Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

रोपाइँमा हराउँदै ‘हलगोरु’

सुर्खेत ।
कुनैबेला असार लागेसँगै वीरेन्द्रनगरका फाँटमा देखिने हलगोरु आजभोलि हराउँदै गएका छन् । असार महिना, मानो रोपेर मुरी फलाउने किसानहरु यतिबेला धान रोपाइँमा व्यस्त छन् । समयमा पानी परेपछि यस वर्ष समयमा नै धान रोपाइँमा किसान जुटेका छन् । धान रोपाइँमा ब्यस्त किसानले परम्परागत कृषि प्रणाली हराउँदै जाँदा रोपाइँको रौनक नै हराए जस्तो भएको छ ।

तस्वीर : गुगल डटकमबाट

केही वर्ष अघिसम्म वर्षायाम शुरु भएसँगै हलोजुवा, हलगोरु, बाउसे र रोपाहारहरु खेतमा हुँदा रोपाइँको चहलपहल रहेपनि अहिले यो शैली हट्दै गएको छ । बढ्दो आधुनिकीकरणसँगै खेतमा धान रोपाइँका लागि हलोजुवा, हलगोरु र बाउसेको आवश्यकता हराउँदै गएको हो ।

प्रविधिको विकास भएसँगै सुर्खेतमा यतिबेला करिब १२  प्रतिशत मात्र रोपाइँ सकिएको छ । प्रविधिले किसानलाई सजिलो बनाइदिएको छ । तर केही वर्ष अघि ‘हलका हल’ गोरुहरु खेतमा हुन्थे । कहिले आकाशबाट पानी पर्ला र रोपाइँ गरौला भनेर आकाशतिर हेर्ने किसानहरु प्रविधिको विकाससँगै पम्पसेटको सहायतामा पानीको जोहो गरेर आधुनिक कृषि सामग्रीको सहायताले रोपाइँ गर्न थालेका छन् ।

आजभोलि धेरै किसानका गोठमा गोरुको सट्टा हाते ट्याक्टरहरु छन् । एकातिर सरकारको कृषि उत्थान कार्यक्रम र अर्कोतिर धेरै दुःख तथा परिश्रम पनि गर्नु नपर्ने भएकोले किसानहरु गोरु भन्दा पनि हाते ट्याक्टर तर्फ उत्साहित भएका हुन् ।

प्रविधिको विकासले सहज बनाएपनि खर्चिलो भने बनाइदिएको छ । कुनै जमानामा हामी गोरुले जोत्थ्यौ तर अहिले हाते ट्याक्टरले जोत्नु पर्दछ यसले आर्थिक रुपमा खर्च बढाएको बताउनुहुन्छ वीरेन्द्रनगर ३ का किसान जगबहादुर थारु । एकअर्का बीचमा पर्म स्वरुप सहयोग आदान प्रदान गरिन्थ्यो । काम गर्दा पनि रमाइलोसँग काम गर्दा थकानको महसुस हुदैनथ्यो । तर अहिले आ–आफ्ना खेतमा आफ्नै परिवारका मान्छे मात्र हुन्छन्, रमाइलो पनि कसरी होस् थारुले आफ्नो अनुभव सुनाउनु भयो ।

आजभोलि परम्परागत रोपाइँ पनि नहुने र पहिलेको असारे गीत पनि नघन्किने बताउनु हुन्छ वीरेन्द्रनगर १५ की उमाकली बुढा । उहिले रोपाइँ गर्नेबेलामा असारे गीत गाउँदै छुपुछुपु रोप्नुको मज्जा नै बेग्लै थियो । हलि, बाउसे र रोपारहरुका बीचमा हिलो छ्यापाछ्याप गरेर काम गरिन्थ्यो तर आजभोलि त रोपाइँ पनि रोपाइँ जस्ता लाग्दैनन् बुढाले सुनाउनु भयो ।

 नयाँ हाते ट्याक्टर खरिद गरेका किसान इमान सिं बस्नेत । तस्वीर : क्वीकखबर

वीरेन्द्रनगर १० का कृष्ण चौधरी कुनै समयमा ८ विगाहा जग्गा गोरुले नै जोत्नुहुन्थ्यो । जमिनदारको जग्गा भएपनि त्यसरी अर्मपर्म मार्फत काम गरेर कमाएको धानले वर्ष भरि खाना मात्र होइन बढि भएकोले बेच्दा नून, तेल र लत्ताकपडा समेत किन्न पुग्यो । तर अहिले सबै जग्गा प्लटिङ्ग गरेर घडेरीका रुपमा टुक्रा भएपछि उहाँ हाते ट्याक्टर मार्फत नै जोताउनु हुन्छ जम्मा ६ कट्ठा मात्र । त्यसले उहाँको परिवारलाई वर्षदिन पनि खान पुग्दैन । दुईहल गोरु पाल्ने उहाँको घरमा अहिले गोरु नै छैनन् ।

वीरेन्द्रनगर ११ का धनबहादुर रावतले ३० वर्ष भयो सुर्खेतमा गोरु जोत्न थालेको । अहिले पनि उहाँ गोरुले नै जोत्नु हुन्छ । ‘आफ्नो शक्ति हुने बेलासम्म गोरुले जोत्छु, नसक्ने भएभने छोराहरुले जे सुकै गरुन्’ रावतले भन्नुभयो । उहाँले थप्नुभयो, ‘हिजोका ढिकी, जाँतो, तेल पेल्ने कोल हराए जस्तै केही वर्षपछि यो गोरु र हलो पनि हराउँछन् होला ।’

देश संघीयतामा गइसकेपछि कर्णाली प्रदेश सरकारले यस वर्ष धान दिवसमा कर्णालीका जुम्ला बाहेक अन्य ९ जिल्लामा सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले कृषक तथा कृषि सहकारीहरुसँगको सहकार्यमा भौतिक दुरी कायम गरि धान दिवस मनाउने कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका प्रमुख चित्रबहादुर रोकायले बताउनु भयो । उहाँका अनुसार यस वर्षको धान दिवसमा कोरोनाको जोखिमलाई मध्य नजर गरि भौतिक दुरी कायम गरिने छ ।