Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

कर्णाली र नेपाली भाषा

कर्णाली भन्ने वित्तिकै नेपाली भाषाको उद्गमस्थलको रुपमा परिचित छ । कर्णाली मुलुककै समृद्धिको मुहान बन्न सक्छ । कर्णालीको समृद्धिमा जल, जमिन, पर्यटन, जडीबुडी, भेषभूषा, भाषा संस्कृति मुख्य केन्द्रबिन्दु हुन । नेपाली भाषाको उद्गमस्थलको रुपमा रहेको सिंजा पनि कर्णालीमै छ । त्यसैले पनि कर्णालीले नेपाली भाषा साहित्यको लागि विशेष भूमिका खेल्नु आवश्यक छ । कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो । कर्णालीमा अथाह सम्भावनाका अवसरहरु छन् । तर तिनलाई प्रयोग गर्न सक्नु यहाँका स्थानीय नागरिकदेखि सरोकारवालाहरु सबैको दायित्व, जिम्मेवारी र कर्तव्य हो ।

कल्पना शाही

कर्णालीले लाखौलाई रोजगारी दिन सक्छ । लाखौलाई बाँच्ने आधार दिनसक्छ । अब कर्णालीले अर्काको भरमा परेर होइन आत्मनिर्भर बएर बाँच्नु पर्दछ । यसको सिर्जना गर्नु अहिलेको आवश्यकता हो । हुम्ला हुँदै बग्ने हुम्ला कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने तीला नदीको पानीको उपयोग गरेर विद्युत हवको रूपमा विकास गर्न सकिने आधार छन । ती नदीका तिरमा बसेर एकातिर पर्यटक रमाउन सक्छन् भने अर्कोतिर स्वदेशी तथा विदेशी कविले कविता लेख्न सकक्छन् ।

कर्णाली प्रदेशमा पर्ने रूकुम (पश्चिम भाग), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाहरू पर्दछन् । कर्णाली प्रदेशमा २५ नगरपालिका, ५४ गाउँपालिका र ७१८ वडाहरु रहेका छन् ।

नेपाली भाषा नेपालको सम्पर्क भाषा तथा भारत, भुटान र म्यानमारको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो । यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ । यो भाषा नेपाल र भारतको आधिकारिक (सरकारी कामकाजको) भाषा पनि हो । नेपालका करिब आधाभन्दा बढि जनसंख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन् । देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन् । स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन् । अक्षरको लेखन र उच्चारण एउटै हुने यो भाषा सिक्न निकै सजिलो भएका कारण यसको लोकप्रियता बढेको हो । नेपाली भाषा विभिन्न समयमा विभिन्न नामले चिनिन्थ्यो जस्तैखस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि । यी मध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो । खस जातिहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो । यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकसित भएर पूर्वतर्फ फैलदै गएको हो । खस कुरा पश्चिम नेपालको मगर जातिले बोल्ने भाषा खाम सँगै विकसित भएर अगाडि बढेको मानिन्छ । यो नेपाली भाषाको उद्गमस्थल कर्णाली भएकोले कर्णालीको छुट्टै महत्व छ ।

आर्य भाषाबाट विकसित अधिकांश भारतीय भाषाहरु जस्तै नेपाली भाषाको आरम्भका बारेमा केही विवाद भएता पनि एघारौं शताब्दीलाई यसको आधार बिन्दु मानिएको छ । यो भारोपेली परिवारको सतम् वर्गमा पर्ने आर्य इरानेली शाखाको संस्कृत र आर्य भाषाबाट अपभ्रंश हुँदै विकसित भएको भाषा हो । नेपाली भाषालाई सुरूमा सिंजाली, खस, पर्वते, गोर्खाली इत्यादि नामहरुले पनि चिनिन्थ्यो । नेपाली भाषाका आरम्भिक केन्द्र सिंजालाई मानिएको छ । यसै सिंजाका राजाहरूको भाषा भएको हुनाले यसलाई सुरूमा सिंजाली भाषा भनेर चिनियो । सुरूमा सिंजा निकै ठुलो र शक्तिशाली क्षेत्र थियो । पूर्वी नेपालबाहेक बाँकी नेपाललगायत उत्तरमा मानसरोवर र पश्चिममा कुमाउ गडवालसम्म यो क्षेत्र साम्राज्यरुपमा फैलिएको पाइन्छ । यसको उत्तरी क्षेत्रलाई जडान र दक्षिणी क्षेत्रलाई खसान भनिन्थ्यो ! जडान क्षेत्रमा भोटबर्मेली र खसान क्षेत्रमा सिंजाली भाषा बोलिन्थ्यो । सिंजाली भाषा सिंजाको राजभाषा थियो । तर मूल रूपमा खसान क्षेत्रमा बस्नेहरुको भाषा हुनाले नै यसलाई खसभाषा वा खसकुरा भनिन्थ्यो ।

पन्ध्रौ शताब्दीदेखि सिंजा देश क्रमशः टुक्रिन थालेको पाइन्छ ! सन् १४६६ तिर पृथ्वी मल्लका महामण्डलेश्वर (प्रधानमंत्री) यसोवर्माले सिंजाबाट विद्रोह गरी आफ्नो अलग राज्य स्थापित गरे । यसरी सिंजापछि यो भाषाका वक्ताहरुको मूल र प्रभावशाली क्षेत्र संभवतः गोर्खाभन्दा अघि पर्वत भएको हुनुपर्दछ । त्यसैले यो भाषा पर्वते नामले पनि चिनिन थालिएको हो । गोर्खाका शहवंशको मातृभाषा पनि यही थियो । पृथ्वीनारायण शाहको समयदेखि हिमाली राज्यहरुमा गोर्खाको शक्ति बढ़न थाल्यो । सन् १८१५ सम्ममा गोर्खाहरुको साम्राज्य पूर्व टिस्टा र पश्चिममा सतलज नदीसम्म फैलिएको इतिहास पाइन्छ । फलस्वरूप यिनै शक्तिशाली गोर्खाहरुले बोल्ने यो भाषा पनि ‘गोर्खा’ नामले परिचित भयो ।

गोर्खाहरुले नेपाल आफ्नो अधिनमा लिएर यसैलाई आफ्नो राजधानी बनाएपनि यस भाषाको नाम गोर्खाली नै थियो ! पहिलोपल्ट सन् १८२० मा कलकत्ताबाट जे. ए. एटनले ‘अ ग्रामर इन नेपालिज लियाङ्गवेज’ पुस्तक लेखी पहिलोपल्ट नेपाली नाम प्रयोग गरेका छन् । लगभग सन् १९१८ देखि यो भाषाको नाम औपचारिक रूपमा ‘नेपाली’ भएको हो । यो भाषाको नाम ‘नेपाली’ धेरै पछि भएता पनि नेपाल शब्द भने कौटिल्याको अर्थशास्त्रमा पनि उल्लेख पाइन्छ । नेपाली भाषा भारोपेली परिवार अन्तर्गत पर्दछ । नेपालीमा नेपाली भाषाको प्रयोग अलि पहिलेदेखि नै भएको भएपनि सबैभन्दा पुरानो प्रमाण एघारौं शताब्दीको अभिलेख हो । नेपाली भाषाको उत्पत्तिका सम्बन्धमा विद्वानहरुको मत फरक फरक रहेका छन् । धेरैजसो विद्वानहरुले नेपाली भाषाको उत्पत्ति संस्कृत भाषाबाट भएको ठानेका छन् भने केही विद्वानहरु यस्तो ठान्दैनन् । संस्कृतलाई नेपालीको जननी भाषा मान्ने आधारहरु बलिया र वैज्ञानिक छन् ।

नेपालीको जननी भाषा मानिने संस्कृतिको उत्पत्ति लगभग ३५०० वर्ष अगाडि भएको अनुमान गरिन्छ । प्राचीन कालमा संस्कृत भाषा वैदिक र लौकिक गरी दुई भागमा विभक्त थियो । कालान्तरमा लौकिक संस्कृतबाट सौरसेनी, मागधी, अर्ध मागधी, खस, प्राकृत भाषाहरुको विकास भयो । खस प्राकृतबाट अनेक भेद उपभेदहरु जन्मिए । खस प्राकृतबाट अपभ्रंश, अपभ्रंशबाट पूर्वी पहाडी हुँदै नेपाली भाषाको जन्म भएको हो भन्ने धेरैजसो विद्वानहरुको मत रहेको छ । एघारौ शताब्दीमा कर्णाली अञ्चलमा नेपाली भाषाको प्रयोग व्यवहार भएको प्रमाण भेटिन्छ । कथ्य रूपमा अलिक पहिलेदेखि नै नेपालीको प्रयोग भएको हुन सक्ने भए पनि वि. स. १०३८ को भनिएको भूपाल दामुपालको समयको दुल्लु शिलालेख हालसम्मको भेटिएको पहिलो लिखित स्वरूप हो । (यो लेख विभिन्न वेवसाइड तथा विभिन्न लेखहरुको सहयोगमा तयार पारिएको हो ।)