Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

पेट्रोलियम पदार्थ उत्खनन् प्रमुख प्राथमिकतामा छ : सांसद शर्मा

तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा २०२१ साल असोज १० गते नारायण नगरपालिका २ जाहारकोटमा जन्मिनु भएको हो । २०५४ सालको स्थानीय चुनावमा नारायण नगरपालिकाको नगरप्रमुख निर्वाचित शर्माले आईएल सम्मको अध्ययन गर्नुभएको छ । त्रिभुवन उच्चमावि दैलेख बजारबाट माध्यमिक तह पास गरेका शर्माले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आईएल गर्नुभएको हो । २०४२ सालमा नेकपा मालेको भ्रातृ संगठन अनेरास्ववियूको महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको प्रारम्भिक कमिटिमा आवद्ध शर्मा २०४६ सालमा नेकपा मालेको नेपालगञ्ज नगर संगठन कार्यदलको सदस्य हुनुभयो । २०४७ सालमा नेकपा मालेको संस्थापक सचिव रहेका शर्माले माले र माक्र्सवादी एकीकरणपछि बनेको नेकपा एमालेको पनि पार्टी सचिवमा निरन्तरता पाउनु भएको थियो । २०४८ र २०५१ सालको संसदीय चुनावमा उहाँ तत्कालिन नेकपा एमालेको तर्फबाट दैलेख–१ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनु भएको थियो । २०७१ सालदेखि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रहेका शर्माको हालको बसोबास पनि नारायण नगरपालिका २ जाहारकोट, दैलेखमा छ । शर्मा गत मंसिर २१ मा सम्पन्न प्रतिनीधि सभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभामा निर्वाचित सांसद हुन् । आफ्नो निर्वाचन क्षेत्र लगाएत समग्र मुलुकको मुलभुत समस्यालाई संघिय संसद् मार्फत सरकारलाई ध्यानाकर्षण गराउने गतिबिधिमा सक्रिय शर्मा दैलेखका जनता समक्ष लोकप्रिय नेताको रुपमा परिचय बनाएका छन् । सांसद शर्माले दैलेख जिल्लाको क्षेत्र नं. १ संगै समग्र दैलेख जिल्लाको विकासमा प्राथमिकताका दिनुभएको छ । प्रस्तुत छ, सांसद शर्मासंग क्वीकखबर डटकमका लागि कृष्णप्रसाद अधिकारीले गरेको भलाकुसारी :


विकासमा तपाईँका प्राथमिकता के हुन् ?
मैले दैलेख निर्वाचन क्षेत्र नं. १ मात्रै नभई समग्र जिल्लाको विकास र समृद्धिका लागि विकास आयोजना र पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छु । त्यस मध्ये पनि विशेष गरी नारायण नगरपालिकामा चक्रपथ, पञ्चकोशी क्षेत्रको पेट्रोलियम पदार्थ उत्खनन्, सडक विस्तार र ति सडकहरुको स्तरोन्ती, कृषि शिक्षा, स्वास्थ्य र विद्युतमा विशेष प्राथमिकतामा पारेको छु ।
समग्रमा यस्ता छन् विकासमा प्राथमिकता :
सडक तर्फ:
दैलेख महाबु–कालिकोट–चिलखाया–नाग्म–गमगढी–नाक्चेलाग्ना सडकलाई प्रमुख प्राथमिकता राखेको छु । मध्यहाडी राजमार्गको दैलेख खण्डको निर्माणमा तदारुकता दिन हामीले पटक पटक ध्यानाकर्षण गराइरहेका छौ । अहिले मध्यपहाडी दैलेख खण्ड अन्तरगर्तको कार्यालय दैलेख सदरमुकाममा स्थापना भइसकेको छ । कर्णालीको राजधानी सुर्खेतबाट दैलेख जोड्ने सडकको स्तरोन्तीका लागि मैले विशेष पहल थालेको छु । त्यसका लागि १० करोड बजेट विनियोजन भइसकेको छ । अब तत्काल काम सुरु हुन्छ । सदरमुकाम दैलेख बजार देखि जिल्लाका ११ वटै स्थानीयमा जोड्ने सडक खण्डको स्तरोन्ती र बाह्रै महिना यातायातका साधन संचालन हुने बनाउन विशेष पहल थालिनेछ ।
ग्रामिण विद्युतीकरण तर्फ : ग्रामिण विद्युतीकरणका लागि दैलेख निर्वाचन क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको बजेट विद्युतीकरणका लाग विनियोजन गरेका छौ । त्यसका लागि हामीले दैलेख उज्यालो बनाउने अभियान नै थालनी गरेका छौ । त्यसका लागि दैलेखका ११ वटै स्थानीय तहले सामुदायिक ग्रामिण विद्युतीकरणका लागि साझेदारी गर्नेछन् । सामुदायिक ग्रामिण विद्युतीकरणका लागि साझेदारी कार्यक्रम अन्तरगर्त ९० प्रतिशत लगानी नेपाल सरकारको हुनेछ भने १० प्रतिशत लगानी स्थानीय तहको रहनेछ । नेपाल सरकारले आगामी ३ बर्षमा सबै नेपालीको पहुँचमा विजुली पु¥याउने लक्ष लिएको छु । सोहि अनुरुप हामीले काम अगाडी बढाएका छौ ।
पेट्रोलियम पदार्थ उत्खनन् : दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ नै कर्णाली प्रदेशको समृद्धिको आधार हो । सोहि अनुरुप हाम्रै पहलमा तत्कालिन सरकारका टोलीमा उद्योगमन्त्री सोमप्रसाद पाण्डेका सहितको चिनियाँ टोलीको प्राविधिक सहयोगमा लामो समयदेखि खेर गइरहेको दैलेखको श्रीस्थान स्थित पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन् कार्य सुरु भइसकेको छ । पेट्रोलियम पदार्थ उत्खनन् कार्यका लागि अध्ययन सम्झौता भई पश्ताव अगाडी बढिसकेको छ । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन् कार्य तत्काल सुरु हुन्छ, त्यसका लागि मैले हामीले विशेष पहल गरेको छु । त्यसमा ढुक्क हुन दैलेखका जनतालाई आग्रह समेत गर्छु ।
एक गाउँ, एक कृषि नीति :
मैले दैलेखका सबै क्षेत्रमा ‘एक गाउँ एक कृषि नीति’ अनुसारको काम अगाडी बढाउन पहल गरेको छु । त्यसका लागि संघ, प्रदेश र स्थानीय तहले काम अगाडी बढाइसकेका छन् । दैलेखका हरेक स्थानीय तहमा कृषि क्षेत्रको विकासमा विशेष प्राथमिकतामा राखेर काम अगाडी बढिरहेको छ । चालु आर्थिक बर्षमा जिल्लाका विभिन्न क्षेत्रमा रहेका खानेपानी योजना प्रदेश सरकार मार्फत अगाडी बढाइनेछ । सिचाँई नपुगेको ठाउँमा सिचाईको सुविधा पु¥याइनेछ ।
दैलेख अस्पतालको स्तरोन्नती :  दैलेख अस्पताललाई आधुनिकीकरण र स्तरोन्नती गर्ने कार्य तत्काल सुरु हुन्छ । १५ शैयाको क्षमता रहेको दैलेख अस्पताललाई ५० शैया बनाउने काम तत्काल अगाडी बढ्छ । त्यसका लागि एकिकृत योजनामा परिसकेकोछ र बजेट समेत विनियोजन भइसकेको छ ।
शिक्षा तर्फ: जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका लागि मेरो विशेष पहल रहनेछ । अहिले जिल्लाको दुई वटा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन पहल भइरहेको छ । गाउँ शिक्षा समिति गठन भई शिक्षा क्षेत्रको विकासमा विशेष गहल गरिनेछ ।
उद्योग तर्फ: जिल्लामा साना देखि ठुला उद्योग संचालनका लागि मरो विशेष पहल रहनेछ । तत्कालका लागि जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ चुप्राको पूर्वपट्टीको क्षेत्रमा औधोगिक केन्द्र स्थापनाको काम सुरु हुने चरणमा छ । त्यसमा मैले विशेष भूमिका निर्वाह गरेको थिए । चुप्रा मात्रै नभई जिल्लाका अन्य क्षेत्रमा पनि उद्योग क्षेत्रको विकासमा म आगामी दिनमा सक्रिय रहनेछु ।

पर्यटनको विकासमा तपाईका के योजना छन् ?
दैलेख जिल्ला पर्यटनको हिसावले महत्वपूर्ण मानिन्छ । दैलेख जिल्लामा थुप्रै र महत्वपूण पर्यटकीय स्थलहरू छन् । त्यहाँमा धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, प्रचार प्रसार र विकासका हामीले प्राथमिकतामा साथ काम अगाडी बढाउनेछौ । दैलेख जिल्लाको धार्मिक तथा पर्यटन विकासको लागि यो हामीले योजना बनाएर काम अगाडी बढाउनेछौ । श्रीस्थान, नाभिस्थान, पादुका, दुल्लूको गढी, खम्बा, शिलालेख, पञ्चदेवल, कोटिला लगायत विभिन्न गढीहरूको संरक्षण, जिर्णोद्वार र प्रवद्र्धन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार–प्रसार गरी दैलेखलाई पर्यटनको गन्तब्य बनाउनु हामी सबैको दायित्व हो । जुन लक्ष र उद्देश्य प्राप्तीका लागि मेरो योगदान हरनेछ । सम्रगमा भन्नुपर्दा दैलेखलाई धार्मीक पर्यटनको रुपमा विकास गर्न हामी लागि परेका छौ ।

स्थानीय सरकारको कामलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ?
अहिलेका स्थानीय सरकार जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकार हो । तरपनि कतिपय स्थानीय तहको काम प्रभावकारी नभएको भन्ने सुनिन्छ । स्थानीय सरकारलाई अहिले पनि केहि कानुनी जटिलताहरु छन् । भौतीक संरचनाको अभाव पनि स्थानीय तहको समस्याको रुपमा रहि आएको छ । त्यसका बाबजुत पनि स्थानीय सरकारहरुले आफ्ना काम कार्बाहीहरु अगाडी बढाइरहेका छन् । यदाकदा भ्रष्टाचार र अनियमितताका भएको भन्ने गुनासोहरु पनि आइरहेका छन् । भ्रष्टाचार र अनियमितता रोक्न सरकारले शुन्य सहनशिलताको रणनीति अबलम्बन गरेको छ । सोहि अनुरुप स्थानीय सरकारले काम अगाडी बढाउनुपर्छ । जनताका आधारभुत आवश्यकतालाई उच्चतम् बिन्दुमा राखेर स्थानीय तहका जनप्रतिनीधिहरुले काम अगाडी बढाउनुपर्छ । स्थानीय तहको सेवा प्रवाहमा सहज र व्यवस्थीत बनाउनका लागि मेरो तर्फ बाट गर्नुपर्ने सहयोग र समन्वयको कमी हुनेछैन् ।