Loading... आजः २८ श्रावण २०७७, बुधबार । Wednesday 12th August 2020
Trending:

अस्वस्थ पृथ्वीमा कसरी स्वस्थ हुन सक्छौं ?

कोभिड-१९ को सम्भावित फैलावट रोक्न लकडाउन गर्ने क्रममा वातावरणीय क्षेत्रमा केही सकारात्मक परिर्वतन देखिए । लकडाउनमा मानव गतिविधि रोकिँदा विश्वका अधिकांश सहरमा वायुप्रदूषण निकै कम भयो । यसबेला नदिनाला सफा भए । वातावरण स्वच्छ भयो । धुलो र धुँवालग्रस्त सहरका रूख-विरूवाले स्वास फेर्न पाए ।

वायु र जल प्रदूषणले ग्रस्त संसारका अधिकांश क्षेत्रमा बन्दाबन्दीले प्रदूषणको मात्रा घटाएको देखिएको छ । बन्दाबन्दीको अवधिमा वातावरणीय क्षेत्रमा देखिएको सुधारलाई पर्यावरण संरक्षणकर्ताले नयाँ तरिकाले अर्थ्याउन थालेका छन् । उनीहरू भन्न थालेका छन्- ‘प्रकृति संरक्षणका लािग मान्छेले आफनो जीवनशैलीमा सुधार गर्नुपर्छ ।’

यद्यपि, ‘जीवनशैली’ शब्द जति सहज सुनिन्छ यसमा परिवर्तन ल्याउन त्यति सहज छैन । मानव जीवलाई निरन्तरता दिन चाहिने सम्पूर्ण सहज, अ-सहज बनाउन प्रयोग भइरहेका चीजहरू प्रकृतिबाटै प्राप्त हुन्छन् ।

जीवनशैली परिवर्तन गर्न मानव समुदायलाई निकै ठूलो चुनौती छ । तर, असम्भव होइन् । हामीले मोबाइल र इन्टरनेटलाई एक दशकको अवधिभित्रै संसारभर पुर्‍याएर मानिसलाई अभ्यस्त बनायौं । यही गतिमा हामी हाम्रो जीवनशैली परिवर्तन गर्न सक्छौं त ? यदि सक्दैनौं भने हामी आफूमात्र होइन समग्र पृथ्वीलाई नै समाप्त पार्ने बाटोमा छौं ।

पृथ्वी मानवको मात्र होइन किनकि करोडौं प्रजातिका असंख्य जीवन पृथ्वीमै छन् । यी असंख्य जीवनहरू एकअर्कासँग अन्तरसम्बन्धित छन् । यही विविधताले नै पृथ्वीलाई जीवनले भरिपूर्ण बनाएको छ । त्यसैले पृथ्वीलाई जीवित ग्रह भनिन्छ ।

कल्पना पुन

पृथ्वीसँग जीवन प्रदान गर्ने अद्भूत क्षमता छ । तर, यो क्षमता अब कमजोर हुँदै गएको छ । डब्लुडब्लुएफ (विश्व वातावरण कोष) का विज्ञान तथा संरक्षण विभागका निर्देशक माइक ब्यारेट भन्छन्- ‘पृथ्वीमा आएका हर एक जीवले पृथ्वीको वातावरण जीवनका लागि सहज बनाउन योगदान गरे । पृथ्वीको माटो र पानीले जीवनलाई झनै उर्वर बनायो ।’

बढ्दो जैविक विविधताले पृथ्वीको जीवन जटिल बन्दै गयो । यो जटिलता नै नयाँनयाँ जीवन निर्माण गर्ने पूँजीको रूपमा विकसित भयो । जैविक विवधताको यो अथाह पूँजीले नै आज यो ग्रहमा यति धेरै जीवन सम्भव भएको हो ।

पृथ्वी आफैंमा एउटा जीवित ग्रह जस्तै हो । पृथ्वीलाई आफ्नो निवास बनाएका असंख्य जीवहरू नै यसका प्राण हुन् । पृथ्वीका अंग हुन् । पृथ्वीलाई स्वस्थ्य राख्न पृथ्वीमा रहेका हरेक जीवनको भूमिका छ।

उदाहरणका लागि पृथ्वीका उत्तरी र दक्षिणी धुव्रले पृथ्वीका लागि ‘एअर कन्डिसन’को काम गर्छन् । यी धु्रवले सुर्यबाट आउने उग्र ताप र हानीकारण किरणलाई परावर्तित गर्दै पृथ्वीलाई चिसो बनाइराख्छन् । समुद्री हिउँले सामुन्द्रिक जीवका लागि खाद्यान्न सञ्चय र उत्पादन गर्दछ ।

नदीहरू पृथ्वीका धमनी हुन् । नसा हुन् । हिमाल, ताल, पहाडबाट सुरू भएर बग्ने यी नदिले जीवनदान गर्ने पोषण र पानी बोक्छन् । पृथ्वीभर फैलिएर रहेका विशाल जंगल, समुद्रमा तैरिरहेका खरबौं माइक्रोस्कोपिक बिरूवाहरूले कार्बनलाई प्रशोधित गर्दै वायुमण्डल जोगाएका छन् । घना जंगलका रूखहरूले सञ्चित गरेको सूर्यको शक्ति प्रयोग गरेर पानी पार्न तथा अक्सिजन उत्पादनका लागि मद्धत गर्छन् ।

पृथ्वीमा रहेका यी असंख्य जीवनको संयुक्त कलाकारिताले नै पृथ्वीमा जीवन सम्भव भएको हो । यही कलाकारिता नै जैविक विविधता हो । जैविक विवधता जोगाउनु नै पृथ्वी जोगाउनु हो ।

कार्लोस नोर्बेका अनुसार पृथ्वीको ६० प्रतिशत जंगल त हामीले मासु उत्पादनका लागि जनावर पाल्न मात्रै मासेका छौं । ३० प्रतिशत जंगल खेतिपाती गर्न । बाँकी जमिन बासस्थान बनाउन

गएका १२ हजार वर्ष यता पृथ्वीमा मानिस हाबी भएको छ । पृथ्वीभरका जीवन र पृथ्वीको भविष्य निर्माता भएको छ मानव । १२ हजार वर्ष यताको समयलाई वैज्ञानिकहरू होलासीन भन्छन् । वैज्ञानिकहरूको खोजले पत्ता लगाए अनुसार होलोसिन नै पृथ्वीको सबैभन्दा स्थिर र शान्त समय हो । यही समयमा हाम्रो सभ्यताको जन्म भएको हो । यही समय हो जसले हामीलाई पृथ्वीमा हाबी बनायो ।

पोष्टड्याम इन्स्च्युट फर क्लाइमेट इम्प्याक्टका अनुसन्धान निर्देशक जोन रकस्ट्रम भन्छन्- ‘होलोसिनको सुरूवात संगै पृथ्वीको मौसममा देखिएको यो स्थिरताले नै हामीलाई ऋतुहरू प्रदान गर्यो ।’

ऋतुहरूको पार्दुभाव सँगै हामीले निश्चित समयमा पानी पर्छ भन्ने थाह पायौं । निश्चित समयमा जाडो हुन्छ, हिउँ पर्छ र गर्मी हुन्छ भन्ने चाल पायौं ।

हामीले घाम, पानी र हिउँको चक्र थाह पायौं । यही चक्रका आधारमा हामी कृषि युगमा प्रवेश गर्यौं । र, तपाईहरू सबैलाई थाह छ, कृषि युगले ने हामीलाई आधुनिकतातर्फ डोर्याएको हो ।

ऋतुहरूको यो चक्र चाल पाइसकेपछि पृथ्वीमा हाम्रा जरा दह्रोसँग गाढिए । हाम्रो जनसंख्या बढ्न थाल्यो । जैविक इन्धनको विकासले हामीलाई मेसिनको युगमा पुर्यायो । र, पृथ्वीको दोहन यहीँबाट सुरू भयो ।

जोन रकस्ट्रम थप्छन्- ‘सन् १९५५ सम्म पनि मानिसले पृथ्वीमा भयंकर प्रभाव पारिसकेको थिएन् । हामी यो ग्रहका सानो विश्व मात्र थियौं । तर, दोस्रो विश्वयुद्धको १० वर्षमै प्रविधि विकासले तिव्र गति लियो । शान्ति, समझदारी र विश्वासको वातावरण बन्यो । यही वातावरणले आधुकिता तर्फको हाम्रो गतिमाइन्धन थप्यो । र, यो गति आजसम्म यथावत छ ।’

दोस्रो विश्वयुद्धको समाप्तिपछि मानव समुदायले तिव्र गतिमा आफ्नो जीवनशैली नाटकीय रूपमा परिवर्तन गर्यो । प्रविधिको सहयोगमा हामी एक अर्कासँग जोडियौं । हाम्रो यही सम्बन्धले व्यापारमा नयाँ आयाम थप्यो । व्यापार उत्कर्षमा पुग्यो । यस अगाडि असंभव ठानिएको उत्पादन क्षमता हामीले प्रस्तुत मात्र गरेनौं, खपत नै गर्यौं ।

पछिल्ला ५० वर्षमा पृथ्वीमा मानिसको जनसंख्या दोब्बरभन्दा बढीले वृद्धि भयो । र, हरेक मान्छे एउटा नयाँ उपभोक्ता बन्यो । तर, यही अवधिमा हामीले पृथ्वीका प्राकृतिक स्रोतको भरपुर दुरूपयोग गर्यौं । पृथ्वीको शोषण गर्यौं । त्यसैले त वैज्ञानिकहरू भन्छन, ‘स्वागत छ, एन्थ्रोपोसिन युगमा ।’ अर्थात् मानिसले पृथ्वीमा रजगज गरेको समय ।

जमिनको तीन भाग, सामुदि्रक पानीको दुई भाग मानिसका क्रियाकलापले नराम्रोसँग प्रभावित भएका छन् । पानीको मुख्य स्रोत मानिने हिउँ ४० प्रतिशतले घटेको छ । पृथ्वीका धमिन र नसा भनिने नदी, तालहरू सुख्खा हुँदै गएका छन् ।

पृथ्वीको आधाभन्दा बढी जमिन हामीले कब्जा गर्यौं । पृथ्वीमा रहेका ठूलाठूला जंगल फँडानी गरेर हामीले सभ्यता विकास त गर्यौं । तर, हाम्रो सभ्यता पृथ्वीका लागि भने अभिशाप साबित हुँदैछ । वल्र्ड रिसोर्स इन्सिच्युटका सिनियर फेलो कार्लोस नोर्बेका अनुसार पृथ्वीको ६० प्रतिशत जंगल त हामीले मासु उत्पादनका लागि जनावर पाल्नमात्रै मासेका छौं । ३० प्रतिशत जंगल खेती गर्न । बाँकी जमिन बासस्थान बनाउन ।

हाम्रो दोहन कहाँसम्म पुगेका छ भने, समुद्रका ९० प्रतिशत ठूला शिकारी जनावर हामीले गुमाइसकेका छौं । पछिल्ला ५० वर्षमा पृथ्वीबाट जंगली जनावरको संख्या औसतमा वाषिर्क ६० प्रतिशतले घट्दो छ । जंगली जनावरलाई हामीले घरपालुवा जनावरले विस्थापित गर्यौं । हामी र हाम्रा पाल्तु जनावर नै पृथ्वीका ९० प्रतिशत स्तनधारी प्राणी हौं ।

प्राकृतिक दुनियाँमाथि हाम्रो कब्जा सफल भएको छ । त्यसैले त पृथ्वीको आधाभन्दा बढी उर्वर भूमि कब्जा गरेर हामी कृषि गछौं । प्रत्येक वर्ष पृथ्वीको तापक्रम बढ्नुका साथै हावा प्रदूषित हुँदै गइरहेको छ । डब्लुडब्लुएफको अध्ययनअनुसार त पृथ्वीका ९० प्रतिशतभन्दा बढी मानिस प्रदुषित हावामा श्वास फेर्छन् । निशंकोच यो हावा हामीले नै प्रदुषित बनाएका हौं ।

तात्दै गएको पृथ्वीको मौसमी चक्र बिथोलिएको छ । अब पहिले जस्तो सहजै मौसम अनुमान गर्न नसकिने भएको छ । मौसमी चक्र बिथोलिँदा यसको सिधा असर कृषि उत्पादनमा परेको छ ।

मौसमी चक्र विथोलिँदा घट्न गएको कृषि उत्पादन बढाउन हामीले विषादी प्रयोग गर्यौं । परिणाम हाम्रो स्वास्थ्य मात्र बिगि्रएन, माटोको उर्वरता शक्ति घट्यो । कृषि उत्पादनका लागि आवश्यक मानिने माटोमा पाइने स-सना जीवनको विनाश भयो । यी सबैको एकमुष्ट असर फेरि कृषि उत्पादनमै पर्‍यो ।

तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ, पृथ्वीले हामीलाई निः शुल्क प्रदान गरिहेको कुरा ? उपहारमा पाएको शुद्ध हावा, पानी, मलिलो माटो र अन्य प्राकृतिक चिजको मूल्य तिर्नु परेको भए के हुन्थ्यो ?

मूल्य तिर्नु परेको भए मानव विश्वको कूल ग्राहस्थ उत्पादनको दुई गुणाले पनि पृथ्वीले प्रदान गरेका स्रोतको मूल्य तिर्न सकिँदैन । हाम्रो र हाम्रो ग्रहको भविष्य अब हाम्रो हातमा छ । अन्तर्राष्ट्रिय कृषि अभियन्ता ब्रेन स्मित भन्छन्- ‘जलवायु परिवर्तनसँग सम्बन्धित हाम्रा नीतिहरू कमजोर भए भने एक दिन यसले भयंकर बेरोजगारी निम्त्याउने छ । र, परिणाम पृथ्वी ‘मृत ग्रह’ सावित हुनेछ ।’

संसारको एक कुनामा देखिएको कोरोनाको प्रभाव जसरी संसारभर देखियो त्यसरी नै पृथ्वीको कुनै एक ठाउँको जंगल विनाश हुँदा । कुनै एक ठाउँको ताल, नदी सुक्दा वा कुनै समुद्र प्रदुषित हुँदा । कुनै हिमालको हिउँ पग्लिँदा यसको असर सारा पृथ्वीबासीले भोग्नुपर्छ ।

पृथ्वीमाथिको बढ्दो संकट समग्र पृथ्वीकै जीवनको संकट हो । पृथ्वीमाथि यो संकट निम्त्याउने मानव नै हुन् । त्यसैले यो संकटबाट पार लगाउने । यो संकटबाट पृथ्वीलाई जोगाउने पनि मानव नै हुन् ।

यसका लागि सबैभन्दा पहिले हामीले हाम्रो उपभोगको तरिका र आर्थिक प्राथमिकतामा व्यापक परिवर्तन गर्न जरूरी छ । हाम्रो आर्थिक गतिविधि र जीवनशैलीलाई नयाँ संरचनामा ढाल्नुपर्छ । जीवनशैलीको अभ्यासलाई नयाँ रूप दिनुपर्छ किनभने पृथ्वी जोगाउने वा बिगार्ने ड्राईभिङ सिटमा हामी छौं । किनभने पृथ्वीको जैविक विविधताको सबैभन्दा धेरै लाभ उठाउने हामी नै हौं ।

वैज्ञानिक र अनुसन्धाताहरूका अनुसार पृथ्वीलाई जोगाउन वैकल्पिक मार्ग तय गर्न हामीसँग जम्मा १० वर्ष मात्र छ । १० वर्षभित्र हामीले हाम्रो जीवनशैली परिवर्तन गरेनौं भने पृथ्वीमा रहेका सम्पूर्ण जीवनको हत्यारा बन्ने छौं ।

वातावरण अभियन्ताहरू भन्दै आएका छन्- पृथ्वीको दोहन गर्ने र दोहनबाट उत्पादन गरिएका वस्तुको न्युन खपत, पुनः प्रयोग र पुनः उत्पादन (रिसाइकल) नै पृथ्वी जोगाउने मन्त्र हो । यो मन्त्र सरकार र उपभोक्ता सबैले पालना गर्नुपर्छ । पृथ्वी तपाईं-हामीले कल्पना गरेभन्दा धेरै गुणी छ ।

पृथ्वीको गुणी स्वभाव कोरोना कहरको बन्दाबन्दीमा उजागर भएको छ ।

अनलाइन खबरबाट साभार