Loading... आजः १४ असार २०८३, आईतवार । Sunday 28th June 2026
ताजा खबर
  

कविता – मैले देश खोजिरहेछु

(१)
हिँड्दा पनि मन खुसी थिएन
पुग्दा पनि मन खुसी थिएन
जिम्मेवारी सन्तानको वेसी हुँदोरहेछ
अर्थहरूको डिस्कोर्सले
प्यारो मातृभूमिमा बसिखान दिएन।

डा. महेन्द्रकुमार मल्ल

(२)
पाखुरी दासतामा बेच्नु थिएन
आँसु पराइसामु झार्नु थिएन
भारी थियो भरण र पोषणको
गोरुका गर्धनझैँ पाटिएका बाबाका काँधहरूले
हुर्केको छोरोलाई हेरेर बसिरहन दिएन।
(३)
संगिनीका छेडिएका कानहरूमा
चमचम चम्कने झुम्काना थिएन
आँखाहरूमा बहिनीको आशा झल्कन्थ्यो
नाकमा उनको नथिया थिएन
फक्रदोँ त्यो सौन्दर्य
निखार्ने उनको चौबन्दी थिएन
चाउरिएका मुजाहरूको निधार भए पनि
आमाको ममताले जीवनमा आँधी आउँन दिएन।
(४)
पछ्याउँदा पछ्याउँदा पूर्णिमाका रातहरू
जून अरु कसैको भएपछि
कुर्दाकुर्दा उज्यालोका रश्मिहरू
घाम बादलसँगै उदाएर अस्ताएपछि
एक अञ्जुलि पानीको पर्खाइमा बसिरहँदा
किर्ते कागजमा नदीहरू सुक्दै गएपछि
प्यास कहाँ मेटिदो रहेछ र ?
वस्तीको मुखिया नै तिर्खाएपछि !
(५)
उसको भाषणले चूह्लोमा आगो बलेन
योजनामा बुनिएका कम्बलहरूले
शिशिरको सिरेटो छलेन
बोलीहरूमा विश्वास हुन्छ भन्थे उनी
करियर छलीहरूको छलहरूमा डुब्दा
गालामा स्याउ र ओँठमा गुलाफ फुलेन।

(६)
आमा ! तिम्रो मातृवात्सल्य कहाँ छ ?
बाबा ! तिम्रो अँगालोभरिको स्नेह कहाँ छ ?
सुगन्धहरूको फसल स्याहारुला भनेको त
प्रीय सखी,फूलहरूको व्यापार रहेनछ परदेश !
बहिनीको आशा र छोराको सपनाको के कुरा
मनभरि सम्झनाभरि छताछुल्ल छ मेरो देश
पसिनाले आफन्तीहरूको अनुहार उजिल्याउन
जुठा बर्तन माझिएन कि !
कमाइको थोरै रेमिट्यान्सले देशको काँचुली फेर्न
कोठा र गल्लीहरूमा झाडु मारिएन कि !
(७)
आज बन्द कोठाभित्र
ज्वरोको डिग्री बढ्दै जाँदा
लाखौँ मानिसहरूको यो महानगर
सुनसान शमसान देख्दैछु
खोकीले छाती चिरिदैँ चरिदैँ जाँदा
माया हराएको यो सहरमा
प्रियाको न्यानो स्पर्श खोज्दैछु
ऐया आमा !
सास रोकिनै लागेको छ
मृत्युको शैय्याबाट यो पत्र लेख्दैछु
काँध हलुका नहुने भो रे
बाबालाई भन्दिनु
झुम्काना र नथिया पठाउन सकेन रे
प्रिया र बहिनीलाई भन्दिनु
कलम फ्याँकेर बारीका डल्लाहरू फोर रे
छोरालाई भन्दिनु
आमा !
सभ्यताको यति ठूलो सहरभित्र
आँसु पुछ्ने कोही भएन
मानवता पढाउने महाविद्यालयभित्र
पीडा बुझ्ने कोही भएन
डक्टर,नर्स,एम्बुलेन्सहरू
रङहरूको खेती गर्दा रहेछन्
आएर अउषधि खुवाउने कोही भएन
आफ्नो र विरानो बुझ्दैछु आमा
अस्पताल जाँदा पनि त्यहाँ बेड भएन
विकल्प मृत्यु बनिरहँदा यतिखेर
मैले मेरो देश खोजिरहेछु
देश न खोज्न आयो न लिन आयो
शासन कसको रहेछ सोचिरहेछु
न कारखाना दियौ न काम दियौ
लाखौँ नेपालीलाई सडकमा यसरी नै
विवशताले त्याग्नु पर्ने प्राण बनाइदियौ
ए शासक तिमीहरूले
प्रवासी हामीलाई लासको थुप्रो बनाउँदैछौ
बाँकी नेपाली सारालाई मलामी बनाउँदैछौ ।
विदेशमा महामारीको चपेटाबाट जीवन गुमाउने ती सबै नेपालीहरूप्रति समर्पित ।