नेकपा एकताका दुई वर्ष : समिक्षा

विष्णु रिजाल

नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख

मलुकका दुई प्रमुख कम्युनिस्ट पार्टीबीच एकता भएको दुई वर्ष पुगेको छ । हतारको घोषणा र फुर्सतको लेखाजोखाले गर्दा होला, पार्टीलाई संस्थागत परिपाटीमा लैजान र एकतालाई मजबुत बनाउनतिर यस अवधिमा ध्यान जान सकेन । स्वरूपमा एक भए पनि आन्तरिक रूपमा दुई पार्टी मात्र कायम छैनन, हिजोका समूहहरू पनि यथावत् छन् ।

एकीकृत पार्टीको भविष्य के होला, तस्बिर प्रस्ट हुन सकेको छैन । ससाना घटनाबाट सशंकित हुने नेतृत्व र त्यसलाई हेरेर ‘पोजिसन’ बनाउने कार्यकर्ता पंक्तिबाट एकतालाई बल पुग्न सकेको छैन । व्यावहारिक, राजनीतिक र सैद्धान्तिक–वैचारिक आधारहरूमा एकरूपता कायम गर्न नसक्दासम्म पार्टी एकता चुनावदेखि चुनावसम्मको सत्ताप्राप्तिको खेलमा मात्र सीमित रहन्छ । तर नेतृत्वको ध्यान राज्य र पार्टी सत्तामा कसले कसरी पकड कायम राख्ने भन्नेमा केन्द्रित छ । प्रभावकारिता र उपयोगिताका आधारमा अहिले नेकपालाई एकताको औचित्य साबित गर्न हम्मेहम्मे परिरहेको छ ।

असरल्ल एकता
एक हुने बेला ‘आधारभूत तहको पार्टी एकता तीन महिनाभित्र र राष्ट्रिय महाधिवेशन दुई वर्ष्भित्र गरिसक्ने’ घोषणा भए पनि अहिलेसम्म नेकपाका सदस्यहरू कति छन् भन्ने नै टुंगो लागेको छैन । एक वर्षसम्म जिल्ला तहको नेतृत्व टुंगो लाग्न नसक्दा आधारभूत तहका कामहरू हुन सकेनन । प्रदेश तथा जिल्लाको नेतृत्वमा निश्चित विधि र मापदण्डलाई नभई निकटतालाई प्राथमिकता दिँदा पार्टीभित्र भविष्य सुरक्षित छ कि छैन भनेर कार्यकर्ता पंक्तिमा उत्पन्न चिन्ताले समस्या सिर्जना गरयो । दुवै पार्टीका साबिक कमिटीहरूलाई एकीकृत गर्दा त दुई वर्षमा काम पूरा हुन सकेन भने संगठित सदस्यहरूको पहिचान गरी अभिलेख एकीकृत गर्न अझै कति समय लाग्ने हो, भन्न सकिन्न । कम्युनिस्ट पार्टीको मेरुदण्ड र जनतासँगको सेतुका रूपमा रहेका संगठित सदस्यहरूमा पकड कायम राख्न हुने होडबाजी आउनै बाँकी भएकाले नेकपालाई अधिवेशन र महाधिवशेनतिर लैजान निकै परिश्रम गर्नुपर्नेछ ।

साबिक दुई कमिटीमा भएका व्यक्तिहरूबीच र खासै कार्यकारी अधिकार नराख्ने कमिटीहरूमै अहिलेसम्म एकता हुन नसक्नुले यसका जटिलतालाई आकलन गर्न सकिन्छ । केन्द्रीय अनुशासन, लेखापरीक्षण र निर्वाचन आयोगका साथै सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च अझै बनेका छैनन ३२ विभागका प्रमुख र उपप्रमुख मात्र तोकिएका छन, सदस्यहरू खाली छन । सबै जनसंगठनले पूर्णता लिन सकेका छैनन । विधानमा व्यवस्था भएको पोलिटब्युरो गठन हुन सकेको छैन भने, छ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटी बैठक दुई वर्षमा बल्ल एक पटक बसेको छ । एकतामा जति विलम्ब हुँदै छ, त्यति नै नयाँनयाँ समस्या र अन्तरविरोधहरू प्रकट भएका छन् ।

२०७५ जेठ ३ को घोषणानुसार काम भएको भए यति बेला नेकपाको प्रथम महाधिवेशन भइसक्नुपर्ने थियो । गत माघ १५–१९ को केन्द्रीय कमिटी बैठकले २०७७ चैत २५–३० म एकता महाधिवेशन गर्ने निर्णय गरे पनि त्यो हुन्छ भन्ने विश्वास कसैलाई छैन । जुन पार्टीमा एउटै खालको सदस्यतापत्र बाँड्न सकिएको छैन, त्यस पार्टीले १० महिनाभित्र वडा, गाउँ, नगर, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेर, महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्छ भनी कसले पत्याउने ? अधिवेशनरमहाधिवेशन हुँदा नेता–कार्यकर्ताले प्रतिस्पर्धा गर्ने मौका पाउँछन, अवसर नपाउँदा पनि मलाई यति मत पुगेन भनेर चित्त बुझाउँछन । तर, जनवाद अर्थात् कार्यकर्ताको अधिकार निलम्बित भएर केन्द्रीयता अर्थात् नेतृत्व हावी भएका बेला चाहिँ निकटताका आधारमा टिप्ने वा एकभन्दा बढी जिम्मेवारी दिने कुराले एकतामा अवरोध सिर्जना गरिरहेको छ ।

कसैलाई भारीमाथि भारी हुने गरी जिम्मेवारी अनि कोहीचाहिँ डिलमा बसेर हेर्नुपर्ने स्थिति भएपछि कार्यकर्ताले आफ्नो रगत–पसिनाको मूल्य खोज्नु अन्यथा हुँदैन । पार्टी बलियो हुने कमिटी प्रणालीले हो । बलियो कमिटी प्रणालीकै कारण तत्कालीन एमाले बलियो र व्यवस्थित पार्टी बनेको हो । आन्दोलनका रूपमा राम्रै विकास भए पनि माओवादीले त्यसलाई संगठनात्मक स्वरूपमा ढाल्नै सकेको थिएन । यस्तो बेला नयाँ बनेको पार्टीले बलियो कमिटी प्रणालीमार्फत सुरुदेखि नै बलियो पार्टी बनाउनुपर्नेमा नेतालाई केन्द्रमा राख्ने गल्ती भएको छ । दुई नेताबीचको सहमति नै पार्टी निर्णय हुने र व्यक्ति नै सर्वेसर्वा हुने प्रवृत्तिले पार्टीमा अरूको स्वामित्व र अपनत्वलाई अस्वीकार गर्छ ।

स्थिरताभित्रको अस्थिरता
२०७४ को प्रदेश र संघीय निर्वाचनमा जनताले नेकपालाई अत्यधिक मत दिनुका पछाडिको एउटा मुख्य कारण राजनीतिक स्थिरताको नारा हो । संविधानले नै त्रुटिपूर्ण रूपमा व्यवस्था गरेको निर्वाचन प्रणालीका कारण कुनै एक दलको बहुमत नआउने निश्चित भएका बेला दुई प्रमुख पार्टी मिलेर जाँदा राजनीतिक स्थिरताको आशबाट पनि जनमत प्रतिविम्बित भएको हो । करिब दुईतिहाइ बहुमत ल्याउँदा स्वाभाविक रूपमा राजनीतिक स्थिरता प्राप्त हुने र त्यसको जगमा समृद्धि हासिल हुने अपेक्षा अन्यथा होइन । स्थानीय तहदेखि केन्द्रसम्म बलियो संरचनासहितका बलिया सरकारहरू बनेपछि स्वाभाविक रूपमा प्राप्त हुने प्रतिफल मुलुकले कति हासिल गर्न सक्यो ? यसको समीक्षा गर्ने बेला आएको छ । व्यावहारिक तथा सम्भव योजनाभन्दा स्वैरकल्पनामा आधारित विषयहरूमा बढी ध्यान जानुका साथै विकास र समृद्धिले जनतालाई समेट्नुको साटो दातृ निकाय र तिनका नीतिहरूलाई ध्यानमा राखेको अनुभूति हुनु पक्कै सुखद कुरा होइन । अनेक प्रयोग विफल भएपछि कम्युनिस्टहरूले पाएको दुईतिहाइ मतबाट पनि राजनीतिक स्थिरता र विकास प्राप्त गर्न नसकिए मुलुक असफल राष्ट्र हुनेतिर धकेलिने खतरालाई हामीले समयमै बुझ्न सक्नुपर्छ ।

चुनावमा एउटै दलले बहुमत हासिल गरेको होइन, चुनावपछि मात्रै एउटै दल बनेको हो । त्यसैले पार्टी एकताका बेला दुई पार्टीका अध्यक्षहरूबीच आलोपालो प्रधानमन्त्री बन्ने लिखित सहमति भएको थियो । कुनै एक दलले बहुमत प्राप्त नगरेका बेला लोकतन्त्रमा सत्ता बाँडफाँट हुनुलाई अन्यथा मानिन्न । तर, एउटै दल भइसकेपछि चाहिँ त्यसो गर्नु उपयुक्त नहुने र त्यसबाट राजनीतिक स्थिरताको नारामा प्रतिकूल प्रभाव पर्ने ठानेरै होला, नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीलाई पाँच वर्ष प्रधानमन्त्रीमा निरन्तरता दिने निर्णय गरेपछि आन्तरिक रूपमा पनि सरकार बलियो र स्थिर हुनुपर्ने हो । निर्वाचनलगत्तै शेरबहादुर देउवाले बालुवाटारमा बोलाएर पाँच वर्षका लागि प्रधानमन्त्रीमा गरेको प्रस्ताव अस्वीकार गरेर पार्टी एकताप्रति इमानदारी देखाएका दाहालले लिखित सम्झौता भए पनि राजनीतिक स्थिरताका लागि ओलीलाई नै पूरा कार्यकालको समर्थन गर्दा पनि सरकार अस्थिर देखिएको छ ।

पछिल्लो चरणमा नेकपाभित्र विवाद उत्पन्न हुनुमा प्रधानमन्त्री ओलीको कदमले काम गरेको छ । पार्टीभित्र सामान्य सल्लाह नै नगरी र अरूको पार्टी फुटाउने सगर्व घोषणाका साथ वैशाख ८ गते अध्यादेश ल्याएका कारण नै नेकपामा विवाद उत्कर्षमा पुगेको हो । हठात् र एकल रूपमा निर्णय गर्दा आफूहरूलाई के–के अप्ठेरो हुने हो भन्ने डरले बाँकी नेताहरूले गरेको पहलका कारण सरकारको निरन्तरतामा प्रश्न उठ्ने स्थिति बनेको छ । पार्र्टीिभत्र अरूसँग मिलेर काम गर्नुको विकल्प नभएका बेला उल्टै अडान लिने र स्थिति बिगार्ने काम हुँदा स्थिरताभित्र पनि राजनीतिक अस्थिरता उत्पन्न भएको छ । यसको अर्को उदाहरणका रूपमा सभामुख प्रकरणलाई लिन सकिन्छ । साबिक एमालेबाट पाँच वर्षका लागि राष्ट्रपति र प्रधानमन्त्री भइसकेपछि सभामुख स्वाभाविक रूपमा साबिक माओवादीबाट हुने सामान्य कुरालाई पनि असामान्य बनाउँदै आफैंले चाहेको व्यक्तिलाई सभामुख बनाउँछु भन्दै बत्तीस दिनसम्म संसद्लाई अनिर्णयको बन्दी बनाइयो । यसबाट पार्टीभित्र आफ्ना विपक्षमा अरू गोलबन्द हुने अवसर मात्र जुटेन, सार्वजनिक रूपमा पनि गलत अडान राखेको सन्देश गयो । बारम्बार मन्त्री परिवर्तन, सत्ता साझेदार दल परिवर्तन, अरू दल फुटाउन अध्यादेशजस्ता विषयमार्फत प्रधानमन्त्री स्वयम्बाट राजनीतिक अस्थिरता निम्त्याउने काम भएको छ, जुन जनमतको अपेक्षा होइन ।

सैद्धान्तिक–वैचारिक अलमल
पार्टी एकता हुँदा साबिकका दुवै पार्टीले आ–आफ्ना पूर्ववत् मान्यतालाई थाती राखेर मोटामोटी केही साझा धारणा बनाएका छन् । तर, तिनलाई सिद्धान्तका आधारमा परख गर्ने र सूत्रीकरण गर्ने दिशामा अहिलेसम्म काम भएको छैन । एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको माओवाद तथा एक्काइसौं शताब्दीमा जनवादलाई स्थगन गरेर जनताको जनवादका रूपमा नयाँ कार्यक्रम तय गरिए पनि त्यसका ऐतिहासिक आधार तथा विशेषताबारे अहिलेसम्म कुनै थप व्याख्या–विश्लेषण हुन सकेको छैन । बरु, यसबीच एक पार्टी भइसकेपछि पुरानै मान्यताअनुरूप अभिव्यक्ति दिने र तिनलाई मलजल गर्ने काम भइरहेको छ । नेकपा शान्तिपूर्ण राजनीतिमा छ, सशस्त्र संघर्ष यसको विगत मात्र हो । तथापि, यसलाई सैद्धान्तिक रूपमा उभ्याउनचाहिँ बाँकी नै छ । जननेता मदन भण्डारीको स्मृति दिवस पारेर जेठ ३ मै पार्टी एकता घोषणा गर्नु, ठूला कार्यक्रमदेखि बैठकसम्ममा दाहालले जनताको बहुदलीय जनवाद र मदन भण्डारीको प्रशंसा गर्नु र शान्तिपूर्ण राजनीति कार्यनीति मात्र होइन भन्ने कुरा स्पष्ट पार्नुले अबको नेकपा कता जान्छ भन्नेमा केही संकेत त गर्छ, तर त्यसलाई उचाइबाट मूर्त रूप दिनमा चाहिँ दुई वर्षसम्म पनि केही पहल नहुनुले पार्टीमा सैद्धान्तिक र वैचारिक स्पष्टता नरहेको देखाउँछ ।

पार्टीको मार्गदर्शक सिद्धान्तका आधारमा हेर्दा नेकपाले शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिलाई कार्यनीतिक प्रश्नका रूपमा मात्र होइन, आफ्नो आदर्शका रूपमा स्वीकार गरेको स्पष्ट हुन्छ । तर, पार्टी पंक्तिको बुझाइ, नेतृत्व पंक्तिको व्याख्या र घटनाक्रमहरूको विश्लेषणमा एकरूपता नहुँदा बेलाबेला उल्झनहरू आइरहेका छन् । चाहे भेनेजुयलाका सन्दर्भमा प्रकट समस्या होस् वा अरू घटना, नेकपाभित्रको सैद्धान्तिक द्विविधाले काम गरेको छ । जता जाने हो र जे गर्ने हो, हिम्मतका साथ जनतालाई भन्न सक्नुपर्छ, जसरी जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद अघि सार्न हिम्मत गरेकै कारण आज नेपालको कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुगेको छ । २०६२/०६३ सालमा सम्पन्न क्रान्तिलाई नेकपा जनवादी पुँजीवादी क्रान्ति मान्छ र अबको कार्यभार समाजवाद हो भन्ने विश्वास गर्छ । यस्तो हुँदा समाजवादतर्फको हाम्रो कार्यनीति के हुन्छ र त्यो कसरी प्राप्त हुन्छ भन्नेमा ठूलो द्विविधा देखिन्छ । शिक्षा र स्वास्थ्यको जिम्मा निजी क्षेत्रलाई, अर्थतन्त्रको जिम्मा विश्व बैंक, मुद्रा कोष र तिनका प्रतिनिधिहरूलाई, व्यापार–व्यवसायको जिम्मा सेना र विभिन्न ग्रुपलाई अनि समृद्धिको जिम्मा डोजरवाला ठेकेदारहरूलाई दिएर कार्यभार पूरा हुने हो भने त बेग्लै कुरा, अन्यथा यस अवधिमा एक दिन पनि सरकार कता जाँदै छ, हामीले अँगालिरहेका नीतिहरूले हाम्रा दस्ताबेजलाई न्याय गरिरहेका छन् कि छैनन् भन्नेबारे एक घण्टा छलफल भएको छैन । नेकपामा देखा परेको सबभन्दा ठूलो विरोधाभास नै यही हो ।

समग्रमा, नेकपाका अघिल्तिर अझै प्रशस्त अवसर छन् । बलियो जनमत, क्रियाशील कार्यकर्ता पंक्ति, तलदेखि माथिसम्म निर्वा्चित सत्ता र दिशाहीन प्रतिपक्षजस्ता अनुकूलताबीच आन्तरिक एकतालाई बचाउनुका साथै सैद्धान्तिकरवैचारिक क्षेत्रमा आफूलाई थप स्पष्ट पार्दै जाँदा नेकपा जनताको भरपर्दो शक्तिका रूपमा स्थापित भइरहन सक्छ । लोकतन्त्र, सामाजिक न्याय र जनजीविकाबीच सन्तुलन कायम गर्दासम्म यसलाई टक्कर दिने अर्को कुनै प्रगतिशील शक्तिको उत्थान सम्भव छैन । यस अनुकूलतालाई बुझेर अघि बढ्ने, छिटोभन्दा छिटो पार्टीभित्र आन्तरिक लोकतन्त्र बहाल गर्दै अधिवेशनरमहाधिवेशन गर्ने र आर्थिक–सामाजिक रूपान्तरणलाई सक्रियताका साथ अघि बढाउने कुरामै नेकपाको भविष्य निर्भर छ । (प्रकाशित : जेष्ठ ४, २०७७ कान्तिपुर अनलाइबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *