Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

थाहै भएन त्यो दिन ‘भ्यालेन्टाइन डे’ रहेछ

दैलेख जिल्लाको पूर्वमा पर्ने साविकको जगनाथ गाविसको वडा नं. ४ मा भैरी लेक छ । फागुन महिनाको सुरु भइसकेको भएपनि उक्त लेकका खोल्साहरुमा कतै कतै हिउँ भेट्न सकिन्थ्यो । जाजरकोटको मजकोट र दैलेखको जगनाथ एक आपसमा जोडिएका गाविसहरु हुन् । फागुनको महिनामा खर्सु (एक प्रकारको डाले घाँस) काट्नेहरुको लामै लाग्ने गर्दथ्यो त्यो समय । त्यही लाम भित्र यो पंक्तिकार पनि थियो । माओवादी जनयुद्ध चर्किसकेको थिएन । कुरा २०५५ को फागुन २ गतेको हो । कता कता माओवादीहरु आउँछन् र जान्छन् रे भन्ने मात्र सुनिएको थियो । प्रत्यक्ष देखिएको थिएन । कस्ता हुन्छन् होला माओवादीहरु ? डर लाग्दा । बन्दुक बोकेका । निकै बलिया । यस्तै यस्तै तर्कनाहरु खेल्ने गर्दथे मनमा ।

लक्ष्मीप्रसाद रेग्मी

हिजो मात्र माओवादीहरुले जनयुद्ध दिवस मनाए रे । ठूलै कार्यक्रम भयो रे जाजरकोटमा । उनीहरुको नृत्य भने हेरिरहँु जस्तो हुने रहेछ । अलि अलि थाह पाएकाहरुले सुनाउने गर्दथे । आखिर जे भएपनि माओवादीहरु हाम्रो तिर नआइ दिएको भए हुने थियो । धेरै गाउँवासीहरुको कामना यही हुन्थ्यो । माओवादी आएको थाह पाए सरकारी पक्षका प्रहरी र सेना पनि आउँछन् । दोहोरो भिडन्त हुन्छ । साँढेको सुधाईमा बाच्छाको मिचाई हुन्छ भन्ने पीर थियो सबै सबैमा ।

साँच्चि भन्ने हो भने ‘भ्यालेन्टाइन’ भनेको के हो ? मलाई केही पनि थाह थिएन । गाउँमा कसैले पनि ‘भ्यालेन्टाइन’ मनाउँदैनथे । युवा पिढीहरु पनि लुकेर प्रेम गर्थे । अर्कोतिर प्रेम गरेको पत्तो भयो भने माओवादीले पाता फर्काउँछन् भन्ने डर पनि थियो । जसका कारण पनि तत्कालिन समयमा गाउँघरमा प्रेममा पर्नेहरु, रोधी गाउनेहरुको कमी थियो ।
फागुन २ अर्थात आजकै दिन । विहानको खाना खाइ सदा झैँ आफ्नो दैनिकी अनुसार खर्सु काट्न जाने तरखरमा थिएँ म । झण्डै एक माना जति ठेला परेका मकै बोकेर घरदेखि उक्लिन के आँटेको थिएँ कसैले बोलाएको झैँ लाग्यो । जेठा ! म घरको जेठो भएकोले धेरैले मलाई जेठा भनेर बोलाउने गर्दथे ।

पुलुक्क हेरे । पार्वती रहिछ । उसले मलाई जेठा भनेर बोलाए पनि म उसलाई लोभिनी भन्ने गर्दथे । बैशाखको महिना काफल पाकेको बेलामा म रुख चढ्न नसकेको फाइदा उठाउने गर्दथी पार्वती । डाली भरी काफल टिपेर ल्याउने तर अघाउन्जेल कहिल्यै काफल खान नदिने भएकोले मैले उसलाई ‘लोभिनी’ नाम राखिदिएको हुँ । दिन भर काफल नै काफल भएको वनमा डुलेर पनि अघाउन्जेल काफल खानका लागि घरमै फर्किनु पथ्र्यो । कारण म रुख चढ्न नसक्नु नै हो ।

‘लोभिनी’, उसले जेठा भनेर बोलाएकोमा मैले हजुर स्वरुप भनेको थिएँ । यसपालि त टन्न काफल खान दिउँला क्या । मेरो नामै नबिगारि दे न । लोभिनी भनेको उसलाई मन परेनछ भन्ने मैले सहजै बुझें । उमेरले म भन्दा एक वर्ष सानी भएपनि उसले मलाई पनि तँ भनेरै सम्बोधन गर्ने गर्थि ।

त्यतिबेला छोरीलाई पढाउने संस्कृतिको विकास भइसकेको थिएन । जसको कारण ऊ विद्यालय जान नपाएकी हो । म भने फुर्सदको समयमा घरको काममा सहयोग गरेपनि विद्यालय जाने भएकोले ऊ बराबर घरको काम गर्न सक्दैनथें । जे होस् घाँस काट्न सँगै जाने योजनाका साथ लोभिनीले मलाई बोलाएकी रहिछ ।

भन् के भयो ? मैले प्रश्न तेर्साएँ । म पनि जाने हो के घाँस काट्न कति हतार गरेको । अरुहरु पनि आउँदैछन् । उसको यो भनाई सकिन नपाउँदै सँगसँगै जाओन त मेरी आमाले पनि थपिदिइन् । हुन्छ हुन्छ । मेरो स्वीकृती थियो । भरे बेलैमा आउनु नि । फेरि झमक्क साँझ पार्ने होइन नि आमा बोल्दै थिइन । हामी अगाडि बढ्यौ ।

सिम, भित्रीखोला, लामाडाँडा हुँदै हामी भैरी पुग्यौ । लोभिनीले हिउँ खाने योजना बनाई । अरुहरु साथीहरुलाई पछि पार्दै हामी अघि अघि हिडिरहेका थियौं । यसले भनि हिउँ खोजौ न । हिजो अस्ती त थियो । आज पनि भेटिन्छ कि । अलि अलि गर्मी सुरु भइसक्दा पनि हिउँ खान पाउनुको मज्जा नै बेग्लै थियो । हामी हिउँ खोज्न खोल्सातिर लाग्यौ । नभन्दै भेटियो हिउँ र खाइयो मज्जाले ।

हिउँका डल्ला बनाएर साथीहरु भएकोमा आउँदा उनीहरु पनि कम्ति रमाएका थिएनन् । खाँदै थिए हिउँ र खेल्दै थिए कोही । गफिँदै थिए साथीहरु । नजानिँदो रुपमै मैले हिउँको एउटा फूल निर्माण गरे । सेतो गुलावको फूल बन्यो ।

भ्यालेन्टाइनको बारेमा थाह पाएको भए म रातो गुलावको खोजी गर्ने थिएँ होला । गुलाव त पाइँदैनथ्यो त्यो ठाउँमा । अलि अलि फुल्न थालेको लालीगुराँसको सहायतामा म त्यसलाई रातो बनाउँथे होला । तर एक्कैछिन्को तातोले पग्लिने त्यही हिउँबाट बनेको सेतो गुलाव अर्थ न बर्थ मैले पार्वतीको हातमा थमाई दिएँ । ज्यादै खुसी भएकी थिई पार्वती त्यो हिउँको कोमल, सफा र स्निग्ध गुलाव पाएर । थाहै नपाई उसले पनि स्वीकारी गुलाव र मैले पनि दिएँ । थाहै भएन त्यो दिन भ्यालेन्टाइन डे रहेछ ।

हो, त्यही दिन देखि हो लोभिनीले मलाई मन पराउन थालेको र मैले पनि उसलाई माया गर्न थालेको । आज कतिका दिन महिना र वर्षहरु विते । आखिर म र पार्वती एक हुन नसकेपनि । हाम्रो जीवन वैवाहिक रुपमा जोडिन नसकेपनि हामी एक अर्कालाई माया गरिरहन्छौ र गरिरहने छौ ।