Loading... आजः २८ श्रावण २०७७, बुधबार । Wednesday 12th August 2020
Trending:

सुसंस्कृत व्यक्ति मदन भण्डारी सम्झँदा…

०३५ साउन १,२ गतेदेखि ०५० जेठ १ गतेसम्मको अन्तिम भेट हुँदासम्म पार्टी हेडक्वार्टर उपयुक्त ढंगले सञ्चालन गर्ने व्यक्तिको खोजीमा उहाँले मलाई देख्नुभयो।


मदन भण्डारी पुष्पलालले नेतृत्व गरेको कम्युनिस्ट पार्टी सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो। मुक्तिमोर्चा नामको एउटा मुखपत्र निकाल्थ्यो त्यो मोर्चाले। त्यो मुक्तिमोर्चाबाट विद्रोह गरेर झापा संघर्षपछि गठन भएको कोअडिनेसन केन्द्रसित सामेल हुने ऐतिहासिक घोषणा हुँदै थियो २०३५ सालमा। मैले त्यही कोअडिनेसनले आयोजना गरेको तेस्रो सम्मेलन गर्दै थिएँ ०३५ साउन ४ देखि ९ गतेसम्म। त्यहाँ प्रतिनिधिकारूपमा तीनजना नेता सामेल हुने कार्यक्रम थियो— मदन भण्डारी, जीवराज आ िश्रत र मोदनाथ प्रश्रित। मदन भण्डारीलाई लिन म आफैं मोरङ पुगेको थिएँ। कार्यक्रमस्थल धनुषाको भूमिहीन किसानको गरिब वस्तीमा थियो। त्यो मेरै कार्यक्षेत्र थियो। मैले उहाँलाई लडाकु क्रान्तिकारी विचार बोकेको, उत्साहित र समर्पित भाव भएको युवाका रूपमा पहिलो पटक भेटेको हुँ। त्यसबेला उहाँ कालो टोपी, फिक्का आकासे रंगको टेरिकटनको सर्ट र आफ पाइन्ट लगाएको, जुंगा पालेको र कम्मरमा खुकुरी भिरेको अवस्थामा हुनुहुन्थ्यो। भेटमा हामीले सामान्य परिचय गरिसकेपछि सँगसँगै कोअडिनेसन केन्द्र (कोके) को तेस्रो सम्मेलन स्थलमा पुर्‍याएको थिएँ। त्यतिबेलै मलाई लाग्यो उहाँ विशेष क्षमता भएको व्यक्ति हुनुहुन्छ। त्यसबेला म कोकेको केन्द्रीय सदस्य भइसकेको थिएँ। उहाँ भर्खर मात्र सामेल हुन जाँदै हुनुहुन्थ्यो। तर उहाँसँगको संवादबाट म प्रभावित भइसकेको थिएँ।

सुसंस्कृत व्यक्ति मदन भण्डारी सम्झँदा...

त्यसभन्दाअघि मुक्तिमोर्चाको विद्रोहको विशेषांकमा जीवन शर्माको नाममा लेख लेख्नुभएको थियो उहाँले। उक्त लेख भूमिगत कालमा सेल्टरमै रहँदा पढेर म प्रभावित भएको थिएँ। त्यो लेख लेख्ने जीवन शर्मा भन्ने मदन भण्डारी नै हुनुहुन्छ भन्ने थाहा थिएन। को होलान्, जीवन शर्मा भनेर खुलदुली लागिरहन्थ्यो। झापा संघर्षका बारेमा त्यहाँ केके कमजोरी छन् ? त्यसका सकारात्मक पक्षका बारेमा विवेचनात्मक लेख थियो त्यो। कोकेमा सामेल हुने मदन नै जीवन शर्मा हुनु हुँदोरहेछ भन्ने थाहा भयो बल्ल। कोकेको त्यही तेस्रो सम्मेलनबाट उहाँ केन्द्रीय सदस्य हुनुभयो। उहाँ पूर्व दक्षिण क्षेत्रीय कमिटिको सचिव, पहिले माधव नेपाल र पछि म मध्यदक्षिण क्षेत्रीय कमिटिको सचिव भएको थिएँ। पछि हामीले क्षेत्रीय कमिटिहरू सम्मिलित ब्युरो बनायौं। हामी एउटै कमिटिबाट आयौं। यसरी उहाँसँग नजिक हुने एउटा संयोग बन्यो।

निधन हुनुभन्दा ठीक पहिले अरू कोही नेतासँग उहाँको संवाद भएको सायद थिएन होला। मदनले आफ्नो कार्यक्रमको जानकारीका विषयमा मसँग कुराकानी गर्नुभएको थियो। नेकपा एमालेको महासचिवका रूपमा १५ दिनको कार्यक्रम लिएर उहाँ देशका विभिन्न ठाउँमा निस्किनु भएको थियो। मुलुकमा नेपाली कांग्रेसको सरकार थियो। त्यसको ज्यादती र स्वेच्छाचारिताका विरुद्धमा उहाँले पार्टी कार्यक्रम लिएर देशका विभिन्न ठाउँमा जाँदै हुनुहुन्थ्यो। कार्यक्रमका दौरान कुन दिन कहाँ पुग्छु भनेर उहाँले गरेको टिपोट मलाई दिनुभएको थियो। मसँग दुई घन्टाजति कुरा गरेरै उहाँ पोखराको कार्यक्रममा जानु भएको थियो। भोलिपल्ट पोखराको कार्यक्रम उद्घाटन गरेर उहाँ हिँड्नुभयो।

मैले आजका दिनसम्म पनि एउटा कुराको जबाफ पाउन सकेको छैन, उहाँको पोखराबाट (२०५०जेठ) ३ गते नै हिँड्ने योजना कसरी बन्यो ? त्यसदिन हिँड्ने कार्यक्रम नै थिएन। ४ गते मात्र हिँड्ने योजना थियो। किन हिँड्नुभयो ? म त्यसबेला पार्टी कार्यालयको सचिव थिएँ। त्यसकारण पनि उहाँले मलाई आफ्नो सबै योजनाको फेहरिस्त दिनुभएको थियो। गणेशमानजीहरूले मलाई सम्पर्क गर्न खोज्छन्, मैले तपार्इंको नम्बर दिएको छु। फोन आएपछि म योयो ठाउँमा हुन्छु तपाईंले जानकारी दिनुहोला भनेर मलाई भन्नुभएको थियो।

०३५ साउन १,२ गतेदेखि ०५० जेठ १ गतेसम्मको अन्तिम भेट हुँदासम्म पार्टी हेडक्वार्टर उपयुक्त ढंगले सञ्चालन गर्ने व्यक्तिको खोजीमा उहाँले मलाई देख्नुभयो। उहाँले भनेपछि म केन्द्रीय कार्यालयमा काम गर्ने गरी आएको थिएँ।

दिवंगत भएका व्यक्तिका विषयमा मान्छेहरूले भावनात्मक कुरा गर्छन्। तर म उहाँको सन्दर्भमा त्यसरी मात्र सम्झन चाहन्न। उहाँ विशिष्ट प्रतिभा भएको व्यक्ति हो— सिर्जनशील, सधैं जडताको विपक्षमा उभिने र गतिमा विश्वास गर्ने। उहाँ भन्नुहुन्थ्यो, ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ।’ उग्र वामपन्थी बाटोमा हिँड्न खोज्नेहरूलाई जवाफ दिँदै उहाँले भन्नुहुन्थ्यो, ‘सिद्धान्तको रक्सी खाएर मातेर हिँड्नेहरू लामो समय जान सक्दैनन्।’ उहाँ विचारलाई सिर्जनशील ढंगले विकास गर्दै लागू गर्नुपर्छ भन्ने सोचको व्यक्ति हुनुहुन्थ्यो।

उहाँ कति सिर्जनशील हुनुहुन्थ्यो भन्ने विषयमा एउटा विषयको स्मरण गर्न चाहन्छु। हामी भूमिगत माले थियौं। ०४६ सालको जनआन्दोलनपछि पार्टीमाथिको प्रतिबन्ध हट्यो। लामो समय भूमिगत काम गरेर आएको मान्छे भएर हामीलाई लाग्थ्यो, अब के गर्ने, कसरी अघि बढ्ने भनेर। पार्टी खुला राख्ने कि नराख्ने ? भन्ने बहस थियो। संयोग जनआन्दोलनताका ऐतिहासिक बैठक आयोजना गर्ने बेला म काठमाडौं उपत्यकामा प्रमुखको रूपमा थिएँ। लुम्बिनीको सम्मेलनबाट मदन भण्डारी महासचिव भएपछि उहाँले मलाई काठमाडौं उपत्यकाको प्रमुखको जिम्मा दिनुभएको हो। मेरो लुम्बिनीको जिम्मामा केपी ओली जानुभयो पार्टी इन्चार्जको जिम्मा लिएर। म काठमाडौं आएपछि आन्दोलन भयो। पार्टी खुला गर्ने/नगर्ने बहस भयो।

प्रतिक्रियावादीले पार्टी सखाप पार्न सक्छ , पार्टीको शक्ति लुकाउनुपर्छ भन्ने थियो। त्यसपछि हामीले केन्द्रीय समितिको बैठक बोलायौं। उहाँको सिर्जनशिलता त्यो बैठकमा पनि देखापरेको थियो। पार्टीका अधिकांशं नेता जो अहिले पनि सचिवालयमा हुनुहुन्छ। त्यसमध्ये कोहीकोही नेताहरूको तर्क थियो, खुलालाई उपयोग गर्नुपर्छ, केहीलाई खुला गर्ने र मूल पार्टीलाई भूमिगत नै राख्ने भन्ने सोच जबर्जस्त उठेको थियो। तर उहाँले यसको जबर्जस्त खण्डन गर्नुभयो। अब झ्यालका फक्ल्याटा खोल्ने हो भने दुवै खोल्नुपर्छ। केही खुला केही बन्द भन्ने अब हुँदैन। अब हाम्रो कम्युनिस्ट पार्टी धूलो, हिलो, घाम पानी सबै सहेर टेस्टेड हुनुपर्छ। जनतासँग परिवर्तित सन्दर्भमा घुलमिल हुन सक्नुपर्छ। जनताले आफ्नो पार्टीलाई जाँच्न पाउनुपर्छ। यो पार्टी कस्तो ? नेता कस्तो ? यसका काम कस्तो भनेर जनताले बुझ्न पाउनुपर्छ। अब रहस्यमा देशलाई नेतृत्व गर्ने बेला गयो। हिजो भूमिगत, यति वर्ष जेल बसेको भनेपछि पनि मानिस आकर्षित हुन्थे। अब त्यसरी हुँदैन। अब मान्छेहरू जनताले व्यवहारबाट परीक्षण गर्ने हुनुपर्छ। उहाँको यस्तो तर्कपछि हामी झसंग भएका थियौं। प्रतिक्रियावादीले पार्टी सखाप पारे भने बचाउन सकिँदैन भन्ने लागेको थियो। आम पार्टी पंक्ति त्यसैबाट प्रशिक्षित थियो। तर उहाँले देशभरका कार्यकर्तालाई म एकैपटक सम्झाउन सक्छु भन्ने एउटा अदम्य साहस देखाउनुभयो। टुंडिखेलको एउटै भाषण जसले त्यसबेलाको संविधानलाई किन आलोचनात्मक समर्थन गर्‍यो ? अब हामी के गर्छौं भन्ने कुुरा अढाइ÷तीन घन्टाको भाषणमा लाखौं मान्छेलाई सहमत बनाउन सक्नुभयो। त्यसबेला अहिलेजस्तो लाइभको जमाना थिएन। त्यो भाषणको क्यासेटहरू देशका सबै ठाउँमा पुगे। त्यो उहाँको सिर्जनशीलताको परिणाम थियो।

विचारको हकमा पनि उहाँले जनताको बहुदलीय जनवाद सूत्रबद्ध गरिरहँदा हामी नौलो जनवाद भनिरहेका थियौं। उहाँले संसारभरका कम्युनिस्ट किन सफल हुन सकेनन् ? जनतासित गाँसिन नसक्दा, जनताबाट पटकपटक आवधिक रूपले अनुमोदित भइरहनुपर्छ भन्ने बुझ्न नसक्दा, एकचोटी अनेक दुःख गर्‍यो, अनेक यातना, प्रतिकुलता झेलेर क्रान्ति भयो तर क्रान्ति सफल बनाएर सत्तामा पुगेपछि पनि कम्युनिस्टहरू किन असफल भए ? कम्युनिस्टलाई जनताले एकचोटी शासन सत्तामा पुर्‍याउँछन्, अर्काेचोटी तिनै जनताले कम्युनिस्टलाई किन तिरस्कार गर्छन् ? कम्युनिस्टले आफ्नो काम गर्ने शैली बदल्नुपर्छ। जनताबाट आवधिक रूपमा अनुमोदित भइरहनुपर्छ। जनताबाट अनुमोदित नहुनेले शासन सत्ता सञ्चालन गर्ने हक राख्दैनन्। एकचोटी शासन सत्तामा पुगेपछि सधैंभरी भन्ने हुँदैन। सधैंभरी हुनका लागि जनताबाट अनुमोदित भइरहनुपर्छ। उहाँले यति जबर्जस्त यो विषय उठान गर्नुभयो, संसारभरका कम्युनिस्टले किन सेटब्याक खाए ? म भन्छु दुनियाका कुनै पनि कम्युनिस्ट पार्टीले त्यो आँटका साथ समीक्षा गरेका थिएनन्।

उहाँले समीक्षा मात्र गर्नु भएन सिद्धान्तबाटै हामी त्यसअनुरूप परिवर्तिन हुनुपर्छ भन्नुभयो। उहाँले बहुदलीय जनवादका १४ वटा विशेषता राख्नुभयो। त्यही आधारमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभव, हाम्रो देशको कम्युनिस्ट आन्दोलनको अनुभव, राजनीतिक र पार्टी स्वतन्त्रता, अधिनायकवाद, निरंकुशतावादका विरुद्ध हामी लडेका थियौं। हामीले पूर्ण प्रजातन्त्रका लागि लडेका थियौं। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभवलाई हेर्नुपर्‍यो, त्यहाँबाट निर्देशित हुनुपर्‍यो। दर्शन र सिद्धान्त अर्थात् त्यो भनेको द्वन्द्व सर्वत्र छ भनेको हो। प्रकृति, मानव समाज, राजनीति, राजनीतिक पार्टी सबैमा छन्। त्यसको समाधानका दुइटा विकल्प छन्, या द्वन्द्वलाई जबर्जस्त नियन्त्रण गर्नुपर्छ। नियन्त्रण हुँदासम्म गर्नुहोला, त्यो कुनै पनि बेला विस्फोट हुन सक्छ। विस्फोट भएपछि त्यसले डरलाग्दो क्षति पुर्‍याउँछ। त्यस्तो नहोस् भन्नका लागि द्वन्द्वलाई विधिसम्मत ढंगले प्रकट हुन दिनुपर्छ। द्वन्द्वलाई प्रकट हुन दिनुभयो भने त्यसले रचनात्मक निकास दिन्छ। संगति नभएका विषय हट्दै जान्छन्, संगतिपूर्ण विषय स्थापित हुँदै जान्छन्। द्वन्द्वलाई जन्मिन दिनुपर्छ। मदन भण्डारीले यी तीनैवटा जगमा उभिएर जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्नुभएको हो।

पार्टी निर्माणमा निरन्तर लागिरहने उहाँको शैलीको सधैं सम्झना आइरहन्छ। आज उहाँ हुनुहुन्न, नभए पनि उहाँले जुन विचार, दृष्टिकोण दिनुभएको छ, जुन मान्यता स्थापित गर्न खोज्नुभएको थियो ती चिज अहिले पनि उपयोगी छन्।

त्यसबेला पार्टीमै पनि नौलो जनवाद, परिमार्जित नौलो जनवाद, वातावरणीय जनवादवाला पनि थिए। उहाँ एक्लैले जब त्यो कुरा ल्याउनुभयो, सबै तंग्रिए, उभिए। यो विचार ठीक हो भन्ने लाग्यो। एमालेको पाचौं महाधिवशेनबाट भारी बहुमतका साथ उहाँले अगाडि सारेको जनताको बहुदलीय जनवाद पारित भयो।

फरक पार्टीसँग पनि उहाँको सम्बन्ध गतिशील थियो। पञ्चायतको विरोधमा लड्नु थियो। हामी त्यसबेला एउटा बनिबनाउ सेटमा कुरा गर्दथ्यौं , पंचायती निरंकुशता मुर्दावाद, भन्थ्यौं। तर लडाइँमा जित्ने कसरी ? भन्ने बारेमा उहाँले क्रंकिट कुरा ल्याउनुभयो। जति पनि वामपन्थी विचार छन्, सबैका कार्यनीतिबारे कम्युनिस्ट पार्टीमा मेल थिएन। तर सिद्धान्त र जनवादका बारेमा सबै पक्षमै देखिन्थे। यो अवस्थामा वामपन्थीको पनि मोर्चा बनाउनुपर्छ। त्यसबेलासम्म यस्तो मोर्चा सोचिँदैनथ्यो। एउटा समूहले अर्काे समूहलाई सत्तोसराप गरेर गाली गरिन्थ्यो। दक्षिणपन्थी, उग्रवामपन्थी, संकीर्णतावादी, संशोधनवादी के के भनिथ्यो। त्यसबेलाको दस्ताबेज हेर्ने हो भने अहिले पनि हाँसो उठ्छ। आरोप घनघोर लगाउने। तर मदन भण्डारी भने मित्रवत् आलोचना गर्ने। कार्यनीतिमा नमिलेका कुरा आफ्नै ठाउँमा छोड्ने, मिलेकालाई साझा एजेन्डा बनाएर वामपन्थीका बीचमा मोर्चा बन्नुपर्छ भनेर उहाँले त्यस्तो प्रस्ताव अगाडि सार्नुभएको थियो।

उहाँले त्यस्तो प्रस्ताव ल्याउनेबित्तिकै राजनीतिक तरंंग उत्पन्न भयो। कसरी बनाउने ? वाममोर्चा बनाएर सहाना प्रधानलाई त्यसको अध्यक्ष बनाउने प्रस्तावको उहाँले अगुवाइ गर्नुभयो। नेपाली कांग्रेसलाई कम्युनिस्टले हेर्ने दृष्टिकोण त्यसबेला दलाल पँुजीपति वर्गको पार्टी, भारतपक्षधर भन्ने र सिकसिक गर्ने, शत्रुकै स्थानमा राख्ने या नेपाली कांग्रेसलाई विना विश्लेषण मित्र भनेर अंँगालो हाल्ने, दुइटा टे«न्ड थिए कम्युनिस्ट पार्टीभित्र। हामी माले, एमाले पनि त्यही टे«न्डबाट प्रशिक्षित थियौं। उहाँले त्यस्तो ट्रेन्डलाई छिनालिदिनुभयो।

कांग्रेससँग वर्गीय हिसाबले हाम्रा बेमेल छन् तर राजनीतिक अधिकारका सवालमा बहुदलीय व्यवस्था स्थापना गर्न ऊसँग सहकार्य हुन सक्छ। त्यसकारणले वामपन्थीको मोर्चा बनाउने पहिलो कुरा, दोस्रो बहुदलीय व्यवस्थाका पक्षधरसँग हामीले कार्यगत एकता गर्नुपर्छ भनेर उहाँ महासचिव हुने चौथो महाधिवशेन (२०४६ सिराहामा आयोजना भएको ) बाट पारित भएको कार्यक्रम यही थियो। अरू नेता त्यस ठाउँमा भएका भए यस्तो आँट सायदै गदैनथे होलान्, त्यसबेला। किनभने नेपालका कम्युनिस्टको जिन्दगीमा त्यो निर्णयले यति ठूलो तरंग ल्याउँदै थियो कि हामी एउटा सेटमा कुरा गर्ने गर्दथ्यौं, राजाको विरोध गर्ने कि कांग्रेसको ? वा मित्र शक्ति भन्ने। त्यसमा उहाँको त्यस्तो प्रस्तावपछि बनिबनाउ हाम्रो सेट तोडियो। निरंकुशताको साझा शत्रुका विरुद्धमा हामीले संयुक्त मोर्चा, कार्यगत एकता गर्ने र वर्गीय हिसाबले हाम्रो आफ्नो दृष्टिकोण छँदैछ। त्यसले मुलुकलार्इृ आमूल परिवर्तन गर्ने विषयमा महत्वपूर्ण र निर्णायक काम गर्‍यो।

तर्कका आधारमा सबैलाई सहमत बनाई त्यसअनुसार सबैलाई हिँडाउन सक्ने उहाँको विशिष्ट प्रकारको खुबी थियो। ३७, ३८ वर्षको उमेरमा मदनले किन त्यस्तो प्रभाव पार्न सक्नुभयो ? पूर्वीय दर्शनमा उहाँले आचार्य (स्नातकोत्तर) गर्नुभएको थियो। उहाँले साहित्य र व्याकरणको गहन अध्ययन गर्नुभएको थियो। पछिल्लो समयमामार्क्सवादको शास्त्रीय अध्ययन गहिरोसँग गर्नुभएको थियो। सीपी मैनाली मालेको नेता हुँदा मिथक नायकको नेता हुनुहुन्थो। सीपी भनेपछि मान्छेहरू अलग्गै महसुस गर्दथे। पछिल्लो समय मैनाली मालेभित्र कमजोर हुँदै महासचिवबाट हट्नुभयो। उहाँ एक्लो बन्नुभयो। त्यस्तो बेलामा सीपी मैनाली भएन भने यो पार्टी कसरी चल्ला ? भन्ने त्रास थियो हामीलाई। मदन भण्डारीमा पनि त्यो त्रास थियो रे। म पटकपटक सोच्ने गर्दथें सीपी यो पार्टीमा रहेनन् भने के होला ? कसरी चल्ला ? कसले नेतृत्व देला ? प्रश्न दिमागमा आउने तर उत्तर नभेटिने हुन्थ्यो। त्यही सिलसिलामामार्क्सवादी साहित्य दर्शन सिद्धान्तको दुईतीन वर्ष घनघोर अध्ययन गर्नुभयो उहाँले। पूर्वीय साहित्य रमार्क्सवादी दृष्टिकोणको पनि सशक्त अध्ययनको अनुभवका आधारमा उहाँले नेपालको समाजका बारेमा गहिरो अध्ययन गर्नुभयो। त्यस खालको विशेष प्रतिभा उहाँमा थियो।

१४ वर्ष १० महिनाको अवधिमा मदन भण्डारीसँग मेरो भावनात्मक सम्बन्ध पनि रह्यो। पार्टी निर्माणमा निरन्तर लागिरहने उहाँको शैलीको सधैं सम्झना आइरहन्छ। आज उहाँ हुनुहुन्न, नभए पनि उहाँले जुन विचार, दृष्टिकोण दिनुभएको छ, जुन मान्यता स्थापित गर्न खोज्नुभएको थियो ती चिज अहिले पनि उपयोगी छन्। उहाँले सूत्रबद्ध,व्याख्या र प्रतिपादन गर्नुभएको विचार जनताको बहुदलीय जनवाद अहिले पनि हाम्रो मार्ग निर्देशक विचार हो।मार्क्सवादलाई नेपालको विशिष्टतामा लागू गर्दा विकसित भएको विचार हो त्यो। मदन भण्डारीले एउटा विचारसहितको, सांगठनिक क्षमतासहितको, जनतासँग घनिष्टता गाँसिएको सुसंस्कृत व्यक्तित्वका रूपमा म उहाँलाई सदैव स्मरण गरिरहनेछु। जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धान्जली अर्पण गर्न चाहन्छु।

—उपप्रधान तथा रक्षामन्त्री पोखरेलसँग रामकृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित

अन्नपूर्णपोष्ट बाट साभार