Loading... आजः १८ मंसिर २०७७, बिहीबार । Thursday 3rd December 2020

हरायो ह्यूफा नाच

सुर्खेत ।

‘मेरी ह्यूफा धानै कुटली, मेरी ह्यूफा धानै कुटली
मेरी ह्यूफा चामल सारली, मेरी ह्यूफा चामल सारली
मेरी ह्यूफा घाँस काटली, मेरी ह्यूफा घाँस काटली
मेरी ह्यूफा पानी भरली, मेरी ह्यूफा पानी भरली’
यी र यस्तै लय र शब्दका गीतहरु कहिँ कतै सुन्न पाइँदैन आजभोली । कुनै समयमा दैलेखको पूर्विभेकको कट्टि दरा तथा जाजरकोटको मजकोट दरा र सुर्खेतको सिम्ता दरामा निकै प्रसिद्ध र धार्मिक महत्व रहेको ह्यूफा नाचका लागि गाइने गीतका शब्दहरु आजभोली भने हराएका छन् ।


माथिका गीतका शब्दहरु सुन्दा ह्यूफा नाच्नेले ओखलमा धान कुटेको, चामल सारेको (केलाएको), पानी भरेको तथा घाँस काटेको अभिनय गर्नु पथ्र्यो ।

ब्राह्मण तथा क्षेत्री वस्तीमा निकै प्रचिलत रुपमा रहेको ह्यूफा नाच अहिले लोप हुँदै गएको छ । विभिन्न प्रविधि र वस्ती स्थानान्तरणका कारण पनि यो नाच हराउँदै गएको हो । विभिन्न परिवर्तनसँगै अहिले ह्यूफा नाच नाच्नै छोडिएको छ भने नयाँ पुस्तालाई ह्यूफाको बारेमा त्यति जानकारी पनि छैन ।

तीजको दिनमा दिनभर ब्रत बसेका छोरीचेलीहरु साँझपख फूलपाती भित्र्याउने गर्दथे । त्यसपछि त्यो फूलपातीलाई रातभर एक्लै छोड्न नहुने परम्परा थियो । त्यसैले पनि उनीहरु रातभर ह्यूफा नाचेर विताउने गर्दथे ।

‘हाम्रो पालामा यस्ता डेगहरु हुँदैन थे’, दैलेख भगवतीमाई गाउँपालिका ४ निवासी ७२ वर्षिया टीका उपाध्यायले भन्नुभयो । ‘हामीलाई ह्यूफा नाच्ने छुट थियो । अरु नाचहरु नाच्दा दाजु बाउज्यु (बुबा) को अगाडि नाच्नै हुँदैनथ्यो’, उहाँ सम्झिनुहुन्छ । तीजको दिनमा महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि फूलपत्रहरु जम्मा गर्दथे । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै ह्यूफालाई ह्यूफाघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र पार्वतीको पूजाआजा गर्ने गर्दथे । तर आजभोली मोवाइल बजाएर नाच्छन् कसले नाचिदिने ह्यूफा ? उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

‘मान्छे अट्ने खालको निगालोले बुनेको डोकोलाई बाहिरबाट कपडाले बेरेर रंगीचंगी बनाएर सिंगारिन्थ्यो । त्यही डोको भित्र ह्युफा (नाच्ने मान्छे) लाई पसालिन्थ्यो । अनि गीत गाउनेहरु मज्जाले गाउँथे । गीतको इशारामा ह्यूफाले नाच्नु पथ्र्यो’ उपाध्यायले भन्नुभयो ।

रातको १२ बजेपछि भने चतुर्थी तिथी (गणेश चतुर्थी) सुरु हुने भएकोले त्यसपछि नाचगान बन्द गरिन्थ्यो र भगवान शिव तथा माता पार्वतीको भजनहरु गाइने गरिन्थ्यो । भजन गाउनमा दाजुभाइहरुपनि साथ दिने गर्दथे ।

झट्ट हेर्दा गौरा पर्वमा नाचिने गौरा जस्तै देखिएपनि ह्यूफा फरक भएको बताउनुहुन्छ ८५ वर्षिय मणिराम खत्री । तीजमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गाउँभरिमा एउटाको घरमा गई गरिने शिव र पार्वतीको पूजाअर्चना गरि ह्यूफा निर्माण गर्ने गरिन्थ्यो । एउटा गाउँमा एउटा घरमा मात्र ह्यूफा भित्र्याउने गरिन्थ्यो ।

कुनै समयमा धुमधामका साथ मनाइने ह्यूफा नाच भाद्र कृष्ण पञ्चमीको विहान नदी किनारमा गई विसर्जन गरेपछि त्यसको समापन हुने गर्दथ्यो । पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी पार्वतीको पूजाअर्चना गरिन्छ । तीजमा ब्रत बसी शिव र पार्वतीको पूजाआजा गर्नाले सुख, शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवतासमेत प्रसन्न हुने जनविश्वास छ ।