । त्यो दिन त्यही बस्यौ र भोलिपल्ट बिहानै हामी फेरी यात्रा गर्दै अगाडी बढ्यौ । जुम्ला पुगेको भोलीपख त्यहाँको मान्छेहरुले चिया पिएको देखेर म तिनछक परेकी थिएँ । त्यसरी त दुध पनि पिउन सकिदैन तर त्यहाँ त चिया । त्यसैले उनीहरुले त्यसलाई भोटे चिया भन्दा रहेछन् ।
जुम्लामा उत्पादन हुने मुख्य खेतीको रुपमा रहेका स्याउका बगैैंचा पनि देखियो । धेरै उत्पादन हुने तरकारी बालीमा आलु र सिमि रहेछ । खलङ्गादेखि यात्रा अझै अगाडिसम्म बढिरह्यो । तिला नदी पार गर्दै रमाईलो कुराकानीसँगै हिडिरहेका थियौ । कति धेरै घरहरु मिलेर बनेका गाउँ । खोलानाला, वन जङ्गल क्या मिलेको । यात्रा गर्दै गर्दा जुम्लाको सुन्दर भाग गुठिचौर भन्ने ठाउँमा पुगियो । त्यसको सुन्दरताको बर्णन गरेर त सकिदैन होला । झट्ट हेर्दा देखिने पारी डाँडामाथिको हिउँले त्यहाँका बासिन्दाहरुलाई जिस्क्याएको झैँ भान हुन्छ ।
यस्ता दृश्य देख्दा मनमा झनै खुसी छाएको थियो । तलतिर हेर्दा समथर भू–भाग जहाँ बिचबाट खोला बगिरहेको । त्यसैमा जनउक्ति अनुसार पाँच पाण्डवले बनाएका धारा । हो प्रकृतिले हामीलाई स्वर्गको एक टुक्रा उपहार दिएकै हो । साँच्चिकै कति सुन्दर छ, गुठिचौर । त्यहि गुठिचौरमा भेडाफर्मको अफिस रहेछ । जहाँ भेडाहरु डाँडा र समथर ठाउँमा छरिएर आफ्नै गतिमा रमाउदैं थिए ।
आजको चिया चमेना त्यही भएको थियो हाम्रो । हिड्दै गर्दा बिस्तारै साँझ पर्दै थियो । निरन्तर अगाडी बढिरयौ । अनि हामी बास बस्नको लागि एउटा गाउँमा पस्यौ र हामी त्यहि गाउँमा धेरै दिन त्यतै बस्यौ । जुन गाउँको नाम हो गडिगाउँ । शुरुमा त्यहाँको भाषा नै बुझ्न कठिन । बिस्तारै त्यहाँका मानिससँग घुलमिल भएँ । त्यहाँको रहनसन, रीतिरिवाज, संस्कृति, भेषभुषा चालचलन, बोलिभाषा, रुढिवादी चलन एकदमै पुरानै परम्परा जस्तो लाग्यो । त्यहाँ बिशेष गरी उत्पादन हुने अन्न बाली जौ, फापर, कोदो, मकै,गहुँ आदि हुदोरहेछ । भने तरकारी आलु, सिमि बढी उत्पादन हुने गर्दछ । त्यहाँको मानिसको मुख्य पेशा भनेको जडिबुटी खन्ने र जडिबुटिको व्यापार गर्ने रहेछ । कतिपय मानिसको पेशा भेडा बाख्रा पाल्ने थियो ।
नेपाल सरकारले होस् वा अन्य संघसंस्थाले होस् जति भाषण गरेपनि जति नारा लगाएपनि छुटेको रहेनछ जातभात, छुवाछुत, छाउपडि प्रथा । बिशेष गरी महिलाहरु महिनावारी भएपछि गोठमा बस्नु पर्ने बाध्यात्मक अवस्था त्यो रुढिवादी चलन अझै पनि हटेको रहेन छ । त्यसै गरि जातिय भेदभाव पनि त्यतिकै बढी नै रहेछ । जुम्लाको गुठिचौर गा.वि.स.मा अझै पनि यातायातको कमी छ । बिरामी भएको बेलामा औषधि उपचार नगर्ने र जडिबुटि, धामी झाक्रीको विश्वास गर्नाले कतिपय मानिसहरुको अकालमै मृत्यु भईरहेको रहेछ । शिक्षा र चेतनाको कमीले उनीहरुमा वैज्ञानिक औषधोपचारको कमी छ । कतिपय बालबलिका अझै पनि स्कूल जानबाट बञ्चित छन् । उनीहरु घरमै कामहरु गर्छन । यसरी मैले अपरिचित ठाउँको यात्रा गर्दा धेरै कुराहरु थाहा पाउने मौका पाए । हुन त सुर्खेत– जुम्लाको कर्णाली राजमार्गलाई मृत्युमार्गको उपमा दिइएको छ । तर पनि त्यही मृत्युमार्गको यात्रा गरेर जब म जुम्ला पुगे जुम्लाले लोभ्यायो मेरो मन । फेरि एक पटक जुम्ला पुग्नु छ मैले । राराको किनारमा पुगेर सेल्फी खिच्ने रहर जागेको छ मनमा ।







