Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

औलझ्यामामा बनेन पुल, १७ जनाको ज्यान गयो

सुर्खेत ।
सुर्खेतको औलझ्यामा र सल्यानको रुइना जोड्ने पुल अहिलेसम्म पनि बन्न सकेको छैन । सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ र सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नं. २ को संगमस्थलमा अझैँ पनि पुल बन्न नसकेको हो । यी दुइ जिल्लालाई जोड्ने उक्त पुल बन्न नसकेका कारण अहिले पनि भेरी नदीमा वारपार गर्दा प्रायः वर्षेनी मान्छले ज्यान गुमाइरहेका छन् ।


देशमा संघीयता आइसकेपछि तीन तहका सरकार बने । स्थानीय सरकारले पहल गर्दा र प्रदेश सरकार तथा संघीय सरकारले पुल बनाइदेला भन्ने आशा गरेका औलझ्यामाका बासिन्दाहरु अहिलेपनि आशाको त्यान्द्रो मनमा राखेर बसेका छन् । भेरी नदी वारपार गर्न निकै समस्या भएको मात्र होइन मान्छेको ज्यानै जाने गरेको घटनाप्रति समेत जनप्रतिनिधिहरुको ध्यान जान सकेको छैन ।

स्थानीय सरकारसँग पुल निर्माणका लागि पटक–पटक माग गर्दा स्थानीय तहमा बजेट अभाव भएको देखाइन्छ । स्थानीय जनप्रतिनिधिहरुले पहल गरेर औलझ्यामा र रुइना जोड्ने पुल निर्माण होला भन्ने धेरैलाई विश्वास नै लाग्न छाडिसकेको छ । यता कर्णाली प्रदेशका सांसद ठम्मर बहादुर विष्टले गुनासो नै नसुनेको स्थानीयवासी डण्डे बुढाले बताए । उनी भन्छन्, ‘निर्वाचनको बेलामा पुल बनाउँछौं भनेर भाषण गर्नेहरुले अहिले जनताका पीर मर्काको वास्ता गरेका छैनन् ।’


चुनावको समयमा यहाँका बासिन्दाहरुले जोडतोडले उठाएको उक्त पुलको माग अझँै पूरा नभएको सारै चित्त दुखेको छ सिम्ता ३ का मान बहादुर महताराको पनि । ‘हिजो भोट माग्ने बेलामा खुट्टा ढोगेको बिर्सेका छैनौ फेरि पनि निर्वाचन आउँला नि भन्छन्, महतारा ।

सिम्ता र वनगाड कुपिण्डेलाई जोड्नका लागि औलझ्यामा पुल बनाउन सकेको खण्डमा स्थानीयहरुलाई मात्र होइन आन्तरिक र बाह्य पर्यटक लगायत व्यापारीहरुको लागि समेत सहज हुने वनगाड कुपिण्डे २ का वासिन्दा शंकर बुढाको भनाई छ ।


हिउँदको समयमा आनन्दले बस्ने र असार लाग्न थाले विकासका लागि तातिन थाल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने र डाँडाहरुमा डोजर लगाएर विकास देखाउने गरेका कारण पनि जनताले आवश्यकता अनुसार विकासको अनुभूति गर्न सकेका छैनन् ।

कर्णाली प्रदेश सरकारले एकातिर अर्गानिक प्रदेशको विकासका लागि भन्दै कृषिमा क्रान्ति गर्ने नारा लगाएको छ तर उत्पादित तरकारीको बजार व्यवस्थापनमा भने ध्यान दिन सकेको छैन । वनगाड कुपिण्डे नगरपालिका रुइनामा उत्पादन भएको तरकारी बजार नपाएर कुहिने गरेको छ । सिम्ता हुँदै सुर्खेतको वीरेन्द्रनगर पु¥याउनका लागि औलझ्यामामा पुल छैन । मान्छे त पौडी र चिण्डा (एक प्रकारको खोला तर्न प्रयोग गरिने स्थानीय साधन) को भरमा तर्नु पर्छ कसरी तरकारी ल्याउनु भन्छन् कृषक शसे राना ।


सिम्ता ३ औलझ्यामाका चित्रबहादुर बुढाका अनुसार करिब २० वर्षको समयमा उक्त स्थानमा भेरी नदी वारपार गर्ने क्रममा डुबेर १७ जनाले ज्यान गुमाइसकेका छन् । एकातिर सरकारले तुइन विस्तापितको नीति लिएपनि अहिलेसम्म उक्त स्थानमा डुङ्गाबाटै ओहोरदोहोर गर्नु पर्ने बाध्यता हटेको छैन ।

ज्यानै जोखिममा राखेर यात्रा गर्नु पर्दा भेरीमा डुबेर मरिन्छ वा सकुशल घर पुगिन्छ टुङ्गो नहुने सिम्ता ३ का समर महताराले बताए । उनले भने, ‘जनप्रतिनिधिहरुले निर्वाचनको समयमा पुल बनाउने नारा नै बताए तर निर्वाचन जितेपछि अहिले कसैले वास्तै गरेनन् ।’ जिल्ला फरक भएपनि कतिपयको दोहोरो बस्ती र इष्टमित्रेलो भएकोले पनि औलझ्यामाबाट रुइना जानै पर्ने बाध्यता छ भने रुइनाबाट पनि औलझ्यामा आउनै पर्ने बाध्यता छ ।

मुलागल्पामा पुल बनेको भएपनि ‘पारीभीर’ को अप्ठ्यारो बाटो भएकोले अझ जोखिमपूर्ण रहेको छ । अर्को बाटो गएर पुलबाट ओहोरदोहोर गर्नका लागि ‘कोलाभीर’ को बाटो भएर जाने हो भने भारी बोकेर हिड्न सक्ने अवस्था छैन । त्यहाँको बाटोको स्तर उन्नती गरिदिएको भएपनि केही सहजता मिल्ने स्थानीयको भनाई छ ।

स्थानीय तहमै सरकार बनेपछि विकास निर्माण कार्यमा केही सहज होला भन्ने आशा गरिरहेका सिम्ताबासीले गाउँपालिकालाई नगुहारेका होइनन् तर दुई जिल्लाको जमिनको कारण देखाइ उनीहरुले पुल निर्माण गर्ने तर्फ ध्यान दिन नसकेको बताउँछन्, टिगे राना । उक्त स्थानमा भेरी वारपार गर्ने क्रममा सिम्ता ३ का बुदे महतारालाई भेरीले बगाएर ढुङ्गामा ठोकिदियो । उनी घाइते भए । यो त उदाहरण मात्र हो वर्षाको समयमा डुङ्गामा भेरी वारपार गर्न नसकिने भएकोले चिण्डाको प्रयोग गर्नु पर्ने बाध्यता छ ।