Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

देशले एउटा उत्तम नेता पाउन सकोस्

नेपाल भन्ने वित्तिकै विश्व मानचित्रमा फरक दृष्टिकोणले हेरिने देश हो । नेपालको हावापानी होस् वा भौगोलिक बनावट होस् वा प्राकृतिक सम्पदाहरु हुन् वा यहाँको संस्कृति र परम्परा नै किन नहुन् । हिमालदेखि तराइसम्म मिलेको भूभाग भएकोले पनि नेपालको पहिचान विश्व मानचित्रमा फरक भएको होला । भौतिक रुपमा विकसित देशका नागरिकहरु पनि आफ्नो जीवनको एक अमूल्य उपलब्धी हासिल गर्नका लागि नेपाल आउने गर्दछन् ।

लक्ष्मी खनाल

विश्वको सर्वोच्च शिखर सगरमाथाले विदेशीहरुको मन जति जितेको छ शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीले पनि विदेशीहरुको मन त्यत्तिकै जितेको छ । काठमाडौंको स्वयम्भूले हेरिरहेको दृष्य होस् कि पूर्वमा नाचिरहेको धान नाचको कलात्मकता होस् । पश्चिमको देउडा गीत होस् कि मध्यको सिंगारु होस् संस्कृतिको रुपमा नेपाललाई कसैले जित्नै सक्दैन । विभिन्न अवसरहरुमा नाचिने पैसेरी होस् कि हुड्केली नाच होस् । तिहारको समयमा दैलेख, कालिकोट र जाजरकोट लगायतका स्थानमा खेलिने भोसी र भास्य होस् कि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सुरताल मिलेर खेलिँदै गरेकोे द्यौसी र भैलीको लहर होस् ।

नेपालको अर्को विशेषता भनेको प्रकृतिले दिएको सुन्दरता पनि हो । सुर्खेतको बुलबुलेले पर्यटकहरुलाई स्वागत गरिरहेको बेला मुगुको रारा तालले उनीहरुको मन लोभ्याइरहेको हुन्छ । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको अद्भूत ज्वालाले छरेको प्रकाशमा महाबु पुग्नेहरु जीवनमा सबैभन्दा बढि आनन्दको अनुभूति गरिरहेका हुन्छन् । डोल्पाका अग्गा डाँडाहरुमा चिप्लेटी खेलेकाहरु से–फोक्सोण्डो ताल मात्रै हेर्दैनन् चौरीको एक घुट्को दूध पनि पिउन चाहान्छन् । लुम्बिनीमा आएका बौद्धमार्गीहरु चितवनको देवघाटमा पुग्दै गर्दा उनीहरुले प्राप्त गरेको ज्ञान र आनन्दको अनुभूति कस्तो हुन्छ भन्ने कुराको अनुमान गर्नु भन्दा पनि अनुभव गर्न सक्नुपर्छ । चितवनको सौराह, बर्दिया राष्ट्रिय निकुञ्जदेखि खप्तडसम्मको वर्णन गर्ने हो भने ग्रन्थ नै बन्छ होला ।

तीनतिरबाट भारत र एकातिरबाट चीनले घेरिएको साँच्चिकै सुन्दर र आनन्दित क्षेत्रको रुपमा रहेको नेपाल भौतिक विकासका दृष्टिले पछि परेको भनेर विभिन्न बहाना बनाउनेहरुले गर्दा नेपाललाई पछि पारेका छन् । यो उत्तम देशमा उत्तम नेताको जन्म हुन नसक्नु नै नेपाल र नेपालीको लागि दुर्भाग्य हो ।

देशमा विभिन्न राजनीतिक परिवर्तन भए । तर ती परिवर्तनहरुले जतनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेनन् । जनतालाई सुखको साटो सास्ती दिए । प्रजातन्त्रको पूर्नबहाली पश्चात बनेको नेपाली काँग्रेसको सरकार आन्तरिक कलहका कारण नढलेको भए जनताको विश्वासलाई जोगाउन सक्थ्यो कि भन्ने हो । तर आन्तरिक कलहका कारण काँग्रेसको सरकार ढल्नु र देशमा कम्यूनिष्टका विरुवा हुर्कनु एकै साथ भएको कारण पनि स्थायी शान्तिको बाटो बन्द भएको हो ।

सत्ता र शक्तिमा पुग्न नसकेकाहरुले देशमा सशस्त्र युद्धको सुरुवात गरेर देशको भौतिक विकासदेखि नेपाली जनताको जनजीवनलाई अन्धकारमै पारिदिए । आज त्यही कुर्सीमा बसेर कानेखुसी गर्नु थियो भने हिजोका दिनमा ‘काँग्रेसलाई खोजि खोजि एमालेलाई रोजी रोजी’ को अभियान किन ल्याउनु परेको थियो ? कुनै समयमा गिरिजाले भनेका थिए, ‘यो देशमा एकदिन न माओवादी रहने छ न एमाले’ । साँच्चिकै उनले भने झैँ भएको छ । यो देशमा अहिले न माओवादी छ न एमाले ।

लामो समयसम्म शासन संचालन गरेको शाहवंशलाई पाखा लगाएर देशमा ठूलै परिवर्तन ग¥यौ भन्ने ठानेकाहरुले एउटा संविधान ल्याउन दुई–दुईवटा संविधान सभाका निर्वाचन गर्नु पनि असक्षमता हो । देशमा प्रजातन्त्रको पुर्नस्थापना पश्चात लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्दै गर्दा वर्तमान संविधान बमोजिम बनेका प्रदेश सरकारहरु कार्यकर्ता पोस्ने र जनता सोस्ने भन्दा अरु केही हुनै सकेका छैनन् । त्यसको ज्वलन्त उदाहरणका रुपमा कर्णाली प्रदेश सरकारका गतिविधिहरुलाई हेरे पुग्छ ।

विश्व यतिबेला कोरोनाको महामारीका कारण थिल्थिलो भएको अवस्थामा कर्णाली जस्तो विकट प्रदेशले यहाँको जल, जमिन र जंगललाई उपयोग गरेर एकातिर कोरोनासँगको लडाइ लड्नु पर्ने र अर्कोतिर युवा जनशक्तिका लागि रोजगारीको सिर्जना गर्नुपर्ने बेलामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत कृषकलाई अनुदान दिने नाममा २ करोड ९५ लाख रुपैयाँ बाँड्ने तयारी भइरहेको छ । मन्त्रीका स्वकीय सचिवदेखि ड्राइभर, भाञ्जाभाञ्जी अनि नातेदारहरुलाई उक्त रकम बाँडेर कर्णालीमा समृद्धि ल्याउँछौ भन्नु कर्णालीका जनताको आँखामा छारो हाल्नु बाहेक केहीपनि होइन । एउटा वास्तविक किसानले कृषिमा अनुदान नपाएर तड्पिरहेको अवस्थामा कार्यकर्ता पोस्ने गरि यसरी जनताको रगत र पसिनाबाट आर्जित राजश्व माथि खेलवाड गरिन्छ भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु के होला ?
प्रतिनिधि सभामा प्रतिपक्ष दलका सांसदले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्री ज्यू, नेपालीको इम्यूनिटी पावर बढि छ भनेर कसले भन्यो ?’ प्रधानमन्त्रीले उत्तर दिए, ‘माननीय ज्यूले सुन्नु भएन भरखरै मैले भने ।’ सभाका सदस्यहरुले ढ्याप–ढ्याप ताली बजाएर गलल्ल हाँसोको फोहोरा फुटाए । नेपालीको इम्यूनिटी पावर बढि छ भनेर प्रमाणित गर्ने डाक्टर, सम्बन्धित विषयका विषेशज्ञहरुले हो वा मानार्थ विद्यावारिधी गरेका प्रधानमन्त्रीले ? यो झट्ट सुन्दा मजाक झैँ लागेपनि यो प्रधानमन्त्रीको अक्षमता हो । सधैँ उखान टुक्काले मात्र काम गर्दैन भन्ने हेक्का हुनुपर्दछ प्रधानमन्त्रीलाई । एउटा सांसदले सोधेको प्रश्नको जवाफ दिने ढंग समेत नपु¥याउने व्यक्ति देशको प्रधानमन्त्री भएको विश्लेषण भइरहेको छ । अनि कसरी हुन्छ समृद्ध नेपाल ?

प्रतिपक्षमा बसेकाहरुले प्रतिपक्षको असल भूमिका निर्वाह गर्नुपर्दछ । एकातिर प्रतिपक्षमा बसेका छौ भन्दैमा मनलाग्दी बोलेर जनभावनामा ठेस पु¥याउने अधिकार कसैलाई पनि छैन भने अर्कोतिर सत्तामा छौ भन्दैमा केटाकेटीले झ्यानाकुटी खेले झँै सांसदको जवाफ दिनु कत्तिको उचित हो ?

देशको सीमारेखाका कुरा उठिरहेका छन् । सीमारक्षाका विषयमा प्रतिपक्षले पनि अहम् भूमिका निर्वाह गर्न सक्नुपर्दछ । सरकार सत्ता पक्षको र संसद प्रतिपक्षको हुन्छ भन्नेहरु संसदमा कुशल प्रतिपक्षको भूमिका निर्वाह गर्नबाट चुके भने सरकारले सत्ताको आडमा बाटो बिराउन सक्छ । त्यसको क्षति प्रतिपक्षले समेत भोग्नु पर्दछ ।

कर्णाली प्रदेश सभाको कुरा गर्ने हो भने नेपाली काँग्रेसबाट ६ जना सदस्यहरु छन् । प्रतिपक्ष दलको नेता जीवनबहादुर शाहीले आफ्नो दलको तर्फबाट राख्नु पर्ने विचार, सहमति र असहमतिका कुरालाई स्पष्ट राख्न सक्ने हो भने सत्तापक्षले हालिमुहाली गर्नै पाउँदैन । यसभन्दा अघिल्लो नीति तथा कार्यक्रमको समयमा सत्ता पक्षकै सांसदहरुले आच्छु–आच्छु पारेका थिए प्रदेश सरकार पक्षलाई । प्रतिपक्षले सफल प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै औला ढड्याएर रोष्टममा बोलेको कुरालाई मध्यनजर गर्न नसक्नेहरु भएपछि आफ्नो हात जगनाथ गर्ने नै भए ।

‘हामी अल्पमत छौ । हामीले भनेको कुरा लागु नै भएन’ भनेर भोलि जनतासँग फेरि भोट माग्न गएका बेला सचेत नागरिकले प्रश्न गर्नेछन्, ‘अनि तपाईहरु कुन स्वार्थले पाँच वर्षसम्म त्यहाँ बस्नु भएको थियो नि ?’ यसको उत्तर दिँदा निकै आनाकानी गर्नु पर्नेछ तिमीहरुले ।

हाम्रा नेताहरुको एउटा सवल पक्ष के छ भने देशमा जब संकट आउँछ तब भने यिनीहरु एक ठाउँमा उभिने गर्दछन् । २०७२ सालमा आएको भू–कम्पबाट त्रसित बनेर एक ठाउँमा उभिँदा नै नेपालको वर्तमान संविधान निर्माण हुन सकेको हो । त्यस्तै गरि भरखरै मात्र चर्चाको विषयमा रहेको नेपालको नक्साको सिमाङ्कनको विषयमा पनि नेताहरु फेरि एक ठाउँमा उभिएका छन् । नेपालको नयाँ नक्सा तयार गरिसकेपछि त्यसको वैधानिकताका लागि गर्नु पर्ने संविधान संशोधनको समयमा जुन एक ढिक्का भएर नेताहरुले संविधान संशोधनको पक्षमा लागे त्यो पनि निकै स्रहाना गर्न लायकको कार्य हो ।

देशमा लोकतन्त्र छ । लोकतन्त्रमा जनता नै सर्वैसर्वा हुन्छन् । भलै कसैले पाँच वर्ष सरकार चलाउलान् तर पाँच वर्षपछि फेरि जनताका माझमा जानु बाध्य छ । एक पछि अर्को गर्दै फेर्दै, चुन्दै र चुनिँदै जाने क्रममा देशले एउटा उत्तम नेता पाउन सकोस् । यो उत्तम देशमा खत्तम नेता भएका कारण नेपाली जनताले समृद्धिको स्वाद चाख्न अझैं कति वर्ष पर्खनु पर्ने हो, कुन्नी ।

आजको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित लेख ।