Loading... आजः ९ बैशाख २०८१, आईतवार । Sunday 21st April 2024

के कर्णालीको पालो आउँदैन ?

नेपाललाई पाँच विकास क्षेत्रमा विभाजन गरेपछि भौगोलिक कारणले अति विकट मानिएको अञ्चलको रुपमा कर्णालीले एउटा उपमा पायो – विकट कर्णाली । तत्कालिन समयमा ५ वटा जिल्लाहरु समेटिएको कर्णालीले बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भएपछि पनि राज्यको नजरमा समान अवसर प्राप्त गर्न सकेन । भौगोलिक रुपमा विकट भएकै कारण कर्णालीले राज्यको अवसर पाउन नसकेको हो त ? नेपाली भाषाको उद्गमस्थलको रुपमा रहेको कर्णाली र तत्कालिन कर्णालीको केन्द्र जुम्लाको सिंजा निकै सुन्दर छ । सिंजाको सुन्दरतालाई हेर्ने नजर भने सुन्दर हुन सकेको छैन अहिलेसम्म पनि ।

लेखक :
खगेन्द्र अधिकारी अमृत

कर्णाली भित्र रहेका विभिन्न प्राकृतिक एवम् ऐतिहासिक पर्यटकीय स्थलको बारेमा काठमाडौंमा बसेर चर्चा र परिचर्चा गर्नेहरुको भने कमी छैन । कर्णालीको सांस्कृतिलाई भजाएर कागजका पानाहरुमा रिपोर्ट तयार गर्दै डलर कुम्ल्याउनेहरुले काठमाडौंमै घर बनाइसकेका होलान् । तर कर्णाली अहिले पनि राज्यको सौतेलो व्यवहार खेप्न बाध्य छ । जल, जमिन र जडिबुटीको अपार सम्भावना रहेको कर्णाली भनेर यसलाई लोभ देखाउनेहरुको कमी न उहिले थियो न अहिले छ र न त भोलि नै हुनेछ ।

करिब २२ वर्ष पहिले चलेको माओवादी द्वन्द्वको समयमा कर्णालीका जनतालाई विभिन्न सपनाहरु बाँडियो । रोग, भोक, गरिबी र अशिक्षाबाट कर्णालीले उन्मुक्ति प्राप्त गर्छ भनेर । विकासका श्रृङ्खलाहरुको मुल नै फुट्ने कुराको आश्वासन देखाइयो । हामीले युद्ध जनताका लागि लडेका छौ त्यो पनि कर्णाली जस्तो पिछडिएको क्षेत्रमा बसोबास गर्नेहरुका लागि भनियो । यस्तै मीठा सपनाहरु सुनाइयो र लाग्न बाध्य पारियो जनयुद्धको साथमा । बोके कर्णालीका जनताले बन्दुक र लागे जंगलतिर । कर्णालीको मुहार फेरिन्छ भने मर्न समेत तयार रहेका कर्णालीका बासिन्दाहरुले गरेको आशा पूरा हुने छाँटकाँट भने देखिदैन ।

देश शासन व्यवस्था परिवर्तनमा अगाडि बढ्यो । सशस्त्र युद्ध सकिएको पनि दशक पूरा भइसकेको छ । एकात्मक शासन प्रणालीको कारण विकास हुन नसकेको भनेर देशलाई संघीय शासन प्रणालीमा लगेर तीन तहका सरकार निर्माण गरेको पनि वर्ष दिन बितिसकेको छ । युद्धबाट मात्र सफलता प्राप्ति नहुने भएकोले शान्ति प्रक्रियाबाट शासन प्रणालीलाई नै परिवर्तन गरेर जनताका बीचमा आइसकेको तत्कालिन नेकपा माओवादी र नेकपा एमाले अहिले एकिकृत भएपछि देशमा झण्डै दुई तिहाइको कम्यूनिष्ट सरकार छ । देश र जनताका लागि संविधान सभाबाट बनेको संविधानमा विकास निर्माणका लागि केही अवरोधहरु छन् भने पनि उनीहरु त्यसलाई संशोधन गर्न सक्ने क्षमता राख्दछन् । देशको कुनै पनि शक्तिले उनीहरुलाई संविधान संशोधन गर्न रोक्न सक्दैन । तर वर्तमान संविधानलाई दोष दिएर विकास निर्माणका कार्यमा तिब्रता दिन नसक्नु राजनीतिक नेतृत्वकर्मीहरुको ठूलो कमजोरी हो ।

कर्णालीले वर्तमान अवस्थामा पनि गरिबी, अशिक्षा, भोकमरी, बेरोजगारी जस्ता उपमाहरुबाट छुटकारा पाउन सकेको छैन । अपार सम्भावना बोकेको कर्णालीका जनताहरु वर्षौदेखि दुःखकष्ट खेप्दै आइरहेका छन् । अहिले पनि कर्णालीको साक्षरता ६५ प्रतिशत मात्र छ । मुलुकको कूल साक्षरतामा यो २३.६ प्रतिशत कम हो । देशकै अन्य प्रदेशहरुमा बसोबास गर्ने जनताको औसत आयु ७० वर्षभन्दा बढि भइसक्दा कर्णालीका बासिन्दाको औषत आयु अझैँ पनि ६० वर्ष नाघ्न सकेको छैन । कर्णालीबासीको प्रतिव्यक्ति वार्षिक आय ८० हजारभन्दा बढि हुन नसक्नु दुःखको कुरा हो । वर्षेनी खाद्यन्न अभावको पीडा खेप्न बाध्य छन् कर्णालीबासी ।

कर्णाली प्रदेश नेपालकै कठिन तर सम्भावना बोकेको प्रदेश हो । देशको प्रतिनिधि सभामा नेकपाको दुईतिहाइ बहुमत प्राप्त सरकार छ । कर्णाली प्रदेशमा पनि नेकपाकै सरकार छ । छुट्टै प्रदेशको रुपमा स्थापित भएपनि पुरानै सोचका कारण कर्णाली जहाँको त्यही छ । आर्थिक रुपान्तरण नभएसम्म कुनै पनि देशले परिवर्तनको महसुस गर्न सक्दैन भन्ने कुरालाई नेताहरुले राम्ररी बुझेका छन् वा छैनन् शंकै छ । कर्णाली प्रदेश सरकारले जनताका आधारभूत आवश्यकताहरु तर्फ ध्यान दिनै सकेको छैन भन्दा सत्तामा बसेर भत्ता पचाउनेहरु बाहेक अरुलाई आपत्ति हुँदैन होला ।

अझ स्पष्ट र सबैले बुझ्ने शब्दमा भन्ने हो भने कर्णाली प्रदेश सरकार आफ्ना कार्यकर्ताहरुको भरणपोषण गर्न लागेकाले जनताका लागि सरकारले गर्नु पर्ने कार्य तर्फ ध्यान दिन नसकेको हो कि ? कर्णाली प्रदेशमा जम्मा ३.८ मेगावाट विद्युत छ । तर यहाँको जलस्रोतलाई उपयोग गर्ने हो भने २१ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ।

कर्णाली प्रदेश सरकारले आफूसँग भएका स्रोत साधनलाई समेत उपयोग गर्न नसकेकाले संघीयतामा पनि विकासको अनुभूति गर्न पाइँदैन कि भन्ने निराशा छाएको छ कर्णालीबासीमा । कुनै समयमा सिंहदरबारमा भएको शासन सत्ता आज जनताको घरदैलोमा पुगेको छ भनिन्छ । हो, कुनै समय काठमाडौं मात्र राजधानीको रुपमा चिनिथ्यो भने आज हामी सुर्खेतलाई पनि कर्णालीको राजधानीको रुपमा उपभोग गर्न पाइरहेका छौं । दुई तिहाइको सरकार भएपनि कर्णालीका जनताले विकासको अनुभूति गर्न नपाउनुमा राज्यले कर्णालीलाई गर्ने व्यवहारमा परिवर्तन आउन नसक्नु एउटा कारण हो । कर्णाली प्रदेश सरकारले हिजोका दिनमा सिंहदरबारमा बस्नेहरुको झँै व्यवहार गरेर राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्नु अर्को कारण हो । हिजोका दिनमा सरकारमा बस्नेहरुसँग माग्नु र आज आफैले निर्माण गर्नुमा आकाश पातालको फरक छ भन्ने कुराको अवगत भयो होला महासयहरुलाई । बन्दुक पड्काउनु र संरचनाको ध्वस्त गर्नु जस्तो सजिलो छैन पुर्ननिर्माण गर्नु । नयाँ निर्माण गर्नका लागि स्रोत, साधन र सीपको पनि खाँचो पर्दछ ।

आर्थिक क्षेत्रको विकास गर्नका लागि बित्तिय क्षेत्रको संचरनागत रुपमा विकास गर्न जरुरी छ । आर्थिक आम्दानीका कार्यक्रमहरु लागु गर्न जरुरी छ । कृषिमा लगानी गर्ने नाममा आफ्ना कार्यकर्ताहरुलाई कागजी रुपमा प्रमाण मिलाउने कार्यले कर्णाली उभो लाग्दैन । सहकारी मार्फत समाज परिवर्तनका नाममा रंग र क्षेत्रका आधारमा बाँडिने बजेटले अर्थोपार्जन गर्न सक्दैन । प्रशासनिक रुपमा समेत नयाँ संरचनाको तयारी हुनु जरुरी छ । एउटा लघु उद्योगीले उद्योग दर्ता गर्ने क्रममा उसको समय र लागतको ख्याल गर्न सकिदैन भने उद्योगीहरुको विकास कसरी हुन्छ ? राजश्व तिर्न आएको मान्छेले सर्वसुलभ तरिकाले सेवा पाउन सक्दैन भने त्यो भन्दा बिडम्बना के हुन सक्छ ? राजनीतिक रुपमा पार्टीका संरचनाहरुलाई फेरबदल गरेर कर्णालीको विकास हुन्छ ? यो लज्जास्पद कुरा हो । यसले त पार्टीका कार्यकर्ताहरुलाई पदीय जिम्मेवारीमा मात्र पु¥याउँछ । पार्टीको पदीय जिम्मेवारीमा भएको व्यक्तिले जनमानसका लागि भन्दा पार्टीको संगठनात्मक बृद्धिका लागि मात्र काम गर्छ । कुनै पनि क्षेत्रको विकास गर्नका लागि नेतृत्वमा भिजन चाहिन्छ । देशमा शूरुवाती भएको संघीयतालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने भिजन विनाको मुढेबलले हाम्रो कर्णाली मात्र होइन देश समृद्ध बन्छ भन्दै ठूल्ठूलो स्वरमा चिच्याएर भाषण गर्नु जनताका आँखामा छारो हाल्नु बाहेक केही होइन ।

कर्णालीका फाँटहरुलाई मल, जल र उन्नत प्रविधिबाट कृषि गर्न सकेमा नेपालका बासिन्दालाई पाल्न सक्ने क्षमता छ । कुनै दिन कर्णालीबासीहरुले राजधानीमा दिउँसै लालटिन बालेर बिम्बात्मक विरोध समेत गरेका थिए । तर राज्यले त्यो लालटिनको उज्यालो कहिल्यै देखेन । जसका कारण कर्णाली जहिले पनि अध्यारोमै बस्नु प¥यो । अब कर्णालीबासी यो पीडाबाट मुक्ति चाहन्छन् । शासन संचालनका लागि नयाँ व्यवस्था हुने परिकल्पना गरेको माओवादीसहित जनताका लागि जनवर्गीय युद्ध लडेको एमाले अहिले सत्तामा छ । हिजो युद्धकालमा माओवादीले भनेकै थियो – शासन सत्ताको परिवर्तन पछि कर्णालीका बासिन्दा भोकमरीले मर्नु पर्ने छैन । रोगले मर्नु पर्ने छैन । औषधीको अभाव हुन दिने छैनौं । शिक्षाबाट बञ्चित हुनु पर्ने छैन । त्यो पनि प्राविधिक शिक्षा । अहिलेको बुर्जुवा शिक्षाले क्षमतावान जनशक्तिको विकास गर्न सक्दैन । राजनीतिक व्यवस्था पूर्ण रुपमा परिवर्तन भयो । तर आजपनि औषधीको अभावमा ज्यान गुमाउनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । सुत्केरी हुन नसकेका कारण मर्ने आमाहरुको तथ्याँङ्क घटेको छैन ।

कर्णालीका जनताले चाहेको जस्तै कर्णाली निर्माण गर्ने हो भने जडिबुटीको भण्डार भएको यस क्षेत्रलाई नेपालको त के विश्वको एक नम्बर बनाउन सकिन्छ । कुन जडिबुटी छैन होला कर्णालीमा । हिमालमा पाइने, उच्च पहाडमा पाइने अनि गर्मी याममा पाइने, जाडो याममा पाइने । तर यसलाई भाषणमा मात्र पहिचान गर्ने र देश विदेशसम्म पु¥याउने काममा सिन्को नभाँच्नेहरुले जनताले सोचे अनुरुपको कर्णाली बनाउलान् ? यो पंक्तिकारलाई विश्वास छैन ।

पर्यटनका क्षेत्रमा ठूलै हिस्सा ओगट्न सक्छ कर्णालीले । भू–मण्डलको परीको उपमा रहेको रारा कर्णालीसँग छ । से–फोक्सोण्डो कर्णालीमा छ । पचाल झरना कर्णालीमा छ । दैलेखको पञ्चकोशी कर्णालीको राजधानी वीरेन्द्रनगरको आगनमा छ । सुर्खेतको काँक्रेविहार, बुलबुले, जाजुरा दह, कोटको थुम्को मात्र होइन चमेरे गुफा, सिद्धपाइला कर्णालीसँग छ । ऐतिहासिक दरबारहरु, सम्पदाहरु, नेपाली भाषाको उद्गमस्थल, चन्दननाथ, देउतीबज्यै, मालिका, मष्टो र कालिका कर्णालीसँग छन् । हिमाल कर्णालीसँग छ । गुराँस कर्णालीसँग छ । यति मात्र होइन आदिमकालदेखि बल्दै आएको ज्वाला कर्णालीसँग छ । अनि कर्णाली गरिब छ ?

सांस्कृतिको कुरा गर्ने हो भने देउडा, दोहोरी, हुड्के नाच, झ्याउरे, पैसेरी, टप्पा, गर्रा, सिंगारु जस्ता सांस्कृतिक परम्परा कर्णालीसँग छन् । पर्यटकीय र सांस्कृतिक क्षेत्रमा कर्णाली स्वर्गको टुक्रा हो । तर पनि किन कर्णाली सम्पन्न बन्न सकेको छैन ? अब सत्ता र शक्तिमा रहनेहरुसँग कर्णालीबासीले जवाफ माग्ने बेला आएन र ?

पर्यटन वर्षको घोषणा गर्नेहरुले १ सय जनालाई बास बस्ने होटल निर्माण गर्न सकेका छैनन् । अनि पर्यटनको आगमन कसरी हुन्छ ? रारा पर्यटन वर्षको घोषणा कार्यक्रममा २९ लाख अनियमितता हुन्छ भने पर्यटकीय क्षेत्रको विकास हुन्छ ?

कर्णालीका अधिकांश भूभागहरु बाँझा छन् । तर भारतबाट आयात चामल खान कर्णालीबासी बाध्य छन् । आफ्नै ठाउँमा बसेर दैनिक आवश्यक पर्ने आवश्यकताहरुको परिपूर्ति गर्न सक्ने वातावरणको सिर्जना हुने हो भने कर्णालीका अधिकांश युवाहरु भारत र खाडिमुलुक अनि मलेशियाका जान लर्को लाग्नु पर्ने थिएन ।