Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

व्यङ्ग्य – घ्वाच्च घोच्यो

अरुसँग त बचिहाल्छु आफैसँग बचाउ भन्थे मान्छेहरुले । हुन पनि आफ्ना त खतरा पो हुँदारहेछन् । हिजोका दिनमा युद्ध लडेर आजका दिनमा यहाँसम्म आइपुगेका नेताका विरुद्धमा यसरी एकाएक अविश्वास ल्याए । यो अविश्वासको प्रस्ताव ल्याउने संवैधानिक व्यवस्था मतदान गर्नेहरुलाई पनि हुनु पर्ने माग उठ्न थालिसकेको छ । आफ्नै नेता माथि अविश्वास ल्याउने अनि झ्याप आफू मन्तरी भइहाल्ने ठूलै सपना बोकेका रहेछन् महासयहरुले । त्यसरी भएर त सहयोग गर्दैनन् अनि कसरी काम गरुँ भन्थे हो रहेछ । आफ्नै नेता माथि विश्वास छैन भने अरुलाई यिनीहरुले के विश्वास गर्लान । लु खतम ।


खासमा केही समय व्यस्तताका कारण लेख्न पाठकका आँखामा शितलता दिने, मनमा तडकभडक बनाइदिने, जसले जस्तो गरेका छन् उनीहरुलाई त्यस्तै देखाइदिने यो हरिलठ्ठकको लेखाइको स्वादमा जिब्रो फड्कार्न नपाएकाहरु फेरि अलिकति रसिलो च्याट्ट परेको स्वाद चाख्न पाएपछि खुसी भएको कुरा आएपछि फेरि लेख्ने जोस त चल्ने नै भयो । लेखि राखेको बानी लेख्न त गारै भएन । तर यो लेखाइबाट झस्किनेहरु, झर्कनेहरु, बर्कनेहरु, तर्कनेहरु पनि नभएका त होइनन् तर पनि बबाल लेख्ने योजना बनाएपछि बालमतलब लेखिन्छ, लेखिन्छ । जस्तो देख्यो त्यस्तै लेखिन्छ । लु खतम ।

यतिबेला यो हरिलठ्ठकको नजर भरखरै न्वारन भएको प्रदेश लुम्बिनी र सबैभन्दा पहिले न्वारन भएको प्रदेश कर्णालीतिरै अडिएको छ । जसको अवैध सम्पत्तिको कारण महल ठडिएको छ । जो सुन खान नमिल्ने भएकोले मात्र नुन किन्न जान्छन् । उहिलेको गुण बिर्सिएका छन् । जनताले बगाएको खुन बिर्सिएका छन् । दाङमा राजधानी भएको देखेर आङमा घाम लागेको छैन । यता बुटवलमा भएको जग्गा खेरै जाने भो भन्ने परि परेको छ । यता दाङवासीलाई भने अब तक्दिर खुलेको छ । जग्गाका दलालहरु दल दलममा फसिसके । अब दलमा प्रवेश गर्न बाँकी छ । लु खतम ।

कुनैै बेला संविधान सभामा कुर्सी पछारेको, मर्यादापालकलाई लछारेको दृष्यले अचम्मित भएका नेपाली जनताले तत्कालिन माओवादीलाई उग्र भने । क्रान्तिकारीहरु यस्ता हुन्छन् भने । सभा भित्रैकाले पित्त दुख्ने गरि चित्त दुखाए । काँउरेसीहरुले कहिल्यै यस्तो गरेको इतिहास छैन भन्थे । कुर्सी उचाल्नेहरुको संख्या औलामा गन्थे । हामीलाई विपीले सालिन बन्न सिकाएका छन् भन्थे । हामी त मेलमिलाप चाहान्छौ भन्ने । तर मौका परेपछि जोगीले खरानी घसिहाल्छ भनेको सत्य भयो । प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लगाउने क्रममा प्रदेश सभामा देखियो । तिमीहरुको हर्कत पनि । तिम्रो मेलमिलापको नीति पनि । कस्ता रहेछौ भन्ने थाह भयो । तिमीहरुले भाँचेको कुर्सी जनताको सम्पत्ति हो भन्ने जानेनौ ? लु खतम ।

बाबै यी ठूला मान्छेहरु किन आफ्ना मान्छेलाई मात्र सचिव बनाउँछन् होला भनेको त मिलाउन रहेछ क्या । कतै बिल मिलाउनु पर्ने, कतै कुरा मिलाउनु पर्ने । कतै नाता मिलाउनु पर्ने, कतै गाता मिलाउनु पर्ने । अरुलाई राख्ने हो भने त त्यसरी मिलाउन नपाइने भयो । खानेलाई खिलाउन नपाइने भयो । पिउनेलाई पिलाउन नपाइने भयो । सिउनेलाई सिलाउन नपाइने भयो । खासमा कारण त्यसो रहेछ । भिजानुको सचिव भयो, दिदीको सचिव भयो, मामाको सचिव भयो । काठमाडौं बस्यो राष्ट्रियस्तरका नेताहरुसँग गफ लडायो यता जनताको करबाट उठेको पैसा फुत्त फुत्त खातामा आएकै छ । काम गर्नेले तलब नपाएको गुनासो गरेपनि के को स्वाद । उता स्वकीयहरुले खान पाएकै छन् । मौका परेपछि जहाजमा जान पाएकै छन् । त्यति भएपछि आफ्नालाई मौका नदिएर अरुलाई दिने कुरा पनि त भएन । लु खतम ।

प्रदेशका मन्त्रीदेखि सांसदसम्मले त्यसो गरेकै थिए हजुर । गाउँपालिकाका नेताहरुले पनि त्यसै गर्न थालेर र पो खतम भयो । उहिलेदेखि अहिलेसम्म दुःख गरेकाहरुले कुरा गरेभने विश्वास छैन भन्छन् रे । हिजो तिनीहरुलाई जिताउनका लागि खुकुरी बोक्न पछि नपर्नेहरु अहिले अविश्वासको पात्र बनेका छन् रे । हुन त जंगलमा लड्नेबेलामा सक्षम हुनेहरु पछि असक्षम भएर कोही भैसी पालनमा कोही गाई पालनमा अनि कोही कालापहाड त कोही बालुवामाथिको तातो खान नपुगेका कहाँ हुन् र । यो देश बाठाहरुले खाने भए मात्र होइन खाइसके भनेको सुन्दा फेरि एकपटक यो हरिलठ्ठकलाई घ्वाच्च घोच्यो ऐया ऽऽऽऽऽऽऽ

आजको सुक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित व्यङ्ग्य