परिवर्तन चित्रको कि चरित्रको ?
चरित्र शब्दले व्यक्तिको आचरण, शील, चालचलन, सदाचार, कार्यकलाप, व्यवहार, आदत, लत, प्रकृति, स्वभाव, अभ्यास, कृत्य, कर्म, अनुष्ठान, वृतान्त, आत्मकथा, कर्तव्य, संस्कार जस्ता समाजद्वारा अनादि कालदेखि अनुमोदित विषयहरूलाई प्रकटीकरण गर्दछ । एक व्यक्तिमा भएको गुणअबगुण, रुचिअरुचि, आचारविचार, स्वभाव आदि नै चरित्र निर्माणका मूलाधारहरू हुन् । तिनीहरूलाई नियन्त्रण गर्ने क्षमता, कला, तत्परताले नै व्यक्तिको चरित्र निर्माण हुन्छ । आफ्नो र परायाप्रतिको भेदभाव शून्यता चरित्र निर्माणको सबल पक्ष हो ।

सबै प्रकारका कठिनाइलाई जित्ने, वासना र चाहनालाई नियन्त्रण गर्ने, दुःखलाई सहन गर्नसक्ने शक्ति, क्षमता हुनेहरूले नै चरित्रलाई उच्च, सुदृढ र निर्मल राख्न सक्षम भएको व्यवहारबाटै प्रमाणित गर्न सक्छन् । जीवनमा इच्छा, अभिलाषा र तृष्णालाई जसले जित्न सक्छ उसलेमात्र चरित्र निर्माण गर्छ । व्यक्तिभित्रको अन्तरचेतना, सत्यप्रतिको निष्ठा, जवाफदेहिताप्रतिको समर्पण, समाज र ईश्वरप्रतिको झुकाव र भयरूपी ज्ञानले व्यक्तिको चरित्रलाई शुद्ध राख्न प्रेरणा र खबरदारी दुवै एकसाथ गर्छ ।
आचरण शुद्ध र ठीक हुँदामात्र मानिसको मनमस्तिष्कमा राम्रा र सकारात्मक विचार, सोच र भावनाहरू जाग्रत हुन्छन् । व्यक्तिको अन्तर्निहित चेतना, विवेक, बुद्धि साथसाथै सरलता, नम्रता, सादगी र विनयशीलताको योगबाट सच्चा चरित्रको निर्माण हुन्छ । व्यक्तिको चित्र दृश्य हुन्छ भने चरित्र अदृश्य हुँदाहुँदै महŒवपूर्ण विषय हो । व्यक्तिको धन, दौलत, पद आदिको महŒव चरित्रको कोणबाट मापन हुन्छ ।
सबै भौतिक सम्पत्तिले भरिपूर्ण हुँदाहुँदै व्यक्तिसँग चारित्रिक सम्पत्ति भएन भने ऊसँग भएका सबै गुण अवगुणमा रूपान्तरित हुन्छन् भने अथाह सम्पत्ति महŒवहीन हुन्छ । समाजमा व्यक्तिको महŒव र उपयोगीताको मापन नै चरित्र हो । चरित्र सुधार र चरित्र निर्माणको कार्य व्यक्तिभित्रको व्यक्तिको आचरण, स्वभाव, चेतना, सदाचार, लत, बानी, व्यवहार, शील, प्रकृतिको योगको प्रतिफल हो । चरित्र निर्माण गर्न वर्षौंवर्ष लाग्छ तर चरित्रहीन ऊ क्षणभरमै हुनसक्छ ।
असल चरित्रको व्यक्तिमा आत्मनियन्त्रणको गुण र शक्ति हुन्छ । चारित्रिक क्षय भएपछि व्यक्तिले प्रतिष्ठालाई कुनै अवस्थामा र कुनै परिस्थितिमा पुनः स्थापित गर्न सक्दैन । चारित्रिक क्षय व्यक्तिले लामो समयदेखि कठिनाइले आर्जित र सञ्चित प्रतिष्ठाको सत्यानाश हो । चारित्रिक साधनाविना प्रतिष्ठा आर्जन हँुदैन । चारित्रिक र प्रतिष्ठित व्यक्तिहरू धन आर्जनलाई पद र शक्तिको नाजायज सहयोग लिँदैनन् । जिम्मेवारीमा हुनेहरूमध्ये नाजायज फाइदा नलिएको व्यक्ति सम्भवतः कोही छैन ।
एकजना सभामुख भएका व्यक्तिले मैले काठमाडौंमा विदेश भ्रमणको खर्चको बचतबाट घर बनाएको हुँ चन्ने तर्क पेश गरेका थिए । विदेशमा भ्रमण गर्दाको डलर पदीय प्रतिष्ठा र इज्जत कायम गर्न दिएको हो । अमेरिका गएर आफन्तको डेरामा बसेर जोगिएको पैसा हो भने त्यो पनि अनैतिक हो । राज्यले प्रतिष्ठापूर्वक बस्न दिएको सुविधाको सदुपयोग नभएर दुरुपयोग हो । यदि होटलमै बस्दा बचत भयो भने नीति निर्माणमा हुनेहरूले आफ्नो लाभको लागि ऐन र नियमलाई दुरुपयोग गरेको प्रमाणित भयो । त्यसैले नैतिकताको प्रजातान्त्रिक मापदण्डभित्र नपर्ने सबै बचतहरू अनैतिक कार्यभित्र पर्छन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भनेझैं हाम्रो वैधानिक आम्दानीले हाम्रा उच्च पदस्थहरूका महलहरू बन्न सम्भव किमार्थ छैन । त्यसैले निर्धक्कसँग भन्न सकिन्छ कि राष्ट्रिय जिम्मेवारीमा हुनेहरू सबै चुकेका छन् । सबै पार्टीका नेताहरू, सबै न्यायाधीशहरूमात्र होइन उच्च र निम्न पदमा हुनेहरूले समेत काठमाडौंमा खडा गरेका भवनहरूको स्रोत वैधानिक आम्दानी हुँदैहोइन, हुनै सक्दैन । के कुनै भूतपूर्व वा वर्तमान पदधारीहरू र पार्टीका नेताहरू अहिले सबैको सम्पत्ति छानविन गरौँ भन्ने एजेन्डामा सहमत हुन्छन् ? किमार्थ हुँदैनन् ।
अनुचित तरिकाले धनार्जन गर्नेहरूसँग जुन अनुपातमा धन संकलन हुँदै जान्छ त्यहीँ अनुपातमा ऊ चारित्रिकरूपमा स्खलित हँुदैजान्छ । स्खलित चरित्र भनेको प्रतिष्ठाको लिलामी हो । आफ्नै प्रतिष्ठाको लिलामी गर्नेजस्तो आत्मघाती काम गर्ने नेतृत्वले किन र कसरी नेपाल र नेपालीको विकास र समृद्धि गर्छ । यस्ता भ्रष्ट चरित्रहरूको चित्रमात्र बदलेर कसरी विकास हुन्छ ? चरित्र उहीँ भ्रष्ट छ, चित्रमात्र फेरिन्छ । हामीले परिवर्तनको नाममा सधैँ चित्रमात्र परिवर्तन ग¥यौं । चरित्र परिवर्तन गर्नै सकेनौं । हाम्रो परिवर्तनको उद्देश्य चित्र परिवर्तन नभएर चरित्र परिवर्तन हो ।
हाम्रा राजनीतिक परिवर्तनपछि सधैं चित्रको मात्र परिवर्तन भयो चरित्रको परिवर्तन नहुँदा हाम्रा परिवर्तनका लागि भए गरेका संघर्ष व्यर्थ प्रमाणित भएका छन् । सत्तामा सधैं अनैतिक चरित्रको हालीमुहाली भएपछि किन र कसरी हुन्छ परिवर्तन र समृद्धि ? हाम्रा धेरै परिवर्तनले सरकारको जिम्मेवारीमा रहनेहरूको चित्रमात्र परिवर्तन भयो तर चरित्र परिवर्तन भएन त्यसैले त परिवर्तन देश र जनताको पक्षमा भएन । हाम्रो आन्दोलनले खोजेको चित्रको परिवर्तन किमार्थ होइन, चरित्रको परिवर्तन हो तर दुर्भाग्य चित्रमात्र परिवर्तनमा अहिलेसम्मका राजनीतिक परिवर्तनहरू सीमित भए । अब अझै नेपाली जनताले निकट भविष्यमा चरित्र परिवर्तनको आन्दोलन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको सामना अवश्यम्भावी छ ।
चरित्र परिवर्तन नभएर चित्रमात्र परिवर्तन भएको नेपालमा देशका राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीशहरू, सभामुख, मन्त्रीहरू, उपकुलपतिहरू, संवैधानिक अंगका पदाधिकारी र माननीयहरू नै देशका भएनन् । यी देशका नभएर सबै पार्टीका मात्र भए । त्यसैले यी सबै पार्टीप्रति इमानदार र उत्तरदायी भए । सबैले पार्टीलाई बलियो बनाए । यो अभियानले देश एकाएक कमजोर भयो । देशको राष्ट्रियता कमजोर भयो भने जनताका आवाजहरूको प्रजातान्त्रिक ढंगमा सुनुवाइ नै भएन ।
निर्वाचितहरू जनउत्तरदायी नभएर पार्टीप्रति अझ विशेषतः नेताप्रति अझै भन्नुपर्दा गुटप्रति उत्तरदायी भए । जिम्मेवारहरू सबै देश र जनताप्रति उत्तरदायी हुन जरुरी ठान्दैनन् । यी सबै पार्टीप्रति र आफूलाई पदमा पु¥याउन लगानी गर्ने तस्कर, मुनाफाखोर, कामचोर ठेकेदार, दलाल र माफियाहरूप्रति उत्तरदायी छन् । अनि कसरी र किन हुन्छ नेपाल र नेपालीको उत्थान, विकास र समृद्धि ? यिनीहरूको वास्तविकता जनताले बुझ्न ढिलो भइसक्यो ।
हामी किन यिनै नेतालाई मात्र भोट दिन बाध्य छौं ? यो विडम्बनापूर्ण अवस्थाको निकास अविलम्ब खोज्न यो देशको लोभमुक्त विद्वतवर्गको सक्रियता देशले अपेक्षा गरेको हो कि ? जनताका जनजीविकाका विषय, न्यूनतम् विकास र तुलनात्मक समृद्धिका विषयहरू के सधैं अनुत्तरित रहन सक्छन् ? किमार्थ सक्तैनन् ।
अबको आन्दोलन सत्तालाई विस्थापित र स्थापित गर्ने विषयसँग मात्र लक्षित नभएर सत्तामा चरित्रवान व्यक्तिलाई स्थापित गर्ने हुनुपर्छ । यसले चित्रको मात्र होइन चरित्रको परिवर्तन भन्ने कुरा पुष्टि गर्छ । यो नै आजको आवश्यकता र जनताको चाहना हो । चरित्रबल नभएका शासकहरू र नेतृत्वलाई विस्थापित गर्ने अभियानलाई सफल पार्न जनताले पनि चारित्रिक बललाई सबल बनाउनुपर्छ । चरित्र बलमा स्थापित शासनले सुशासन, विकास र समृद्धिको अभियानबाट देश र समाज निश्चय लाभान्वित हुनेछ । हिमालय टाइम्स







