Loading... आजः १८ मंसिर २०७७, बिहीबार । Thursday 3rd December 2020

इजरायलबाट मातृभूमि सम्झँदा

०६०-६१ तिरको कुरा हो, जुनबेला ज्ञानेन्द्र शाह पक्ष र माओवादी पक्षको द्वन्द्व उत्कर्षमा थियो । धेरै निर्दोष जनता मारिएका थिए । धेरै बालबालिका टुहुरा भएका थिए । धेरै जनता विदेश पलायन भएको बखत त्यही थियो ।

म पनि कामको सिलसिलामा फिल्डमा जाँदै गर्दाको घटना यहाँ सुनाउन मन लाग्यो । बाटोमा ‘प्रचण्डपथ जिन्दावाद !’ भन्दै हिँडेका महिला कमाण्डरहरू भेटेँ । उनीहरूले मप्रति शंका गर्दै वरिपरि घेरे । हुन त म कुनै राजनीतिक कार्यकर्ता थिइनँ । न त सुराकी लगाउने ज्ञानेन्द्र शाहपक्ष व्यक्ति थिएँ !

म त फगत श्रमजीवी महिला थिएँ । स्वतन्त्र व्यक्ति थिएँ, नित्य श्रम गरेर आफ्नो जीविका गर्दथेँ । यो घटना त्यतिबेलैको हो, जुनबेला म एक सामाजिक संस्थाको प्रोजेक्टमा काम गर्थें । ‘रिवार्ड प्रोजेक्ट’ नामक उक्त संस्थाले तीनवटा जिल्लामा महिला प्रजनन स्वास्थ्य, एचआइभी एड्स, परिवार नियोजनसम्बन्धी काम गर्दथ्यो ।

म एक ‘सोसियल ओर्कर’को रुपमा त्यहाँ आबद्ध थिएँ । अरू कुनै विशेष भूमिका थिएन । महिलाप्रति एकदिन फिल्डमा काम गर्दै जाने क्रममा उदयपुर जिल्लाको अहिलेको उदयपुरगढी गाउँपालिका डुम्रेस्थित एक स्वयंमसेवी दिदीको घरमा आराम गरिरहेको थिएँ । त्यहाँ दुई-चार जना माओवादी लडाकु महिलाहरू आइपुगेछन् । म सुतिरहेको थिएँ । स्वयंसेवी दिदीसँग उनीहरूले मबारे खोजिनीति गर्न थालेछन् ।

माया घले

उनीहरूले दुई घण्टाजति मलाई नै कुरेर बसे । मचाहिँ निकै थाकेर मस्त निदाएका थिउँ । म जरुक्क उठ्नेबित्तिकै तिनीहरूले म वरिपरि घेरे । म भने आफ्नो फिल्ड (कार्यक्षेत्र)तिर झोला बोकेर हिँडे । उनीहरू पनि लगभग एक घण्टाको बाटो यात्रा गर्दै म सँगसँगै आए । मैले आˆनो परिचय दिएँ तर उनीहरूले खुलेर परिचय दिन चाहेनन् ।

मैले उनीहरूलाई त्यो बेला बाटोमा सँगै हिँड्दा दुईवटा प्रश्न सोधें । सम्झना भएसम्म ती प्रश्न यस्ता थिए –

१. तपाईंहरू देश परिवर्तनका लागि संघर्ष गरेर लागिपर्नुभएको छ, तर कतिपय तपाईंहरूको कार्यकर्ताले निर्दोष जनतालाई डर, त्राश पैदा गरेको छ । राजनीतिको बाटो यो हो त ?

२. यदि नेपाल सरकारसँग मिलेर प्रचण्ड र बाबुराम भट्टराईलाई ठूलो पद सम्हाल्न जिम्मेवारी दिए भने तपाईंहरू के गर्न चाहनुहुन्छ ?

यी प्रश्न गर्दा उनीहरूले जनवादी दृष्टिकोणले मलाई जवाफ दिए । भने, ‘हाम्रो माग पुरा नभएमा हामी दुईवटै कमरेडलाई पनि छोड्नेवाला छैनौं !’

ती महिला लडाकुहरू अहिले के गर्दै होलान् ? सोच्छु- उनीहरूले नछाडेर हैन बरु नेतृत्व नै छाडा भएर आजको दुर्दशा भोग्नुपरेको छ । जे मैले प्रश्न गरे, अहिले त्यही सेरोफेरोमा हामी छौं । हामीले जनवादी युद्धबाट गणतन्त्रको ‘ट्याग’बाहेक केही पाएनौं । सायद पाएपनि वर्गीय चक्रमा हाम्रा सपना विलाए ।

त्यो बेलामा हाम्रो प्रोजेक्ट नियमित चलिरहेको थियो । हामीले नेपालमै सानोतिनो काम गरेर पेट पाल्ने अवसर पाइरहेको थियौं । तर, माओवादीको धम्कीका कारणले त्यसको केही महिनापछि प्रत्येक वाडमा रहेको स्वयंमसेविकाको घरमा धम्की आयो । माओवादी पार्टीबाट विदेशी प्रोजेक्टहरू चलाउनु नदिने धम्कीले हाम्रो काम नै धरापमा पर्यो । हाम्रो प्रोजेक्टले गरेका कामहरू गलत पक्कै पनि थिएनन् भन्ने विश्वास आज पनि छ ममा ।

ठीक त्यसको केही समयपछि माओवादीको दबाबको कारण कार्यक्रमहरू ‘ड्रपआउट’ भएरै छाड्यो । तीनवटा जिल्लामा १ सय ५० जनाभन्दा बढी कर्मचारीले जागिरबाट हात धुनुपर्यो । आˆनो देशमा कुनै रोजÞगारी नभएपछि म इजरायल आउने सपना बोकेर प्रोसेसका लागि काठमाडौं हानिएँ ।

उदयपुर, गाईघाटबाट करिब दश ठाउँमा चेकिङ गर्दै काठमाडौंमा बल्लतल्ल प्रवेश गरें । बसुन्धरामा दाइभाउजू बस्नुहुन्थ्यो, म त्यहाँ पुगेँ ।

केही दिनपछि वसुन्धरा चोकमा एउटा घटना भयो । व्यापारीलाई दिउँसै गोली हानी हत्या गरिएको रहेछ । त्यहाँ वरिपरी हेर्ने मानिसको भीड थियो । म पनि के भएछ भनेर त्यही भीडभित्र पसें । हेरिरहेकी थिए, एकजना आर्मी सिविल ड्रेसमा सबैलाई पछि हट्नका लागि आदेश दिँदै थिए । एक्कासी मलाई आएर केरकार गरेर सोध्न लागे ।

सायद मलाई माओवादीजस्तो लागेर हो कि या गाउँबाट म राजधानी आएको भर्खरै केही दिनमात्र भएको थियो । मेरो कपाल थाइकट काटेको थिएँ । सामुन्ने आएर ज्ञानेन्द्र शाहको आर्मीले एक थप्पड हान्यो । ‘तेरो घर कहाँ हो ? तँ कहाँ बस्छेस्’ भन्दै मलाई हकार्‍यो ।

मैले दाइ र भाउजूको कोठामा तीन-चारजना आर्मीलाई सँगै लिएर गएँ । मेरो सम्पूर्ण डकुमेन्टसमेत देखाउनु पर्यो । त्यसपछि ती बन्दुकधारी फर्किएर गए ।

आज मजस्ता ६० लाख युवा जनशक्ति अर्काको देशमा श्रम बेच्न बाध्य भएका छौं । कसको कारणले यो स्थिति आयो, सोध्न मन छ । विगततिर र्फकंदा घाउमात्र छन् । भविष्य सम्झँदा भयमात्र छ ।

चौध वर्षदेखि इजरायलमा कार्यरत छु म । यहाँ अहिलेसम्म महिला हिंसा, बलात्कारका घटना सुनेको पनि छुैन । यहाँको स्वतन्त्रता हेर्ने हो भने महिला र पुरुषको समान अधिकार छ । महिला-पुरुषले घरायसी काम पनि समानरूपले गरेको देख्न सकिन्छ । विदेशी कामदार र स्वदेशी कामदारको समान अधिकार छ यहाँ । उच्च मानवअधिकार भएको मध्यपूर्वमा पर्ने देश हो इजरायल ।

तर, जब आफ्नो देश सम्झन्छु, कहालीलाग्ने घटनामात्र दिमागमा आउँछन् । संघीय व्यवस्थामा गएर देशमा शान्ति आइसक्यो तर धेरै कुरा नआउने छाँट छ । रोजगारीको प्रत्याभूति राज्यले गर्न सकेको छैन । महिला हिंसा बढिरहेको छ । दोषीलाई न्यायको सट्टा उम्काउने दुष्कर्म भइरहेको छ ।

टाढाबाट आफ्नो मातृभूमि सम्झिँदा अगाध माया लाग्छ । तर जब देशको अवस्था, नेतृत्व र सामाजिक अवस्था सम्झिन्छु त्यतिबेला मन यसैयसै अमिलो हुन्छ ।

(उदयपुरको गाईघाट निवासी घले हाल इजरायलमा केयर गिभरमा कार्यरत छिन्  | अनलाइन खबर बाट साभार )