Loading... आजः २८ श्रावण २०७७, बुधबार । Wednesday 12th August 2020
Trending:

कोरोनालाई कृषि तथा दुग्ध उत्पादन बृद्घि गर्ने अवसरको रुपमा प्रयोग गर्न पूरा गर्नुपर्नेे पूर्वशर्तहरु

चीनको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरसले विश्व महामारीको रुप लिएसँगै यसबाट विभिन्न क्षेत्रमा पर्ने प्रभावको चर्चा पनि व्यापक भएको छ । महामारी कहिले अन्त्य हुन्छ भन्ने अनिश्चित छ । यसैले यसको असरको मात्रा पनि ठ्याक्कै आकलन गर्नसक्ने अवस्था छैन । तर, पनि यसले कृषिलगायतका धेरै क्षेत्रमा ठूलो उथलपुथल ल्याउँछ भन्ने अनुमान गर्न महामारीको अन्त्य पर्खनु पर्दैैन । नेपालको परम्परागत कृषि र दुग्ध उत्पादनमा कोरोनाको नकारात्मक प्रभाव पर्न नदिने बरु उत्पादन वृद्धि गर्ने अवसरमा परिणत गर्ने हो भने के के गर्नु पर्ला भन्ने चर्चा यस लेखमा पारिएको छ ।

लेखकद्वय

सबैभन्दा पहिले कोरोना नलागेका बेला कृषिका लागि प्रयोग हुँदैआएको पानी र जमिनमा कस्तो दबाब थियो, खाद्यान्न उत्पादन बढाउनुपर्ने कारणहरु के के थिए र दुग्ध उत्पादन बढाउन पूरा गर्नुपर्ने पूर्वपर्तहरु के के थिए भन्ने चर्चा गराैँ ।

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार नेपाल, भुटान, सुडान आदि अल्पविकसित समूहमा पर्ने मुलुकमा जनसङ्ख्या वृद्धिदर विकसित समूहमा पर्ने मुलुकहरूका तुलनामा झन्डै तीन गुना बढी छ । यसैले, अल्पविकसित समूहका देशहरुमा रहेको हालको लगभग १ अर्बको जनसंख्या सन् २०५० सम्म डेढ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । त्यस अवधिमा नेपालको हालको जनसङ्ख्या करिब दोब्बर  बढ्ने देखिन्छ । जनसङ्ख्या वृद्धिको सोझो असर खाद्यान्नको मागमा पर्छ । विभिन्न अध्ययनअनुसार, २०५० को खाद्यान्न माग पूरा गर्न हालको उत्पादन दोब्बर बनाउनु पर्नेहुन्छ ।

सहरीकरण जनसंख्या वृद्धिकै समानान्तरमा रहेकोे अर्को मामिला हो । सामान्यतया सहरी क्षेत्रको आम्दानी ग्रामीण क्षेत्रको तुलनामा बढी हुने हुँदा सहरीकरण सँगसँगै सहरमा बस्ने मानिसहरूको जीवनस्तरमा सुधार आउँछ । फलस्वरूप, चामल र गहुँबाट बनेका परिकारभन्दा माछामासु र दूधबाट बनेका परिकार खाने प्रचलन बढ्नेछ । यसको उत्पादनको लागि निकै बढी पानी आवश्यक पर्छ । त्यस्तै खनिज इन्धनको सट्टा जैविक इन्धनको बढ्दो प्रयोगले खेतीको लागि उपलब्ध जमिन र पानीमा अझ बढी दबाब सिर्जना गर्नेछ ।

कृषि क्षेत्रमा प्रयोग हँुदैआएको स्रोत गैरकृषि क्षेत्रमा खर्च हुँदै जाँदा विश्वमा भोकमरी चर्कँदो समस्याका रूपमा देखापरेको छ । राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो तथ्यांकअनुसार खाद्यान्न अभावकै कारण हाल हरेक रात ९६ करोड ३० लाख मानिस पेटभर खाना नखाएरै सुत्ने गर्छन् । खाद्यान्न अभाव भोगिरहेका मानिसमध्ये आधाभन्दा बढी बालबालिका हुन्छन् । भोक र कुपोषणकै कारण प्रतिपाँच मिनेटमा एकजना बालकको मृत्यु हुन्छ । नेपालमा पनि देशको दुर्गम भेगमा बस्ने हालसम्म पनि राजनीतिक, आर्थिक तथा सामाजिकरुपमा पछाडि परेका विपन्न समुदायका बस्तीहरुमा भोकमरीको समस्या फैलिँदै गएको देखिन्छ ।

नेपालकोे कुल गार्हस्थ्य उत्पादनमा एक तिहाइ योगदान कृषि क्षेत्रले गर्छ जुन उद्योगबाट प्राप्त हुनेभन्दा दुई गुणा बढी छ । जम्मा भूभागको २० प्रतिशत अंश ओगटेको कृषि व्यवसायमा करिब दुई तिहाइ जनसंख्या आश्रित छन् । विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत तथा एसियाको कुल क्षेत्रफलको ०.३ प्रतिशत भाग मात्र ओगटेको सानो भूपरिवेष्ठित मुलुक भए पनि समुद्र सतहबाट ६० मिटरदेखि ८ हजार ८४८ मिटरसम्मका विशाल उचाइ भएको भूभाग रहेकाले नेपाल विविध मौसमको धनी देश मानिन्छ । ज्यादै गर्मीदेखि ज्यादै चीसोसम्मका हावापानी पाइनाले यहाँ विविध अन्न बाली तथा दुग्ध व्यवसायजस्ता थरीथरीका कृषि व्यवसायको आकर्षक सम्भावना देखिन्छ ।

दुग्ध व्यवसाय भन्नाले दूध उत्पादनका लागि गरिने गाईभैँसी पालनदेखि त्यसका लागि गरिने अन्न खेतीलाई बुझाउँछ । नेपालमा व्यवस्थित दुग्ध व्यवसाय सन् १९५२ देखि रसुवामा याक चिज फ्याक्ट्रीको स्थापनासँगै भएको देखिन्छ । गत एक दशकदेखि भने दुग्ध ब्यवसायले राम्रै फड्को मारेको छ । दुग्ध व्यवसाय हाल आएर कृषिको अभिन्न अंगको रुपमा स्थापित भइसकेको छ । नेपाल सरकार दुग्ध व्यवसायको विकास र विस्तारको लागि दृढ देखिन्छ । तर पनि यस क्षेत्रले अपेक्षित उपलब्धि भने प्राप्त गर्न सकेको छैन ।

प्राकृतिक स्रोतहरुको असमान वितरण र कमसल व्यवस्थापन दुग्ध व्यवसाय राम्रोसँग फस्टाउन नसक्नुको प्रमुख कारणको रुपमा देखिएको छ । उदाहरणका लागि नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत भूभाग हिमाली प्रदेशमा पर्छ । त्यसले कुल गौचरनको ८० प्रतिशत हिस्स ओगटेको छ । तर, यस क्षेत्रमा नेपालमा रहेका कुल चौपायामध्ये १० प्रतिशतमात्र छन् । यसले गर्दा यहाँ चैपायाको लागि उपलब्ध आहाराको परिमाण आवश्यकभन्दा धेरै छ । पहाडी प्रदेशमा ५० प्रतिशत चौपाया भए पनि यहाँ गौचरन क्षेत्र १८ प्रतिशतमात्र छ । फलस्वरुप यस प्रदेशमा चौपायाहरुको लागि आवश्यक आहाराको परिमाण ५५ प्रतिशत अपुग छ । तराईमा भने गौचरनको क्षेत्रफल कम भए पनि आधाभन्दा बढी कृषि क्षेत्र रहेको कारण चैपायाको लागि आवश्यक आहारामा त्यति समस्या देखिँदैन ।

नेपालमा चौपायाहरुको लागि आवश्यक कुल आहाराको परिमाणमा झन्डै एक तिहाइ कम देखिन्छ । यसले गर्दा विश्वका अन्य देशहरुको तुलनामा नेपालमा प्रतिगाई दुग्ध उत्पादन अत्यन्तै न्यून छ । नेपालको तुलनामा अमेरिकामा वार्षिक प्रतिगाई दुग्ध उत्पादन झन्डै २० गुणा बढी छ भने समान प्राकृतिक परिवेश रहेको ब्राजिलमा समेत झन्डै ३ गुणा धेरै छ । यसको अर्थ उपलब्ध जमिन र पानीको उचित सदुपयोगबाट नेपालमा दुग्ध उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सकिने सम्भावना छ भन्ने हुन्छ ।

नेपालमा कृषियोग्य जमिन विस्तारको सम्भावना लगभग शून्य छ । किनभने उत्पादन योग्य जमिन पहिले नै कृषिमा प्रयोग भइसकेको छ । प्रयोग हुन बाँकी जमिनबाट आकर्षक प्रतिफलको सम्भावना निकै कम देखिन्छ । त्यसैले नेपालजस्ता अल्पविकसित समूहका मुलुकहरूमा उपलब्ध जमिनबाट उत्पादनमा वृद्धि गरेर अन्न बालीको उत्पादन बढाउन सकिन्छ । यस्ता मुलुकहरूमा पशुहरुको लागि चाहिने अधिकतम आहार मकै, जौ अथवा गहुँको छ्वाली, धानको भुस, पराल आदिबाट प्राप्त हुन्छ । त्यसैले यस्ता मुलुकहरुमा अन्न बाली विकास दुग्ध व्यवसायको पहिलो सर्त मानिन्छ ।

संकटले नै जीवन शैली तथा काम गर्ने तरिकाको बारेमा पुनर्बिचार गर्ने अवसर जुटाउँछ । कोरोना महामारी हामीलाई कृषि प्रणालीको बारेमा पुनर्विचार गर्ने तथा आवश्यक सुधार गर्दै कृषिको नयाँ युगमा प्रवेश गराउने मौका हुनसक्छ । यसको लागि पूरा गर्नुपर्नेे सर्तहरु यस प्रकार रहेका छन्ः

१. जलस्रोतको धनी मुलुक भए पनि सिंचाइ योग्य जमिनको एक तिहाइ भागमा मात्र वर्षैभर सिंचाइ हुन्छ । त्यसैले सिंचाइ विस्तारमा जोड दिनु अनिवार्य छ ।

२. विदेशिएका लाखौँ युवा कोरोनाले गर्दा गाउँ फर्कने अनुमान गर्न सकिन्छ । तिनलाई आकर्षित गर्ने खालको कृषि नीति ल्याउन आवश्यक देखिन्छ ।

३. मल, बीउ तथा कीटनाशक विषादीको प्रभावकारी उपलब्धताका लागि केन्द्र सरकारले स्थानीय तहहरु तथा आयात गर्ने मुलुकसँग तत्कालै आवश्यक समन्वय गर्नु जरुरी छ ।

४. उत्पादन पूर्व नै कृषि उत्पादनको न्यूनतम मूल्य तोकिदिनकोे साथै किसानको स्वास्थ्य बिमा तथा कृषि बिमाको उचित व्यवस्था मिलाउनुपर्छ ।

५. किसानलाई आवश्यकताअनुसार अनुदान तथा क्रृण सहजरुपमा दिने व्यवस्था मिलाउनुका साथै गरिब किसानहरुको लागि निःशुल्क मल, बीउ तथा कीट नाशक विषादी उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्छ ।

६. कृषिको आधुनिकीकरण एवं व्यावसायीकरणमा जोड दिँदै कृषिमा प्रविधिको प्रयोगमार्फत किसान र बजार दुवैलाई न्याय गर्दै कृषिको नयाँ युगमा प्रवेश गर्ने आधार निर्माण गर्नेतर्फ पहल गर्नुपर्छ ।

७. कृषि र दुग्ध उत्पादनको लागि विभिन्न स्तरमा समुचित भण्डारण सुविधा तथा उपभोक्ताको सरल पहुँचमूलक वितरण प्रणालीको तीव्र विकास गर्न अग्रसर हुनपर्ने देखिन्छ ।

८. कृषिजन्य पदार्थ, फलफूल, दूध, मासु, माछा, आदि लामो समयसम्म संचित गर्न नसकिने किसिमका उत्पादनहरुका लागि प्रशाोधन कारखानाहरु स्थापना गर्नेतर्फ पहल गर्नुपर्छ ।

(दुवै जना जलस्रोत तथा सिंचाइ विज्ञ ) (यो लेख १२खरीमा पनि प्रकाशित छ )