Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

भदौ १ देखि एयरलाइन्स खोल्ने त भनियो, खै स्पष्टता ?

काठमाडौं ।

आगामी भदौ १ देखि हवाई उडान सुचारु गर्ने निर्णय गरेको सरकारले साउन १५ बाटै पर्यटन क्षेत्र खुला भएको घोषणा गरेको छ । धेरैको आशाको छ, भदौ १ देखि विदेशी पर्यटक नेपाल घुम्न आउनेछन् र होटलमा बास बस्न थाल्नेछन् ।

साउन १५ यता कतिपय तारे होटेलहरु खुलेका छन् भने केही खुल्ने तर्खरमा छन् । पर्यटकीय कार्यालयहरु बुकिङ लिने तयारीमा छन् । तर, सरकारले सोचेजस्तै भदौ १ देखि नै विदेशी पर्यटकहरु नेपाल घुम्न आउलान् त ? कोरोना महामारीको वीचमा उनीहरुको बसाइ र घुमाइलाई कसरी व्यवस्थित गरिएला ? कोरोनाको जोखिमबाट पर्यटन क्षेत्रलाई जोगाउने सरकारको तयारी के छ ?

यी प्रश्न सञ्चार माध्यम वा आम नागरिकका मनमा मात्रै उब्जिएका होइनन्, पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्रको साझेदारीमा काम गर्ने मुख्य निकाय नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीका मनमा पनि यस्तै प्रश्न उब्जिएका रहेछन् ।

पर्यटक आगमनको तयारी कस्तो भइरहेको छ भनेर बुझ्न खोज्दा सीईओ रेग्मीले प्रतिप्रश्न गरे, ‘मलाई पनि एउटा अचम्म के लाग्छ भने १ भदौबाट एयरलाइन्स खोल्ने त भनियो । तर, भिसाको प्रक्रिया के हो त ? यो विषय अहिले पनि सरकारले स्पष्ट पारेको छैन । अर्कोतर्फ भिसा दिने न्यूनतम आधार के हो ? पर्यटकले विदेशमै गरेको पीसीआर नेपालमा मान्य हुने हो कि ? विमानस्थलमा आएर छुट्टै रिपोर्ट लिनुपर्ने हो कि ? कुन-कुन गन्तव्यबाट पर्यटक आउन पाउने हो ?’

सीईओ रेग्मीले थपे, ‘नेपालमा आएर क्वारेन्टिनमा राखिने हो कि ? राख्ने भए कति दिन राख्ने हो ? खै स्पष्टता ?’

हवाई उडान खुला भएसँगै नेपालमा पर्यटकहरुको आगमन शुरु हुने सरकार र पर्यटन व्यवसायीहरुको अपेक्षा छ । तथापि, भदौ १ देखि नै हवाइ उडान सुचारु गर्ने निर्णय गरिए पनि सरकारले शरद ऋतुलाई लक्षित गरी पर्यटक आउने अपेक्षासहित पर्यटन क्षेत्र खुल्ला गरेको सरोकारवालाहरु बताउँछन् ।

पर्यटन बोर्डको सीईओमा नियुक्त भएको केही दिनमै कोरोना भाइरसको महामारी शुरु भएपछि डा. रेग्मीले औपचारिकरुपमा आफ्नो चारवर्षे योजना सार्वजनिक गर्न पाएका थिएनन् । यहीबीचमा उनले चालु आर्थिक वर्षको बजेट निर्माण गरेका छन् ।

अब १ भदौदेखि हवाईजहाज चल्न थाल्यो भने पर्यटकहरुको सेवा-सत्कार कसरी हुनेछ ? पर्यटन क्षेत्र कसरी अगाडि बढ्छ ? कोरोना पूर्णरुपमा नियन्त्रणमा आउन बाँकी रहेको अवस्थामा पर्यटन क्षेत्रका आगामी दिन कस्ता हुनेछन् ? यिनै जिज्ञासामा केन्दि्रत रहेर अनलाइनखबरकर्मी अच्युत पुरीले सीईओ रेग्मीसँग गरेको कुराकानीको सम्पादित अंश :

अब भदौ १ पछि के हुन्छ ? त्यस दिनदेखि विदेशी पर्यटक आउँछन् भनेर सरकारले साउन १५ बाट ठूला होटलहरु खोल्न दिएको हो ?

सरकारले १ भदौमा हवाई यातायात खोल्ने भन्यो । तर, त्यसको १५ दिन अगाडि नै होटेल र पर्यटन खोल्ने निर्णय भयो । यसको मतलव, यो १५ दिन सेवा प्रदायक सबैले पर्यटकलाई सुरक्षित सेवा दिन तालिम वा अभ्यास गर्न सकुन् । तपाईले देख्नुभयो, १५ साउनमै होटेल त खुलेनन् । किनकि होटेलमा पाहुना छैनन् । तर, विस्तारै होटेलले जब विजनेश हुने अवस्था देख्छन्, उनीहरु होटेल खोल्छन् ।

पाहुना आउनु अगाडि नै कर्मचारीको अभ्यास र तालिमका लागि तयारी गर्दै गर्नुस् है भनेरै अगाडि नै होटेल र पर्यटकीय कार्यालय खोल्न भनिएको हो । भोलि परिस्थिति फेरियो भने नयाँ निर्देशन जारी हुन पनि सक्छ । किनकि, यो हाम्रो हातको विषय रहेन ।

अहिलेको समय बिजनेशभन्दा पनि सन्देश दिने मात्रै हो कि ? अहिलेको अवस्थामा पर्यटकहरु घुम्ने नेपालको उपयुक्त गन्तव्य कुन हो ?

नेपालमा अंकमाल होइन, नमस्कार अभिवादन छ । सबै मानिसले मास्क लगाएका छन् । एकले अर्कोलाई छुनुपर्दैन । एकजना पाहुना बसेको कोठामा ४८ घण्टा अर्को पाहुना बस्दैन । घुमघाम पनि शहर र भीडभाडमा होइन, खुला पहाड र हिमाली भेग वा जंगलमा हुने छ ।

सबैले सामाजिक दूरी कायम गरेका छन् । यो सन्देश अब हामीले प्रवाह गर्न खोज्दैछौं । ता कि पर्यटकलाई लागोस्, नेपाल महामारीका बीचमा पनि उच्च सतर्कता अपनाएर खुला भएको पर्यटकीय गन्तव्य होस ।

नेपालमा घुम्दा हामीलाई त जोखिम हुने छैन नै, हाम्रो कारणले पनि नेपाललाई जोखिम नहोस भनेर पर्यटक आफैं सचेत बन्नेछन् । यसको मतलव के होइन भने पर्यटन खुला भयो, झन कोरोना आउने भयो । त्यस्तो हुँदैन ।

तर, एयरलाइन्सको सन्दर्भमा अझै अन्योल छ नि त ?

मलाई पनि एउटा अचम्म के लाग्छ भने १ भदौबाट एयरलाइन्स खोल्ने त भनियो । तर, भिसाको प्रक्रिया के हो त ? भिसा सम्बन्धित मुलुकमै पुगेर दूतावासबाट लिनु पर्ने हो कि ? अनलाइन भिसा लिनुपर्ने हो कि ? विमानस्थलमा आएर लिए पनि पुग्ने हो कि ? यो विषय अहिले पनि सरकारले स्पष्ट पारेको छैन ।

अर्कोतर्फ भिसा दिने न्यूनतम आधार के हो ? पर्यटकले विदेशमै गरेको पीसीआर नेपालमा मान्य हुने हो कि ? विमानस्थलमा आएर छुट्टै रिपोर्ट लिनुपर्ने हो कि ? कुन-कुन गन्तव्यबाट पर्यटक आउन पाउने हो ? नेपालमा आएर क्वारेन्टिनमा राखिने हो कि ? राख्ने भए कति दिन राख्ने हो ? खै स्पष्टता ?

अब १० दिन मात्र बाँकी रहेको अवस्थामा हवाई यात्रुले के आधारमा टिकट काट्छन् ? यो विषय केवल पर्यटनको मात्र होइन, स्वास्थ्यको पनि हो । हामी स्वास्थ्य मन्त्रालयबाटै आउने निर्देशिकाको पर्खाइमा छौं ।

यसका लागि बोर्डको प्रस्ताव के हो ?

हामी अब अगाडि त बढ्नु नै छ । किनकि, सधंैभर घरभित्र थुनिएर समस्या समाधान नहुने रहेछ, यो त हाम्रै भोगाइले स्पष्ट भइसक्यो । तर, सतकर्ता प्रमुख विषय हो ।

अब कुनै पनि व्यक्ति विदेशबाट नेपाल आएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने र त्यसपछि मात्र घुमघाममा निस्कने परिपाटी व्यवहारिक हुँदैन । बरु यसको साटो हरेक व्यक्तिको पीसीआर परीक्षणको रिपोर्टका आधारमा मात्र सम्बन्धित मुलुकबाट जहाज चढ्न पाउने र उनीहरुको नेपालमा समेत अनिवार्य पीसीआर गरिने भन्ने विकल्प हुन सक्छ । बरु यसको मूल्य पर्यटकसँगै लिइनेसम्म प्रावधान राख्न सकिन्छ । किनकि, तिर्न सक्ने मानिस घुमघाममा आउँछ ।

तर, यसमा हाम्रो प्रस्तावको कुनै अर्थ छैन ।

किन ?

हामी -बोर्ड) ले गरेको प्रस्तावमा पर्यटन मन्त्रालयले मात्र निर्णय लिन सक्दैन । यो सीसीएमसीमा जान्छ । त्यो कमिटीले समेत स्वास्थ्य मन्त्रालयको सहमतिविना कुनै निर्णय लिन सक्दैन । यस्ता विषयमा स्वास्थ्य मन्त्रालयले पनि युद्धस्तरमा काम गर्नुपर्‍यो ।

अर्कोतर्फ, स्वास्थ्य मन्त्रालयले निर्णय लिँदा पनि केही व्यवहारिक भएर लिनुपर्‍यो । स्वास्थ्यकै कारण अर्थतन्त्रका हरेक अवयव ठप्प पार्ने नभई अधिकतम सचेत भएर अर्थतन्त्रलाई चलायमान बनाइराख्ने गरी निर्णय हुनुपर्‍यो ।

अझ हाम्रो प्रस्ताव त कतिसम्म छ भने सरकारले अनुमति देओस, पर्यटकको विमानस्थलमै पीसीआर परीक्षणको जिम्मा निजी क्षेत्रले लिन्छ । तपाई प्रोटोकल हामीलाई दिनुहोस, मूल्य पनि तोकिदिनुहोस् । हामी त्यसलाई पछ्याउँदै निजी क्षेत्रमार्फत परीक्षण गराउँछौं, ताकि सरकारको नियमित परीक्षण र काममा पर्यटकका कारण बाधा नपरोस् ।

तर, हामी के चाहँदैनौं भने अब पनि विमानस्थलमा आर्मी शासनको झल्को होस् । अब पर्यटक आउन थालेपछि विमानस्थलमा आर्मी ड्रेसका कर्मचारीले पर्यटकलाई निर्देशन दिनु अस्वाभाविक हुन्छ । अब पर्यटकको सेवामा दक्षता भएका साधारण राष्ट्रिय नेपाली पोशाक लगाएका कर्मचारी वा स्वयमसेवकबाट यात्रुको व्यवस्थापन गर्नुपर्छ, ता कि पर्यटकले म यो देशमा किन आएँछु भन्ने नसोचोस् । कुनै पनि प्रकारको डरको अनुभूति उसमा नहोस् ।

अब नेपाली ड्रेस लगाएको व्यक्तिले नमस्ते गरेर, सबैभन्दा नम्र भाषा प्रयोग गरेरै विमानस्थलमा पर्यटकलाई सेवा दिनुपर्छ । उसलाई नेपाल आइदिनुभएकोमा धन्यवाद भनिनुपर्छ ।

किनकि, अब एकजना पनि पर्यटक नेपाल आउनुको मतलव यो संकटमा नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहयोग गर्नु हो । बरु यसका लागि बोर्डले निजी क्षेत्रबाट भोलेन्टियर सेवा लिन्छ । निजी क्षेत्र यसमा तयार हुनुहुन्छ ।

पर्यटकको तत्काल पीसीआर परीक्षण गरेर घुमघाममा पठाउन सकिने उपाय वैज्ञानिक छ ?

अहिले केही घण्टाको फरकमा पीसीआर परीक्षणको नतिजा आउँछ । नेपालका प्रयोगशालामा छिटो परीक्षणको नतिजा दिन सक्ने अवस्था छैन भने त्यो क्षमता बढाउनुपर्‍यो । तर, यथास्थितिबाट माथि उठ्नुपर्‍यो ।

सरकारले केही होटेललाई होल्डिङ सेन्टरका रुपमा प्रयोग गर्न सक्छ । त्यसको मापदण्ड बनाऔं । अब विदेशबाट जहाज चढ्नु अगाडि पीसीआर अनिवार्य गरौं । नेपालको विमानस्थलमा झरिसकेपछि विमानस्थलमै पर्यटकको नमूना संकलन गरौं र उनीहरुलाई छुट्टै सवारीबाट होल्डिङ सेन्टरमा राखौं । त्यहाँ स्तरीय सेवा सुविधा प्रदान गरौं । र, सकेसम्म छिटो नतिजा आउने गरी नमुना परीक्षण गरौं ।

नेगेटिभ रिपोर्ट आउनेलाई तोकिएका क्षेत्रमा घुमघामको अनुमति दिउँ । पोजेटिभ आएमा आइसोलेसनमा पठाउँ । यो सबैभन्दा सुरक्षित र सहज उपाय हुनेछ ।

स्वास्थ्य मन्त्रालयसम्म यी सुझावहरु पुगेका छन् त ?

हाम्रो तालुक मन्त्रालय पर्यटन हो । सैद्धान्तिकरुपमा पर्यटन मन्त्रालय यसमा सहमत छ । तर, पर्यटन आफैंले यो निर्णय लिन सक्दैन । पर्यटनबाट सीसीएमसी जान्छ । त्यहाँबाट स्वास्थ्यमा मात्र पुगेर मात्र निर्णय हुने हो ।

माथि के तयारी भइरहेको छ, हामीलाई जानकारी छैन । तर, मैले निजी क्षेत्रबाट आएका एक-एक सुझावलाई बुँदागतरुपमा संकलन गरी सरकारलाई रिर्पोटिङ गरिरहेको छु । निजी क्षेत्र तयार छ । अब सरकारकै निर्णय निर्णायक हुनेछ ।

कतै सरकारलाई डर पो छ कि, यति धेरै पर्यटकको पीसीआर के गरी गर्ने ? जनशक्ति र ल्यावको क्षमता पुग्दैन कि भन्ने छ भने निजी क्षेत्रलाई शुल्क तोकेरै जिम्मेवारी दिइयोस् । बोर्ड र पर्यटन विभागले यसको व्यवस्थापन गर्नेछन् ।

कोरोना महामारीकै वीचमा पर्यटक आइहाल्ने सम्भावना छ ?

हवाई यात्रा खुलेपछि नेपाल आउन चाहने नेपाली नागरिक त हाइहाल्नेछन् । तर, पर्यटक त १ भदौबाटै आइहाल्छन् भन्ने छैन । विगतमा पनि अगष्ट महिनामा पर्यटक आगमन सबैभन्दा न्यून हुन्थ्यो । यो नेपालमा वर्षा र झरी लाग्ने महिना यो । यसपछि सेप्टेम्बरदेखि डिसेम्बरसम्म नेपालको मुख्य पर्यटकीय सिजन हो ।

त्यसैले अगष्टभरि तयारी गरौं, प्रचार-प्रचार गरौं, विमानस्थलदेखि गाउँगाउँसम्म सुरक्षाको अभ्यास गरौं, सुरक्षित बस्ने र पर्यटकलाई सुरक्षित राख्ने गरी तयारी गरौं । सेप्टेम्बरपछि पर्यटकहरु आउनेछन् । त्यसपछि सेवा थालौं । यत्ति हो । अगष्टभर नेपाल खुल्यो भन्ने सन्देश संसारभर पुर्‍याऔं ।

सम्भव छ भने अब जहाँ-जहाँ सुरक्षित स्थान छन्, ती क्षेत्रमा अब आन्तरिक पर्यटन प्रवर्द्धन र गतिविधि थालौं । हामीले नै घुमघाम गर्न थाल्यौं भने पक्कै पनि सेप्टेम्बरपछि थप बुकिङ आउने अपेक्षा छ । पर्वतारोहण र पदयात्रामा हामी आशावादी छौं । तर, १४ दिनको क्वारेन्टिन भनियो भने त पर्यटक आउने सम्भावना हुन्न ।

अब नेपालमा साविकभन्दा घुमघाम सस्तो हुन्छ कि महंगो ?

विगतको तुलनामा त पक्कै केही बढी शुल्क लाग्छ । अब गाडीमा भरिभराऊ यात्रु राख्न पाइँदैन । होटेल र रेष्टुरेन्टमा पनि त्यही प्रावधान लागु हुन्छ । पर्यटकीय सेवा लिँदासमेत सामाजिक दूरी पालना गर्दा अब सेवा केही महंगो हुन्छ ।

प्रशङ्ग बदलौं, पर्यटकीय गतिविधि बन्द भएको भएको अवस्थामा बोर्डको चालु आर्थिक वर्ष २०७७/७८ को बजेट कस्तो बन्यो ?

पहिलो काम त करिव ५/६ महिना आम्दानीविहीन बनेपछि हामीले करारमा रहेका कर्मचारीहरुको करार नवीकरण गर्न सकेनौं । केही सहयोगी कर्मचारीबाहेक सबै कर्मचारीको नवीकरण गरेनौं । अब बोर्डमा करारमा कर्मचारी छैनन् ।

बजेट पनि सीमित स्रोत साधनमा बनाएका छौं । यस वर्ष पूर्वाधारमा हुने खर्च कटौती भएको छ । बजेट आशावादी बनेको छ । डिजिटल माध्यमलाई केन्दि्रत गरी हाम्रा अबका गतिविधि अगाडि बढ्छन् । तत्काल विदेशमा हुने प्रवर्द्धनका कार्यक्रम बन्द हुनेछन् । विदेशमा हुने विज्ञापन पनि कटौती भएको छ । अब अध्ययन अनुसन्धान, तथ्य तथ्यांकलाई बढी जोड दिने गरी काम गर्नेछौं । बजेटको आकार भने केही घटेको छ ।

कोरोना भाइरसको संक्रमणसँगै सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन भएको छ । आजसम्म आइपुग्दा पर्यटनमा कोभिडको असर कस्तो रहृयो ?

जुन दिनबाट नेपालमा पर्यटन आगमन बन्द भयो, त्यसअगाडि एक वर्षको अवधिको तथ्यांकलाई अनुमानित मानेर हामीले क्षतिको अध्ययन गरेका छौं ।

सन् २०१९ मा वाषिर्क १२ लाख पर्यटक आएका थिए । त्यसलाई आर्थिक वर्ष (आव) मा परिणत गरी हेर्दा करीव उस्तै देखिन्छ । यसको मतलव, आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म करीव ८ लाख पर्यटक नेपाल भ्रमणमा आइसकेका थिए । असार मसान्तसम्म सो आवमा हामीले न्यूनतम ४ लाख पर्यटक गुमायौं ।

नेपालमा एक पर्यटकले दिनमा औसतः ४४ डलर खर्च गर्छ भन्ने तथ्यांक छ । एक पर्यटकको नेपालमा बसाई अवधि औसतः १२ दिनको रहेको छ । यसलाई मूल्यांकन गर्दा ४ महिनाको अवधिमा करीव २५ अर्बको आम्दानी पर्यटन क्षेत्रले गुमायो ।

सन् २०२० मा सरकारले भ्रमण वर्षसमेत घोषणा गरेको थियो । पर्यटकीय अभियानहरु चलेका थिए । अर्कोतर्फ नियमित वृद्धि समेत राम्रै थियो । सोही कारण चार महिनाको अवधि (चैत-असार) मा पर्यटक आगमनमा हुने वृद्धिबाट १२ अर्ब रुपैयाँ बराबरको आम्दानी गुम्यो कि भन्ने अनुमान गर्‍यौं ।
यसरी कोरोना भाइरसको महामारी शुरु भएपछि लकडाउनको अवधिमा असार मसान्तसम्म मात्र करीव ३७ अर्ब रुपैयाँको आम्दानी गुमेको अनुमान गरिएको छ ।

यसैको आन्दानीबाटै व्यवसायीले पर्यटकलाई सेवा दिने थिए, राज्यले कर उठाउने गरेको थियो, कर्मचारीले तलव पाउने गरेका थिए । यसो भन्नुको मतलव, यसबाट आएको सबै विजनेशबाट केवल उद्योगीले मात्र क्षति बेहोरेका छैनन् । क्षति पर्यटनका माध्यमबाट यससँग सम्बन्धित सबै क्षेत्रमा भएको छ ।

११ चैतबाट लकडाउन शुरु भयो, सबै गतिविधि बन्द भएपछि पर्यटन स्वतः बन्द हुने नै भयो, योबीचको ४ महिना बोर्डले के गर्‍यो ?

यो समय अत्यन्तै संवेदनशील छ । तपाई आज एउटा निर्णय गरेर घर जानुहुन्छ, भोलि कार्यालय आउँदा परिस्थिति अर्कै बनिसक्छ । म पर्यटन बोर्डको सीइओ भएर आएको दिन पहिलो बैठक बसेका थियौं । त्यसबेला चीनमा मात्र कोरोना फैलिएको थियो । भ्रमण वर्षमा चीनबाट करिब ३ लाख हाराहारी पर्यटक ल्याउने योजना थियो । त्यसलाई कसरी पूर्ति गर्ने भन्नेमा त्यो बैठक केन्दि्रत थियो ।
सोही बैठकमा हामीले मध्यपूर्व र गल्फ मुलुकमा केन्दि्रत गर्ने गरी पर्यटक भित्र्याउने र त्यसको सम्भाव्यता हेर्न भन्दै समूहहरु समेत बनाएका थियौं । त्यसपछि पनि कैयौं बैठक भए, छलफल भए, योजना बने । जुन देशमा कोरोना छैन, त्यहाँ केन्दि्रत गर्ने भनियो । तर, हुँदाहुँदै हामी आफैं कोरोना भाइरसको चेपुवामा पर्‍यौं । त्यसबेला भएका सबै निर्णय परिवर्तन भए ।

११ चैतदेखि देश लकडाउनमा गयो । त्यसपछि हाम्रो पनि फिल्डमा गएर गर्नुपर्ने काम बन्द भयो । शुरुमा नेपालमा अड्किएका पर्यटकलाई सुरक्षित रुपमा घर फिर्ता गराउने अभियान थाल्यौं । त्यो सम्पन्न भएपछि हामी भविश्यको योजनामा लाग्यौं ।

नेपालको पर्यटन लामो समयदेखि सीमित शहर र क्षेत्रमा मात्र सीमित छ । तर, यसमा विविधिताको सम्भावना भने उत्तिकै छ । कोरोना भाइरसको महामारीपछि तत्काल शहरी क्षेत्रमा सुविधायुक्त खालको पर्यटकीय गतिविधि सम्भव छैन । त्यसकारण नेपालजस्तो देशमा पदयात्रा, पर्वतारोहणको सम्भावना जीवित रहन्छ ।

हामीले कोरोना महामारीका बीचमा पनि देखेको यो सम्भावनालाई कोरोना भाइरसको महामारीलगत्तै व्यवहारमा परिणत गरी पर्यटन उद्योगलाई केही न केही चलायमन बनाउन सक्छौं भन्ने निश्चित थियो । सोहीकारण मध्यपहाडी भेगमा हिल स्टेसनको अवधारणा सरकारलाई दियौं । त्यो बजेटमा परेको छ । तराई भेगमा अत्यन्तै गर्मी हुने र हिमाली भेगमा अत्यन्तै चिसो हुने समयमा मध्यपहाडी भेगमा पर्यटन केन्दि्रत गर्न सकिने सम्भावना अनुसार हिल स्टेसनको अवधारणा अगाडि बढेको हो ।

योबीचमा आन्तरिक पर्यटनमा समेत केही न केही गर्नैपर्छ भन्ने अवधारणाअनुसार काम गरेको हौं । हामीले त्यसका लागि सरकारलाई विभिन्न उपाय सुझाव दिएका थियौं । यद्यपि बजेटमा ती समावेश भएनन् । तर, सरकारले ५३ करोड रुपैयाँको मात्र प्याकेज ल्याउँदा ५३ अर्ब कमाउन सक्छ भनेर भिजन नै हामीले दिएका थियौं । त्यसको मतलव ५३ करोड रुपैयाँ बराबरको आयकर छुट दिने हो भने मानिसहरुको घुमघामको क्षमता बढ्ने थियो । एकपटक घुमघाममा निस्केको नेपालीले खर्चमा त्यति धेरै कन्ज्युस्याइँ पनि गर्दैन । यसरी आन्तरिक पर्यटनबाट पनि ठूलो गतिविधि गर्न सकिने सम्भावना थियो । यो हामीले सीए नै राखेर गरेको अध्ययन हो । तर, आजकै दिनमा आन्तरिक पर्यटकलाई समेत घुमघाममा निस्किहाल भन्ने अवस्था रहेन ।

त्यसोभए बोर्डले योबीचमा गरेका काम खेर गए ?

होइन, हामी योजना बनाउने र काम भएन भने गर्न सकिएन भनेर उम्कने अवस्थामा छैनौं । यी चुनौतिलाई हामीले अवसरका रुपमा उपयोग गर्ने जमर्को गरेका छौं । आज एकजना पर्यटक नेपाल आयो भने उसले १० वटा शीर्षकमा शुल्क राज्यलाई बुझाउनुपर्छ । १० ठाउँ धाउनुपर्छ । पैसा ठूलो कुरा भएन । तर, उसको समय र सास्ती निकै खतरनाक पक्ष हो । यसलाई कम गर्न हामीले अब एउटै ढोकामा सबै निकायको काम, प्रक्रिया र शुल्क लिने र ऊ घुमघाममा निस्किएपछि थप तनावको महसुस नगराउने गरी संयन्त्र निर्माणको जमर्को गरेका छौं ।

यसमा समस्या र समाधानको उपायसहितको प्रतिवेदन बोर्डले सरकारलाई बुझाएको छ । यो कार्यान्वयन हुँदा आगामी दिनमा निकै ठूलो परिवर्तन हुनेछ । किनकि कम पैसा उठाए पनि ४ ठाउँमा तिर्दा उसले जति तनाव बेहोर्छ, सबै एकमुष्ट बुझाउँदा केही बढी हुँदा पनि उसले राहत महसुश गर्छ ।
घरभित्र राज्यका संयन्त्रले उठाएको पैसा कुन निकायले कति पाउनुपर्ने हो, त्यो त अर्को संयन्त्र बनाएर गर्न सकिहालिन्छ नि । आज पनि हामी पुरानै जमानामा छौं भन्ने भान पर्यटकमा नहोस् भन्नेमा हामी सचेत छौं ।

अर्कोतर्फ ३५ साल पुरानो पर्यटन ऐनलाई समसामयिक बनाउने जिम्मेवारी थियो । निजी क्षेत्र समेतको सहभागितामा ऐनको काम पनि लगातार भइरहेको छ । यसबीचमा हामीले कोरोना महामारीकै बीचमा वा कोरोना सकिएपछि पनि यसको संक्रमणबाट कसरी बच्ने भन्ने सम्बन्धमा प्रोटोकल निर्माण गर्‍यौं ।

यो प्रोटोकोललाई निजी क्षेत्र वा जसले पालना गर्नुपर्ने हो, उनीहरुबीच पुर्‍याएर कार्यान्वयनको तयारी गर्‍यौं । यो पनि लकडाउनकै बीचमा भएको महत्वपूर्ण काम हो । प्रोटोकल कार्यान्वयन गर्न हामीले तालिमसमेत सञ्चालन गरेका थियौं । अब सोही प्रोटोकलमा आधारित रहेर अबको पर्यटकीय गतिविधि अगाडि बढ्नेछ ।

स्रोत : अनलाइन खबर