Loading... आजः ५ जेष्ठ २०८१, शनिबार । Saturday 18th May 2024

तरकारी बीउ उत्पादनबाट लाखौं आम्दानी

सुर्खेत ।

मूला फुलेर सेताम्य भएको गुर्भाकोट नगरपालिका–६ सुर्खेतको जारकाटे फाँट यतिबेला निकै मनमोहक देखिएको छ । त्यहाँको सेताम्य दृश्यले नलोभिने कोही छैन । आजभोलि जारकाटे पुग्ने जो कोही फाँटमा फुलेर सेताम्य भएको मुलाको फूलको सुन्दरतासँग राम्रै नाता गाँसेर फोटो खिच्छन र खुशी हुँदै फर्कन्छन् ।

जारकाटे, सुगुरखाल र कोप्ची बस्तीका फाँटमा मिनोओर्ली र चालिस दिने दुई जातका मुला फुलेर ढकमक्क भएका छन् । गुर्भाकोट नगरपालिका यी दुई जातका मुलासहित प्याज, केराउ र रायो सागको बीउ उत्पादन केन्द्र हो । जहाँका किसानले बर्सेनि विभिन्न अन्नबाली र तरकारी गरेर ४०–४५ टन बीउ उत्पादन गर्दछन् । बीउ उत्पादन गर्ने किसान भने पवित्र जनकल्याण कृषक सहकारी संस्था लिमिटेडका सेयर सदस्यहरु रहेको उक्त सहकारीका अध्यक्ष चन्द्रकला गुरुङले जानकारी दिनुभयो ।

“हाम्रो सहकारी संस्थाअन्तर्गत एक हजार ३६५ सेयर सदस्य र ३२ बीउ उत्पादन समूह छन्”, अध्यक्ष गुरुङले भन्नुभयो, “उनीहरुले उत्पादन गरेको बीउ हामी सङ्कलन गरेर बजारसम्म पु¥याई दिन्छौँ ।” उत्पादित बीउ बिक्रीबाटै उनीहरुले ७० हजारदेखि एक लाखसम्म आम्दानी गरिरहेको उहाँले जनाउनुभयो ।

अध्यक्ष गुरुङले अगाडि भन्नुभयो, “हाम्रो सहकारीले नेपाल कृषि अनुसन्धान केन्द्रबाट बीउ ल्याउँछ । किसानले यहीबाट बीउ खरिद गरेर लिन्छन् र उत्पादन गर्छन् । बीउका लागि किसानले दुःख गर्नु पर्दैन ।” उनीहरुले उत्पादन गर्ने विभिन्न जातका बीउको सङ्कलन, बजारीकरण सबै सहकारीले गरेकाले किसानहरुलाई यो व्यवसाय गर्न उत्साह मिलेको उहाँको भनाइ थियो ।

उक्त सहकारीका सल्लाहकार तथा पवित्र बीउ उद्योगका अध्यक्ष नवलसिंह खत्रीले गुर्भाकोट नगरपालिकाले मकै, धान, गहुँ, तोरीको बीउ उत्पादन गरेको जनाउँदै पछिल्लो समयमा गुर्भाकोट विशेष गरी तरकारीबालीको बीउ उत्पादन केन्द्रका रुपमा विकास हुँदै गएको बताउनुभयो । बीउ उत्पादनमा कृषकको नै बढी रुचि बढेको उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो, “सहकारी संस्थाका ३२ समूहले यहाँका जारकाटे, सुगुरखाल, कोप्ची नक्कले निमारे, तोरीबारी, नाङ्गी मैनतडा, घुमखहरे, आमसोती, कुवाटोल, ओर्दी, पाँडेखेत, रातामाटा, केरेनीलगायतका ७०० रोपनी जमीनमा मिनोओर्ली र चालिस दिने दुई जातका मुलासहित खुमल चौडा पातको रायो, सिक्किम स्थानीय जातको केराउ र रेड क्रियोल जातको प्याजको बीउ उत्पादन गरिरहेका छन् ।”

सो सहकारीअन्तर्गत गुर्भाकोट नगरपालिका–६ जारकाटे बस्तीमा गठित झरना बीउ उत्पादन समूहका सदस्य कृष्णा ओलीले दिगो सिँचाइको व्यवस्था नहुँदा बीउ उत्पादक किसानलाई बीउ जोगाउन गाह्रो भएको गुनासो पोख्नुभयो । रोग किराबाट फूल कसरी बचाउने चिन्ता भएको जनाउँदै उहाँले प्राविधिक सहयोगका लागि कृषि विकास निर्देशनालयलाई अनुरोध गर्नुभएको थियो । ओलीले आउनेजाने बाटो चौडा नहुँदा पनि सुत्केरी महिलालाई अस्पतालमा लैजान समस्या भएको गुनासो गर्नुभयो ।

अन्नबाली र तकारीको बीउ उत्पादनको परिमाण बर्सेनि बढ्दै गएकाले गोदाम घरको आवश्यक भएको र त्यसका लागि कृषि विकास निर्देशनालय कर्णाली प्रदेशलाई प्रस्ताव गरिएको सहकारीका अध्यक्ष गुरुङले बताउनुभयो । यस वर्ष मिनोओर्ली र ४० दिने जातको मुला १८ टन, केराउ १० टन, एक÷एक टन प्याज र रायोको बीउ उत्पादन गरी रु एक करोड ५० लाख आम्दानी गर्ने लक्ष्य राखिएको उक्त सहकारीले जनाएको छ । सहकारीका अनुसार गुर्भाकोटमा उत्पादन हुने बीउ नेपालको पूर्वमा झापादेखि पश्चिम कञ्चनपुरसम्म निर्यात गरिँदै आएको छ ।

कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले यहाँको किसानको सडक समस्यालाई बुझेर चालु आवमै रु पाँच करोड बजेटको बोलपत्र भएर निर्माण कार्य शुरु हुने तयारीमा पुगेको जानकारी दिनुभयो । “कृषि र सिँचाइको समस्यालाई पनि हामी सम्बोधन गर्छौं”, सदस्य विष्टले भन्नुभयो, “आत्मनिर्भर कृषि प्रणालीमा जोड दिने काम सरकारको प्राथमिकतामा नै छ ।” यहाँ किसानहरुले आत्मनिर्भर कृषिमा जोड दिएकाले सहयोग गर्ने बढी ऊर्जा मिलेको उहाँको भनाइ थियो ।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक चित्रबहादुर रोकायाले सहकारीका थप संरचना निर्माण र यहाँका किसानको आवश्यकतालाई मध्यनजर गरी गोदाम घरको मागलाई सकारात्मक ढङ्गले अघि बढाइएको बताउनुभयो । स्थानीय किसानको गुनासो मेटाउँदै निर्देशक रोकायले बीउ उत्पादनका क्रममा फूलमा लाग्ने विभिन्न रोग तथा किराबाट बचाउन र असिनापानीजस्ता प्राकृतिक विपत्तिबाट सुरक्षित हुन तरकारीबालीको बीमा गर्नेलगायतका उनीहरुलाई आवश्यक प्राविधिक सल्लाह दिनुभएको थियो । रासस