Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

पूर्वाधार विनाको भ्रमण वर्ष

कुनैपनि कार्य गर्नु पूर्व त्यसका लागि आवश्यक पर्ने विभिन्न पक्षहरुको योजना बनाउनु पर्छ । योजना बनाई तयार पारिएको कार्य त्यति सफल हुन सक्दैन । एउटा सर्वसाधारणले घरमा पूजा गर्नुछ वा छोरा छोरीको विहे गर्नुछ भने पनि योजना बनाउने गर्दछन् । के कति पैसा कहाँबाट जोहो गर्ने, क–कसलाई अतिथिको रुपमा निमन्त्रणा गर्ने र के कस्ता परिकारहरु खान दिने ? अनि मात्र उक्त योजना अनुसार अगाडि बढेको खण्डमा त्यो विहेबारीको कार्यक्रम सफल हुन्छ । तर हामी नेपालीहरु अझ भनांै नेपाल सरकार खासै योजना बनाउनु भन्दा पनि हचुवाको भरमा कार्यक्रमको घोषणा गर्ने र त्यसलाई कार्यान्वयनमा खासै महत्व नदिने भएका कारण पनि हाम्रो देशका ठूला योजनाहरु पनि असफल हुने गरेका छन् ।

खगेन्द्र अधिकारी ‘अमृत’

बंगलादेश भन्दा पहिले, भारत भन्दा पहिले विजुली उत्पादन गरेको हाम्रो देश विजुलीमा समेत आत्मनिर्भर बन्न नसक्नुले यसलाई पुष्टि गर्दछ । प्रकृतिले नै नदिएको कुरामा त कसैको पनि केही लाग्दैन तर प्रकृतिले दिएको बरदानलाई पनि उपयोग गर्न सक्ने सामथ्र्य नभएका कारण नेपाल पछि परेको हो । १० वर्षे जनयुद्धलाई दोष दिएर नेपालको भौतिक विकास पछि परेको कुरालाई कति दिनसम्म गीत गाएर बस्ने भन्ने कुराले महत्व राख्दछ । राजनीतिक रुपमा हावी हुनका लागि पनि १० वर्षे जनयुद्धलाई दोष दिँदै गर्दा हामी अझ कति पछि पर्छौ भन्ने कुराको आंकलन गर्ने बेला आएन र अब ।

नेपाल पर्यटकीय दृष्टिकोणले विश्वमै अग्रस्थानमा रहेको छ । यहाँ मान्छेले निर्माण गरेका कृतिम पर्यटकीय स्थल भन्दा प्रकृतिले उपहार स्वरुप प्रदान गरेको प्राकृतिक पर्यटकीय स्थलहरु अत्याधिक मात्रामा छन् । तर एउटा चलाख बटुवाले ढुङ्गाको खिचडी पकाए झैँ हामीसँगै भएका र प्रकृतिले बनाइदिएका पर्यटकीय स्थलहरुको उपयोग गर्न सक्ने सामथ्र्य भने छैन । एकातिर पर्यटकीय सम्भावनाले भरिपूर्ण भनेर भाषण गर्ने तर त्यही पर्यटकीय स्थलमा पुग्नका लागि सहजताको निर्माण गर्न नसक्ने सरकारका कारण हामीले पर्यटनका क्षेत्रमा सफलता हात पार्न नसकेको यथार्थतालाई सरकारमा बस्नेहरुदेखि नीति निर्र्माताहरुले स्वीकार गर्नै पर्छ ।

नेपाल सरकारले मनाउन थालेको भ्रमण वर्ष आउन अब केही दिन मात्र बाँकी छ । कर्णाली प्रदेश सरकारले पनि यस अवधिमा १ लाख भन्दा बढि पर्यटकहरु भित्र्याउने कुरा गर्दै आएको छ । तर त्यसका लागि भौतिक पूर्वाधार तयार गरेको खै ?

कर्णाली प्रदेश सरकारको पर्यटन मन्त्रालयले प्रदेश भित्रका पर्यटकीय स्थलहरुको सूचि बनाएको छ । घुम्नै पर्ने पर्यटकीय स्थलको सूचीमा परेका स्थानहरुमा पुग्नका लागि मोटरबाटो त के पैदल यात्रीहरुका लागि पनि सहज छैन । सूचीमा परेका स्थानहरुको बारेमा सोध्ने हो भने विदेशी पर्यटकका त के कुरा स्थानीय जनताले समेत तिनीहरुको नाम र भौगोलिक अवस्थितिका बारेमा बताउन सक्दैनन् । यसको मतलव ती स्थानहरुको बारेमा खासै प्रचार प्रसार नै छैन । अनि कसरी पर्यटकहरु आउँछन् ?

केवल कागजमा लेखेर मन्त्रालयमा राख्दैमा पर्यटकहरुलाई फु मन्तर जस्तै जानकारी हुन्छ र पर्यटकहरु आउँछन् भन्नु योजनाविहिन कार्य गर्नु जस्तै हो । नेपाली भाषाको उद्गमस्थल जुम्लाको शिंजा र नेपाली भाषाको पहिलो शिलालेख भएका दुल्लुका बारेमा मात्रै जानकारी दिन सक्ने हो भने पनि आन्तरिक पर्यटकहरु त्यहाँ पुग्न सजिलो हुने थियो । अहिलेसम्म नेपाली भाषाको उद्गमस्थलको बारेमा जानकारी नै नपाउने को होला र ? यस्ता प्रश्न पनि उब्जिन सक्ला । तर केवल नेपाली भाषाको उद्गमस्थल भनेर गीत गाएर मात्र पुग्दैन । नेपाली भाषाको उद्गमस्थलसँगै यहाँको रहनसहन, भेषभूषा, यहाँका चाल चलन, यहाँको खानपानका बारेमा यहाँको संस्कृतिका बारेमा समेत जानकारी दिनु जरुरी छ ।

सांस्कृतिको राजधानीको रुपमा रहेको दैलेखको दुल्लुमा रहेको शिलालेख त इतिहासमै लखिएको छ भन्ने कुरा पनि उठ्ला । तर त्यही दुल्लुमा रहेका किर्तिखम्बका बारेमा जानकारी दिन आवश्यक छ । श्रीस्थान, पादुका, धुलेश्वर, कोटिला र नाभिस्थानका बारेमा जानकारी दिन आवश्यक छ । पानी माथि आगो बल्ने कुरालाई व्यापकता बनाउने हो भने त्यहाँ पुग्ने पर्यटकहरु धार्मिक आस्थाको धरोहर महावैमा पुग्न सक्छन् । महावैमा पुगेको पर्यटकहरु एक साँझ बास बस्नै पर्ने अवस्था छ । किनकी भौगोलिक कारणले पनि उनीहरुलाई मनमोहक बनाउने गर्छ । अनि मात्र पर्यटकहरुले व्यापार गर्छन् । त्यसका लागि स्थानीय उत्पादनलाई पनि सँगसँगै लैजानु पर्ने हो । उनीहरुले स्थानीय उत्पादनको खरिद गरे भने नै स्थानीय व्यापारमा प्रवद्र्धन हुने हो । तर स्थानीय स्तरमा कुनै पनि उत्पादन नभएपछि केवल खाना खाएर र बास बसेर मात्र पर्यटकबाट हामील कसरी आम्दानी गर्ने भन्ने कुरालाई पूर्वाधार तर्फ जोडेर कर्णाली प्रदेश सरकारले हे¥यो कि हेरेन ?

धर्तिको अप्सराको रुपमा रहेको रारा ताल कर्णालीमा छ । रमणीय पचाल झरना हेर्नका लागि कसको मन लोभिदैन होला र । रंग बदल्ने तालको रुपमा परिचित कुपिण्डे दह सल्यानमा छ । तर पनि त्यहाँसम्म पुग्नका लागि मोटरबाटोको सहजता कति छ भन्ने कुरालाई कर्णाली प्रदेश सरकारले अनुगमन नै गरेको छैन भने त्यहाँ कसरी पर्यटकहरु पुग्न सक्छन् ? पर्यटकीय स्थलमा पुग्नका लागि सबैभन्दा पहिलो मोटरबाटोको स्तरोन्नती गनुृ पर्ने थियो तर त्यसो हुन सकेन । अर्कोतर्फ पर्यटकहरु हिड्ने बाटोमा सुविधा सम्पन्न होटलहरु स्थापना हुन सकेका छैनन् । यसतर्फ नीजि लगानी कर्तादेखि पर्यटन व्यावसायी र सरकार समेतको ध्यान पुग्न सकेन । जसले गर्दा यहाँ आउने पर्यटकहरुलाई कतै सुविधा हुने त होइन भन्ने कुराको पिरलो छ ।

धेरै टाढाको कुरा नगरौं । सुर्खेतको बीचमा भागमा रहेको बुलबुले तालमा जाने बाटोको कुरा होस् वा काँक्रेविहार जाने बाटोको कुरा होस् । देउती बज्यै मन्दिरमा जाने बाटोको अवस्था पनि मन्त्रालयहरु जाने बाटोको भन्दा कम छैन । त्यता तर्फ समेत ध्यान दिन नसक्नुले पनि पर्यटनको लागि चाहिने पूर्वाधारका विषयमा प्रश्न चिन्ह खडा गरेको छ ।

स्थानीय सरकारले गर्नु पर्ने काम पनि समयमा नहुने र पछि बजेट खर्च गर्न नसकिने अवस्थाको सिर्जना हुने तर यता नेपाल सरकारले आयोजना गरेको भ्रमण वर्षका लागि पूर्वाधार तयार गर्न नसक्ने हो भने यसले लक्ष्य प्राप्ति गर्न सक्ने कि नसक्ने भन्ने मूल प्रश्न रहन्छ ।

कर्णालीका घुम्न लायक रमणीय ठाउँहरुको सूचि तयार छ । त्यसमा पनि चङ्खेली हिमाल, त्रिपुरासुन्दरी, शिंजा उपत्यका चन्दननाथ र तातोपानी, दैलेखको दुल्लु, राष्ट्रिय गौरवको आयोजनाका रुपमा चिनिएको भेरी बबई डाइभर्सन, सुर्खेतको काँक्रेविहार, बुलबुले, देउती बज्यै जस्ता ठाउँहरु विशेष महत्वका साथ चिनिएका छन् । प्रदेश राजधानी सुर्खेतको मात्रै कुरा गर्ने हो भने बुलबुले ताल, काँक्रेविहार, देउतीबज्यै मन्दिर, घण्टाघर, बराहताल, गढी बयलकाँडा मुख्य गन्तव्य हुन् । काँक्रेविहारको अनौठो कलात्मक शैलीले पर्यटकलाई मुग्ध पार्दछ ।

रारा, जुम्ला, दैलेख जाने पर्यटकका लागि सुर्खेतका यी स्थानहरु घुम्न योग्य छन् । कर्णाली आउने पर्यटकका लागि सुर्खेत ‘ट्रान्जिट प्वाइन्ट’ हो । यी स्थानहरुमा पुग्नका लागि तयार हुन नसकेका पूर्वाधारहरु तयार पार्ने तिर प्रदेश सरकारले ध्यान दिन जरुरी छ । पर्यटन वर्ष सुरु भएपनि यसलाई निरन्तर काम गर्न सकेको खण्डमा पनि केही हदसम्म सहयोग पुग्न सक्छ ।