Loading... आजः २८ श्रावण २०७७, बुधबार । Wednesday 12th August 2020
Trending:

राष्ट्रवादको लुतो 

एउटा काल्पनिक कथा । दुई छिमेकी मुलुकमा धूर्त शासकहरू सस्ता र उट्पट्याङ नाराले जनतामा भ्रम छर्दै थिए । पहिलेका शासकबाट असन्तुष्ट जनताले धूर्त शासकलाई जिताएका थिए । स्वार्थी र देश विकासको योजना नभएका शासकको निकम्मापनबाट जनता छिट्टै निराश हुन पुगे । सरकार अलोकप्रिय बन्यो, आलोचना बढ्यो । धूर्त शासकमा आसन्न चुनावमा सत्ताबाट हट्नुपर्ने डर पैदा भयो । दुवै देशका शासक कृत्रिम विवाद सिर्जना गरी केही दिन युद्ध पनि लडे । सैनिकको बलिदानको महिमा गाउँदै बलिदान खेर जान नदिने कसम खाए । दुवैले एकअर्कालाई पाठ पढाएको प्रचारबाजी गर्दै आ–आफ्ना देशमा राष्ट्रवादको मादक नशामा जनतालाई लठ्याए । सोझा जनताले तिनै धूर्त शासकलाई चुनाव जिताए । चुनावपश्चात् द्विपक्षीय वार्ता गरी समस्या समाधान भएको घोषणा गरे । यो काल्पनिक कथासँग मिल्दोजुल्दो नाटक धेरै देशका धूर्त र निकम्मा शासकले प्रयोग गरिआएका छन् । आदर्शहीन, सत्ता–शक्तिको भोगबाहेक कुनै लक्ष्य नभएका निर्लज्ज शासकको सबभन्दा सजिलो नारा राष्ट्रवाद हो । अठारौँ शताब्दीदेखि अहिलेसम्म यो नारा प्रभावी छ ।

सत्तारुढ नेकपाभित्र यतिवेला महाभूकम्प गएको छ । प्रधानमन्त्री केपी ओलीले मदन–जयन्तीको दिन दिएको मन्तव्यले त शक्तिशाली परकम्प ल्यायो । केहीअघि यस्तै हलचल हुँदा चिनियाँ राजदूतको सक्रियता र नक्सा प्रकाशनले थामथुम पारेको थियो । अहिले झन् तीव्र झड्का महसुस भएको छ । नेकपाको सत्तासंकट ०७४ सालको सम्झौतासहितको चुनावी गठबन्धनकै परिणाम हो । त्यस वेलाको गठबन्धन तरबार बेचुवा र घिउ बेचुवा ठगहरूको गठबन्धनजस्तै थियो । ओलीलाई जुनसुकै हालतमा चुनाव जितेर प्रधानमन्त्री बन्नु थियो, प्रचण्डलाई सिद्धिनै लागेको माओवादी पार्टीको अस्तित्व जोगाउनु थियो । चुनावमा अनपेक्षित सफलता प्राप्त गरेपछि दुई नेताको स्वार्थमा आधारित एकता भयो । एकताको नीतिगत कार्यक्रमिक आधार थिएन । दुइ नेताबीच सत्ता साझेदारी र पदको बाँडफाँड नै एकताको आधार थियो । एकता गर्दा जेसुकै सम्झौता भए पनि पाँच वर्ष नै प्रधानमन्त्री भइरहनेमा ओली जति स्पष्ट थिए, यहीबीच प्रधानमन्त्री बन्नेमा प्रचण्ड त्यत्तिकै इच्छुक थिए, छन् । दुवैको स्वार्थ समान भएपछि स्वार्थको टकराव त हुनु नै थियो, भयो ।

चराहरूमा काग चलाख मानिन्छ । नेपालका समकालीन नेतामा ओली सबैभन्दा चलाख मानिन्छन् । चलाख नेताले सबभन्दा बढी हेर्ने आफ्नो पदको सुरक्षा हो । देशमा जे–जस्ता समस्या भए पनि प्रधानमन्त्रीलाई पद कै चिन्ता छ । कोरोनाले संसारै आतंकित बनाएको, बन्दाबन्दीले गरिब मजदुर भोकै परेको, बाँच्ने आसमा मजदुर हप्तौँ पैदलयात्रा गर्दै गर्दा अलपत्र परी खुला आकाशमुनि रात गुजार्नुपरेको, अस्पतालमा सामान्य उपचार पनि पाउँन नसकेको अवस्थामा पनि प्रधानमन्त्रीको त्यसतर्फ ध्यानाकर्षण हुँदैन । उनी पार्टी फुटाएर पद सुरक्षित पार्न अध्यादेश जारी गर्न लाग्छन् । सीमाविवादमा नक्सा प्रकाशन गर्नैपर्ने बाध्यात्मक स्थिति सिर्जना भई नक्सा प्रकाशनमा राष्ट्रिय सहमति बनेपछि अझ कट्टर राष्ट्रवादी छवि निर्माण हुन्छ कि भन्नेतिर ध्याउन्न हुन्छ । अनि संसद्मै भारतको राष्ट्रिय प्रतीकमा शब्दवाण प्रहार गर्न थाल्छन्, भारतीय कोरोना भाइरस कडा भन्दै दुई देशका नागरिकस्तरका सम्बन्ध खलल पार्ने गैरजिम्मेवार बोली बर्बराउन थाल्छन् ।

भारतविरोधको राष्ट्रवाद पहाडे मूलका नेपालीमा प्रिय छ । पारिवारिक शासन जोगाउन राणाहरूले बीजारोपण गरे, प्रजातन्त्र मास्न र पञ्चायत टिकाउन महेन्द्र र उनका उत्तराधिकारीले मलजल गरे, संगठन विस्तार गर्न र शक्तिमा पुग्न नेपालका सबै कम्युनिस्ट पार्टीले प्रयोग गरे, गरिरहेकै छन् । यो कार्ड ओलीले मात्र खेलेका होइनन् । प्रचण्डदेखि मोहनविक्रम सिंह, नारायणमान विजुक्छे कोही पछि परेका छैनन् । भारतको विरोध गरे पनि ‘र’ को निकट हुने र लैनचौरको गोप्य डिनरमा पुग्ने पहिलो नेपाली पनि कम्युनिस्ट नेता नै हुन्छन् । अरू नेता सत्ताबाहिर कुर्लिए पनि सत्तामा पुग्दा सन्तुलित बोल्थे । ओली प्रधानमन्त्रीको कुर्सीबाटै गैरकूटनीतिक र अराजनीतिक शैलीमा मुलुकको साख नै गिराउने गरी जथाभावी बोल्दै छन् ।

आइन्स्टाइनको भनाइमा उग्रराष्ट्रवाद लुतो हो, जति कन्यायो उति नै चिलाउने । हाम्रा धूर्त र नालायक शासकलाई नक्कली राष्ट्रवादको लुते रोग छ । बारम्बार चिलाइरहँदा यो लुतोको संक्रमण सोझा नेपाली जनतामा सरेको छ ।

बीज जस्तो छ, बिरुवा त्यस्तै उम्रिन्छ । प्रधानमन्त्री ओलीको सत्तारोहण ०७४ सालको उनको भारतविरोधी देखिने व्यक्तित्व, विकास निर्माणका हावादारी गफ र उटपट्याङ बेतुके भाषणबाट भयो । सोझा जनताले यसैलाई पत्याइदिए । संविधान निर्माणपछि गल्तीमाथि गल्ती दोहोर्‍याएर आलोचित बनेको नेपाली कांग्रेसका कारण पनि ओलीलाई सहज भयो । कामै नगरी उटपट्याङ भाषणले मात्र नेता बनेका उनलाई आफ्नै हावादारी गफले लखेट्न थाल्यो । तत्काल सम्भव नहुने काम थाती राखेर सुशासन दिन र सक्ने काम गर्नेतर्फ लाग्नुसट्टा आलोचकको मुख थुन्ने बाटो खोज्न लागे । अहंकारी स्वभावले गर्दा ओलीले सल्लाह सुझाब ग्रहण पनि गरेनन् । बेसार, प्राणायामका गफ चुटेर समय खर्चनुबाहेक सुनाउन लायक केही भएन । उल्लेख्य एउटै काम नगरी भ्रष्टाचार र बेथिति मात्रै बढाएपछि पार्टीभित्रैबाट चुनौती आए । प्रधानमन्त्रीसँग राष्ट्रवादी र राष्ट्रघातीको रेखा कोर्नुबाहेक अरू विकल्प नै रहेन । फरक यत्ति हो, पहिले यो अस्त्र कांग्रेस र मधेसवादी दलविरुद्ध प्रयोग हुन्थ्यो, यसपालि आफ्नै पार्टीभित्र भयो ।

भारतको हस्तक्षेप नौलो होइन । राजा त्रिभुवन भारतको शरण परेदेखि नै मुलुकको शासनमा भारतको हस्तक्षेप छ नै । ००७–०१५ सालसम्म बिपीलाई सत्ताबाट टाढा राख्न प्रयोग भयो । २०१५ सालमा कांग्रेसले बहुमत ल्याएपछि बिपीलाई अपदस्त गर्न प्रयोग भयो । तैपनि बिपी कूटनीतिक मर्यादाभित्र रहेर प्रतिवाद गर्थे । राजा महेन्द्र पनि नन्दी–भृंगी उफार्थे, लेनदेन गर्थे । नेपाल भारतको हस्तक्षेपको भोगाइमा पर्नुको कारण तत्कालीन चीनको धोका हो । तिब्बतको पक्षमा नेपालसँग चीन युद्ध गर्न आएपछि २ अक्टोबर १७९२ मा बेत्रावती सन्धि भयो । सन्धिअनुसार नेपालमाथि अरूले हमला गरे चीनले सहयोग गर्नुपथ्र्यो । तर, सन १८१४ मा इस्ट इन्डिया कम्पनीले आक्रमण गर्दा चीनले नेपाललाई सहयोग गरेन । युद्धमा पराजित भई नेपालले ठूलो भूभाग गुमाउनुपर्‍यो । इस्ट इन्डिया कम्पनीसँग पराजित हुनु नपरेको भए मुलुकमा दक्षिणी हस्तक्षेपको सुरुवातै हुने थिएन कि ! तर, आज नक्कली राष्ट्रवादीको सत्तास्वार्थले दक्षिणको साथै उत्तरी हस्तक्षेप पनि सुरु भएको छ । पार्टी एकीकरण गर्न, पार्टीभित्रको रडाको मिलाउन उत्तरी सक्रियता सामान्य हुन थालेको छ ।

तर्साउने, लखेट्ने, कुनै हतकण्डा काम नलागे मिल्न पनि जाने, स्वार्थसिद्ध गर्न अनुकूल जुनसुकै बाटो लिन सक्ने क्षमता र चातुर्य ओलीसँग छ । उनले जे गर्दा पनि भएकै छ । आखिर सबै पार्टी नालायकहरूकै कब्जामा छन् । तर, उही व्यवहार विदेशीसँग गर्दा नेपाल र नेपालीको इज्जत त गिर्छ नै विश्वसनीयता पनि घट्छ । हामीले ओलीको मात्र दोष मानाैंला, अरू देशले नेपाल सरकार भनेर बुझ्छन् । नेपालीको चरित्र बन्न पुग्छ । प्रधानमन्त्रीले अर्को देशलाई जोडेर आरोप लगाएपछि त्यसअनुसारको कारबाही पनि गर्नुपर्छ । विदेश सम्बन्धलाई सत्ता राजनीतिको अंग बनाउनु राष्ट्रलाई महँगो पर्न सक्छ ।

आइन्स्टाइनको भनाइमा उग्रराष्ट्रवाद लुतो हो, जति कन्यायो उति नै चिलाउने । हाम्रा धूर्त र नालायक शासकलाई नक्कली राष्ट्रवादको लुते रोग छ । बारम्बार चिलाइरहँदा यो लुतोको संक्रमण सोझा नेपाली जनतामा सरेको छ । धूर्त नेताले रोग र भोक बेच्छन्, उपचार गर्दैनन् । आफ्नै निकम्मापनले ओली सत्ताच्युत होलान्, तर भोलि आउने शासक पनि तत्कालका लागि खासै भिन्न हुने देखिँदैन । भावी शासकलाई पनि आफ्ना कमजोरी ढाक्न जनतालाई कसरी भ्रमित पार्ने ज्ञान छ । उनीहरूले पनि नयाँ भाकामा रोग र भोकमा चमत्कार गर्ने नारा नै बेच्नेछन् । खरिदकर्ता पाउँदासम्म व्यापार त चलिरहन्छ । लामा, धामी, झाँक्रीजस्ता नेताहरूको चमत्कारमा विश्वास गर्दासम्म र लुते रोगको संक्रमणबाट मुक्त भइन्न । यस्तै धूर्त नेताको निकम्मा शासनबाट शासित भइरहनुपर्छ । विद्या किन्न पनि पाइन्छ, बुद्धि र विवेकचाहिँ आफैंमा आउनुपर्छ ।

(भुसाल नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन्)

नयाँ पत्रिका