दूरबिनबाट देखिएको ‘दूरबिन’ को तस्विर
‘साहित्य’ भन्यो भने कति जनाको मन मष्तिष्क र अनुहारको भित्तामा चम्किलो आभा देखिन्छ होला ? अझ यसो भनौ न साहित्य भन्यो भने कति जना मान्छे मनै देखि आनन्दित हुन्छन् होला ? साहित्य अलि धेरै मान्छेलाई रुखो लाग्ने क्षेत्र हो जस्तो पो लाग्छ त मलाई त । साहित्यको बारेमा व्यक्ति पिच्छे फरक दृष्टिकोणहरु देखिन्छन् । साहित्यलाई कत्ति पनि नबुझने, नजान्ने, जान्न नचाहनेहरु र नजानेका कारण मन नपराउनेहरुले बिना अर्थको व्यर्थ पेशा भनिदिन सक्छन् र साहित्यिक स्रष्टाहरुलाई बेकामे या गन्थने या त पागलै पनि भनिदिन सक्छन् । अलिअलि साहित्य बुझेका व्यक्तिहरुले आफ्नै खालको अर्धज्ञानी परिभाषा प्रस्तुत गरी साहित्यको समिक्षा, बिरोध र खेमा निर्माणको अभियानमा लागेर वातावरण धमिल्याउने काम गर्छन् र विशिष्ट साहित्यकार भइ टोपलिन्छन् । यो विभिन्न उदाहरणहरुबाट पुष्टि हुन्छ ।

जसले साहित्यलाई खास तरिकाले बुझेका हुन्छन् । उनीहरु साहित्यको कुरा कम गर्छन् । अनावश्यक परिभाषा दिएर समय नष्ट गर्दैनन् र अहमताको मन्त्रिमण्डल निर्माण गर्दैनन् । मै हुँ भन्ने भावको त झिल्कासम्म पनि निस्कन दिँदैनन् । उनीहरुले त काम गरेर देखाउँछन्, सिर्जना गरेर देखाउँछन् र आफ्नो प्रतिभाले मानिसलाई कायल पार्छन् । उनीहरुले आफूलाई चिनाउन विज्ञापन चाँहदैनन् सस्तो वाहवाही चाँहदैनन् उनीहरुले त सिर्जना शक्तिले संसार जितिदिन सक्छ । उनीहरु साहित्यलाई समाजको दर्पण मात्र भन्दैनन् सिङ्गो समाज नै भनिदिन्छन् ।
नेपाली साहित्यका विभिन्न कालखण्डमा विभिन्न खालका साहित्यिक उतारचढावहरु आए, भएका पाइन्छन् । त्यस्तै सुर्खेती साहित्य इतिहासलाई हेर्ने हो भने पनि विभिन्न खालका साहित्यिक गतिविधिहरु लामो समयदेखि चलिआएको देखिन्छ । विभिन्न साहित्यिक संस्थाहरु खोलिएका छन्, चलेका छन् र साहित्यिक पत्रिकाहरु प्रकाशित भएका छन् । सुर्खेतको पहिलो साहित्यिक पत्रिका ‘जूनकिरी’ प्रकाशन भए यता विभिन्न साहित्यिक संघसंस्थाहरु स्थापना भए र ती संस्थाहरुले विभिन्न खालका साहित्यिक पत्रिकाहरु पनि प्रकाशन गरे । थुप्रै साहित्यिक पत्रिकाहरु प्रकाशन भएका पाइन्छन् । जुनकिरी, जुनेली, रातो थुँगा, गजल बाटिका, सिम्ताली शुशेली, सुर्खेती सुनाखरी, भेरी प्रवाह, वाङ्मय चौतारी, सिम्ताली सन्देश, दूरबिन लगायतक थुप्रै पत्रिका प्रकाशन भएका पाइन्छन् ।
यो लेख तयार पार्दासम्म प्रकाशित पत्रिकाहरुमा सबै भन्दा कान्छो पत्रिकाको नाम हो ‘दूरबिन’ । देश संघियतामा प्रवेश गरेसँगै सुर्खेत कर्णाली प्रदेशको राजधानीका रुपमा स्थापित भयो । सुर्खेतले नयाँ शैलीले आफ्ना सम्पूर्ण गतिविधिहरुलाई क्रमिक रुपमा विकासशील बनाउँदै लैजान थाल्यो । विभिन्न विकासका पूर्वाधारहरुका साथ साथै साहित्यिक गतिविधिहरुमा पनि केही थप विकास भएर गयो । प्रदेश नं. ६को नाम कर्णाली प्रदेश बनेसँगै यस क्षेत्रमा कर्णाली नामबाट केही साहित्यिक संस्थाहरुको जन्म भयो । जस्तो की कर्णाली वाङ्मय प्रतिष्ठान, कर्णाली कला साहित्य प्रतिष्ठान, कर्णाली साहित्य समाज, कर्णाली कला समाज लगायतका साहित्यिक संस्थाहरु स्थापना भए । यी सबै संस्थाहरुले आआफ्नै लक्ष्य उद्देश्य राखेर कामहरु गर्न थाले । सुर्खेतका विभिन्न क्षेत्रका साथै पूर्वी क्षेत्रमा साहित्यिक गतिविधि पहिले देखिनै सक्रिय देखिन्छ । खास गरी सिम्ता क्षेत्रमा सिम्ताली एकता समाज नामक संस्थाले आफ्ना अनेकौ उद्देश्यमा साहित्यिक उद्देश्यलाई पनि उच्च महत्वमा राखेर काम गरेको पाइन्छ । यो लगायत अन्य संस्थाहरुले पनि विभिन्न समयमा काम गरेको देखिन्छ । सिम्ताली एकता समाजले आफ्नो प्रकाशन ‘सिम्ताली सन्देश’का थुप्रै शृङ्खलाहरु प्रकाशन गर्नु र त्यसमा स्तरीय रचनाहरु समावेश हुनुले समाजको आफ्नो परिपक्क गतिविधि घनिभूत रुपले अगाडि बढेको बुझ्न गाह्रो पर्दैन । त्यस्तै सिम्ताली शुशेली पत्रिकाको समूहले पनि थुप्रै प्रकाशनहरुबाट राम्रो प्रभाव पारेको देखिन्छ ।
यी संस्थाहरु लगायत अरु अन्य संस्थाहरु पनि विभिन्न समयमा स्थापनन भइ सुर्खेतको पूर्वी क्षेत्र खास गरी सिम्ता दरामा क्रियाशील भएको देखिन्छ । यसो त सिम्ता क्षेत्र लोकवार्तामा समृद्ध क्षेत्र पनि हो । सिम्ता दरामा विभिन्न साहित्यिक गतिविधिहरु सञ्चालित भइरहेको बेला सुर्खेतको गर्भाकोटमा साहित्यिक गतिविधिको कमी महसुस गरी सुर्खेतको एक ऐतिहासिक ठाउँ गुर्भाकोटमा सीता यरी लगायतको युवाहरुको समूहले एउटा साहित्यिक संस्थाको स्थापना ग¥यो । ‘कर्णाली वाङ्मय प्रतिष्ठान’ नाम राखेर स्थापना गरिएको संस्थाले स्थापना सँगै राम्रो कामको थालनी गरेको देखिन्छ । सीता यरीको अध्यक्षतामा स्थापना भएको संस्थाको उपाध्यक्षमा रामहर्ष वली, महासचिवमा भिम बहादुर डी.सी., सचिवमा रामबहादुर खड्का, कोषाध्यक्षमा दीपक खड्का, सदस्यहरुमा सुमन खत्री, देवेन्द्र वली, दुर्गा कुमारी डाँगी र मोहविर विष्ट गरी नौ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ । यही कार्यसमितिले एउटा निकै स्तरीय साहित्यिक पत्रिका ‘दूरबिन’को प्रकाशन गरेको छ ।
सीता यरीको प्रधान सम्पादकत्वमा प्रकाशित दूरबिनको सम्पादक भिमबहादुर डी.सी. रहेका छन् । विक्रम शिशिरको निकै आकर्षक अर्धमूर्त आवरण रहेको यो पत्रिका कर्णाली साहित्य प्रतिष्ठानको पहिलो पत्रिकाको पहिलो अङ्क हो । यो पत्रिकालाई अध्ययन प्रयत्न गर्दा निकै आनन्दानुभूति हुन्छ । किनभने यस पत्रिकामा देशभरिका निकै राम्रा साहित्यिक रचनाहरु प्रकाशित छन् । नेपाली वाङ्मयका थुप्रै विधाहरु मध्ये धेरै विधाहरु यसमा समावेस गरिएको पाइन्छ । यस भित्रका गजल, कविता, मुक्तक, हाइकू, गेडी, कथा, गीत, बालगीत, लोकगीत, निबन्ध, संस्मरण, नियात्रा, लेख, समिक्षा आदि विधाका रचनाहरुले यस पत्रिकाको गरिमा बढाएका छन् ।
नेपालका विभिन्न ठाउँका १३ जना कविका कविताहरुले कविताको तिर्सना सजिलै मेटाइ दिन्छन् । पछिल्लो समय नेपाली साहित्यको एक जल्दोबल्दो विधाका रुपमा गजल देखा परिरहेको छ र स्थापित भएको छ । यस समयका निकै मिठा गजल लेख्ने १७ जना गजलकारका गजलहरुले अहिलेको समग्र परिवेशलाई जुरुक्के बोकेका छन् । नियात्राहरु पढ्दा लाग्छ कि हामी पनि लेखकसँग घुमिरहेका छौँ, यात्रा गरिरहेका छौँ । नेपाली साहित्यमा लेखिने छोटा विधाका रचनाहरु मुक्तक, हाइकू, गेडीहरुले पनि समाजका कुरा बोल्न बिर्सिएका छैनन् । निबन्धहरुले पनि आनन्दित बनाउँछन् । कथा, लेखहरुले विषयवस्तुमा चुर्लुम्मै डुबाएर बाहिर निकाल्छन् र साहित्यिक रस्वादनको राम्रो अवसर प्रदान गर्दछन् । विभिन्न उमेर समूहका स्रष्टाहरुको सहभागिता रहेको यस पत्रिकामा स्रष्टाहरुका आफ्नै खालका साहित्यिक चेतहरु अभिव्यक्त भएका छन् ।
कृतिमा वा साहित्यिक पत्रिकामा के छ, कस्तो छ भन्ने कुरा थाहा पाउन त पूर्णतः त्यसको अध्ययन गर्नु जरुरी हुन्छ तर पनि सार संक्षेपमा यसलाई हेर्ने चेष्टा गरिएको छ । मोफसलबाट निस्कने साहित्यिक पत्रिकाहरुले स्तरीयता प्रदर्शन गर्न सक्दैनन् भन्ने भनाइ गलत भएको सावित गर्न यो पत्रिका अगाडि बढ्न खोजेको जस्तो देखिन्छ । यस्तो भनाइलाई यसले तोडेको देखिन्छ । कागजको स्तर, रचनाको स्तर र सम्पादकहरुको कडा परिश्रमलाई हेर्दा यो एक स्तरीय पत्रिका हो भन्नका लागि कुनै भूमिका बाँधी रहन जरुरी छैन ।
गुर्भाकोटमा अवस्थित एक अग्लो डाँडा दूरबिन डाँडाको नामबाट यस पत्रिकाको नाम राखिएको बुझिन्छ । जुन डाँडाबाट थुप्रै सुन्दर ठाउँहरुको अवलोकन गर्न सकिन्छ । यो डाँडाबाट थुप्रै ठाउँ हेरेजस्तै यो पत्रिकाले पनि थुप्रै साहित्यिक स्रष्टा र गतितिधिहरुलाई देख्न सक्नु पर्छ भन्नेमा जोड दिन सकिन्छ । यसो त यस पत्रिकाकी प्रधान सम्पादक सीता यरीले आफ्नो सम्पादकीयमा लेखेकी छन् “हामीबाट साहित्यिक स्रष्टाहरु कहिल्यै हराउने छैनन्, कहिल्यै लुक्ने छैनन् र कहिल्यै भाग्ने छैनन् किनकी दूरबिनले हराएकालाई खोज्ने छ, लुकेकालाई भेटाउने छ र भागेकालाई नजिक ल्याउने छ । दूरबिनले दूरी छोटो बनाउँछ ।” यो भनाइबाट पनि दूरबिनको काम, लक्ष्य र उद्देश्य स्पष्ट हुन जान्छ ।
‘दूरबिन’ एक दूरबिन भएर आएको छ । सबै साहित्यिक दृश्यावलीहरुलाई आफूभित्र कैद गर्ने अभिष्ट लिएर अघि बढेको यो पत्रिकाले आफ्नो गतिलो उचाइ चुम्ने कुरामा विमत्ति छैन । यसले यस्तै सकोस् सदिक्षा छ । पत्रिकाहरु प्रकाशन गर्नु ठुलो कुरा होइन, यसलाई निरन्तरता दिनु ठुलो कुरा हो । यो कालान्तरसम्म पुस्तौँ पुस्तासम्म निरन्तर यात्रामा रहिरहोस् शुभकामना छ । यसको आयु कति छ त्यो भविष्यले बताउला तर यसले र यस्ता कामहरुले निरन्तरता पाउनु पर्छ भन्नेमा जोड दिनु पर्छ । अन्तमा यो पत्रिकामा केही शुद्धाशद्धीका कमजोरीहरु देखिन्छन् । त्यो बाहेक अन्य कुरामा मैले खोट लाउने आँट गरिन । धन्यवाद ! नमस्कार ! जय साहित्य !
ओखती मासिकबाट







