कुरुवा – कथा
बिरामी परेर भिनाजुलाई अस्पताल भर्ना गरिएको थियोे । दिउँसो अफिस भ्याउनु पर्नेहुँदा मलाई उति फुर्सद हुन्नथ्यो र राति कुर्न दिदीलाई कहिले कसो पालो दिनुपर्थ्यो । प्लास्टिक झोलामा फलफूल बोकेर शनिबार दिउँसो म जांंदा दिदी र भिनाजु बात मारिरहेका थिए । पल्लो बेडमा नयाँ बिरामी भर्ना भएछ । बेडमा उत्तानो सुतेको बुढो बिरामीलाई दप्तिले हावा हम्किंदै गरेकी त्यही उमेरकी महिला छेउपट्टी थिइन्, सायद उसकी जहाँन हुन । पोसाक र पहिरनले उनीहरुको अवस्था छर्लङ्ग पारेको थियोे । सिलिङतिर आँखा डुलाइ रहेको बिरामीलाई एकोहोरो हेरिरहेकि थिइन् ती महिलाले । फेरि अन्तै हेरेर आँखा झिमझिम पार्थिन, सायद आँसु दबाउँदै पिडा सहन गरेको पनि हुनसक्छ ।
स्याउका टुक्रा सुन्तलाका केस्रा र अंगुरले भरिएको सानो थाल थियो भिनाजुका अगाडि । भिनाजुले खाइरहनु भएको थियोे, दिदीले पनि अलिअलि खाएर सघाएकी थिइन् । यो सबै टुलुटुलु हेरिरहेको थियोे पल्लो बिरामीले । सुसार गर्ने निहुमा ती महिलाले उसको मुख ओढ्ने बर्को तानेर ढाकिदिइन्,ताकी उसले हेर्न नपाओस । गर्मी भएको बहानामा बिरामीले बर्को तल सर्काउँदै फेरि त्यसरी नै हेर्यो । उनले फेरि बर्कोले ढाकिन उसले फेरि फाल्यो । सबै बुझेपछि थालबाट एक पसर खानेकुरा दिंदै भने, “यी लिनुस तपाईं पनि खानुस है ।” उसले पुर्लुक्क आफ्नी जहाँनको मुखमा हेर्यो । ” खानुसन खानुस अप्ठेरो मान्नु पर्दैन ।” दिदीले त्यसो भनेपछि उसले हात पसारेर थाप्यो । हामीसँग मुसुक्क हाँसेर जहानले कृतज्ञता जाहेर गरिन । हामी फेरि आफ्नै माहोलमा फर्केर गफ गर्यौं । यता गफिंदै उताको गतिविधिमा मैले ध्यान दिइरहेको थिएँ । बिरामीले त्यो खानेकुरा केहि आफ्नी जहानलाई बाँड्दा उनलेे खान्न भन्ने संकेतमा टाउको हल्लाइन् तर उसले मानेन । स्याउ र सुन्तला दुईवटा टुक्रा मुठीमा समाइन् झ्यालतिर फर्किन् र त्यतै हेरेर खाइन् । बिरामीले पनि फलफूल यसरी खायो मानौ हप्तौं देखि भोकाएको हो । खाँदाखाँदै बिरामीले खोक्यो, लामै खोकी लाग्यो । खोक्नेबेला सास्ती नहोस् भनी उठाएर जहानले अड्याउँदी रहिछन् । उतापट्टी अर्को बेडको बिरामी कुरुवा ठिटो, जुल्फी पालेर दाहिने कानमा फिउसको मुन्द्रा लगाएको थियो त्यो करायो । ” हत्तेरी ! कति खोक्न सकेको यो बूढो । रातभर पनि एकछिन सुत्न देकोछैन ल ।” मुन्द्रेलाइ मैले भने, ” ए भाइ के बोलेको त्यस्तो ? अस्पतालमा बिरामी कराउँछन, चिच्याउछ्न् रुन्छन । झ्याउ लाग्छभने होटलमा कोठा लिएर सुते भयोनी ।”
“त्यस्तो हुन्छ भने कुरुवा बस्न नआए पनि भयो ।” मेरो समर्थनमा अर्को कुरुवा बोल्यो ।
“त्यही त ! कि आफ्नो बिरामीलाई क्याबिनमा भर्ना गर्नुनी, आनन्दै ।” फेरि अर्को बोल्यो ।
“करा कराइ गरिकिन त्यसै खौल्याउन्या । हामी के रअरले बिरामी भयाहौँर ?” हाम्रो आधार पाएर ती महिला पनि बोलिन् । उसका विरुद्धमा सबै खनिएपछी कुनै कामको निहुँ पारेर चुपचाप मुन्द्रे बाहिरियो । हामी कुरुवाहरुले आपसमा हेराहेर गर्यौं ।
आइतबार म अफिस जाँदा एउटा स्टाफ साथीले मेरो नामको पत्र मलाई दिंदै भन्यो, ” तपाईंले भोज खुवाउनु पर्नेभयो किनकी….।” पत्रका अनुसार केन्द्रले दिने तालीममा सहभागी हुन जहाज चढेर म तुरुन्त राजधानी जानुपर्ने रहेछ । तालिमको उपयोगिता भन्दा पनि जहाज चढ्न पाइने बिषय मेरालागि महत्त्वपूर्ण थियो । कनिष्ठ मित्रहरू पनि जहाज चढेको फुईँ झार्थे र मेरो मन खिन्न पार्थे । आफ्नो पैसाले रहर पूरा गर्न जहाज चढिएला जस्तो कहिल्यै लाग्थेन । एकाएक यो अवसर भाग्यले मलाई चिट्ठामा दिंदैथियो । भगवान तिम्रो कृपा ! जहाज चढेर आकाशको अनुभव लिने रहर पनि पूरा हुने भयो । साँच्चै भनौभने होलो सस्तो भाडामा बस चढ्न छोडी चौगुना महंगो रकम तिरेर जहाज चढ्ने औकातले पुग्थेन । भाग्यमा लेखेपछी महंगो र सस्तो भन्ने कुरा पनि केहि हुँदो रहेनछ । सपनामा त धेरै चोटि जहाज चढेको छु । कैयन पटक आँफै पनि उडेको छु । सपनामा उड्नु पनि ख्याल मजा आउंदैन । सायद त्यस्तै हुन्छहोला विपनामा जहाज चढ्दा । अग्ला अग्ला पहाडहरु तलतिर फुच्चे देखिन्छन् होला । के नदिहरु कुलो कुलेसो जस्तै देखिन्छन त ? बादल भित्र जहाज पस्दा कस्तो होला ! कपासको रासमा लुटपुटिए झै हुन्छ त ? कथंकदाचित जहाजमा केहि गडबडी भयो भने के हुन्छ ! यता समाउँला छैन, उता टेकौंला छैन । मर्ने बाँच्ने जे सुकै होस तर पक्का चढिने भैयो । मन असाध्यै रमाएको थियोे, रहरले बालो बूढो भन्दो रहेनछ । बच्चाहरु रहर प्रकट गर्दछन बुढाहरु गर्दैनन् त्यति हो फरक । मेरो मन निरन्तर जहाजमै अल्झिरहेको थियो ।
साँझ खाना खाएर भिनाजुलाई कुर्न म अस्पतालमा गएँ । मलाई देख्ने बित्तिकै ती कुरुवा महिलाले उठेर नमस्कार गरिन् ।
” मलाई नमस्ते गर्न पर्दैन आमा, म त तपाईंको छोरा जस्तै मान्छे पो त ।”
” आफू भन्ना ठूला मान्छलाइ नमस्ते गर्या क्या हुन्छो तो !”
” कसरी ठूलो ? न म डाक्टर हुँ न यहाँको कर्मचारी । तपाईं जस्तै बिरामी कुरुवा होइनर म पनि ?”
” भया पनि तो !”
” नाइँ । आमा जस्तो मान्छेले नमस्ते गरेको म त रुचाउँदैन ।”
एकाएक उनले मलाई डाक्टरले लेखेको पर्चा र किनेको दबाइ देखाइन् । डाक्टरको पर्चा मैले बुझ्ने कुरै थिएन, बुझे झैँ गरेँ र उनको मन राख्न अब ठिक हुन्छ पनि भने । भिनाजुले मेरो तालिमको प्रशंग उठाउनुभयो । प्रमोसनमा मात्रै नभएर वृत्ति विकासमा पनि यसले प्रभाव पार्छ भनेर वहाँले भन्नुभयो । हामीले लामो बात मार्दामार्दै पनि जहाज चढ्ने रहरमा मन उम्लेको कुरा भिनाजुसामु मैले भन्दै भनिन । बिरामी र कुरुवाहरु सबै निदाइ सकेका थिए । कुरा गर्दागर्दै भिनाजु पनि कोल्टे फेरेर निदाउनुभयो ।
“आमा ! निदाउनु भएको छैन तपाईं ?”
” निन्द्रा लाग्दैना आनि ।”
” कहिले सुत्ने त ? दिनमा ? ”
” नाइँ, निदाउन छोर्या धेरै भैगो ।”
” बिरामीलाई के रोग लागेको, के हुन्छ ?”
” कोजानी ! पेटै खान्या पेटै खान्या । आनि एकोरो काँसो लाग्न्या ।”
” त्यति टाढाबाट बिरामी लिएर तपाईं मात्र आउनुभएको ? छोराहरु छैनन् र …?” मेरो यो प्रश्नले उनलाई एकछिन अल्झायो मलाई हेरिरहिन् ।
” कोय छयनन् दुइटा बुराबुरी हौं ।” उनले नाक सोहोरेर सप्कोले आँखा पुछिन । चुपचाप मैले केहिछिन हेरेर फेरि सोधेँ ” छोराहरु छुट्टीएर बसेका हुन कि बाहिरतिर छन ?”
” एउटा छोरो थियोे तपाईं कै अमेरको । हराम न विराम, पापीहरुले मारिदिया ।” उनको आँखामा भल बग्यो, मैले हेरिरहेँ ।
” अनि छोरीहरूनी ?”
” छयनन् । अघिका सबै केटाटी खेर गैकिन त्यो पच्छारी जन्म्याहो । माओवादीमा लाग्याओछ भनिकिन झुट्टा कुडा अरि साइसिनाले ( शाहीसेना ) मारीदिया ।” सुनेर मेरो मनमा भूइंचालो गयो ।
” हरे राम ! कति पापी त । बिहा त भएको थिएन होला ?”
” ब्या गर्या दुई मैना भयाथ्यो ।”
” अनि बुहारी कहाँ छिन् त आमा ? “
” किलो भया दाम्लो हुन्याहो, किलै नभया दाम्लो क्या काम । बुहारी बाटो लागिगै । नुजा भुन्न पनि भयान ।” म प्रश्न माथि प्रश्न गरुँ यी दुखी आमाको आँसु खर्च भैरहन्छ । नगरुँ प्रश्न मेरो जिज्ञासा अधुरै रहन्छ । आफ्नो ईच्छा विपरीत तिनी आमालाई थप रुवाउने निधो गरेँ, उकुसमुकुस मेट्न ।
” माओवादीमा छोराको केहि संपर्क थियो र ? ”
” कठै ! थाहै नाइँ । कालापाहार जान्या कमाइ काज गर्न्या आनि ओरापरी गरिकिन घर आइजान्या । झिट्टा कुडा गरिकिन मारिदिया । निम उनकै कानन उनकै । गरिबको बोल्दिन्या को छ ? कोय नाइँ ।”
” बिना कसुर त्यसरी किन मारेका त ?”
” उन्यारुले मार्न खोज्याओ रयछ्न् गँरेश बुरालाई ( गणेश बुढा ) हाम्रा छोराओ नाम गँरेश ओली हो । राश एउटै भया हुनाले गँरेश बुरा यहि हो भनिकन हाम्रा छोरालाई मार्या ।”
” बिरामीलाई उपचार गर्न त धेरै पैसा चाहिन्छ । खर्चपर्च कसरी जुटाउनुभयो त आमा ?” छोराको सम्झनामा व्याकुल बन्दै तिनि रुन थालेपछि मैले बिषयान्तर गरेँ ।
” पल्ला मैनाका ब्याउन्या एउटो भुईँसो थियो बेच्याँ । नाक कानका फुलि मररी (मडरी) फाल्याँ । आनि सिरका सिर्मान भन्ना ठूलो होयन फुलि मररी ।”
” जग्गा जमिन कति छनी आमा ?”
” छँदय छयन । खोलातिको अयलानीमा छाप्रो हाली बस्या पनि मस्तै बर्ष भया । त्यै जग्गा दर्ता हुन्या कुडा पनि छेपाडा आन भैगो आनि । सम्पत्ति भुन्नु बुराबुरीका यिनै चार हात हुन, कमाउन्या खान्या ।”
” घर हेरिदिने को छ त ?”
” दैलामा ताल्चा मारी आया हौं । छिमेकीकन रेखदेख गर्दिया भन्या हुँ । बाग्राका साना दुइटा पाठा थिया खानु पाया पायानन मस्तै भैगो घर छोर्या ।” रातको निकै लामो समय सम्म आमासँग मेरो दुखम सुखम चल्यो । आँसु भरिएका आँखाले उनले मलाई हेरिरहिन् । चुपचाप मैले पनि त्यसरी नै हेरिरहेँ । थाहा छैन उनले ममाथि आफ्नो छोराको अनुहार खोजेकी हुन या माया र भरोसा । छातीमा यत्रो पीडा बोकेकी यी आमाले हेरिरहँदा म भक्कानिन थालेँ, संहालिने प्रयत्न गर्दै भित्तातिर हेरेँ । भित्ताको भित्तेघडिमा समय कुदिरहेको थियो निरन्तर टिक् टिक् टिक् ।
जहाज चढेर आकाश सयर गर्ने मेरो व्यग्र प्रतीक्षाको त्यो दिन उदायो । बिहान नुहाइ धुहाइ सकेर लुगाफाटो मिलाउदै गर्दा भिनाजुको फोन आयो । तिन्ताका मोबाइल फोन भर्खरै प्रचलनमा थियोे । निको भएर अस्पतालले डिस्चार्ज गरेको कुरा वहाँले फोनमा बताउनुभयो । ” दुइचार दिन अँझै आराम गर्नुहोला भिनाजु ।” मैले भने । बा आमाको हातबाट साइतको टीका लगाएर झोला भिर्दै म घरबाट निस्किएँ । मलाई कतिखेर एअरपोर्ट पुगुं झैँ भएको थियोे । म चढेको जहाज धावनमार्गमा पूर्ण गतिले हुईँकिएर आकाशमा उचालिन्छ जब धर्ती छोडिन्छ तल तलतिर । आहा ! यो जीवनको त्यो पहिलो मजा ! म आफ्नो गाउँ ठाउँलाई हेर्नेछु आँखाभरी, कस्तो देखिएला आकाशबाट मेरो गाउँ ! आफू एअरपोर्ट पुग्न भ्याएको छैन तर कल्पनाको जहाजमा चढेर मेरो मन आकाशमा बत्तायो सेता बादलका भुल्काहरु छिचोल्दै ।
दोबाटोमा पुग्दा झर्लक्क अस्पतालको याद आयो । ती माया लाग्दी पराइ आमाको संझनाले मन तान्यो, अन्तिम रात उनले गरेको घतलाग्दो बात कानमा गुन्जिरह्यो ।
” कति दुख गरिकिन छोराछोरी जन्मायाँ हुर्कायाँ बरायाँ, सत्तुरले गोलि हानी मारिदिया । गरिबका छोराछोरी ता आनि बलि चराउन ( चढाउन ) पाल्या खसी बोका भैग्या । रोइ हुन्या न कराइ हुन्या । भाग्य लेख्ता भाविनिले जो भाग हाली नब्यौरी नहुन्या ।” तिनि आमासँग जीवनमा फेरि भेट होला नहोला अन्तिम पटक भेटेर कुराकानी गर्दै छुट्टिनु पाए ! नभेटे त जीवनभर एउटा पछुतो रहिरहन्छ । किन किन माया लागेर आयो त्यही मायाले उतै डोर्यायो । अन्याशै पैतालाहरु हिँडे अस्पतालतिर हतार हतारमा लमक् लमक् लमक् ।
मलाई देख्नेबित्तिकै उनले डाक्टरको पर्चा र औषधि देखाउने छिन् । बिरामीको अवस्था सुधार भएको बताउनेछिन र आफ्नो ठानेर मसँग अरु कुरा गर्नेछिन र हाँस्नेछिन आफ्नो गालामा खाल्टो पारेर । अस्पतालको प्राङ्गणमा पुग्दा नपुग्दै मान्छे रोएको नरमाइलो आवाज पो सुनियो । ओहो केहि विघ्न त परेन ! मनमा गहिरो शंका धसिंदै गयो । सिंढी चढ्ने ठाउँनेर नभन्दै ती आमा अलाप विलाप गर्दै रोइरहेकी थिइन् । हरे भगवान यत्रो बज्रपात ! कस्तो निर्दया ! म नजिकै पुगेँ, देखेर मलाई झम्टदै अंगालो हालिन । ” बाबू काल कति निठुरे रयछय, बर्तु मैलाय लग्याभ्या हुन्याथियो । अब म एक्लै घर कहरी जाउँला । कयको मुख हेरुला । कोहित बोलुला । भगोमान मलाय पनि मार, बुरेशकालको जोरा छुटाइकिन एक्लै नपार ।” ओरिपरी धेरै मान्छे थिए, रमिता हेरेका होइनन् समबेदनामा उपस्थित भएका । उनिहरु भन्दैथिए, ” हुने हार दैव नटार । ” ” त्यही तनि अब रोएर कराएर के गर्नुर ।” ” भो दिदी नरुनुस यसरी आँफुलाइ संहाल्नुस ।” ती आमाले कसैको केहि सुनिरहेकी थिइनन् । उतापट्टी अग्लो खाटमा उत्तानो सुताइएको मूर्दालाइ सेतो कपडाले ढाकिएको थियो । कपडा उठाएर मैले मुख हेरेँ केही दिन अघि मैले दिएको फलफूल मिठो गरि खाएका, मलाइ देख्दा पिडा खटाइ मुसुक्क हाँस्ने ती बुढा बा चीर निन्द्रामा सुतेका थिए, कहिल्यै नउठ्ने गरि । मन भक्कानिएर आँखा रसाएपछी म स्तब्ध भएँ । मेरो पाकेटमा मोबाइल फोन बजेर तारन्तार एअरपोर्ट बोलाइरहेको पनि मलाई थाहा थियो, तर परिस्थितिले मलाई यो चक्रव्यूहमा हुलिदियो । नाडी उठाएर घडी हेरेँ समय कुदिरहेको थियो । आमालाई संझाउदै भने,” भो आमा अब नरुनुस, यो संसारको नियम हो । सबैलाई पर्छ मन नबुझाइ हुन्न । तपाईंको को छ यहाँ चिनेको ?”
” कोय छयन बाबू मेरो कोय छयन । हजुर छोरि (छोडी) यो संसारमा मेरो आप्नो भुन्नु अब कोय छयन ।” आमाले मलाई जोडले चपक्क समाइन् र डाँको छोडिन् । फेरि घडी हेरेँ समयले मलाई कुरेन, मानवताले उम्कनै पनि दिएन । पाकेटमा फोन निरन्तर बजिरह्यो । मेरो जहाज मेरै टाउको माथीबाट आकाशिंदै उड्यो । मैले हेरिरहेँ ।
समाप्त







