Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

प्रगतिटोलको कौशी खेती : फोहोर व्यवस्थापनमा टेवा पुर्याउँदै

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाका १६ वडा वडाहरु मध्येकै सबै बढि जनघनत्व भएको वडा हो वडा नं. ६ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र यसै वडामा पर्ने भएकोले अन्य वडाहरुको दाँजोमा अत्याधिक फोहोर उत्पादन हुने वडाको रुपमा पनि चिनिन्छ यो वडा । तर फोहोरलाई मोहोरमा परिणत गर्न सकेमा फोहोर व्यवस्थापन गर्न सजिलो हुने उदाहरण प्रस्तुत गर्दैछन् यसै वडाको प्रगतिटोल निवासीहरु । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ को प्रगतिटोलमा जाने हो भने सबैका घरका कौशीमा खेती गरिएको छ । उक्त खेतीका लागि चाहिने आवश्यक मल उनीहरुले आफ्नै घरबाट निस्कने कुहिने फोहोरबाट उत्पादन गर्ने भएकोले फोहोर व्यवस्थापनमा टेवा पुगेको उक्त वडाका वडा अध्यक्ष मोति प्रसाद कंडेल ।

वडा कार्यालयले कौशीमा खेती गर्नका लागि पाँच वटा गमला अनुदानमा दिने गरेको छ । तर पाँच वटा गमला अनुदानमा लिनका लागि घरधनीले पहिले पाँच वटा गमला आफैले किनेको हुनुपर्दछ । एकातिर अर्गानिक तरकारी पनि खान पाइने अर्कोतिर घरबाट निस्केको कुहिने फोहोरको व्यवस्थापन पनि हुने भएकोले कौशी खेतीले दोहोरो फाइदा भएको बताउँछन् वडा अध्यक्ष कंडेल ।

कंडेलले भने, ‘ताजा र स्वस्थकर तरकारीका लागि कौशी खेती गर्नका लागि सबैलाई जागरुक बनाइयो । जसले गर्दा अहिले रासायनिक तरिका किन्नु पर्दैन । यसले एकातिर स्वास्थ्यलाई फाइदा पुगेको छ भने अर्कोतिर उहाँहरुको तरकारी किन्ने पैसाको समेत बचत भएको छ ।’ उनले थपे, ‘अर्गानिक तरकारीको लागि आफै उत्पादनमा जुट्न आवश्यक छ । व्यावसायिक रुपमा खेती गर्नेहरुले त धेरै थोरै रासायनिक मिसावट गरिहाल्छन् नि ।’

प्रगति टोलले कौशी खेतीमात्र गरेको छैन एक घर दुई विरुवाको अवधारणालाई पनि साथसाथै लगिरहेको छ । प्रगतिटोल निवासी समुन्द्रा रावत भन्छिन्, ‘ हामीले घिरौला, भान्टा, तितेकरेला, खुर्सानी, सिमी, बोडी जस्ता तरकारीहरु आफैले उत्पादन गरेका छौ । ५ जनाको परिवारलाई तरकारी बाहिरबाट किन्नु पर्दैन । बरु छिमेकीहरुमा समेत अर्गानिक तरकारी खाउँ भन्दै बाँडी खाने गरेका छौ ।’ सबैले अर्गानिकको स्वाद लिन पाउन भन्ने उद्देश्यले पनि वल्लो पल्लो घरमा तरकारी बाँड्ने गरेको रावतको भनाई छ । वीरेन्द्रनगर बजार भित्र तरकारी बाँडेर खान्छौ भन्दा अनौठो लाग्ला तर सबैले अर्गानिक नै उत्पादन गर्ने भएकोले एकअर्कामा साटासाट गरेर खाने गरेको उनले बताइन् । अहिले चाइनिज दुबोको आनन्द लिनका लागि कौशीमै उनले दुबो रोपेकी छिन् ।

उक्त टोल निवासी लिला थापाको अनुभव पनि समुन्द्राको जस्तै छ । तीन – चार वर्षदेखि ४ जनाको परिवारको लागि आलु बाहेक अरु तरकारी किन्नु परेको छैन उनले । कुहिने फोहोरबाट मल निर्माण गर्छौ अनि साबुन प्रयोग नभएको पानीले सिंचाइँ गर्छौ आफ्नो लागि तरकारी आफ्नै कौशी उत्पादन गरेका छौ लिलाले क्वीकखबरसँग भनिन् ।

 

त्यसो त वडा नं. ६ का वडाअध्यक्ष स्वयम्ले पनि आफ्नो घरको कौशीमा तरकारी खेती गरेका छन् । उनले आफ्नै कौशीमा फलाएको टमाटर, खुर्सानी, घिरौला र भान्टा देखाउँदै भने ‘कुनैपनि कुराको अनुशरण गर्न गा¥हो हुन्छ तर राम्रो कामको थालनी एउटाले गर्ने हो भने त्यसको सिको अरुले गरिदिए भने पनि परिवर्तन सम्भव छ ।’

बजार क्षेत्र भएकोले कौशीमा तरकारी खेती गर्न सम्भव छैन भन्नेहरु पनि नभएका होइनन् । सुरुका दिनमा कोसिस त गरौ भनेर उनीहरुलाई कौशीमा तरकारी खेती गर्न प्रोत्साहन गरेको र घरबाट निस्केको कुहिने फोहारबाट मल बनाउने प्रविधिको बारेमा जानकारी दिएको सम्झँदै वडा नं. ६ कि सामाजिक परिचालक रेखा केसीले भनिन्, ‘वडा नं. ६ सुख्खा छ हरियो हेर्नका लागि अन्य वडाका स्थानहरुमा आँखा पु¥याउनु पर्छ भन्ने दिनको अन्त्य प्रगति टोलले गरिदिएको छ ।’ आफूलाई चाहिने फूलका लागि घरमा गमला राख्ने चलन भएपनि तरकारी खेती नै गर्नु पर्छ भन्ने आफूले संघीय राजधानीबाट सिकेको र त्यसैलाई व्यवहारमा उतारेको उनको भनाई थियो । ‘वीरेन्द्रनगर नगरपालिकाले हरित नगरको अवधारणा ल्याएको छ । त्यसलाई कार्यान्वयन गर्नका लागि वडा नं. ६ को प्रगतिटोलले सुरुवात गरिसक्यो’ केसीले भनिन् । उनले थपिन, ‘टोलका प्रत्येक नागरिकहरुले यसमा सहयोग गर्नुभएको छ उहाँहरुलाई धन्यवाद दिनै पर्छ ।’

 

कौशी खेतीले वातावरण प्रदुषणमा समेत न्यूनिकरण गरेको वडा कार्यालयका सचिव उत्तम अधिकारीले बताए । दैनिक कम्तिमा ३ देखि ४ टन फोहोर उत्पादन हुन्छ वीरेन्द्रनगरमा । तर त्यसलाई व्यवस्थापन गर्न सकेको खण्डमा मोहोरको रुपमा परिणत गर्न सकिन्छ । नकुहिने फोहोरको त समस्या नै छैन । कुहिने फोहोरले शहर दुर्गन्धित हुने भएकोले कुहिने फोहोरलाई नै व्यवस्थापन गर्न सकेमा ल्याण्डफिल साइडमा पनि फोहोरको थुप्रो सानो हुनेछ ।
सामाजिक परिचालक रेखा केसीका अनुसार फोहोर मैला व्यवस्थापन कार्यविधि २०७५ अनुसार १ घर दश गमला (५ वडाबाट र ५ घरधनीले किन्ने) कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन तर्फ लागिरहेको वडा कार्यालय पूर्ण सरसफाईका सूचकहरु पूरा गर्ने टोललाई नमुना टोलको रुपमा घोषणा गर्ने पक्षमा छ । जसले गर्दा प्रत्येक टोलमा यस्ता कार्यक्रमहरु संचालन हुनेछन् र सबैले अर्गानिक तरकारी उत्पादनका लागि घरबाट निस्कने कुहिने फोहोरको व्यवस्थापन गर्न सजिलो हुने बताउँछिन् सामाजिक परिचालक केसी ।

प्रगतिटोलमा १ सय घरहरु रहेका छन् । यतिबेला सबैका घरका कौशीमा कुनै न कुनै तरकारीहरु फलेका छन् । जसले गर्दा एकातिर वातावरण स्वच्छ छ भने अर्कोतिर कुहिने फोहोरको दुर्गन्धको सास्ती समाजले भोग्नु परेको छैन ।