अझैँ प्रभावकारी छैन ‘बजार अनुगमन’
सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका बसन्त अधिकारी सुर्खेत आएको केही दिनमै मोर्निङ्ग वाकमा निस्किए । उनले ब्रेकफास्टको रुपमा खानका लागि एउटा पसलमा गएर विस्कुट किने । तर उनले किनेको विस्कुट म्याद सकिएको थियो । त्यसपछि उनी झस्किए र उनको पहिलो प्राथमिकतामा प¥यो बजार अनुगमन । मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा सरोकार गर्ने खाद्यवस्तु गुणस्तरहिन भएपछि उनलाई लाग्यो कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा खाद्यवस्तुको निगरानी नै हुँदैन क्यारे । त्यसपछि बजार अनुगमनको कार्य तिब्र गतिमा अगाडि बढ्यो । प्रमुख जिल्ला अधिकारीलाई त यसरी म्याद सकिएको वस्तुहरु बिक्री गरिन्छ भने सर्वसाधारणहरुको हालत के होला ? यो त उदाहरण मात्र हो ।
दशैं अगाडि र दशैं पछि पनि बजार अनुगमनले तिब्रता पाएको छ । मापदण्ड विपरित संचालन भएका र गुणस्तरहिन वस्तुहरुको बिक्री वितरण गर्ने पसलहरुमा पहिले पहिले चेतावनी दिएर छोड्ने गरेको गएपनि अहिले शिलबन्दी गर्ने र उनीहरुलाई मापदण्ड पूरा गर्न लगाउने गरिएको छ । खाद्यवस्तुको उत्पादन तथा बिक्री वितरणमा गरिने अनुगमनले यतिबेला म्याद सकिएका वस्तु बेच्नेहरु केही मात्रामा भएपनि सुधारिने तरखर गरिरहेको भान हुन्छ ।
बजार अनुगमन गर्ने क्रममा गुणस्तरहिन वस्तुहरुको बेचबिखन गर्नेहरुलाई जसरी कारवाही गरिँदैछ त्यसरी काँचो कपडा र तयारी पोशाकका पसलहरुमा भने अनुगमनले छुन समेत सकेको छैन । कुन सामान कति मूल्यमा आएको हो र कतिसम्म मुनाफा गर्न मिल्छ भन्ने हेक्का समेत नराखी उपभोक्ताहरुसँग मनलाग्दी रुपमा मुनाफा असुल्नेहरुलाई पनि सरोकारवाला निकायले अनुगमन गर्न आवश्यक छ भन्छन् वीरेन्द्रनगर ६ का दलबहादुर राना । उनी भन्छन्, ‘अनुगमन पनि कसैले लिखित वा मौखिक उजुरी गरेमा वा सामाजिक सञ्जालमा लेखेमा मात्र गर्ने हो भने त्यो प्रभावकारी हुन सक्दैन ।’ चाहे भाँडा पसल हुन् चाहे होटेल वा रेष्टुरेण्ट नै किन नहुन । चाहे खुद्रा पसल हुन वा खाद्यन्न पसल सबैतिर अनुगमन गर्न आवश्यक भएको रानाको भनाई छ ।
सरकारी कार्यालय छड्के अनुगमन : अधिकांश कर्मचारी अनुपस्थित
जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार सुर्खेतस्थित सरकारी कार्यालयहरुमा छड्के अनुगमन गरेको छ । १४ वटा सरकारी कार्यालयमा अनुगमन गर्दा १० वटा कार्यालयका अधिकांश कर्मचारी अनुपस्थित भएको पाइएको छ ।

अनुगमनको क्रममा नेपाल टेलिकम, जल तथा मौसम कार्यालय, यातायात व्यवस्था कार्यालय र कर्मचारी सञ्चय कोष कार्यालयमा भने सबै कर्मचारीहरु उपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए ।
चौध वटा कार्यालयमा अनुगमन भएकोमा भू–कम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख दिपक बस्नेत यही असोज २३ गतेदेखि २८ गतेसम्म अनुपस्थित रहेको पाइएको जनाइएको छ । असोज २५ र २६ गते भने बिदा परेको थियो । यसै गरि अनुगमन भएको दिन मंगलबार उक्त कार्यालयमा कार्यालय प्रमुख सहित ५ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।


नापी कार्यालयमा ७ जना, श्रम तथा रोजगार कार्यालयमा २ जना, पूर्वाधार विकास कार्यालय कर्णाली प्रदेशमा ४ जना, संघीय योजना कार्यान्वय इकाई कार्यालय सुर्खेतमा १२ जना, जनस्वास्थ्य सेवा कार्यालय कर्णाली प्रदेशमा १० जना, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कर्णाली प्रदेशमा ६ जना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कर्णाली प्रदेशमा ४ जना, डिभिजन वन कार्यालय कर्णाली प्रदेशमा ६ जना र मालपोत कार्यालयमा ३ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जनाइएको छ ।
उपस्थित भएपनि जनस्वास्थ्य सेवा कार्यालयका सविता अधिकारी, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका विर बहादुर डाँगी, श्रम तथा रोजगार कार्यालयका यामबहादुर मस्र्याङ्गी, पूर्वाधार विकास कार्यालयका पारस डाँगी, प्रेम चन्द्र पाण्डे र हरि शर्मा रिजालले पोशाक नलगाएको पाइएको छ ।
चाट र पानीपुरी खान युवा समूहको लर्को : चाटमा मिसाइने अखाद्य तत्वले बनाउन सक्छ क्यान्सर
वीरेन्द्रनगर बजारको घण्टाघर नजिकैको सडकको अवस्था निकै दयनीय छ । त्यही सडकमा गाडि गुड्दा होस् वा हावा चल्दा होस् नाक थुनेर अप्ठ्यारोसँग सास फेर्दै हिड्नु पर्ने अवस्था छ । तर त्यही सडकको छेउमा भने ट्याँङ ट्याँङ आवाज निकालेर चाट र पानीपुरी खानाका युवाहरुको लर्को लाग्ने गर्दछ । दिनभर उडिरहेको धुँलोले प्रत्यक्ष रुपमा असर गरिरहेको देखेर समेत वास्ता नगर्नेहरु भने मुख मिठ्याउँदै अमिलो र पिरो मिसाइएको पानीपुरी र चाट खाइरहेका हुन्छन् ।

झट्ट हेर्दा ताजा जस्तै देखिएपनि विभिन्न अखाद्य रंगहरुको मिसावट समेत भएको उक्त चाट र पानीपुरीले मानव स्वास्थ्यमा तत्काल असर नगरेपनि दीर्घकालिन रुपमा क्यान्सर जस्ता प्राणघातक रोगहरु समेत लाग्न सक्ने चिकित्सकहरु बताउँछन् । बजार अनुगमन गर्ने र गुणस्तरको मापन गर्नेहरुको नजर भने त्यतातर्फ पर्न सकेको छैन ।
उपभोक्ताको रुचिमा परेका वस्तुहरुको उत्पादन र बिक्री वितरण हुनु स्वभाविक हो । तर त्यसलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्नु उत्पादक र बिक्रेताको दायित्व र कर्तव्य दुबै हुनु पर्दछ । चाट र पानीपुरी बेच्नेहरुका लागि निश्चित स्थान बनाएर वा अन्य चिया पसल तथा होटेलहरु जस्तै कोठाहरु सुरक्षित तरिकाले व्यवस्थापन गर्न आवश्यक छ । अन्यथा पछिल्लो समयमा फैलिँदै गएको नसर्ने रोगको कारक तत्व चाट र पानीपुरी पनि हुनसक्छ ।
स्वास्थ्यका लागि हानीकारक ‘सेकुवा’
नेपालका हरेकजसो शहरमा कोइलामा पोलेको मासु (सेकुवा) बेचिएको पाइन्छ । होटलहरूको बाहिर नै खुला ठाउँमा मगमग बासना आउने गरी पोलिएका यस्ता सेकुवा खान मासु पारखीहरूको भीड लागेको देखिन्छ । यद्यपि यसरी तयार पारिएको मासुको सेवनले धेरै किसिमका सरुवा रोगदेखि प्राणघातक रोग क्यान्सरसम्म लाग्ने सम्भावना भएको चिकित्सकहरू दाबी गर्छन् ।

कोइलामा पोलिएको मासुमा हुने रियाक्सनबाट उत्पन्न हुने तत्वले पाचन प्रक्रिया सम्बन्धी क्यान्सरको जोखिम बढाउने कुरा बताउँछन् वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. राजेन्द्र बराल । ‘आगोले डढाएको मासुमा क्यान्सर लगाउने तत्वहरू हुन्छन् ।’ बराल भन्छन् ‘ स्वास्थ्यका लागि यस्तो मासु नखानु नै बेस हुन्छ, यदि सकिँदैन भने सेतो (कुखुरा वा माछा) को सेकुवा खान सकिन्छ । रातो मासु (चौपायाको) नै खाने भए उसिनेर मात्र खानु उपयुक्त हुन्छ ।’
त्यसो त यसरी पोलिने मासुको गुणस्तर पनि विश्वसनीय हुँदैन । राम्रोसँग नपाकेको मासु सेवन गर्दा फुड प्वाइजनदेखि लिएर कतिपय सरुवा रोगको शिकार हुनुपर्ने चिकित्सकहरु बताउँदै आएका छन् । ‘नपाकेको मासु शरीरले पचाउन गाह्रो हुन्छ र फुड प्वाइजनको सम्भावना हुन्छ ।’ हामीले खाने मासु राम्रोसँग नपाक्दा पशुमा भएका रोगका किटाणु मानिसको शरीरमा सोझै सर्न सक्छन् । पोलेको मासुमा धूवाँ पनि हुने हँुदा त्यसले शरीरका भित्री अंगमा असर गर्ने सम्भावना पनि त्यति नै हुने चिकित्सकहरुको भनाई छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि सेकुवाको लत नै लागेका मान्छेहरुको संख्या अत्याधिक छ । विशेष गरि साँझको खाजाको रुपमा यसलाई प्रयोग गर्नेहरुले नाम चलेका रेष्टुरेष्टहरुमा बस्ने ठाउँको समेत अभाव हुने गर्दछ । एउटै होटेलमा ४० देखि ८० केजीसम्म खसीको मासुलाई सेकुवाको रुपमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । यसले मानव स्वास्थ्यमा के कस्तो असर गर्छ भन्ने बारेमा कतिपयलाई त जानकारी नै छैन ।






