धनेको बिदाई
कुनै दिन तिदुको रुखमुनी सँगै धुलो माटो खेल्ने धनेसँग भेट नभएको धेरै भएको थियो । अलि अलि गर्मी सुरु भइसकेको थियो । पहाडि भेकमा लालीगुराँस फुलेर ढकमक्क भइसकेका थिए । ती लालीगुराँसले मेरो मन तान्नै सकेका थिएनन । किन हो किन मन नराम्रोसँग दुखेको थियो । त्यही मनको दुःखाईको ओखती गर्नका लागि अस्पताल पुगेको समयमा अस्पतालको ६ नं. बेडमा एउटा मान्छे अर्थचेतन अवस्थामा सुतिरहेको । हेरे पुलुक्क । संयोगले मेरा आँखा धने माथि परे । बाल्यकालमा मसँगै धुलो खेल्ने धने आज अस्पताल पुगेछ । उसलाई स्याहार सुसार गर्ने कोही थिएनन । कस्तो संयोग, ऊ पनि अस्पताल, म पनि अस्पताल ।

सोधे धने, तँ अस्पतालमा । विस्तारै आँखा खोल्यो र हे¥यो मेरो अनुहारमा । राम्ररी चिन्यो उसले मलाई । निक्कै दया लाग्दो अनुहारमा अलिकति खुसी ल्याउने कोसिस गरेर मधुर स्वरमा बोल्यो ‘मलाई भेट्न आएको तँ ।’ ‘कसले सुनायो मलाई बेसञ्चो छ भन्ने ? कसरी थाहा पाइस् ? अनि अहिले कहाँबाट आइस् ? बस न । प्रश्नहरु ह्वारह्वार्ती निकाल्यो । मैले उसका सबै प्रश्नहरुको उत्तर दिनै पाएको छैन । आफ्नो दुःखेको मनमा मनकै इन्टिबायोटिकको सहायताले कम गरेर भएपनि बसे धने सुतिरहेको बेडमा ।
के भयो तँलाई ? कहिलेदेखि हो ? अनि साथमा को छ ? अनि अहिले कस्तो हुँदैछ ? मैले पनि मनमा लागेको प्रश्नहरु एकोहोरो सोधिराखे । आँखाका कुनामा आँसुका थोपाहरुलाई संलाग्दै हेरिरह्यो धनेले मेरो अनुहारमा । ‘के भयो भन्नु यार मर्ने दिन आउन थाल्यो ।’ एउटा प्रश्नको जवाफ थियो यो । त्यसो नभन धने । मान्छे विरामी हुँदैमा मरिहाल्छ भन्ने छ र ? मैले सान्त्वना दिने कोसिस गरे । करिब ३ महिना भइसक्यो विरामी भएको । हेर न साथमा कोही छैनन् । एक्लै छु । दिन प्रतिदिन विषेक हुँदै गएको भएको पो बाँच्छु भन्ने आशा गर्नु तर झन झन च्याप्दै गएको छ । अब धेरै दिन बाँच्छु होला जस्तो लाग्दैन । निकै कष्टका साथ धनेले आफनो बेलिविस्तार सुनायो । उसका दर्दनाक शब्दहरुले मेरो मन पनि अमिलो बन्दै गयो ।
छेउमा बसेकी एक जना सेतो कोट लगाउने पट्टि हेरे मैले । उनले हाम्रै कुरामा ध्यान दिएको जस्तो लाग्यो । भरखरै दुईबीस पुगेको धने निकै कमजोर थियो । उसका शरिरमा नसाहरु स्पष्ट देखिन्थे । बेला बेलामा ख्याक्क–ख्वाक्क खोक्थ्यो ऊ । गाउँका स्वास्थ्य चौकीमा उपचार गर्दा गर्दा केही उपाए नलागेपछि जिल्ला अस्पतालमा आएको रहेछ ।
अगाडि दाजु न पछाडि भाइ । एक्लो छोरो हो धने । बीरबहादुरको एक्लो छोरो भएकोले निकै पुलपुलिएको थियो ऊ सानोमा । निकै माया पाएर हुर्किएको हो । आमाबुबा हुने बेलासम्म धनेलाई कुनै कुराको अभाव भएन । सायद त्यसै कारणले गर्दा होला सानोमा निकै चकचके र बदमास पनि थियो ऊ । धेरैका छोराछोरीलाई कुटपिट गथ्र्यो तर उसलाई कसैले पिट्न सक्दैनथे । साना त के ठूलै मान्छेसँग पनि जोरी खोज्यो ऊ । कान्छीआमा नाता पर्नेहरुसँग पनि मुखमुखै लाग्थ्यो । छोप्न गएको बेला दौडेर भागिदिन्थ्यो । उसको कारणले उसका आमाबुबाले धेरैसँगको झगडा समेत खेप्नु परेको थियो ।
लगालग आएको ज्वरोले महिना दिनको फरकमा उसले आमाबुबा गुमाउनु परेको थियो । त्यसपछि धने साँच्चिकै एक्लो भएको थियो । आफन्तहरुले विहेवारीको कुरा नचलाएका होइनन् तर खै किन हो उसले विहे गर्नै मानेन उमेरमा । आज अस्पतालको बेडमा एक्लो महसुस गरेको छ । हुन त ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै डेढी’ त्यसै भनिएको हो र । आमा बुबाले कमाइदिएको सम्पत्ति हुने बेलासम्म धनेलाई देखावटी माया गर्नेहरुको कमी थिएन । जब उसले काँसाका भाँडा, तामाका गाग्रा, सुनका सिक्का बेचेर सक्यो त्यसपछि उसलाई एक छाक खान दिन पनि अप्ठ्यारो मान्न थाले गाउँहरुले, आफन्तहरुले ।
संसार स्वार्थी छ त्यसै भनिएको होइन । आफ्नो स्वार्थसिद्धि हुनेबेला जसलाई पनि ठूलै र स्वार्थसिद्धि भइसकेपछि कसैको मतलब नगर्ने यो दुनियाँमा आज धनेको मतलब कसैले गरेका छैनन् । अस्पतालको बेडमा सुतिरहेको धने च्याम्प समाउँछ मेरो हात र भन्छ ‘यो जीवन जिउनु भन्दा त मर्नु नै निको थियो मेरा लागि ।’ ‘धने बाँच्नु पर्छ । जीवनमा दुःख सुखहरु आउने गर्छन तिनीहरुसँग संघर्ष गर्नुपर्छ’ मेरा शब्दहरु रोकिए बीचैमा । डाक्टरको आगमनले बाध्य भएर रोकेको थिएँ मैले आफ्नो बोलीलाई ।
हातमा एउटा फाइल बोकेर आएका डाक्टरले मतिर हेर्दै भने ‘तपाइँ उहाँको आफन्त हो ?’ ‘साथी’ छोटो उत्तर फर्काए मैले । ‘एउटा औषधी किन्नुपर्छ यी लिनुहोस् यो औषधी ल्याएर मलाई भेट्नुहोस् ।’ डाक्टर आफ्नो बाटो लागे । धनेले फेरि हे¥यो मतिर र भन्यो ‘औषधी किन्नका लागि मसँग पैसा नै छैन म के गरुँ ?’ ‘ठीकै छ यति औषधी त मैले नै किनिदिन्छु नि ।’ म निस्किए । बाहिर फेरि तिनै डाक्टरसँग भेट भयो उनले भने, ‘पर्दैन भाइ औषधी किन्न । मैले त तपाईलाई बाहिर बोलाउने बाहना मात्र बनाएको । उहाँको फोक्सोले ९० प्रतिशत काम गर्न छोडिसकेको छ । अब उसको आयू धेरै लामो छैन त्यसैले घर पठाउने व्यवस्था मिलाइदिनुहोस् ।’ डाक्टरको कुराले धने अब धेरै दिन यो संसारमा रहने छैन भन्ने मैले राम्रोसँग बुझिसके । केही दिनको पाहुनाको रुपमा मात्र धनेलाई उसका आफन्तहरु र म जस्ता साथीहरुले देख्न पाउनेछन् । यस्तै कुराहरु खेल्दै फेरि पुगे धनेको छेउमा ।
डाक्टरले भनेका कुराहरु धनेलाई सुनाउन सक्ने हिम्मत गरिन मैले । उसले कुनै दिन अचेत हुने गरि पिउने गरेको रक्सीलाई पनि कसरी दोष दिनु झैँ भएको छ मलाई । वास्तवमा धनेलाई त्यसरी रक्सीको नशामा मातेर आफ्नो जिन्दगी बर्बाद नपार्नका लागि मैले बारम्बार नसम्झाएको पनि कहाँ हो र । जब कामको सिलसिलामा मैले गाउँ छोडे त्यसपछिका दिनमा धने अझैँ धेरै रक्सीमा डुब्दै जाने क्रममा उसको फोक्सोमा भएका हावाका थैलीहरुले काम गर्न छाडिसकेछन् ।
कुनै दिन धनेले भनेको कुरा उसकै अगाडि बसेर सम्झिरहेको छु । उसलाई रक्सीको नशाबाट टाढा राख्नका लागि म र म जस्ताहरुले धेरै कोसिस गरेकै हुन् । तर धने भन्थ्यो – ‘तिमीहरु के कुरा गर्छौ यार । साँझपख जुनले पोखेको उज्यालोमा जुनकिरीले बालेको बत्तिलाई नियाल्दै भोलिका लागि साँचेर राखेको भालेको क्वाँ – क्वाँ आवाजलाई कानमा ठोक्काउँदै गिलासमा घ्वात् घ्वात् रक्सी सार्नुको आनन्द मलाई थाह छ । कहिले माछासँग कहिले आलुको चिप्ससँग त कहिले नून र खाली रक्सी मात्र पिउनु भनेको पनि जिन्दगी हो । त्यसैले पिउन देउ मलाई । हात पोल्ने गरि तानेको चुरोटले दिने स्वाद मलाई मात्र थाह छ ।’
जब थप्दै जान्थ्यो अनि उसलाई रोक्ने हिम्मत कसैको हुँदैनथ्यो । त्यसैले उसका काकाहरुले पनि छोडिदिएका थिए उसलाई सम्झाउन । हिजो सम्झाउँन खोज्नेहरु आज उसलाई साथ दिन तयार छैनन् ।
हारिसकेको जिन्दगीलाई अस्पतालको बेडमा राखेर मृत्युसँगको लडाइँ लडिरहँदा धन्न मैले धनेसँग भेट्न पाएको छु । अतितलाई खोतल्दै आँखाबाट चुहाएका आँसुका धाराहरु गालाको बाटो हुँदै सिरानीसम्म पुग्छन् । अनेक कुरा सम्झाउँदै उसलाई घरसम्म जाने व्यवस्थापन गरेर फकिन्छु म । मुस्ताङ कम्पनीको जीपमा चढेर हात हल्याउँदै गयो धने मसँग विदा भएर । मलाई थाह छ ऊ केही दिनको पाहुना हो संसारका लागि । आज मसँग हात हल्लाइरहेको छ कुन दिन हो उसले अचेतन अवस्थामा सबैसँग हात हल्लाउने छ र सकिने छ धनेको जिन्दगी ।






