लघुकथा : आफ्नै सम्पत्तिको खेताला
एका देशमा एउटा चतुरे नाम गरेको मानिस थियो । उसका दुई छोरा पनि थिए । जेठाको नाम काले र कान्छाको नाम गोरे । जेठोे छोरा अलि फटाहा स्वभावको थियो । उसले आफ्नो बाउले भनेको कुरा पटकै मान्थेन र आफ्नो सानो भाइलाई पनि कुटिरहन्थ्यो ।

एक दिनको कुरा बाउँ चतुरेले दुबै छोरालाई स्कुलमा खाजा खानको लागि दश – दश रुपैयाँ दिएर पठायो । स्कुल पुगेपछि कालेले भाइलाई पिटेर दश रुपैयाँ पनि खोसेर लग्यो । अनि गोरे चाँही दिन भर भोकै स्कुलमा बस्यो अनि साँझ स्कुल विदा भएपछि घर फकेर सबै कुरा बाउँ चतुरेलाई बतायो ।
चतुरे रिसले चुर भएर कालेलाई हातमा डोरी बाँधेर बाख्राको खोरमा लगेर बाँधिदियो । त्यो दिन काले बाख्राको खोरमै बस्यो । त्यो दिनदेखि काले अलि सुध्रिएको थियो तर बाउप्रतिको रिस भने मनमै राखेको थियो ।
दिन वित्दै गए । काले र गोरे पनि अव दिन प्रतिदिन उमेर बढ्दै जाँदा जवान भए । दुबै दाजुभाइ । सानो हुँदा कालेले गोरेलाई जति दुःख दिएपनि ठुलो भइसकेपछि भाइलाई निकै माया गथ्यो । उसले भाइको साथ पाएर बाउँले आफुलाई बाख्राको गोठमा राखेको मनमै राखेको थियो । मौका परे बदला लिने योजनामा थियो ऊ । एकदिन विहानै गोरेले बाउसँग पैसा माग्यो । तर चतुरेले गोरेलाई पैसा दिन सकेन । ताकि त्यतिखेर चतुरेसँग पैसा पनि थिएन ।
त्यही पैसा नदिएको निहँुमा गोरे र चतुरे दुबै बाउ छोराको झगडा भयो । उतातिर काले यही मौका कुरिरहेको थियो । उसलाई पनि खुव मौका मिल्यो । अनि उसले भाइलाई अनेकौ कुराहरु लगाएर बाउका विरुद्रमा भड्काउँदै लग्यो । अव दुई भाइ मिलेर त्यो बाउको नाममा भएको सम्पूर्ण घर जग्गा जमिन कालेको नाममा गर्नुपर्ने माग राखेर काले र गोरे अव दिन रात यसैको विषयमा बाउ चतुरेसँग झगडा गर्न थाले ।
आफ्नो सन्तानको अगाडि बाउ चतुरेको केही चलेन । उसले आफ्नो नाममा भएको त्यो घर जग्गा जमिन सबै कालेको नाममा पास गरिदियो । बाउको नाममा भएको सम्पत्ति आफ्नो नाम गरिसकेपछि उनीहरुले बाउलाई हेला गर्न थाले ।
छोराहरुको व्यवहार सहन नसकेर चतुरे भने अव घरबाट निस्केर घर नजिकैको बृद्धाश्रममा गएर बस्यो । यसरी बाउलाई घरबाट निकाल्दा दुबै दाजुभाइ खुसी भएका थिए । अव कालेको नाममा भएको जग्गा जमिन सबै गाउँलेहरुलाई अधियाँमा दिए र आफु भने अव केही दुःखै नगरी अधियाँबाट आएको अन्न बराबरी बाडेर लिने गर्थे । खाएर बढि हुने अन्नहरु बेचेर पैसा समेत आर्जन गर्न थाले ।
त्यही पैसामा नै रमाईरहेको थियो काले तर त्यसको केही दिनपछि भाइलाई थाहँ नदिएरै काले आफ्नो नाममा भएको घर जग्गा जमिन सबै बिक्री गरेर काले सहर तिर पस्यो । विचरा गोरेलाई यो कुरा थाहा थिएन । एक दिन बिहानै साहु घरमा आएर त्यो गोरे बसेको उसको घर खालि गर्न भन्यो । बिचरा काले त छाँगाबाट खसे झै भयो । उसले मन मनै सोच्यो अव कहाँ जाने के गर्ने केही सोच्न पनि सकेन । विचरा बाउ कहाँ जाने हो भने बाउको अगाडि मुख देखाउने ठाउँ छैन । उता दाइलाई खोजौं भने कहाँ गएर खोज्ने गोरे अव साहुको अगाडि रुन कराउँन थाल्यो ।
गोरे आफ्नो अगाडि रोएको देखेर साहुले भन्यो यदि खान लाउन दिएर महिनाको चार हजार तलवमा काम गर्ने भए आफुले त्यही घरमा खेतालो राख्ने जस्तो कुरा सुनायो । अव अन्त्यमा मर्नु भन्दा …. निको भने झैँ अव गोरे त्यही साहुँको खेताला बनेर बस्यो ।









