चरी गौथली र मेरी गौथली
गौथली । आफैमा मीठो शब्द छ । गौथली एउटा सुन्दर पंक्षिको नाम हो । बुढापाकाहरुले भनेको उक्तिलाई मान्ने हो भने गौथली जसका घरमा लक्षण हुन्छ उसका घरमा मात्र बस्ने गर्दछ । नभए वनमा रहेका ओढारमै भएपनि बसिदिन्छ । घरमा बसिरहेको रहेछ भने पनि लक्षण देखेन भने त्यो छोडेर हिडिदिन्छ रे गौथली । झट्ट हेर्दा एउटा सामान्य चरी । तर उसको गुण र सीप हेर्ने हो अद्भव शक्ति प्रकृतिले नै दिएको छ उसलाई । अनि भगवानको बरदान नै पाएको छ उसले । अर्को शब्दमा भन्ने हो भने गौथलीलाई सीप भएको चरीको रुपमा पनि लिइन्छ । जसरी कमल हिलोमा फूल्छ हिलोमा नै रमाउँछ र हिलोमा नै सकिन्छ उसको जीवन । तर त्यस्तै हिलोसँग खेल्ने गौथली भने हिलोलाई प्रयोग गरेर यस्तो घरको निर्माण गर्छ कि जो कोहीको मन लोभिन्छ । त्यसैले मान्छेहरु आफ्नो घरमा गौथली बसिदिएको भए हुन्थ्यो भन्ने आश गरिरहेका हुन्छन् ।

गौथली शब्दको अर्को पर्यायवाची अर्थको रुपमा यो पंक्तिकारले बालसखालाई लिने गरेको छ । किनकी गौथली मेरी बालसखा पनि हो । कहिले देखि गौथली र म सखाको रुपमा सँगै खेल्न थाल्यौ त्यो त मलाई थाह छैन । थाह छैन होला उसलाई पनि । तर जब हामी जान्ने बुझ्ने भयौ तब हामी सखाको रुपमा थियौ । जसरी चरी गौथली आफ्नो घर निर्माणका लागि साना पोखरीका डिलमा पुगेर आफ्नो शरिरमा कतै हिलो नलगाई चुच्चामा हिलो टिपेर ल्याउने गर्दछे । त्यसरी नै मेरी सखा गौथली पनि मसँग धुलोमा खेल्ने बेलामा आफ्नो शरिरमा कतै धुलो नलगाई खेल्ने गर्दथी । त्यसैले त ऊ चरी गौथली भन्दा कम सुन्दर थिइन र छैन पनि ।
सिन्कि लुकाई खेल्दाको मज्जा नै बेग्लै त्यो उमेरमा । साना घर बनाएर घर मालिक बन्नुको आनन्द नै फरक । खर उखलेर बनाएका साना पुलतीहरु कम राम्रा हुन्थेनन् । जसरीले चरी गौथलीले आफु बस्नका लागि हिलोबाट सुन्दर घर निर्माण गर्दछे त्यसरी नै मेरी बालसखा गौथलीले पनि हिलोबाट नै सुन्दर माटाका भाँडाहरु निर्माण गर्न सक्ने सीपको बरदान पाएकी छे । साँच्चिकै माटाबाट बनेका अनेकौ भाँडाहरु देखेर ठूला मान्छेहरु पनि लोभिन्थे उसँग ।
विस्तारै हाम्रो उमेर बढ्दै गयो । हामी हिलोबाट टाढा हुन थाल्यौ । हामीले धुलोमा खेल्न हुँदैन भन्ने जान्न थाल्यौ । अब हाम्रो खेल किताबका अक्षरहरुसँग कापीका पानाहरुसँग हुन थाल्यो । गौथली पनि स्कूल जान थालि म पनि स्कूल जान थाले । त्यो केटाकेटी उमेरमा कहिले काँही झगडा पनि गथ्र्यौ हामी । तर निता, सुनीता, लक्ष्मी, मुना, हरि, विष्णु र नन्दे जस्तो कुटाकुट कहिले गरेनौ हामीले । हाम्रो झगडा भनेको अलि फरक खालको हुन्थ्यो । आज सम्झदा पनि अनौठो लाग्छ । त्यो क – ख पढ्ने बेलामा पनि हामी नबोलेर, ठुस्सिएर गर्ने झगडाले कहिल्यै विराट रुप लिएन । एक्कैछिन्को बोली बाराबार एक्कैछिनमा पुनः आत्मियतामा परिवर्तन हुन्थ्यो । स्कुलबाट घर फर्कने क्रममा भएको झगडा उसको घरमा पोलेको मकै खाने बेला भन्दा धेरै टिक्क सक्दैनथ्यो । भदौको महिनामा सबैका घरमा प्रायः पोलेका मकै हुन्छन् नै । तर किन हो खै मलाई गौथलीले दिएको मकै जत्तिकै मीठो अरुले दिएको लाग्दैनथ्यो । अनि ऊ पनि मैले दिएको खुबै मीठो मानी खान्थी ।

हुने विरुवाको चिल्लो पात भने झैँ गौथली एक कक्षामा प्रथम भई । उसले दुई वटा कापी र एउटा कलम पुरस्कार पाएको दिन म औधि खुसी भएको थिएँ । म आफू भने दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौसम्म पनि आउन नसकेकोमा पछुतो लागेको थिएन । किनकी हामीसँगै धेरै साथीहरु फेरि एक कक्षामा नै पढ्ने भए । करिब ३० जना जत्ति थियौ होला हामी । तर १९ जना मात्र दुई कक्षामा पढ्न पाउने भएका थियौ । म पनि पास भएको छु । विस्तारै दिन, महिना र वर्षहरु वित्दै जाने क्रममा हामी दशौं कक्षासम्म पुगेका छौ । बाल्यकालमा खेले झैँ खेल्ने भन्दा पनि पढाईकै बारेमा छलफल हुने गर्दछ । विस्तारै गौथली र म दुबैमा उमेरसँगै शारिरीक रुपमा पनि परिवर्तन भएको छ ।
दशौं कक्षामा पढ्ने बेलासम्म पनि गौथली जहिले प्रथम हुने गर्दछे । म भने कहिल्यै पुरस्कार थाप्न पाउने होइन । विद्यालयमा हुने हरेक प्रतियोगीतामा गौथली पनि भाग लिन्छे । प्रायः प्रथम स्थान उसैले सुरक्षित गर्दछे । गुरुहरुले उसले लेखेका अक्षरहरुको निकै तारिफ गर्नुहुन्छ । साँच्चिकै चरी गौथलीले बनाउने हिले माटोको घरमा लगाएको सीप भन्दा मेरी गौथलीले बनाउने अक्षरहरु कम छैनन् । जसरी चरी गौथलीको घर नभत्काएसम्म भत्किदैन त्यसरी नै मेरी गौथलीले बनाएका अक्षरहरु पनि बलिया भएर बसेका छन् कापीका पानाहरुमा । त्यो भन्दा बलियो भएर बसेकी छे गौथली मेरो मनमा ।
एसएलसी परीक्षाको नतिजासँगै गौथली र मेरो बाटो फरक भएको छ । ऊ पढ्ने र म पढ्ने कलेज फरक भएको छ । आजको जस्तै सामाजिक सञ्जालहरु र संचारको विकास भएको भए गौथली र म टाढा हुने थिएनौ होला । तर त्यो समयले हामीलाई टाढा बनाइ छाड्यो । गौथली पढ्नकै निकै ठूलो शहर काठमाडौ जाने भइ म भने अहिलेसम्म पनि ठूलो बन्न नसकेको सुर्खेतमा ।
अब पहिले झैँ छैनौ हामी । फेरिएका छौ । उमेर फेरिएसँगै । चढ्दैछ विस्तारै मस्त जवानी । गौथली साँच्चिकै चरी गौथली जत्तिकै सुन्दर छे । गोरो वर्णको अनुहारमा चढेको जवानीले गौथली प्रति नजर लगाउनेहरुको ताँती छ । आफ्नो सीपको प्रयोग गरि हिले माटोबाट घर बनाउने चरी गौथलीलाई छोप्न खोज्नेहरुको कमी हुँदैन समाजमा । त्यसरी नै मेरी गौथलीलाई पनि छोप्न खोज्नेहरुको कमी छैन यतिबेला । घर विदा परेको समयमा कहिले काँही भेट हुन्छ उसको र मेरो । निकै गफिन्छौ हामी । हिजोको बाल्यकालमा गरेको माया अहिले पनि निकै दरिलो बनेर बसेको छ हाम्रो मन मनमा । तर आजको उमेर अवस्थासँगै गरिने माया भने गर्न सकेका छैनौ हामीले एक अर्कालाई । उसले पनि माया त गर्छे होला । जसरी मैले उसलाई खुलस्त भएर भन्न सकेको छैन त्यसरी नै उसले पनि त भन्न नसकेकी होली । हाम्रो समाज पोथी बासेको राम्रो मान्दैन । यो उसलाई राम्रोसँग थाह छ । सायद त्यसैले ऊ बास्ना चाहेकी छैन कि । केटाकेटी उमेरमै बौद्धिक झगडा गर्ने हामीहरु । आज पनि म भन्न सक्दिन उसलाई, बाल्यकालमा गरिने जस्तै होइन युवावस्थामा गरिने मायाको भोको छु गौथली ।
उसको त्यो रुपको वर्णन गर्न सक्ने क्षमता त राख्दिन म तर उसका सीप र गुणले निकै प्रभावित भएको छु । अक्षरको लेखन होस् या पाठको कण्ठाग्र । गणितका सुत्रहरु हुन या उसले घरमा गर्ने हरेक कामहरु । साथीसँगको व्यवहार होस् या आफन्तको सम्मान । समाजमा हुने सातातिना सभा समारोह हुन या गाउँकै विद्यालयमा हुने सांस्कृतिक कार्यक्रम । विद्यालयमा हुने प्रतियोगीता हुन या असल स्त्रीमा हुनु पर्ने गुण । सामाजिक रुपमा गरिने कार्यहरु हुन या टोल समाजको नेतृत्व । छिमेकमा भएको सुखदुःख होस् या चार्ड पर्वहरु नै किन नहुन । जानेकी छे गौथलीले सबैलाई रिझाउन । सबैको मन मिलाउन । सबैको प्रिय पात्र बन्न अनि सबैले अपनत्वको अनुभव गर्न सक्ने गरि एक आपसमा मिलाउन । सायद बत्तिस लक्षिण त्यसैलाई भन्छन् होला ।
फेरिन्छ समय । विहान पूर्वबाट उदाएको सूर्य पुग्नै पर्छ पश्चिममा । फेरिनै पर्छ ऋतुहरुले । मर्नै पर्छ जन्मेपछि । उम्रनै पर्छ विउ छरिएपछि । यी धुब्रसत्य कुरा हुन । छुट्टिनै पर्छ भेटिएपछि । तर छुट्टिएपछि भेटिने न भेटिने भने निश्चित हुँदैन । कुनै दिन समयले उडायो गौथलीलाई र पु¥यायो धेरै टाढा । उच्च शिक्षा हासिलकै क्रममा गाउँबाट हिडेकी गौथलीसँग भेट नभएको पनि वर्षौ भइसक्यो । सम्झन्छे होला कि मलाई ? मैले त हरपल याद गरिरहेको छु उसलाई । सक्काइ सकी रे उच्च शिक्षा । अनि जोडिसकी रे घरबार पनि । लामो समयको अन्तरालमा माइती भेट्न आएकी गौथलीले भेटी मलाई पनि । अब त ऊ आमा बनिसकेकी रहिछे । सरकारी जागिरे पनि भइसकि छे । गरिछे उन्नती र लम्किछे प्रगतिको पथमा । उस्तै रहेछ उसको रुप । उस्तै रहेछन् उसका सीपहरु । तर फेरिएको रहेनछ मन । गौथली साँच्चिकै गौथली रहिछे । लुरे भन्थी ऊ बाल्यकालमा मलाई । बाल्यकालमा जस्तै ‘लुरे म अझ पनि तिमीलाई त्यत्तिकै माया गर्छु जत्ति त्यो समयमा गर्थे ।’ उसका यी शब्दहरुले आजपनि फुरुङ्ग भएको छ, मेरो मन ।






